सुदूरपश्चिम प्रदेश डोटी, अछाम, बझाङ र बाजुरा चार जिल्लाको संगमस्थलमा रहेको खप्तड क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ । खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी नै मानिन्छ । जसलाई ‘धर्तीको स्वर्ग’को उपमा दिइएको छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधतापूर्ण खप्तडमा २२ ठूला पाटन र ५२ झोता अर्थात् रुखका थुम्का छन्।
खप्तड प्रकृतिप्रेमी पर्यटकका लागि रमणीय मानिन्छ । सरकारले २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएपछि खप्तड सरक्षंण भएको छ । खप्तड हिमाली क्षेत्रदेखि चुरे शृंखलासम्म फैलिएको छ । पहिला खप्तड गाउँलेको चरिचरण क्षेत्रमात्र थियो भने अहिले निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ । खप्तड राष्ट्रिय निकुञ्जको उचाई १२६२ देखि ३२७६ मिटरसम्म छ । निकुञ्ज मुख्यालय केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने पाटन घुमफिर गर्न पर्यटकलाई दुई दिन लाग्दछ । त्रिवेणीधाम गंगा, जमुना र सरस्वती नदीको संगमस्थल हो ।
खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तक लेखेका थिए । उनले अन्वेषण गरेर बनाएका कैयौं औषधि अझै सुरक्षित छन् । खप्तडमा राजा वीरेन्द्र, रानी ऐश्वर्यको सुत्ने कोठा, प्रयोग गर्ने सामग्री र हेलिप्याड छ । खप्तड बाबाको आश्रमछेउ सीसाखानी छ । आश्रमवरिपरि पुच्छर नभएका अनौठा मुसा देखिन्छन् ।
केदार ढुंगा, खापर दह, नाटयश्वरी, निकुञ्ज प्रशासन संग्रहालय अवलोकन गर्न सकिन्छ । छिनछिनमा पानी र घाम लाग्ने खप्तडमा बादलले रुख ढाक्दाको समय वातावरण अर्कै देखिन्छ । निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म पर्यटक घुमफिरका लागि जाने भए पनि वर्षामा लाग्ने गंगा दशहरा मेलामा खप्तडमा विशेष भीड हुने गर्दछ । रंगीबिरंगी गुराँस फुल्ने मौसम र भूइँफूलले पाटन ढाकेको बेलाको वर्णन गरेरै सकिन्न ।
खप्तडको सुन्दर घाँसे मैदानमा पुग्नेबित्तिकै पर्यटकको थकान मेटिन्छ । घाँसे मैदानमा पल्टिएर आकाश हेर्दाको आनन्दको बयान गरेरै सकिन्न । हिउँमा खेल्न रमाउने पर्यटकका लागि मंसिर, पुस र माघ उत्तम मौसम हुन्छ । खप्तड प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधतापूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचार–प्रसार कमी छ । तर, प्राकृतिक रूपमै रहेको भू–स्वर्गजस्तै प्रकृति हेर्न खप्तड धेरै पर्यटक पुग्ने गर्दछन् ।
खप्तड घुमफिर गर्न चाहने पर्यटकका लागि अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य हो । ठूल–ठूला पाटन अर्थात् चौर, दह, जीवजन्तु र हिमाल खप्तडको सौन्दर्य हो । खप्तडको प्रकृतिको सुन्दर पाटनमा पुग्दा मन हल्कामात्र होइन, तनावबाट मुक्ति मिलेको पर्यटकलाई आभास हुन्छ । आध्यात्मिक हिसाबले पनि महत्वपूर्ण छ खप्तड । परापूर्वकालमा युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएको स्कन्द पुराणमा वर्णन पाइन्छ । खप्तडलाई स्थानीय भाषामा ‘खेचराद्री’ भनिन्छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ ।
