– प्रतिक भट्टराई
वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाकाे चाबी कस्काे हातमा जाला भन्ने धेरैकाे चासाे बढकाे छ । मुलुककाे संघीय राजधानी समेत रहेकाे महानगरकाे नेतृत्व कसकाे पाेल्टामा पर्ला भन्ने चासाे बढ्नु स्वाभाविक नै हाे । राजनीतिबाट विक्षिप्त रहेको युवाहरुमा राजनीतिक चेत जगाउने गीत गाइरहेका बालेन्द्र शाह (बालेन) ले यसपटक स्थानीय तहको चुनावमा काठमाडौंमा मेयर पदका लागि उम्मेदवारी दिएका छन् । एकातिर एमालेकाे तर्फबाट केशव स्थापितको उम्मेदवारी छ भने गठबन्धनकोतर्फबाट कांग्रेसकी सिर्जना सिंहको उम्मेदवारी छ।
स्वतन्त्र उम्मेदवार, गठबन्धनको नेतृत्वमा कांग्रेस उम्मेदवार र अघिल्लो पाँच वर्षसम्म महानगरको प्रमुख पदमै रहेको एमालेबीचको भिडन्तले यसपटकको काठमाडौं महानगरपालिकाको मेयर पदको लडाईंलाई रोचक बनाएको छ । सत्तारुढ गठबन्धनकातर्फबाट उठेकी सिर्जना सिंह र एमालेकोतर्फबाट उठेका केशव स्थापित दुवै ‘हाइ प्रोफाइल’ उम्मेदवार हुन् । अर्कातिर, स्वतन्त्रतर्फबाटा उठेका बालेनको सामाजिक सञ्जालमा देखिएको चर्चा चुनावी मैदानमा पनि देखिने आशंका राजनीतिक दलका उम्मेदवारमा बढिरहेको पनि देखिएको छ ।
यी सबैका बीच यस पटकको चुनावमा उपत्यकाभित्रको भोटमा कसको पकड हुन्छ ? राजनीतिक दलको तर्फबाट दुई उम्मेद्वार र स्वतन्त्रका तर्फबाट चर्चामा आइरहेका एक उम्मेदवारबीचको चुनावी रण संग्राम कस्तो होला ?
२०७४ को चुनावः २० हजार मतान्तरले विजयी भएको थियो एमाले
अघिल्लो स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकामा कुल मतदाताको संख्या २ लाख ८९ हजार ३०९ जना थियो । यीमध्ये सर्वाधिक मतदाताहरु ४१ देखि ६० उमेर समूहका थिए । यो उमेर समूहमा कुल ५३ हजार ९८० पुरुष र ५८ हजार ४७६ जना महिलाहरु मतदाता नामावलीमा सुचिकृत थिए ।
तर, यो संख्यामध्ये ७०.६ प्रतिशतले मात्रै मतदान गरेका थिए । कुल १ लाख ९७ हजार २२७ जनाले मतदान गरेका थिए । यीमध्ये १लाख ६७ हजार २८६ मत सदर भएको थियो । अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा प्रमुख पदका लागि उम्मेदवारी दिनहरुकै संख्या २८ थियो। राजनीतिक दलकातर्फबाट १३ जना र स्वतन्त्र रुपमा १५ जनाले प्रमुख पदका लागि उम्मेदवारी दिएका थिए ।
नेपाली कांग्रेसका तर्फबाट राजु राज जोशी, नेकपा एमालेका तर्फबाट विद्या सुन्दर शाक्य, नेकपा (माओवादी केन्द्र)का तर्फबाठ सर्वोत्तम दास डंगोल चुनावी मैदानमा देखिएका प्रमुख राजनीतिक दलका उम्मेदवारहरु थिए । सोही निर्वाचनमा ‘वैकल्पिक’ भनिएको विवेकशील नेपाली दलकातर्फबाट उम्मेदवारी दिएकी रञ्जु न्यौपाने (दर्शना) पनि चर्चाको विषय बनेकी थिइन् ।
अन्य उम्मेदवारहरुमा नेकपा मालेकातर्फबाट उषा कुमारी टिवरेवाला, राष्ट्रिय जनमोर्चाकातर्फबाट निर्मल कुमार थापा, राष्ट्रिय जनमुक्ति पार्टीकातर्फबाट डब बहादुर गर्वुजा पुन मगर, नयाँ शक्ति पार्टीका तर्फबाट पवित्र बज्राचार्यलगायतले उम्मेदवारी दिएका थिए। सो चुनावमा स्वतन्त्रतफएबाट उठेका किशोर थापाको नाम चर्चामा थियो । अन्य स्वतन्त्र उम्मेदवारहरुको भने खासै चर्चा भएको थिएन् ।
