खानेपानी, हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री, म्याप, लट्ठी, क्यामेरा आदि बोक्नुपर्छ ।
काठमाडौं उपत्यकामा हाइकिङको लागि हरेक याममा उपयुक्त हुने रुटहरू छन् ।
एक दिनको यात्रा अर्थात् हाइकिङ । बिहान निस्केर बेलुका घर आइपुग्ने हाइकिङलाई ‘डे टुर’ पनि भनिन्छ । हिजोआज शहरको व्यस्त जीवनशैलीको तनावबाट शरीर र मन दुवैलाई ‘रिफ्रेस’ पार्न खोज्नेहरूबीच लोकप्रिय छ, हाइकिङ । काठमाडौं उपत्यकाको वरिपरि त्यस्ता धेरै हाइकिङ ट्रेलहरू छन्, जहाँ बिहान शहरबाट निस्केर बेलुकी मज्जाले घर फर्किन सकिन्छ ।
शिवपुरी, नागार्जुन, गोकर्ण, सुन्दरीजल, तारेभीर, झोर, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, बुङ्गमती, गोदावरी, फूलचोकी, लाँकुरीभन्ज्याङ, साँगा, चाँगुनारायण, पनौती, नमोबुद्ध, नगरकोट, साँखु, बल्थली, गुण्डु, ककनी आदि त्यस्ता रुटहरू हुन् । वनजंगल, चराचुरुङ्गी तथा वनस्पति प्रेमीहरूका लागि त यी हाइकिङ ट्रेलहरू ‘विशेष’ नै मानिन्छन् ।
२०६३ सालयता हरेक महीनाको अन्तिम शनिबार ‘स्वास्थ्यका लागि पदयात्रा’ संचालन गर्दै आएको प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठ मौसम अनुसार रोज्न सकिने यी रुटमा हिंड्दा हरेक घन्टा फरक प्राकृतिक विशेषता र धार्मिक–सांस्कृतिक–ऐतिहासिक स्थलहरू भेटिने बताउँछन् ।
स्वास्थ्यको लागि पदयात्रा
शारीरिक कसरत र रमाइलोका लागि गरिने एकदिने हाइकिङमा नयाँ ठाउँ, वनस्पति, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा थाहा पाइन्छ । दैनिक हिंड्न नभ्याउनेहरूले कम्तीमा महीनाको एकचोटि हाइकिङ जाँदा शरीरबाट पसिना निकाल्न र मजाले रक्तसञ्चार गराउन पाउँछन् ।
उकालो–ओरालो ट्रेलमा हाइकिङ गर्दा स्वास्थ्यको लागि बढी लाभदायक मानिन्छ। “उकालो–ओरालो हिंड्दा खुट्टा दरिलो हुन्छ”, डा. श्रेष्ठ भन्छन्, “रगत सफा हुन्छ, शरीरको स्टामिना बढ्छ र समग्रमा स्वास्थ्यलाई फाइदा गर्छ ।”
हाइकिङ जाँदा एकदिन भए पनि शहरको धुवाँ–धूलो, कोलाहल र ध्वनि प्रदूषणबाट छुटकारा पाइन्छ । काठमाडौं उपत्यकाको एउटा विशेषता के भने, यहाँको शहरी क्षेत्रबाट एक घण्टाभन्दा कम समयमा कुनै हाइकिङ रुटको एकछेउमा पुगिन्छ ।
वनपाखा, हिमशृङ्खला, सांस्कृतिक सम्पदा, जनजीवन आदि नियाल्दै उपत्यकालाई फन्को मार्न सकिने हाइकिङ ट्रेलहरू छन् । अहिले त ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूले पनि हाइकिङको प्याकेज चलाउन थालेका छन् ।
गन्तव्य छनोट
हाइकिङ डेस्टिनेशन छान्दा सकेसम्म नयाँ तर सुरक्षित ठाउँ रोज्नुपर्छ । समूहमा गरिने हाइकिङमा सबैको रुचिलाई ख्याल गर्नुपर्छ । सुरक्षा र आइपर्ने सम्भावित समस्यालाई ध्यानमा राखेर कम्तीमा १० जनाको समूहमा जानु राम्रो हुन्छ । हिमाल, प्रकृति, धार्मिक–सांस्कृतिक स्थल, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी हेर्ने चाहना एउटै हाइकिङमा पूरा नहुन सक्छ ।
