शुक्रबार , अषोज ४, २०८१

घरधनी र भाडामा बस्नेबीच लिखित सम्झौता अनिवार्य गर्दै महानगर

image

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरधनी र भाडामा बस्नेबीच अनिवार्य रुपमा सम्झौता गर्नुपर्ने गरी कार्यविधि बनाउने प्रक्रिया अगाडि बढाएको छ ।

यसैबीच काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिले ‘वहाल व्यवस्था कार्यविधि’को मस्यौदा विधायन समितिमा पठाएको छ । महानगरकी उपप्रमुख एवं राजश्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षता बुधबार बसेको बैठकले कार्यविधि विधायन समितिमा ‍पठाउने निर्णय गरेको हो ।

महानगरपालिकाभित्र बस्ने तथा व्यवसाय गर्ने प्रयोजनका लागि संरचना, स्थान वा जग्गा वहाल वा लिजमा लिँदा–दिँदा अनिवार्य सम्झौता गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

यस्तै मस्यौदामा सम्झौतामा लिने—दिने पक्षको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, भाडामा लिएको स्थान वा संरचनाको क्षेत्रफल तथा कित्ता नम्बरजस्ता विवरण उल्लेख गर्नुपर्ने उल्लेख छ ।

यस्तै, भाडा रकम वृद्धि कति र कसरी हुने, विजुली, पानीको शुल्क कसले बुझाउने, वहाल कर कसले बुझाउने, मर्मत कसले गर्नेजस्ता विषयसमेत उल्लेख हुनु पर्नेछ। सम्झौताको एक–एक प्रति लिने–दिनेले राख्ने र एकप्रति वडा कार्यालयमा बुझाउनु पर्नेछ ।

कार्यविधि लागू हुनुअघि वहालमा लिने–दिनेले व्यवस्था लागू भएको ९० दिनभित्र कार्यविधिबमोजिम सम्झौता गरेर लिने दिने वा बुझाउने गर्नुपर्नेछ। सम्झौतामा गणीतीय भुल भए १५ दिनभित्र सच्याउन सकिनेछ ।

सम्बन्धित समाचार