शुक्रबार , अषोज ४, २०८१

काठमाडौंको कल सेन्टरमा एकैदिन ८ सय जनाको फोन, धरैको गुनासो फोहोरबारे

‘महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्नुहुन्छ,’

image

काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेका छन् । सोमबार उद्घाटन गरी मंगलबारदेखि सञ्चालनमा ल्याइएको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेको सूचना विभागका प्रमुख नवराज ढकालले जानकारी दिए ।

उनका अनुसार मंगलबार मात्रै करिब ८ सय मानिसहरूले फोन गरी गुनासो, सोधपुछ तथा बधाई दिएका हुन् । फोन गर्ने मानिसहरू धेरैले फोहोरको गुनासो गरेको उनले बताए ।

‘फोन गरेकामध्ये ८० प्रतिशत मानिसहरूले फोहोरमैलासम्बन्धी गुनासो राख्नुभएको छ’, ढकालले भने ,‘उहाँहरू फोहोर कहिले उठ्छ भनेर जिज्ञासा र गुनासो राख्नुहुन्छ । १० प्रतिशत मानिसहरूले बधाई दिनु भएको छ भने बाँकीले ढल, विद्यालय लगायतका विषयमा गुनासो गर्नुभएको छ ।’

फोन गर्नेहरूले फोहोरबाहेक कलेजको पर्दा च्यातिएको, घर निर्माण र करसम्बन्धी, विद्यार्थीले होस्टेलमा राम्रो सुविधा नपाएको लगायत विषयमा गुनासो गरेको ढकालले बताए । बाटोमा भएका खाल्डाखुल्डी कहिले पुरिने र पिच हुने भन्ने विषयमा समेत जिज्ञासा आएको उनले बताए ।

यस्तै स्वास्थ्यमा क्षेत्रको असुविधा, कर, क्युआर कोड कसरी लिने जस्ता विषयमा उनीहरूले जानकारी लिन खोजेका छन्।

ढकालले अहिले कार्यालय अवधिमा मात्र कल सेन्टर सञ्चालनमा ल्याइएको बताए । सार्वजनिक बिदाका दिनमा पनि कल सेन्टरमा फोन गरी आफ्नो गुनासो रेकर्ड गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।

‘महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्नुहुन्छ,’ उनले भने, ‘उहाँहरूले आफ्नो समस्या राखेपछि हामीले सम्बन्धित निकायलाई सो समस्या फरवार्ड गरिदिन्छौं ।’

कल सेन्टरमा फोन गरेर मात्र नभई इमेल र एसएमएस गरेर पनि महानगरवासीले आफ्नो गुनासो राख्न सक्छन्।

काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकले एक साताभित्र कल सेन्टर सञ्चालनमा ल्याउन गरेको निर्णय कार्यान्वयन गर्दै सोमबारदेखि राष्ट्रिय सभा गृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो।

सम्बन्धित समाचार