तसर्थ, सकेसम्म बढी जानकारी बटुलेर हाइकिङ रुट छान्नुपर्छ । डेस्टिनेशन उपयुक्त भए यात्रा रमाइलो र रोमाञ्चक हुन्छ। हाइकिङको मज्जा यसैमा हुन्छ ।
हिजोआज जताततै सडक पुगेको छ । सडकभन्दा अलि वरपरको ट्रेल छान्दा हाइकिङ राम्रो हुन्छ । ट्रेल र मौसम अनुसारको तयारी पहिल्यै गर्नुपर्छ । हाइकिङमा सन ग्लास, तौलिया, क्याप, ह्याट, सन प्रोटेक्सन क्रिम लैजानुपर्छ । जुत्ता र पोशाक हिंड्न सजिलो हुने किसिमको हुनुपर्छ ।
वर्षात्मा छाता र रेनकोट अनिवार्य नै हुन्छ । त्यस्तै, खानेपानी, हलुका खानेकुरा, फलफूल, प्राथमिक उपचारका सामग्री, म्याप, लट्ठी, क्यामेरा आदि बोक्नुपर्छ । यसरी तयारीका साथ गरिएको हाइकिङ पक्कै सम्झ्नलायक रहन्छ ।
शिवपुरी
अधिकतम उँचाइः २,५६३ मीटर
लाग्ने समयः ६/७ घण्टा
हाइकिङ दूरीः १६ देखि १८ किमीसम्म
विशेषताः बूढानीलकण्ठ मन्दिर, नागी गुम्बा, पाँच सयभन्दा बढी प्रजातिका बोटबिरुवा, लाङटाङ हिमाल रेञ्ज ।
काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा पुग्ने तीनवटा ट्रेल छन् । बूढानीलकण्ठको पानीमुहानबाट निकुञ्ज प्रवेश गरेपछि दायाँ वाग्द्वार (विष्णुमतीको मुहान) हुँदै या बायाँतर्फको रुटबाट डाँडामा पुगिन्छ। वाग्द्वारबाट पनि शिवपुरी पुग्ने दुइटा रुट छन् । पानीमुहानबाट शुरू गरिने हाइकिङको आकर्षण नागी गुम्बा हो ।
घना वनमा उकालो यात्रा गर्दै शिवपुरी डाँडामा पुग्दा पुरस्कारको रूपमा आँखासामु हिमशृङ्खलाको दृश्य आइपुग्छ । चराचुरुङ्गी, पुतली, विभिन्न प्रजातिका वनस्पतिबारे जान्न पनि शिवपुरीको हाइकिङ उपयुक्त मानिन्छ ।
नागार्जुन
अधिकतम उँचाइः २,१२८ मीटर
लाग्ने समयः ५/६ घण्टा
हाइकिङ दूरीः ९ किमी
विशेषताः जामाचो गुम्बा, स्तूप, काठमाडौं उपत्यका र हिमाली दृश्य ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रको नागार्जुन हाइकिङ बालाजु वाइपासको फूलबारीबाट शुरू गर्नुपर्छ । उपत्यकाको उत्तरपश्चिम क्षेत्रमा पर्ने यो रुटको पूरै हिंडाइ घना जंगलभित्र हुन्छ । डाँडामा जामाचो गुम्बा र भ्यू टावर छ । चरा अवलोकन र योग–ध्यानका लागि नागार्जुन प्रख्यात छ । डाँडाबाट लाङटाङ, अन्नपूर्णलगायतका हिमशृङ्खला, नुवाकोटका गाउँ र काठमाडौं उपत्यका हेर्न नागार्जुन हाइकिङ धेरै उपयुक्त छ ।
चम्पादेवी
अधिकतम उँचाइः २,२८५ मीटर
लाग्ने समयः ५/६ घण्टा
हाइकिङ दूरीः १४ किमी
विशेषताः टौदह, फर्पिङ गुम्बा, लप्सीको पकेट क्षेत्र, नेवार र तामाङ समुदायको बस्ती ।