खप्तडमा त्रिवेणीधाम, सहस्त्रलिंग, केदारढुंगालगायत धार्मिक सम्पदा छन् । त्रिवेणीधाममा गंगा दशहराका बेला जेठ–असारमा ठूलो मेला लाग्छ । रातभर डेउडा नाचगान गरेर बिहान त्रिवेणीमा नुहाईधुवाई गरेर तीर्थाटनका पर्यटक बाटो लाग्छन्् । खप्तडमा वर्षैभर घुमफिर गर्न सकिन्छ । जेठ, असार साउनमा खप्तडका पाटन भूइँमा फुलले ढक्कमक्क हुन्छन् । रंगिचंगी अनगिन्ति फूल पाटनमा कार्पेट बिछ्याएसरी लाग्छन् । असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुनसम्म हिउ“ले ढाकिएर खप्तड सुन्दर देखिन्छ । तराईबाट यति नजिक हिउ“मा खेल्न पाइने अर्को ठाँउ नै छैन ।
चौतर्फी फूलेका लालीगुराँसले फागुन, चैत, वैशाखमा खप्तड ध्वजापताकाले सिंगारेको बेहुली मण्डपझै लाग्छ । खप्तडमा सात थरीका लालीगुराँस फुल्छन् । खप्तडको डाँफे कोट र भ्यूटावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिकालगायत दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छन् ।
खप्तड पुगेपछि धेरै पर्यटक खप्तड बाबाको जीवनी जान्न चाहन्छन् । खप्तडमा ५० वर्ष बिताएका बाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन् । सन् १८८० मा भारत कश्मीरको नेहरु परिवारमा जन्मिएका बाबा १९८६ सालमा नेपाल आएका थिए । संन्यास लिनुपूर्व उनी प्रतिभावान डाक्टर थिए । उनले कोलकातास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबिबिएस र बेलायतबाट सर्जन अध्ययन गरेका थिए । उनले काशीको दक्षिणा मूर्ति मठमा रहेर पूर्वीय दर्शन अध्ययन अध्यापनपश्चात गहन साधनाका लागि नेपालको खप्तड लेक रोजेका थिए । खप्तडबाबाका ‘विचार विज्ञान’, ‘स्वास्थ्य विज्ञान’, ‘धर्म विज्ञान’, ‘सारसंक्षेप म र मेरो कर्तव्य’, ‘नारीधर्म र पुरुष धर्म’, ‘योग विज्ञान’, ‘आत्मज्ञान’, ‘आरोग्य विज्ञान’, ‘वेदान्त विज्ञान’, एवं तीन अग्रेजी पुस्तकसहित कुल १६ पुस्तक प्रकाशित छन् ।
प्रकाशित हुन नसकेका उनकै हस्तलिखित अरु थुप्रै कृति पनि छन् । यी ग्रन्थले बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभव उजागर गरेका छन् । वैदिक सिद्धान्त र दर्शनअनुरुपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव गम्भीर, स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन् भन्ने स्पष्ट हुन्छ । २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन बाबाको निधन भएको हो ।
बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभएर तीर्थाटन पर्यटन र पर्या पर्यटनले पनि खप्तड पर्यटनका लागि गन्तव्य बनेको छ । खप्तड लेकमा २ सय ६० प्रजातिका चरा, पाचँसय किसिमका जडिबुटी, विभिन्न फूलले सिंगारिएको खप्तड धर्तीकै स्वर्ग भूमि भन्दा पनि हुन्छ । जैविक विविधताले भरिपूर्ण यो ठाँउ प्रकृतिप्रेमी, अनुसन्धानकर्ता पर्यटकका लागि महत्वपूर्ण मानिन्छ ।
अहिले नेपाली सेनाले यसको संरक्षण गरिराखेको छ । खप्तड क्षेत्र अझ व्यवस्थित गर्न र पर्यटन विकासका पूर्वाधार तयार गर्न सरकारले २०६३ सालमा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरेको छ । पछिल्लो समय पर्यटकका लागि यतिखेर बाबाको आश्रमस्थल संग्रहालय बनाइएको छ । जहाँ बाबाले प्रयोग गरेका कपडा, लत्ता, जुत्ता, पादुका, ओछयानका रूपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीतका साधन पर्यटकले हेर्न पाउँछन् । खप्तड आफैंमा प्रकृतिको जीवित संग्रहालय हो । खप्तड क्षेत्रमा चारैतिर घनघोर जंगल र