चुनावी परिणाममा भने कांग्रेस र एमालेबीच ठूलो अन्तर देखिएको थियो । निर्वाचित बनेका नेकपा एमालेका विद्यासुन्दर शाक्य र दोस्रो स्थानमा मत पाएका नेपाली कांग्रेसका राजुराज जोशीको मतान्तर १९ हजार ६४४ थियो । एमालेका उम्मेदवार रहेका शाक्यले निर्वाचित हुँदै ६४ हजार ९१३ मत पाएका थिए भने दोस्रो भएका कांग्रेसका उम्मेदवार जोशीको मत संख्या ४५ हजार २६९ थियो । विशेकशिल नेपाली दलका तर्फबाट उम्मेदवारी दिएकी रञ्जु न्यौपाने तेस्रो बनिन । उनको मत संख्या २३ हजार ४३९ थियो । यता स्वतन्त्रतर्फबाट उठेका किशोर थापाले १८ हजार ४९६ भोट पाएका थिए ।
अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुमा उल्लेख्य संख्यामा भोट ल्याउनेमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम दास डंगोल (७ हजार ९०६) र नयाँ शक्ति पार्टीकातर्फबाट पवित्र बज्राचार्य (६ हजार ५०) थिए । अन्य उम्मेदवारहरुको भोटको संख्या ठूलो थिएन् ।
काठमाडौंमा अघिल्लो स्थानीय तहको चुनावमा एमालेको पकड देखिएको थियो । दोस्रो भएका जोशीसँगको मतान्तरले नै पनि त्यो कुरा साबित गर्यो । एमालेको पकड रहेको क्षेत्रमा शाक्यले पाँच वर्षे कार्यकाल सम्हाल्ने जिम्मा पाएका थिए ।
२०७९ को चुनावः एमाले, गठबन्धन र स्वतन्त्र उम्मेदवारबीच लडाईँ
२०७४ यता देशको राजनीतिमा थुप्रै कुरा परिवर्तन भइसकेका छन् । एमालेमा फुट आएको छ भने नेकपा एमाले र माओवादीको एकिकरणपछिको विभाजनका कारण माओवादीका थुप्रै नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको अवस्था छ । अघिल्लो स्थानीय तहको चुनावमा काठमाडौं महानगरभित्र ६ हजारभन्दा धेरै भोट ल्याएका उम्मेदवार पवित्र बज्राचार्यको पार्टी नयाँ शक्ति पार्टी अहिले खासै सतहमा छैनन् । ससाना पार्टीहरुसँगको एकताका कारण अन्य पार्टीहरु पनि गुमनाम भएका छन् ।
देशको राष्ट्रिय राजनीतिमा आएको परिवर्तनको स्वाभाविक असर काठमाडौं उपत्यकामा देखिन्छ । राष्ट्रिय राजनीतिको परिवर्तनका बीच यो स्थानीय तहको चुनावमा काठमाडौं महानगरभित्र दुई ‘हाइ प्रोफाइल’ राजनीतिक उम्मेदवार र एक स्वतन्त्र उम्मेदवारबीच रोचक भिण्डन्त हुने देखिएको छ ।
काठमाडौं महानगरपालिकामा भोट हाल्ने उम्मेदवारहरको सख्यामा पनि बृद्धि भएको छ । अघिल्लो पटक रहेको मतदाताको संख्या २ लाख ८९ हजार ३०९ मा यसपटक थप १० हजार ९३३ मतदाता थपिएका छन् । हाल काठमाडौं महानगरमा मतदाताको संख्या ३ लाख २४२ रहेको छ।
नेपाली कांग्रेसले गणशमान सिंह र मंगलादेवीकी बुहारी र प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई मंदानमा उतारेर काठमाडौं महानगर आफ्नो पोल्टोमा पार्ने दाउ कसेको छ । अर्कातिर, एमालेले पनि उत्तिकै मिहेनतका साथ काठमाडौं महानगर आफ्नो हातबाट नफुत्कियोस भन्ने चाहेको छ । एमालेले अघिल्लो पटक करिब २० हजार मतान्तरले कांग्रेस उम्मेदवारलाई जितेका शाक्यको कार्यकालमा भएका विभिन्न विवाद र शाक्यको कार्य सम्पादनको विषयलाई नै आधार मानेर मैदानमा स्थापीतलाई उभ्याएको छ । आफ्नो हातबाट काठमाडौं महानगर नफुत्किोस भन्ने चाहनाकै परिणाम स्वरुप निर्वतमान मेयर शाक्यले दोस्रो कार्यकाल नपाएर स्थापित यसपटक चुनावी मैदानमा उभिएका छन् ।