उपत्यकाको दक्षिणपश्चिममा रहेको चम्पादेवी डाँडा काठमाडौं र मकवानपुर जिल्लाको सीमाना पनि हो । चोभारको टौदहबाट हाइकिङ शुरू गरेर दक्षिणकाली मन्दिर नजिकको पुरानो नेवारवस्ती फर्पिङ नियाल्दै त्यही ट्रेलबाट फर्कने गरिन्छ । चम्पादेवीबाट गौरीशंकर, लाङटाङ, अन्नपूर्णलगायतका हिमाली शृङ्खला देखिन्छ । कीर्तिपुरको मच्छेगाउँबाट पनि चम्पादेवी जाने अर्को रुट छ ।
चन्द्रागिरि
अधिकतम उँचाइः २,४७५ मीटर
हाइकिङ दूरीः १२ किमी
लाग्ने समयः ५/६ घण्टा
विशेषताः पुरानो नेवार बस्ती, मच्छेनारायण मन्दिर, काठमाडौं उपत्यका र हिमाली दृश्य ।
चन्द्रागिरि हाइकिङको लागि कीर्तिपुरको मच्छेगाउँबाट यात्रा शुरू गर्न सकिन्छ । त्यहाँबाट छापडाँडाहुँदै चन्द्रागिरि पुगिन्छ । चन्द्रागिरिमा उपत्यका आक्रमणको बेला कालु पाँडेले बनाएको बंकर छ, जसलाई हिजोआज ‘कालु पाँडे फोर्ट’ भनिन्छ । थानकोटको गोदामचौरबाट चन्द्रागिरिको डाँडा निस्कने अर्को ट्रेल छ । त्यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, मनास्लु, दोर्जे लाक्पालगायतका हिमालहरू देखिन्छ । समय निकाल्न सक्नेहरूले गोदामचौरबाट मकवानपुरको चित्लाङ पुगेर एकरात बसी इन्द्रसरोवरमा बोटिङको मजा लिन पनि सक्छन् ।
फूलचोकी
अधिकतम उँचाइः २,७६५ मीटर,
लाग्ने समयः ७/८ घण्टा,
हाइकिङ दूरीः १८ किमी,
विशेषताः गोदावरी बोटानिकल गार्डेन, हिमशृङ्खला र उपत्यकाको दृश्यावलोकन ।
उपत्यकाको सबभन्दा अग्लो डाँडा फूलचोकीको हाइकिङलाई ‘टफ’ मानिन्छ र यसको राम्रो व्यवस्थापन पनि हुनसकेको छैन । गोदावरीबाट शुरू हुने हाइकिङ ट्रेलले बीचबीचमा सडक भेट्छ । फर्किंदा त्यही रुट प्रयोग गरिन्छ । एकान्त र ‘टफ’ भए पनि उष्णप्रदेशीय पहाडी वनको यात्राले फूलचोकीको हाइकिङलाई विशेष बनाउँछ । बाटामा अनेक प्रजातिका सुनाखरी र गुराँसको वन भेटिन्छ । चराको कलरव र पुतलीको रमिता फूलचोकी यात्राको अर्को विशेषता हो । हिउँदमा एकपटक हिउँले छोपिने डाँडाबाट सगरमाथा, गौरीशंकर, गणेश, लाङटाङ, मनास्लु, अन्नपूर्ण हिमशृङ्खलाका साथै काठमाडौं उपत्यकाको विहंगम दृश्यावलोकन गर्न सकिन्छ ।
नगरकोट
अधिकतम उँचाइः २,१७५ मीटर
हाइकिङ दूरीः १६/१७ किमी
समयः ७/८ घण्टा
विशेषताः चाँगुनारायण मन्दिर, कृषि क्षेत्र, पुराना नेवारी बस्ती, हिमशृङ्खला ।
काठमाडौं उपत्यकाको पूर्वी कुनामा पर्छ, पर्यटकीय क्षेत्र नगरकोट। नगरकोट क्षेत्रमा हाइकिङको मज्जा लिन साँखु, सुन्दरीजल, चाँगुनारायण, भक्तपुर, बनेपा र धुलिखेलबाट यात्रा गर्न सकिन्छ । यो हाइकिङमा सगरमाथा, मनास्लु, गणेश, लाङटाङलगायतका हिमाली शृङ्खला देखिन्छ । नगरकोट हाइकिङको लागि चाँगुनारायण–तेलकोट ट्रेल सबभन्दा चल्तीमा छ । यो ट्रेलबाट लिच्छवि राजा हरिदत्त बर्माले बनाएको प्रसिद्ध चाँगुनारायण मन्दिरबाट गाउँघर र खेतीपाती हेर्दै नगरकोट पुगिन्छ । एकरात नगरकोटमा बिताउन चाहनेहरूका लागि त यो ट्रेल झनै उपयुक्त छ ।
साँखु
अधिकतम उँचाइः २,३६६ मीटर
