दशैंकाे आगमनसँगै कालापहाड रित्तो हुन्छ । सीमाना मजदुरले भरिएको हुन्छ, सडक किनारमा पहाड जाने गाडी कुरेर बसेका हुन्छन् । नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेतका पसलहरू देश फर्केका मजदुरले भरिएका हुन्छन् ।
शरद ऋतुको आगमनसँगै कालापहाड अर्थात् इन्डियाबाट दशैं मनाउनको लागि घर फर्कने मानिसको लर्को सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका नाका, रुपैडिहा, सुनौली, बनबासा, गाैरीफन्टा, गड्डाचाैकी लगायतका साना तथा ठूला भन्सारमा असोज यता देखिन सुरु भएको छ । नाकाबाट परदेशमा श्रम बेच्न गएका मजदुरसँगै लत्ताकपडा मरमसलादेखि केही उत्साह खुसी र रमाइलो पनि देशभित्र आयात हुन थालिसकेको छ ।
कालापहाडबाट विशेषगरी कर्नाली तथा सुदूरपश्चिमका पहाडी जिल्लाबाट भारतमा काम गर्न गएका मजदुर दशैंसँगै घर फर्केका छन् । यी दुई प्रदेशका नागरिकहरू धेरै पहिलेदेखि भारतका विभिन्न सहरमा मजदुरी गर्न जान्थे । पछि कालान्तरमा भारतीय श्रम बजारलाई जनबोलीमा ‘कालापहाड’ भन्ने सुरु गरियो । कालापहाड र दशैंकाे सम्बन्ध निकै पुरानो र निकट रहेको छ । कालापहाड हाे के ? यसले के दिएको छ त ? यस लेखमा यिनै विषय उपर चर्चा गरिनेछ ।
काठमाडौं र मोफसललाई कालापहाड सुन्दा अलि अनौठो लाग्नसक्छ । अझ कुनै विशाल पहाडको नाम हाे भन्ने पनि भ्रम पर्नसक्छ । तर कालपहाडकाे अर्थ बेग्लै छ । कर्नाली तथा सुदूरपश्चिम प्रदेशबाट बर्सेनि रोजगारीको लागि हजारौँ युवाहरू भारतका विभिन्न सहरमा जाने गर्दछन् । ती तमाम नेपाली युवाको श्रम किन्ने ठाउँ हो- कालापहाड । जसरी अहिले खाडी र अरब नेपाली युवाको मुख्य श्रम बेच्ने प्रमुख थलो बनेको छ । राज्य र परिवारलाई मुस्कान दिने मुख्य माध्यम बनेको छ । त्यस्तै कर्नाली र सुदूरपश्चिमलाई धेरै पहिलेदेखि काम दिने ठूलो बजार र श्रमको मुख्य बिक्री गर्ने थलो कालापहाडले बन्ने गरेको छ ।
बाजुरा घर भएका लक्ष्मीकान्त जोशी अठार वर्ष यता कालापहाडमा काम गरेको बताउँछन्, “कालापहाड रहर नभएर बाध्यता हाे । देशमा रोजगारी भएको भए किन परदेशमा पसिना बगाउनुपर्थ्यो ? मेरो जवानी नैनीतालका गल्लीमा भारी बोकेर गयो । अझै केही वर्ष यो पिठ्युँले लालाजीका (साहुजी) भारी बोक्ने छ । यसैबाट मेरो घरपरिवार बालबच्चा हाँसेका छन् ।”
अछाम घर बताउने अठार वर्षका देवीलाल चदारा दिल्लीको चाँदनी चोकमा अवस्थित जामे हाेटलमा काम गर्छन् । घरको आर्थिक अवस्थालाई सुधार्न पढ्ने लेख्ने उमेरमै हाेटलमा काम सुरु गरे । हाेटलमा काम गर्न थालेपछि उनको घरमा दुई छाक मज्जाले पाकेको छ । पहिला खान धाैंधाैं थियो, चदारा परिवारलाई ।
जुम्ला समलगाउँका वीरबहादुर नेपाली हिउँदमा भारतीय सहरमा जडीबुटी बेच्ने गर्छन् । उनको पिठ्युँमा सानो झोला हातमा तराजु र बोलीमा सेटजी ज्वालामुखी पर्वतका हिङ्ग, शिलाजित राखिए भन्दै बजार डुलेका हुन्छन् । अरू बेला खेतीपाती गर्ने वीरबहादुर हिउँदका तीन महिना भने कालापहाडमा घर खर्च जोड्न कसिएका हुन्छन् ।
वीरबहादुर, लक्ष्मीकान्त र देवीलाल कर्नाली र सुदूरपश्चिमका प्रतिनिधि पात्र हुन् । बर्सेनि हजारौँ देवीलाल र लक्ष्मीकान्त कालापहाडमा मजदुरी गरिरहेका हुन्छन् । फर्कँदा गोजीमा भारु भरेर आउँछन् । घरपरिवारलाई दुई छाक मिठो मसिनो र एक जोर लुगा लिएर आउँछ । कालापहाडले नेपाल राज्यले दिन नसकेको कुरा नेपाली बेरोजगार नागरिकलाई दिएको छ । काम दाम र चाडपर्वमा केही आर्थिक राहत कालापहाडबाट कर्नाली र सुदूरपश्चिमका नागरिकले पाउँदै आएका छन् । र त बर्सेनि देशबाट विदेश अर्थात् कालापहाड जानेको ताँती बढ्दो छ ।