काठमाडौं महानगरभित्रको भोटको समिकरण यहाँको बस्ती अन्तर्गतबाट भएको देखिन्छ । भित्री शहरहरुबाट अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा अधिकांश भोट एमालेलाई गएको थियो । अघिल्लो स्थानीय तह चुनावमा कांग्रेस उम्मेदवार जोशीले भने अनुसार काठमाडौंका ‘कोर बस्ती’हरुबाट उनलाई भोट आएको थिएन । यसपटक पनि स्थापित र सिर्जना सिंहबीचको चुनावी मैदानमा यसले असर गर्ने देखिएको छ । तर, यसपटक मैदानमा बालेन्द्र शाह पनि चर्चाको विषय बनेर उभिएका छन् । विवेकशील साझाका तर्फबाट उठाइएकी सदिक्षा बाँस्कोटाको पोल्टामा पनि केही भोट जाने देखिएको छ। तर, विवेकशीलमा आएको फुट र पार्टीका संयोजक रविन्द्र मिश्रको विचारमा भएको ‘स्खलन’को प्रभावले सदिक्षाको पोल्टामा धेरै मत पर्नेमा आशंका रहेको छ ।
कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएकी सिर्जना सिंह गठबन्धनले प्रमुख पदका लागि उठाएको साझा उम्मेदवार हुन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपालगायतले उनलाई समर्थन गरेका छन् । तर, मतदानको स्तरमा जाँदा भने यो गठबन्धनको प्रभाव कति पर्छ भन्नेमा जान्छ ।
अघिल्लो स्थानीय तह चुनावमा कांग्रेस र माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएकाहरुको कुल भोट ५३ हजार १७२ मात्रै पुग्थ्यो, जुन एमालेले ल्याएको भोटभन्दा निकै कम हो । यसपटक गठबन्धनको रुपमा रहँदा सिर्जनाको पक्षमा कांग्रेससँगै माओवादी, जसपा, एकिकृत समाजवादीको भोट पनि आउने देखिएको छ ।
तर, स्थापितको पक्षमा पनि उपत्यकाका भित्री शहरका मतदाताहरु रहेका छन्। मुख्य गरि नेवार समूदायको मत उनमा जाने देखिएको छ । गठबन्धनसँगको भिडन्तमा विवादमा आइरहने स्थापितले २५ वर्षअघि जुन मत परिणामसहित मेयर पदमा चुनाव जितेका थिए, त्यो अवस्था अब भने आउँदैन् । चुनाव उनकै पोल्टोमा गएपनि उनी निकै कम मतान्तरले विजयी हुने देखिन्छ ।
यता, राजनीतिक दलको कुरा गरिरहँदा भोटको समिकरणमा मुख्य प्रभाव स्वतन्त्र रुपमा उठेका बालेनको पनि पर्न जान्छ । बालेन स्वतन्त्र रुपमा उठेपनि अहिले स्थापित राजनीतिक दलमाथि भारी भइरहेका छन् । एमालको उम्मेदवार केशव स्थापित आफूले दिने अधिकांश भाषणमा अहिले बालनलाई इंगित गरिरहेका देखिन्छन् । आफूले ९० हजार ८६५ भोट ल्याएर काठमाडौं महानगरको प्रमुख पदमा निर्वाचित हुने दाबी गरिरहेका बालेनको उपस्थितिले पनि चुनावी मैदानलाई थप रोचक बनाउनेछ । बालेनले चुनावमा अत्याधिक मत ल्याउने सम्भावना न्युन छ । दलिय शासन व्यवस्थाकै जग रहेको काठमाडौं उपत्यकामा स्वतन्त्रतर्फबाट जित्ने सम्भावना न्युन हुन्छ । तर, बालेन अघिल्लो स्थानीय तहको चुनावमा किशोर थापाको उपस्थितिले पारेको प्रभावजस्तै प्रभाव भने पार्न सक्छन् । उनको उपस्थितिले विजयी हुने उम्मेदवारले पाउने भोट बाँडिनसक्ने ज्यादै सम्भावना छ ।
बालेन, केशव स्थापित, सिर्जना सिंह र सदिक्षा बाँस्कोटाबोह केही चर्चामा राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ पनि कलाकारिताबाट परिचित भएका व्यक्ति हुन । तर, काठमाडौं महानगरमा राप्रपाको प्रभावका कारण उनको उपस्थितिले चुनावमा खासै फरक पार्ने सम्भावना छैन् ।
काठमाडौं महानगरमा यसपटक कुल ५५ जना उम्मेदवार छन् । यीमध्ये २० जना दलिय व्यवस्थाबाट छन् भने ३५ जना स्वतन्त्र रुपमा उम्मेदवार रहेका छन् । विभिन्न दल र स्वतन्त्र उम्मेदवारका बीच बाँडिने भोटले पनि चुनावी मत परिणामलाई सोचेभन्दा विपरित बनाउन सक्ने सम्भावना ज्यादै छ ।