छ वर्षीया कुमारी चार दिनसम्म लगातार रोइरहनुलाई नराम्रो सङ्केतका रुपमा लिइएको थियो । नभन्दै उनका आँसु रोकिन नपाउँदै देशमा अपूरणीय क्षति पुग्यो । उनी रुन थालेको चौँथो दिनमा दरबार हत्याकाण्ड भयो जसमा राजपरिवारका दश सदस्यको ज्यान गयो ।
बाल्यकालमा कुमारीका रुपमा चनिरा बज्राचार्यको पूजा हुन्थ्यो, यद्यपि उनले पढाइका लागि भने जसरी भएपनि समय निकाल्ने गर्थिन् । कुमारीबाट अवकाश लिइसकेकी उनी आज आफूले पहिल्याएको मार्गमा हिँड्न खोज्ने अन्य कुमारीहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।
छ वर्षीया कुमारी चार दिनसम्म लगातार रोइरहनुलाई नराम्रो सङ्केतका रुपमा लिइएको थियो । नभन्दै उनका आँसु रोकिन नपाउँदै देशमा अपूरणीय क्षति पुग्यो । उनी रुन थालेको चौँथो दिनमा दरबार हत्याकाण्ड भयो जसमा राजपरिवारका दश सदस्यको ज्यान गयो ।
बीस वर्षपछि अर्थात् आजको दिनमा कुनै बेलाकी कुमारी प्राचीन शहर पाटनमा रहेको एउटा कार्यालयमा सांसारिक गतिविधिमा मग्न छिन् । भर्खरै एमबीए सकेकी चनिरा बज्राचार्य आफूले काम गर्ने वित्तीय सेवा संस्थानमा ऋणसम्बन्धि निवेदन हेर्दै थिइन् ।
कर्पोरेट क्षेत्रमा जागिर खान सक्ने उनको हैसियतले उनलाई अन्य कुमारीहरूभन्दा अलि फरक बनाउँछ । कुमारीहरूलाई देवी मानेर उनीहरूको पूजा त गरिन्थ्यो तर, औपचारिक शिक्षा तथा अन्य स्वतन्त्रताबाट भने उनीहरूलाई वञ्चित गराइन्थ्यो । “प्राय मान्छेहरू कुमारी भन्नेबित्तिकै सबैकुरा जानेकै हुन्छ भन्ने सोच्थे । कुमारीलाई केही सिकाउन खोज्ने कसको हिम्मत ?”, चनिरा बताउँछिन् ।
उनले १० वर्षसम्म कुमारीको रुपमा बसेर दैवी काम कर्तव्य पुरा गरेको पाटनस्थित उनको पुर्ख्यौली घरको एउटा कोठाको भित्ता उनका सोही बेलाका अलौकिक तस्वीरहरू भरिपूर्ण छन् । एउटा तस्बिरमा उनले अन्तिम शाहवंशीय राजा ज्ञानेन्द्रलाई आँखा तरेर हेरिरहेकी छिन् ।
सधैँजसो उनका दिनहरू उनको दर्शन गर्न आउने भीडलाई आशीर्वाद दिँदै बित्थे । सबै उनका सानासाना पाउमा ढोग्दै आशिष लिन्थे । उनका ती पाउले बाहिरको जमिनमा टेक्न हुँदैनथ्यो । कोहीले भेटी चढाउँथे त त्यस्तै, कोही काँसका बटुकामा फलफूल राखेर उनलाई समर्पित गर्थे । एक शब्द नबोली उनी रातो रेशमको कपडाले ढाकेको आफ्नो हात अघि सार्दै दर्शनार्थीहरूका निधारमा टीका लगाइदिन्थिन् ।
सात शताब्दी पुरानो कुमारीको इतिहास
राजाको सल्लाहकारका रुपमा रहेकी तलेजु भवानीसँग सम्बन्धित छ, कुमारीको कथा । एकपटक राजाले भवानीमाथि जबर्जस्ती गर्न खोजेछन् र उनी एकाएक अलप भइछिन् । घोर पश्चात्तापको अग्निमा जल्दै राजाले आलापविलाप गरेको देखेर भवानीको मन पग्लियो । उनले आफ्नै स्वरुपमा चाहिँ कहिल्यै प्रकट नहुने तर, राजाले एउटी कन्याको पूजा गरे उनैमार्फत सल्लाह सुझावलाई निरन्तरता दिने कुरा राजालाई बताइन् । सोही बेलादेखि नै काठमाडौंको नेवार समुदायभित्रका बौद्ध धर्म मान्ने परिवारबाट कुमारी छानेर पूजा गर्न थालिएको हो ।