आर्थिक आयआर्जनसँगै जोडिएका कालापहाडका धेरै काला कथा छन् । नेपाली मजदुरका हाँसोको निम्ति आँसु बगेका थुप्रै वेदनाले भरिएका गाथा छन् । भारतीय सहरका गल्लीगल्लीमा आजको मितिसम्म धेरै नेपाली मजदुर भेटिन्छन् । पन्जाबका फाँटदेखि कुल्लु मनालीका हिउँका थुप्रामा नेपालीले पसिना बगाएका छन् । कोही हरियाणा, पन्जाबका खेतमा धान, उखु काट्नमा व्यस्त हुन्छन् त कोही बिच बजारमा नाम्लो हातमा बोकेर भारीको पर्खाइमा । कोही राति सुनसान चोकमा लट्ठी हातमा समातेर भारती बजारको चौकीदारी गरिरहेका हुन्छन् त कोही हिमाचलका स्याउका बगैँचामा स्याउ टिपिरहेका देखिन्छ । अन्य मुलुकको तुलनामा भारतीय बजारमा नेपाली मजदुरलाई केही सहज छ । आवतजावतमा समस्या छैन, भाषामा केही हदसम्म सरल छ । लगानी उहीँ जाने भाडा र श्रम नै हाे । तर कमाइ भने खाडीको तुलनामा कम छ।
परदेशमा काम गर्न सजिलो कहाँ हुन्छ र ? दु:ख, सङ्घर्ष र पीडा अवश्य हुन्छन् तर पीडाको साथसाथै सपना पनि जोडिएर बसेका हुन्छन् । त्यहीँ सपनाको निम्ति मानिस घर परिवार छोडेर परदेशीएका हुन्छन् । परदेशीनु रहर नभएर आम नागरिकको कहर हाे । त्यहीँ कहरलाई रहरमा परिवर्तन गर्न परदेशीनु बाध्यता पनि हाे । राज्य भने नागरिकका दु:खसँग त्यति परिचित भएको आभास हुँदैन । राज्य कुरामा र कागजी डिपियारमा सीमित छ । नत्र सीमानामा काला झोला कुटिरा बोकेका नागरिकको लाम किन लाग्थ्यो ? अक्सर चाडपर्व अघिपछि सिमानामा मानिसको लर्को देखिन्छ । परदेशकाे कमाइ खर्चेपछि मानिस पुनः परदेशीन्छन् । सीमानामा घटेको लाम पुनः दोहोरिन्छ ।
दशैंकाे आगमनसँगै कालापहाड रित्तो हुन्छ । सीमाना मजदुरले भरिएको हुन्छ, सडक किनारमा पहाड जाने गाडी कुरेर बसेका हुन्छन् । नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेतका पसलहरू देश फर्केका मजदुरले भरिएका हुन्छन् । एकाध बाहेक धेरैका झोला पुक्क परेका र मुहारमा हर्ष देखिएको हुन्छ । कालापहाडकाे सुन्दरता गरिबी र अभाव चिर्नु पनि हाे । वर्षौँदेखि कालापहाडले तमाम मजदुरको दशैं रमाइलो बनाइदिएको छ । बालबच्चा खुसी पारेको छ । अहिले हेर्दा राज्यलाई पनि कालापहाडले ठूलै राहत दिएको छ ।
राज्यलाई कालापहाडले रेमिट्यान्स दिएको छ । जनतालाई श्रम दिएको छ । तर मातृभूमिको माया, परिवारको साथ र अपनत्व भने नागरिकले गुमाउनुपर्ने हुन्छ । भलै कालापहाडले आउँदा केही दिनको लागि केही थान रहर र उत्साह ल्याएको हुन्छ । दुईचार दिन परिवारको मुहारमा उज्यालो थप्ने काम कालापहाडले अवश्य गरेको छ । फलतः जनता दुईचार दिनको उत्साह किन्न बर्सेनि लाखौँलाख युवा परदेश धाउनुपरेको छ। तीनै कालापहाडका काम स्वदेशमै गर्न पाए कति खुसी हुन्थे होला नागरिक । एकतिर कालापहाडले जनतालाई काम त दियो तर राज्यलाई भने ठूलै चुनौती दिएको छ । यस्तो कुरा राज्यले कहिले बुझ्ने ? उर्वर जनशक्ति विदेशीनु कदापि राम्रो होइन ।
नेपाली नागरिकको अभिभावकको जिम्मेवारी बहन गरेको राज्य भने रेमिट्यान्स मै मक्ख छ । उसलाई गरिब नागरिकका कथाले के छुन्छ होला ! बाकसमा आउने लासले के बिझ्याँउछ होला र ! बरु केही वर्ष यता राज्य नागरिकलाई कसरी हुन्छ विदेशमा निर्यात गरेर रेमिट्यान्स भित्र्याउन धनी राष्ट्रसँग नयाँनयाँ श्रम सम्झौतामा रमाउन थालेको छ । कालापहाड जस्ता नयाँनयाँ कालापहाड खोज्न थालेको छ । जसरी आज सीमानामा नागरिक मलिन अनुहारमा उभिएका देखिन्छन् । राज्य त्यस्तै मलिन अनुहार हवाईअड्डामा थप्न मिहिनेत गरिरहेको छ ।