महामानव गौतम बुद्ध बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा ज्ञान बाँड्दै हिँडिरहेका थिए । घर-गृहस्थी, सबथोक त्यागेर हिँडेका आफ्ना पुत्रले संसारलाई ज्ञान बाँड्दै हिँडिरहेको र संसारले उनको मार्ग अङ्गाल्न थालेको थाहा पाएपछि राजपरिवार खुसी भए । राजा शुद्धोधनसहित सपरिवारले बुद्धलाई भेट्ने इच्छा व्यक्त गरे । परिवारलाई भेट्न दरबारमा आउन बुद्धलाई खबर पठाए । तर बुद्धले आफूले सबैथोक त्यागिसकेकाले दरबारमा नआउने जवाफ दिए । त्यसपछि राजपरिवार बुद्धले भनेकै ठाउँमा भेट्न तयार भए ।
बुद्ध आफ्ना सयौँ शिष्यहरूसहित परिवार भेट्न कपिलवस्तु राज्य परिसरमा वरका रूखहरू रहेको एउटा जङ्गलमा आइपुगे । त्यो जङ्गल परिसरको नाम थियो, कुदान । जङ्गल नजिकैको गाउँको नाम कुदान थियो । कुदान गाउँसँगै रहेकाले त्यस स्थानलाई पनि कुदान भनिएकाे मानिन्छ ।
बौद्ध धर्मावलम्बीहरूका लागि कुदान एक महत्त्वपूर्ण एवम् पवित्र स्थान हो । बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक पिता शुद्धोधनसहित परिवारलाई यही ठाउँमा भेट गरेका थिए । उनले करिब ६ वर्ष लामो तपस्यापछि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेको एक वर्षपछि अर्थात् घर छोडेर हिँडेको सात वर्षपछि बुद्धले यही ठाउँमा पिता शुद्धोधन, रानी प्रजापति गौतमी, श्रीमती यशोधरा, छोरा राहुलसँग भेट गरेका थिए ।
कुदान, राजा सुद्धोधनले आफ्ना पुत्र सिद्धार्थ गौतमलाई संसारले नै पुज्ने महामानव गौतमबुद्धको रूपमा देखेको स्थल हो । घर-गृहस्थी त्यागेर हिँड्नेबेला एक युवराज मात्रै थिए । राजा शुद्धोधनका लागि एक पुत्र मात्रै थिए । तर, करिब सात वर्षपछि यस ठाउँमा भेट हुँदा सिद्धार्थ गौतम एक महामानव, बुद्ध अर्थात् ज्ञानी भइसकेका थिए ।
सिद्धार्थ गौतमले घर-गृहस्थी त्यागेर हिँड्नेबेला राजपरिवार दुःखको अन्धकारमा डुबेका थिए । जब ज्ञानको ज्योतिले भरिएको बुद्धसँग कुदानमा भेट भयो । दुःखको अन्धकारबाट परिवार मुक्त भए । त्यसैले दुःखबाट मुक्ति प्राप्त गर्ने एक महत्त्वपूर्ण स्थल हो, कुदान । यति मात्रै नभएर राजमुकुटका हकदार छोरालाई वृद्ध बुबा सुद्धोधनले गेरुवा भिराएर चित्त बुझाएको स्थल पनि हो याे ।
बुद्धले आफ्ना छोरा राहुललाई युवराज हुने सम्भावनाबाट च्युत गराएर धर्मको मार्गमा डोर्याएको ठाउँ पनि हो, कुदान । त्यसैले त्याग र मुक्तिकाे दोभान हो, कुदान । अन्धाकारबाट उज्यालाेतर्फ प्रस्थानविन्दु पनि हाे, कुदान ।
बुद्ध जहाँ जहाँ पुग्छ, त्यहाँ त्यहाँ प्रवचन दिँदै आफूले प्राप्त गरेका ज्ञान बाँड्दै हिँड्थे । परिवारसँग भेट्न पहिलो पटक कुदानमा पुग्दा पनि उनले प्रवचन दिए । उनको वचनबाट प्रभावित भएर पाँचसय जना भन्दा बढी शाक्यपुत्रले घर-गृहस्थी त्यागेको र उनको शिष्य बनेको बताइन्छ ।