एकपटकमा एक दर्जनजति कन्याहरूलाई कुमारीको पदवी दिइन्छ, जसमध्ये उपत्यकाका तीन प्राचीन राज्यको प्रतिनिधिका रुपमा तीनजना चुनिन्छन् । उनीहरू बडो तामझामका साथ कुमारीका रुपमा आफ्नो कार्यकाल बिताउँछन् । बाँकी रहेका अन्य कन्याहरूले भने ‘पार्ट-टाइम’ कुमारीको भूमिका निर्वाह गर्छन् । तीन करोड नेपालीको साझा घर नेपालमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको छ । कुमारीलाई यी दुई आस्थाबीच समन्वयको प्रतीक पनि मानिन्छ ।
नेवार भाषाकी पूर्व प्राध्यापक चुण्ड श्रेष्ठ बताउँछन्,, “बौद्ध संस्कृतिमा बालबालिकालाई संरक्षकका रुपमा लिइन्छ । यो हाम्रो संस्कृति हो, परम्परा हो र हाम्रो गौरवको विषय पनि हो ।”
आजीवन कुमारी धनकुमारी बज्राचार्य
चनिराकी फुपू धनकुमारी बज्राचार्य पनि कुमारी हुनुहुन्थ्यो । उहाँलगायत अन्य कुमारीहरूले औपचारिक शिक्षा कहिल्यै पाएनन् । पहिलोपटक रजस्वला हुनासाथ कुमारीको पद गुमाएपछि उनीहरूले आफ्नो बाँकी जीवन अशिक्षा र असहज जीवनशैलीसँग जुझ्दै बिताउनुपर्ने बाध्यात्मक परिस्थिति रहन्थ्यो ।
धनकुमारीको जिकिर भएकोले उहाँबारे एउटा प्रसङ्ग जोड्न मन लाग्यो । रजस्वला भएपछि कुमारीबाट अवकाश पाउने व्यवस्था छ । धनकुमारी भने ३८ वर्षको उमेरसम्म पनि कुमारी नै हुनुहुन्थ्यो, कारण उहाँलाई रजस्वला नै भएन । युवराज दीपेन्द्र उहाँलाई देखेर अचम्मित भए र उहाँबारे बुझ्न छानबिन समिति नै गठन गरे । समितिले गरेको स्वास्थ्य परीक्षणबाट धनकुमारीको शरीरमा कुनै समस्या नरहेको निष्कर्ष निकाल्यो तर, युवराजको टोकेसोले गर्दा धनकुमारीले स्वेच्छाले कुमारीघर त्याग्नुभयो र घरमै बसेर कुमारीको नियम पालना गर्न थाल्नुभयो । उमेरले ७० नाघिसक्नुभएको उहाँ आज पनि कुमारीकै कर्म गरिरहनुभएको छ ।
कुमारी परम्परामा भएका बेथिति फ्याँक्ने अभियानमा चनिरा
चनिरा पनि फुपूजस्तै कर्तव्यनिष्ठ भएर अघि बढिरहेकी छिन् । बस् उनले चालेको कदम अलि फरक छ । चनिरा कुमारी परम्परामा भएका बेथिति फ्याँक्ने अभियानमा छिन् । आफू पछिका कुमारीहरूलाई पढ्न प्रोत्साहन गर्दै बालिकाहरूलाई उनीहरूको बाल्यकाल तथा हक अधिकारबाट वञ्चित गराएको आरोप खेप्दै आइरहेको गौरवशाली संस्कृतिलाई ढल्न नदिन उनी प्रयासरत छिन् ।
“अवकाश पाएपछि समाजमा पुनः स्थापित हुन पढाइले मद्दत पुर्याउँछ । अहिलेको जमानामा अशिक्षित भएर बाँच्न निकै कठिन छ ।” उनले भनिन् । कुमारीको कर्तव्यमा खरो सावित भएकी चनिराले आफ्नो असाधारण बाल्यकालबारे मीठा भावनाहरू पालेकी छिन् ।
“ती दिनलाई म मेरो जीवनकै सबैभन्दा उत्कृष्ट काल ठान्दछु । मलाई हेर्नकै लागि कत्रो भिड जम्मा हुन्थ्यो । सबैले कति कति उपहार बोकेर आशीर्वाद लिन आउँथे । रमाइला पर्वहरूमा सरिक हुन पाइन्थ्यो ।” उनी सम्झिन्छिन् ।