हाइकिङ दूरीः १४ किमी
समयः ५/६ घण्टा
विशेषताः बज्रयोगिनी मन्दिर, पुरानो नेवार र तामाङ बस्ती, कृषि क्षेत्र, मणिचूड ताल ।
काठमाडौं उपत्यकाको प्राचीन बस्तीमध्येको एक हो साँखु। यहाँबाट बज्रयोगिनी हुँदै मणिचूडसम्म रमाइलो हाइकिङ गर्ने रुट छ । नयाँ–पुरानो बस्ती, खेतबारी, वनपाखा यो रुटका विशेषता हुन् । साँखुलाई यात्राको शुरू या अन्त्यविन्दु बनाएर चारवटा रुटमा हाइकिङ गर्न सकिन्छ । चाँगुनारायणबाट तेलकोटहुँदै साँखुसम्मको रुट पनि छ । त्यस्तै, मणिचूडबाट चिसापानी र शिवपुरी पुग्ने पनि चल्तीमै छ ।
नमोबुद्ध
अधिकतम उँचाइः १८०० मीटर
हाइकिङ दूरीः १२.५ किमी
समयः ५/६ घण्टा
विशेषताः नमोबुद्ध स्तूप, सुन्तला खेती, तामाङ वस्ती, हिमाली दृश्य ।
धुलिखेलबाट काभ्रेको प्रसिद्ध धार्मिक स्थल नमोबुद्धसम्म हाइकिङ गर्न सकिन्छ । धुलिखेलको बतासेडाँडाबाट नमोबुद्धहुँदै काभ्रेभञ्ज्याङ्ग निस्कने अर्को रमाइलो ट्रेल छ । पनौतीको धापासीबाट नमोबुद्धसम्मको अर्को ट्रेल पनि छ । नमोबुद्धबाट गौरीशंकर, लाङटाङ, दोर्जे लाक्पा, गणेश, मनास्लुलगायतका हिमालको अवलोकन गर्न सकिन्छ ।
लाकुरी भञ्ज्याङ
अधिकतम उँचाइः १,९७७ मीटर
हाइकिङ दूरीः ९ किमी
समयः ५/६ घण्टा
विशेषताः गाउँबस्ती, वन, हिमाल र सूर्योदय ।
ललितपुरको लाँकुरी भञ्ज्याङबाट उपत्यकाका तीनवटै शहरको विहंगम दृश्य देखिन्छ । यात्रा हुन्छ– सल्ला, कटुस र लालीगुराँसको वनबीचबाट । प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि लाँकुरीभञ्ज्याङ उपयुक्त छ । लुभूबाट लाँकुरी भञ्ज्याङ हुँदै सूर्यविनायक निस्कने र ढुङ्गिनबाट लाँकुरी भन्ज्याङ पुगेर पुनः ढुङ्गिन फर्कने चल्तीका ट्रेलहरू छन् । काभ्रेको कुशादेवी, भक्तपुरको दधिकोट वा अनन्तलिङ्गेश्वर र गोदावरीबाट पनि लाँकुरीभञ्ज्याङको हाइकिङ गर्न सकिन्छ । यी सबै ट्रेल १०/१५ किमीका छन् ।
बल्थली
उँचाइः १४०० मीटर
हाइकिङ दूरीः १० किमी
समयः ५/६ घण्टा
विशेषताः नेवार र ब्राह्मण बस्ती, गाउँको यात्रा, चार नदीका चार झोलुङ्गे पुल र खेती अवलोकन ।
काभ्रेको बल्थली अहिले पर्यटकीय गाउँ बनेको छ । हरियाली र शान्त गाउँले जनजीवन रुचाउनेहरू बल्थली हाइकिङमा जान्छन् । खोपासीबाट बल्थली, रोसी, लड्कु खोला, साना गाउँहुँदै खोपासी आएर यात्रा पूरा गर्न सकिन्छ । लामो हाइकिङ गर्नेहरू काभे्रभञ्ज्याङहुँदै बल्थली आउन सक्छन् । बल्थली डाँडाबाट सगरमाथा, गणेश, नुम्बुर, लाङटाङ आदि हिमालहरू लस्करै देखिन्छ । बल्थली डाँडामुनि लड्कु खोला छ । त्यस नजिकैको गुफाभित्र लड्केश्वर महादेवको मन्दिर छ । एउटै हाइकिङमा यी सबै देख्न सकिन्छ ।
आशापुरी महादेव
अधिकतम उँचाइः २,२७८ मीटर
लाग्ने समयः ६/७ घण्टा
हाइकिङ दूरीः १६ किमी
विशेषताः सूर्यविनायक, पाइलटबाबा आश्रम, नेवार र तामाङ बस्ती ।