बीचमा ठूला फाँट छन् । जैविक विविधताले भरिएको खप्तड क्षेत्रमा घाँसे मैदान, थुम्का, जंगल, घोडादौड पाटन, खप्तडबाबाको कुटी, नागढुंगा क्षेत्र, बल्दजोडी भ्युटावर, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सहर्षलिंग, गणेश पाटन, सीतापाइला, छिते ढुंगो मुख्य घुमफिरका ठाउँ हुन् । पर्यटक खप्तड पुग्यो भने फर्कन मन गर्दैन । खप्तड घुमफिरमा सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी र अछाममा पाइला राख्न सकिन्छ । खप्तड क्षेत्रमा राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन विकास समिति र नेपाली सेनाबाट यात्रीलाई उचित सुविधा मिल्छन् । तर, निकुञ्जमा घुमफिर गर्न पाउने तर खान बस्न नपाउने भएकाले केही समस्या भने छ ।
सरकाले निश्चित मापदण्ड बनाएर अब खप्तडमा पर्यटकका लागि होटल सञ्चालनमा ल्याउन आवश्यक छ । पर्यटन विकास गर्न खप्तड क्षेत्रका साथै रामारोशन, बडीमालिका, मालीकार्जुन ऐतिहासिक, धार्मिक र प्राकृतिकस्थल सम्भाव्यता अध्ययन गरेर ग्रमीण पर्यटन विकास हुन जरुरी छ । ग्रामीण क्षेत्रमा होमस्टे खोल्दै जानुपर्ने देखिएको छ । योजनाबद्ध ढंगले पर्यटन विकासमा राज्य, स्थानीय सरकार, समाजसेवी, राजनीतिक नेता, कार्यकर्ता, बुद्धिजिबी, कर्मचारी सबैको ध्यान दिने हो भने खप्तड क्षेत्रमात्र हैन, सुदूरपश्चिममा रहेका अन्य पर्यटन क्षेत्रसमेत विकास हुने देखिन्छ ।
कसरी पुग्ने खप्तड ?
खप्तड जान पैदलयात्रा गर्न रुचाउने पर्यटकका लागि डोटी, अछाम, बाजुरा र बझाङ क्षेत्रबाट पुग्न सकिन्छ । खप्तड घोप्टिएको कचौरा आकारको छ । खप्तड जान डोटी झिग्राना, बझाङ छान्ना, बाजुरा कोल्टी, अछाम साँफेबगर र डोटी सीमा चौखुट्टेबाट पनि खप्तड पुग्न सकिन्छ । सिलगढीबाट एकदिनको पदयात्रामा निकुञ्ज प्रवेशद्वार नेपाली सेनाको चेकपोस्ट झिंग्राना बास बसेर भोलिपल्ट खप्तड पुग्न सकिन्छ ।
झिंग्रानाबाटै देखिन थाल्छन् मनोरम दृश्य । विश्वमै दुर्लभ हरिया रङका छेपारा यही पाइन्छन् । त्यहाँबाट घना जंगलैजंगल पाँच घन्टा हिँडेपछि बीचपानीमा बस्नुपर्छ । बीचपानीमा एउटा सानो होटल छ । त्यहाँ तीन खोलाको संगममा त्रिवेणी मन्दिर छ । मन्दिरबाट खप्तडका प्रख्यात मानिने गणेश मन्दिर, घोडादाउने पाटन, सहस्रलिंग, नागढुंगा, केदारढुंगा तथा खप्तड बाबाआश्रमस्थल हेर्न पाइन्छ ।
खप्तडमा दुई साना होटल छन् । ती खप्तड मेलामा मात्र खुल्छन् । खप्तडमा बास बस्न चार धर्मशाला छन् । खप्तड क्षेत्र पर्यटन विकास समितिले बीचपानी र निकुञ्ज कार्यालयनजिक पर्यटक बस्ने दुई घर बनाइदिएको छ । खप्तड यात्रामा परिचित रुट गाइड र समूहमा यात्रा गर्ने हो भने सजिलो र रमणीय हुन्छ । डोटी सिलगढीबाट खप्तड जाने पदमार्ग वैकल्पिक पदमार्गको तुलनामा निकै सजिलो पर्दछ । तर, खप्तड जान पर्यटकका लागि चल्तीको बाटो भनेको बझाङ तमैल र डोटी झिंग्राना हुन् ।
बझाङको बाटो भएर जान अत्तरिया वा धनगढीबाट गाडीमा तमैलसम्म जानुपर्दछ । सबैभन्दा छोटो आरामदायी, सुरक्षित बाटो बझाङ तमैलबाट हो । तमैलबाट जीपमा दारुगाउँसम्म जान सकिन्छ । दारु गाउँबाट चार घण्टा नागबेली तर्पेलो उकालो करिब १२ किलोमिटर यात्रामा खप्तड पुगिन्छ । खप्तड यात्रामा न्यानो कपडा स्लिपिङ ब्याग र ड्राइफुडस साथमा बोक्दा राम्रो हुन्छ ।