कुमारी परम्पराले उनको अधिकार खोसेको भन्ने धारणालाई साफ नकार्दै उनी भन्छिन्, “कतिपयलाई यस्तो लाग्थ्यो कि कुमारीको जीवन एकलास हुन्छ, कसैसँग कुरा गर्न पाइँदैन, हाँसखेल गर्न पाइँदैन् । यिनमा कुनै सत्यता छैन । यस्ता कुराहरूको यतिविघ्न प्रचार भएको देख्दा कहिलेकाहीँ त साह्रै झर्को लाग्छ ।” तर जे होस् कुमारी बन्न त्यति सजिलो पनि छैन ।
उनीहरू विरलै बाहिर निस्किन पाउँछन् । विभिन्न पर्व तथा रीतिरिवाजको अवसर पारेर वर्षभरिमा जम्माजम्मी अठार पटक बाहिर जान पाउँछन् उनीहरू- त्यो पनि कि त पाल्कीमा बसेर कि त कसैले बोकेर मात्र । कुनै अपरिचित व्यक्तिसँग त परको कुरा, सिंहासनमा बसेको बेला आफ्नै परिवारसँग बोल्ने अनुमति समेत हुँदैन उनीहरूलाई ।
यसको बदलामा उनीहरूले पाउने सम्मान भने अद्वितीय हुने गर्दछ। इन्द्रजात्राका अवसरमा कुमारीलाई रथमा राखेर शहरको परिक्रमा गराइन्छ । प्रत्येक वर्ष त्यही दिनको मौका पारेर राष्ट्रप्रमुखले कुमारीका हातबाट टीका ग्रहण गर्दै आफ्नो प्रमुखता नवीकरण गर्ने प्रचलन समेत रहेको छ । दरबार हत्याकाण्ड अघिको चनिराको क्रन्दनजस्तै कुमारीका अन्य भावनाहरूलाई राष्ट्रहितको परिसूचक मानिने हुँदा हरेक पर्वमा सम्मिलित हुँदा उनीहरूलाई साम्य रहन निर्देशन दिइन्छ ।
उसो त कुमारीका रुपमा चनिराको नौँ वर्षे कार्यकाल नेपाली इतिहासकै सबैभन्दा बढी राजनीतिक उतारचढावको प्रत्यक्षदर्शी बन्न पुग्यो । दरबार हत्याकाण्डदेखि माओवादी आन्दोलन र त्यसपछि २४० वर्ष पुरानो राजसंस्थाको बहिर्गमन अनि गणतन्त्रको उदय, सबै उनकै पालामा भयो ।
गणतन्त्र आएकै वर्ष सर्वोच्चले कुमारी परम्परालाई जोगाइराख्ने तर, त्यसमा केही परिवर्तन गर्ने निर्णय गर्यो । अदालतले कुमारीहरूलाई दिँदै आएको भत्ता र पेन्सनसँग पढाई खर्च पनि जोडेर दिन सरकारलाई आदेश दियो ।
“कुनैबेला छोरीहरूले पढ्न पाउँदैनथे । अहिले छोराछोरी दुवैलाई पढाइन्छ । कुमारीहरूले पनि त्यो अवसर पाउनुपर्छ । पढाइले चनिराको कार्यमा कहिल्यै कुनै बाधा पुर्याएन । कुमारीको कर्तव्यमा उनी निकै पोख्त थिइन् ।” तलेजु भवानी मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले भने ।
चनिराको जन्मअघि उनकी आमा चम्पा बज्राचार्यले सपनामा कमलको फुल आफ्नो गर्भमा छिरेको देखेकी थिइन् । उनले एक बौद्ध गुरुलाई त्यसबारे बताउँदा गुरुले उनको सन्तान “विद्रोही स्वभावको” पवित्र आत्मा हुने बताएका थिए रे ।
जब नयाँ कुमारी चुन्ने बेला आयो तब उपत्यकाको रत्नाकर महाविहार हखबहाल समुदायका सबै १५० नेवार खान्दान आआफ्ना छोरी लिएर आए । मूल पुजारीले तलेजु भवानीलाई कुनै एक कन्यामा आउन आग्रह गरे । उनीहरूका जन्मकुण्डली पढियो ।
“देवीले चुनेका कन्याहरूको अनुहार एकैछिनमा रातो हुन्छ । उनीहरू पहिलेभन्दा थप नम्र बन्छन् । त्यहाँ उपस्थित सबैले उनीहरूमा देवी आएको प्रष्टै देख्न सक्छन् । देवीले नचुनेकाहरू रुन्छन्, कराउँछन्, अभद्र व्यवहार देखाउँदै त्यहाँबाट निस्किन्छन्,” आफू चुनिएको दिनको सम्झना गर्दै चनिरा बताउँछिन् ।
