काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार नेपाली कांग्रेसको भागमा परेको काठमाडौं-१० मा गठबन्धन तोडेको घोषणा गरेको छ ।
गठबन्धनको भागबन्डा अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । तर, माओवादी नेता अञ्जना विशंखेले पनि उम्मेदवारी दिएकी छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएको थियो । प्रदेशसभामा पनि सत्ता गठबन्धनका एकभन्दा बढी दलबाट उम्मेदवारी परेको छ ।
काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जनले उम्मेदवारी दिएका छन् । काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको बताएकी छन् ।
अघिल्लो चुनावमा काठमाडौं–१० मा बाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका थिए । कांग्रेसका केसीले २४ हजार १ सय ९० मत ल्याउँदा माओवादीका हितमान शाक्यले २१ हजार ९०७ मात्रै मत ल्याएका थिए ।
काठमाडौंका अधिकांश क्षेत्रमा माओवादी कमजोर रहेको छ । काठमाडौंका निर्वाचन क्षेत्रमध्य बढी मत पाएको भनेको क्षेत्र नं. १० मात्रै हो ।
२०७४ सालमा समानुपातिक पद्धतितर्फ माओवादीले ७ हजार ७६६ मत पाएको थियो । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादीका वडाध्यक्षका उम्मेदवारले ७ हजार २६९ रहेको छ ।