भक्तपुरको गुण्डूबाट सल्लाको वन अवलोकन गर्दै यात्रा गरेर पाइलटबाबा आश्रम पुगिन्छ । यो रुटमा घ्याम्पे डाँडाहुँदै प्राकृतिक छहरायुक्त आशापुरी महादेवको मन्दिर पुगिन्छ । भक्तपुर र काभ्रे जिल्लाको सीमामा रहेको आशापुरी महादेवबाट फर्केर साँगा झर्न सकिन्छ । वन र ग्रामीण जनजीवन यो हाइकिङ रुटको थप विशेषता हो ।
सुन्दरीजल
अधिकतम उँचाइः १,२८० मीटर
लाग्ने समयः ६/७ घण्टा
हाइकिङ दूरीः १४ किमी
विशेषताः वाग्मतीको मुहान, झरना, दह, तामाङ र गुरुङ बस्ती ।
सुन्दरीजल वनभोज र घुमघामको लागि त्यसै पनि प्रसिद्ध छ । वनले भरिभराउ यो क्षेत्रमा झरना हेर्न वा पानीमा खेल्न पाइन्छ । सुन्दरीजलबाट मूलखर्क हुँदै ओख्रेनी जाने र चाँगुनारायणबाट सुन्दरीजल आउने चल्तीको हाइकिङ रुट छ । सुन्दरीजलबाट शिवपुरी या नगरकोट हाइकिङ पनि गर्न सकिन्छ । मूलखर्कबाट सिन्धुपाल्चोकको चिसापानीहुँदै झुले जाने अर्को हाइकिङ ट्रेल पनि छ । त्यसका लागि एक रात चिसापानीमा बस्नुपर्छ ।
दलचौकी
अधिकतम उँचाइः २,१६५ मीटर
लाग्ने समयः ५/६ घण्टा
हाइकिङ दूरीः १५ किमी
विशेषताः मनकामना मन्दिर, थानापाटी गुफा, हेटौंडा, सिमरा र काठमाडौंको दृश्य ।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका आक्रमणका लागि उत्तरी ललितपुरको दलचौकीबाट सेना पठाएको भनाइ छ । अहिले बिर्खेधाराबाट मनकामना मन्दिर, थानापाटी गुफा हुँदै दलचौकी डाँडासम्म हाइकिङ गर्ने चलन बढेको छ । हिमशृङ्खला र तराईका फाँटको दृश्यावलोकन गर्न दलचौकी हाइकिङ धेरै उपयुक्त छ। दलचौकी पुग्ने अर्को चल्तीको बाटो टीकाभैरवबाट पनि छ ।
इन्द्रदह
अधिकतम उँचाइः १,८७७ मीटर
लाग्ने समयः ४/५ घण्टा
हाइकिङ दूरीः १३ किमी
विशेषताः कालु पाँडेको समाधि, शिव मन्दिर, इन्द्रदह, स्वीट्जरल्याण्ड पार्क ।
काठमाडौंको सीतापाइलाबाट भीमढुङ्गाहुँदै पुगिने इन्द्रदह नै दहचोक हो । सामुदायिक वनको बीचबाट जाने यो ट्रेलमा धादिङका केही ठाउँ र काठमाडौं उपत्यकाको रमणीय दृश्य देखिन्छ । कालु पाँडेको समाधि, शिव मन्दिर, स्वीट्जरल्याड पार्क आदि इन्द्रदह हाइकिङमा हेर्न पाइने खास ठाउँ हुन् ।
तारकेश्वर महादेव
अधिकतम उँचाइः १,८०० मीटर
लाग्ने समयः ५/६ घण्टा
हाइकिङ दूरीः १५ किमी
विशेषताः भुवनेश्वरी मन्दिर, पञ्च माने, ओशो तपोवन, नुवाकोटको दृश्य, झोर झरना ।
काठमाडौंको पश्चिमी क्षेत्रमा रहेको तारकेश्वर महादेव मन्दिरको हाइकिङ बालाजु बाइपासको तीनपिप्लेबाट शुरू हुन्छ । भुवनेश्वरी मन्दिरबाट पञ्च माने हेर्दै अगाडि बढ्दा तारकेश्वर महादेवको मन्दिर पुगिन्छ । शिवपुरी–नार्गाजुन निकुञ्जभित्रको यो मन्दिरबाट हिमशृङ्खलासँगै काठमाडौं उपत्यका र त्रिशूली बजार देखिन्छ । यो ट्रेलमा गुर्जुभन्ज्याङहुँदै झोर झरना पुगेपछि हाइकिङ सकिन्छ ।