बाँकी बचेका प्रतिस्पर्धीहरूको शारीरिक परीक्षण गर्ने जिम्मेवारी पुजारीकै पत्नीको हुन्छ । मृगका जस्ता आँखा अनि सिंहको जस्तो मुटु गरेकी बत्तीस लक्षणयुक्त कन्या नयाँ कुमारी चुनिन्छिन् ।
सामान्यतया कुमारीले बाबुआमाबाट टाढा, अधिकार प्राप्त संरक्षकको संरक्षकत्वमा बस्नुपर्ने हुन्छ । तर, चनिराको पालामा भने कुमारीका लागि विशेष घर नभएकाले उनी आफ्नै घरमा बसेकी थिइन् । हरेक दिन कुमारीको कर्म सकेपछि उनी पढ्ने, साथीभाइसँग खेल्ने, कम्प्युटरमा फिल्म हेर्नेजस्ता सामान्य कुराहरू गर्ने गर्थिन् । चकचक, मारपिट भने वर्जित थियो- कारण कुनै घाउचोट लागेमा देवत्व गुम्ने खतरा रहन्थ्यो ।
उनकी आमाले नजिकैको स्कुलबाट घरमै शिक्षक बोलाएर ट्युसन पढ्ने व्यवस्था मिलाइदिएकी थिइन् । पन्ध्र वर्षको उमेरमा कुमारीबाट अवकाश लिएकी चनिराका लागि आज पनि पाटनको नेवार समुदायमा उत्तिकै सम्मान छ । अहिले उनी आफ्नी उत्तराधिकारी नौ वर्षीया निहिरा बज्राचार्यलगायत अन्य देवीहरूको मार्गदर्शन गर्छिन् ।
अवकाश पाएपछि तमाम कुमारीहरूको जीवन व्यापक रुपमा असहज हुने गरेको छ । हिँड्नदेखि लिएर अलि ठूलो स्वरले बोल्न समेत उनीहरूलाई मुस्किल हुन्छ । अझ, कुमारीसँग विवाह गर्ने पुरुषको एक वर्षभित्र मृत्यु हुने विश्वास छ । यसबाट पनि उनीहरूको जीवन थप कष्टकर बन्न पुग्छ । यसका बाबजुद कतिपय कुमारीहरूको विवाह त भएको छ तर, उक्त धारणाले आफ्नो व्यक्तिगत जीवनमा असर परेको उनको विश्वास छ ।
उनका समकालीन मित्रहरूको तुलनामा उनलाई कम प्रेम प्रस्तावहरू आउने गरेका छन् । तर, चनिराले जोकोहीको हुतिले नभ्याउने जागिर खाइरहेकी छिन्, त्यो पनि अस्ट्रेलियन कम्पनीमा । त्यति पुरानो परम्पराप्रति उनको परिवारको आधुनिक दृष्टिकोणले गर्दा उनलाई जीवनमा सफलता हात पार्न सहज भएको उनको विश्वास छ ।
अफिसकै एउटा नयाँ कर्मचारीको कुनैबेला राजादेखि प्रथम राष्ट्रपतिसम्मले पूजा गर्ने गरेको कुराबाट त्यहाँका केही कर्मचारी अझै पनि अनविज्ञ छन् । अब उनी त्यहीँको एउटा हिस्सा हुन् । भर्खरै बिजनेस स्कुलबाट पढाइ पूरा गरेर आएका उनीजस्तै अन्य ऊर्जावान् कर्मचारीका आँखा कम्प्युटरमा सात समुन्द्र पारी अष्ट्रेलियादेखि आउने होम लोन निवेदनको लेखाजोखा गर्नमा व्यस्त रहन्छन् ।
“कुमारी छँदा मलाई खासै बाहिरी मान्छेहरूसँग बोल्ने अनुमति हुँदैनथ्यो, एक समय त्यस्तो थियो । आज हेर्नुस् त, म यस्तो ठाउँमा छु, जहाँ मैले प्रतिदिन विदेशी सेवाग्राहीहरूसँग कुराकानी गरिरहनुपर्छ । मैले यहाँसम्म आइपुग्न लामो यात्रा तय गर्नुपरेको छ र अझै धेरै कुरा देख्न र सिक्न बाँकी छ ।” उनले भनिन् ।
हिमाल दर्पणका लागी (न्यूयोर्क टाइम्सबाट) बाट अनुवादित