मंगलबार , अषोज २९, २०८१

ढिच्क्याऊ : कोठा नम्बर शून्य

भोलि सबेरै केही बाघ र हात्ती लिएर म फेरी चर्न पुगेँ । आज हात्तीले हाकिम भेटायो । उसले यो यहाँबाट हुँदैन भन्दै नगपालिका पठायो । नामै नगरपालिका भएपछि त्यहाँ केही गर्ने कुरा भएन । त्यहाँ केही हात्ती चर्न बसे । म हिँडे प्रशासन कार्यालय ।

image

कोठै-कोठाको संसार, भुलभुलैया, गन्जागोल !! माथा खराब !!  चार नम्बर कोठाबाट दुई नम्बर, दूई बाट आठ, आठबाट २१, २१ बाट पाचँ, त्यहाँ पुगेपछि फनफनी नाच !! नचाएका छन् नचाहेकाहरूले, रिङटा लाग्नेगरि, ढल्नेगरि, थकाएका छन् खुत्रुक्क पर्ने गरी । कुद्दा कुद्दै काछ लागेर हिँड्न नसकिने हुन्छ । हिँड्दा-हिँड्दै पिँडुला फर्किएर नमस्कार गर्न थाल्छन् । तर रोकिँदैन यात्रा, सरकारी कार्यालयको जात्रा । कोठा नम्बर पाँचमा नाचेपछि कोठा नम्बर तीन । थाके भन्न पाउँदैनस् खुरुक्क हिँड् !!

गाउँ-गाउँमा सिंहदरबार पसेपछि, सिंहको खोल ओढेका हुँडारहरूको सङ्ख्या बढेको छ । उनीहरूको खान्की पनि बढ्ने नै भयो । सिकार हुनलाई जनता छदै छन् । मस्त सर्ल्याप्प तातो रगत पिउन पाएपछि, ग्वाम्म-ग्वाम्म मासु लुछ्न पाएपछि के नपल्किँदा हुन् हुँडार पनि । तर, सुरुमा चोइ-चोइ गरेर पल्काउनेहरूकै गल्ती हो । मिस्टेक हो ।  मौका परेको बेला दुक्कीले बादशाह खाएजस्तै उनीहरू यो कोठाबाट त्यो कोठा, त्यो कोठाबाट यो कोठा लखेटी-लखेटी गरिरहेका छन् सिकार ।

एउटा घरायसी कागजपत्रको काम निप्टाउनु थियो । श्रीमतीले अस्ति न त्यो नचिनेको आफन्तलाई दिएको भोट सम्झाइन् । कुनै बेलाको सुकुलगुण्डा अहिले जनप्रतिनिधिको मुखुण्डा लगाएर बसेको छ ।  उसैले गर्देला केही भनेर तर्साइन् । आबुई !! म तर्सिएँ । पहिला सातो फुकाउन धामीको तिर लागुम् कि सातो खानेकै तिर लागुम् । एकछिन् अकमक्क भयो । माइनस माइनस प्लस भए झैँ सातो लानेकै तिर लागेर, सातो जा र सातो जा = सातो आ बनाउन मन लाग्यो ।

कार्यालयको गेटमा के पुगेको थिएँ, ‘भोलि आउनु’ भनेको सुनियो । लौ ! के रहेछ भोलि विशेष, म तीस-पैँतिस छक्क परेँ । ‘ चुनावको बेला झैँ कुनै भोज भतेर पो छ कि, कि पैसा बाँड्ने रहेछन् । काम त मेरो आज छ, आखिर किन कोही भोलि-भोलि भट्याइरहेको छ ? उनीहरू जस्तै जिद्दी म पनि हो, नसुने झैँ गरी सरासर भित्र छिरेँ । ‘भोलि आउनु भनेको सुन्नुभएन ?” अघिको आग्रह अब धम्की र थर्काइमा परिणत भइसकेको थियो । लौन मार्छ कि क्या हो । कागजको काम गर्न आएको, मेरै काम सक्दिन्छ कि क्या हो । अत्तालिँदै मैले गोजीबाट बाघ निकाले । बाघले चारैतिर हेरेर के ङ्वार्ररर गरेको थियो, माहौल शान्त भइहाल्यो । जसै बाघले मेरो गोजी हुँदै, सबैको गोजीसम्मको यात्रा सुरु गर्‍यो । प्रकृतिलाई माया गर्नेहरू एकाएक रमाउन थाले, कसैले त हात्ती ल्याउनु भएको भए झन् मजा हुने थियो भन्दै मनखत् गरे ।

बाघ एकैछिनमा हरायो । कता गयो-गयो भेट्न सकिएन । बाघ पचाउनेले अचेल बाघ देखाएर आधा किलो खसीको मासु पनि नपाइने, आधा झोला तरकारी पनि नआउने दुःख त्यहाँका हुँडारले सुनाए । कागज बोकेर म कोठा नम्बर दुई पुगेँ, दुईबाट आठ, आठबाट २१, २१ बाट पाँच, त्यहाँ पुगेपछि फनफनी नाच !! नाच्दा-नाच्दै हाकिमको कोठा पुगियो । हाकिमको कोठा पुग्दा बज्यो पाँच, पर्‍यो साँझ । हाकिम त अघि निस्किसकेछन् । भएन त बिल्लीपाठ !! अब भोलि फेरी यही दौड गर्नु छ । कुनै पदक ल्याउन नसके पनि वैकुण्ठ मानन्धर हुनु छ ।

