कतै कानुनमा नलेखिएको भए पनि धार्मिक विश्वासको आधारमा काठमाडौंमा अहिलेसम्म गोरुको प्रयोग गरेर खेत जोतिएको छैन । परम्परादेखि चल्दै आएको यो थिति कसरी बस्यो त ?
कतै कानुनमा नलेखिएको भए पनि धार्मिक विश्वासको आधारमा काठमाडौंमा अहिलेसम्म गोरुको प्रयोग गरेर खेत जोतिएको छैन । परम्परादेखि चल्दै आएको यो थिति कसरी बस्यो त ? यसको आ-आफ्नै विश्वास र मान्यता रहेको छ ।कसैले पशुपतिनाथले देख्ने क्षेत्रमा पशुलाई दुःख दिन हुँदैन भन्ने मान्यताका आधारमा यसो गरिएको तर्क गर्छन् भने कसैले मञ्जुश्रीसँग जोडिएको किंवदन्ती सुनाउँछन् । किंवदन्ती जेजसो भएपनि पशु अधिकारकै लागि गोरू नजोत्ने गरिएको हो भन्ने चाहिँ स्पष्ट देखिन्छ ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार उपत्यकाभित्र पशुपति नगरी भएकाले पशुपतिबाट देखिने क्षेत्रमा गोरु नारेर जोत्न नहुने शास्त्रीय मान्यता छ । गोरुले जोतेदेखि धर्मको अपमान हुने, पाप लाग्ने, मानिसहरु बिरामी पर्ने लगायत विश्वास गरिन्छ । धार्मिक किंवदन्तीमा पनि गोरुलाई महादेवका वाहान मानिन्छ । उनका अनुसार गोरुको चार खुट्टालाई पनि धर्मको प्रतीकका रुपमा लिइन्छ । त्यसैले गोरुलाई कुल्चन र जोत्नका निम्ति प्रयोग गर्न हुँदैन भन्ने विश्वास गरिन्छ । उपत्यकाभित्र गोरु नारेर खेतबारी जोत्न नहुने मुख्य कारण यही मात्र हो ।
प्रकाशमान शिल्पकारका अनुसार महामञ्जुश्रीले यो क्षेत्रमा पशुलाई जोताएर दु:ख नदिन आज्ञा गरेका थिए । किंवदन्ती अनुसार हालको सामाखुसी (सावाःखुसी) क्षेत्रमा आफैंले खेत खनी काम सिकाइ, पशुलाई जोताइ दु:ख नदिनु भनी आज्ञा दिएकोले सोही समयदेखि काठमाडौंमा गोरु जोत्न प्रतिबन्ध लागेको हो । त्यसैले हालसम्म पनि उपत्यकाको नेवा: समुदायमा गोरु नारेर हलो जोत्ने गरिँदैन । यस सामाभूमि क्षेत्रलाई स्थानीयहरु छोटकरीमा सामस् वा सामले भन्ने गर्दछन् ।
अर्को त ‘गोरुलाई महादेवका वाहन मानिन्छ । उपत्यकाभित्र गोरुलाई महादेवको वाहन मानेर पुज्ने चलन अझै पनि कायम छ । त्यसैले गोरुलाई कुल्चन र जोत्नका निम्ति प्रयोग गर्न हुँदैन भन्ने विश्वास गरिन्छ।’ यही विश्वासका कारण पनि काठमाडौं उपत्यकामा गोरु नजोतिएको हो ।
संकलन : सुदर्शन अर्याल/संस्कृति तथा पुरातत्त्व अध्ययन केन्द्र