बुद्धले यहीँ ठाउँमा पछि पनि पटक पटक आफ्ना परिवारसँग भेट गरे । राजा शुद्धोधनले कुदानमा सुन्दर बगैँचा निर्माण गरिदिए । बुद्ध र भिक्षुहरू बस्नका लागि विहार बनाइदिए । कुदानमा चारवटा ढिस्काहरू देखिन्छन् । तीमध्ये तीनवटा स्तूप र एक विहार हो ।
एउटा स्तूपमाथि शिवलिङ्गका साथै सानो शिखरशैलीको मन्दिरसमेत रहेको छ । स्थानीयवासीका अनुसार यस मन्दिरभित्र समय–समयमा नाग बसिरहेको देखिन्छ ।
प्रवेशद्वारबाट भित्र पस्नेबित्तिकै दायाँतर्फ बगैँचाको नजिक सुन्दर ताल रहेको छ, जहाँ मौसमअनुसार कमल फुल्ने गर्छ । सँगै एक इनार र एक पोखरी रहेका छन् । जसका भग्नावशेषहरू अहिले देख्न सकिन्छ ।
चिनिया यात्री फाहिसियन (Fa-hsien ,5th Century AD) तथा ह्यूएन साङ (Hiuen Tsang , 7th Centry AD ) मा गरेको आफ्नो यात्रा विवरणमा राजा शुद्धोधन, तथा शाक्यमुनी बुद्धले निग्रोधराममा स्वागत गरेको घटनाहरू वर्णन गरेका छन् । केही विद्धानहरूले यस स्थललाई क्रकुच्छन्द बुद्धको सहरको रूपमा समेत रहेको परिचय दिएका छन् ।
उत्खनन र अभिलेखीकरण
यो ठाउँको सर्वप्रथम पहिचान गर्ने व्यक्ति भारतका पि.सी. मुखर्जी थिए (कतैकतै मुखर्जीले भन्दा पहिला जर्मनका डा. फुहररले उत्खनन गरेका उल्लेख छ)। जसले सन् १८९९ मा लहरै रहेका चारवटा प्राचीन ढिस्काहरूको अभिलेखीकरण गरेका थिए । सन् १८६२ मा भारतीय पुरातत्त्व सर्वेक्षणबाट आएकी देवला मित्राले यस ठाउँमा उत्खनन गरेकी थिइन् । उनले दुई वटा ठूला ढिस्काहरू खोली प्राचीन इनारको दायाँबायाँ इँटाद्वारा निर्मित क्रस आकारका ठूला मन्दिरहरू प्रकाशमा ल्याएकी थिइन् । उनले प्रकाशमा ल्याएको मन्दिरको स्वरूप, वास्तुकला र माटाका भाँडाहरूको आधारमा मन्दिर निर्माण सातौँ शताब्दीतिर भएको र नवौँ शताब्दीमा विस्तार भएको निष्कर्ष निकालेकी थिइन् ।
कुदान, बुद्धको जन्मस्थल लुम्बिनीबाट २७ किलोमिटर दक्षिण पश्चिममा अवस्थित रहेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट तीन किलोमिटर दक्षिणमा रहेको छ ।
केही विद्वानहरूले कुदानलाई वरको वृक्षबाटिका रहेको प्राचीन निग्रोधरम नामक स्थल हुनसक्ने बताएका छन् । कुदानबारे थुप्रै अध्ययन बाँकी नै छ । उत्खनन, खोज तथा अध्ययनसँगै यसको संरक्षणमा पनि त्यत्तिकै चनाखो बन्न जरुरी छ । अध्ययन, खोज तथा अनुसन्धानसँगै कुदानको वास्तविकताबारे आगामी दिनहरूमा अझ स्पष्ट जानकारी प्राप्त हुँदै जाने नै छ । खैर, बुद्ध धर्मावलम्बी एवम् बुद्ध धर्मबारे चासो राख्ने सबैले एक पटक पुग्नुपर्ने ठाउँ हो, कुदान ।
तस्बिरः चन्द्र तामाङ/हिमाल दर्पण