भोलि सबेरै केही बाघ र हात्ती लिएर म फेरी चर्न पुगेँ । आज हात्तीले हाकिम भेटायो । उसले यो यहाँबाट हुँदैन भन्दै नगपालिका पठायो । नामै नगरपालिका भएपछि त्यहाँ केही गर्ने कुरा भएन । त्यहाँ केही हात्ती चर्न बसे । म हिँडे प्रशासन कार्यालय । प्रशासनले परको शासन देखायो । केही बाघले चित्त बुझायो । त्यहाँबाट प्रदेश तिर सरुवा भयो । आफ्नो जङ्गलबाट हात्ती र बाघ सकिँदै गइरहेको हत्ते छ । तर बनाउनु पर्ने काम फत्ते छ । आमाको मुख हेर्ने दिन, बुवाको मुख हेर्ने दिन जस्तै प्रदेश प्रमुखको मुख हेर्ने दिन आयो । फलफूल मिठाइ लिएर जानै पर्‍यो । केही बाघ र हात्ती देखाउनै पर्‍यो । प्रदेशसम्म पुग्दा पनि हात्ती र बाघ हिँडे काम हिँडेन । कागजको पोको आफ्नो क्षेत्रको सांसदको हातमा पुग्यो । कागजसँगै अरू केके पुग्यो म दस पटक भन्दिन  ।

अँ त्यही हो !

उनको पिएको पिए, त्यसको पिएको पिए, पिएको पिए गरेर सत्र पत्रे या भनौँ सत्र पुस्ते पिएलाई भेटेपछि उसले भन्यो ‘भोलि आउनु ।’ मैले उसलाई पनि तर्साउनु कर लाग्यो । उसको उसलाई, उसको उसलाई, उसको उसलाई तर्साउँदा-तर्साउँदै म झन्डै आतंकवादि भइन् । अन्ततः : कागज पुग्यो मुख्य अभिनेताको हातमा । नेता मात्र भन्न मिल्दैन अभिनय पनि गर्छन् नि त ।

‘यसमा मैले गर्न सक्ने केही छैन, मेरो पिएलाई भेट्नु’ भन्दै अभिनेताले आफ्नो अभिनय सक्यो । चलचित्र यतिमै रोकिएको छैन, सकिएको छैन । खुसीमय अन्त्य (ह्यापी एन्डीङ्ग)को आस राख्नै मिलेको छैन । अँ खुसीको अन्त्यको भने आस पलाउन थालेको छ । बाघ र हात्तीलाई नाचाउदा-नचाउदै कुरो प्रधानमन्त्रीसम्म पुग्यो । प्रधानमन्त्रीले यसो हेरेर ‘यस्ता झिना मसिना काम नल्याउनु है’ भन्दै आफ्नो नजिकको भक्तलाई भने । भक्तले अन्य अनुयायी र मलाई सम्झाए ‘गढीमाइको भाकल दक्षिणकालीबाट पुरा हुन्छ र ?’

उसले एक ठाउँ फोन गर्‍यो र फलानो कोमा जानु भनेर फर्कायो । कोमा भनेको थाहै होला अर्धचेत । ‘लौ ! यो त अघि भेटेको मान्छे !’ म झसङ्ग, उसले ‘त्यहाँसम्म पुग्नै नपर्ने’ भन्दै अर्को ठाउँ फोन लगायो । लौ न यो पनि उहिल्यै भेटेको !! मैले बुझेँ मेरो उल्टो यात्रा सुरु भयो । तर चर्चा बिनाको । उल्ले गुहुलाई, गुहुले उल्लाई, झुलाई-झुलाई कागज संसार घुमेर फेरी त्यहीँ पुग्यो, जहाँबाट उसको यात्रा सुरु भएको थियो । ‘उहिल्यै बलियो हात्ती देखाउनु भएको भए भइहाल्थ्यो नि, बेकारमा’ पिएले बुझायो । ‘तर तपाईँलाई त देखेको थिइन् नि’ मैले सोधेपछि उ ‘ मेरो बिदा थियो नि सर….पनि’ भन्दै लाडियो । कागज बोकेर उ कोठा-कोठा गयो-आयो-काम सकियो । मैले बुझेँ हाकिम नहुँदा केही फरक नपरे पनि एउटा पियून बिदामा बसे..औडाह हुने रहेछ । उ नै त रहेछ यहाँ आउने सबै हात्ती सम्(केही) हाल्ने, अरू बुझाउने माउते । सबै बाघलाई तह-तहमा तह लगाउन सक्ने खेलाडी ।

मैले बेकारमा सय कोठा दौडिएर चार जोर जुत्ता फटाएछु । सोह्र जोर मोजाबाट बुढी औँला टाउको निकाल्ने भयो । आखिर काम त कोठा नै नभएको पियूनबाट फत्ते हुनेरहेछ । कोठा नम्बर शून्यबाटै सकिने रहेछ । अरूले हात्ती र बाघ बटुल्न लागि पारिश्रमिक लिने रहेछन् ।

कस्तो जनावरलाई माया गर्ने जन्तुहरू………….

सम्बन्धित समाचार