बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङले मरणघाट बनाउन थालिएको क्षेत्र धादिङमा पर्ने र खानेपानीको मुहानमाथि पर्ने भएकाले निर्माण गर्न नदिने बताए ।
काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका–२ ले धादिङको बेनीघाट रोराङ–१ को खानेपानी मुहान परिसरमा मरणघाट बनाउन थालेपछि विवाद उत्पन्न भएको छ । मरणघाट बनाउन थालिएको क्षेत्र धादिङमा र खानेपानीको मुहान परिसरमै पर्ने भएपछि विवाद उत्पन्न भएको हो ।
कैलाश गाउँपालिका वडा नम्बर २ ले प्रदेश सरकारले दिएको १० लाख रुपैयाँको लागतमा स्थायी मरणघाट बनाउन लागिएको हो । तर, मरणघाट बनाउन लागिएको ठाउँ धादिङमा परेको छ । आफ्नो जिल्लामा पर्ने र त्यसमाथि खानेपानीको मुहानमाथि पर्ने भएपछि धादिङको बेनीघाट रोराङ–१ का बासिन्दाले निर्माण कार्य अगाडि बढाउन नदिने बताएका छन् ।
बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङले मरणघाट बनाउन थालिएको क्षेत्र धादिङमा पर्ने र खानेपानीको मुहानमाथि पर्ने भएकाले निर्माण गर्न नदिने बताए ।
“कैलाश–२ का साथीहरूले मरणघाट बनाउन थालेको क्षेत्र धादिङमै पर्छ । त्यसमाथि खानेपानीको मुहानमाथि बनाउन लागिएको रहेछ । हामी बनाउन दिन्नौँ ।” वडाध्यक्ष तामाङले भने ।
वडाध्यक्ष तामाङले सीमा क्षेत्रमा संरचनाहरूको निर्माण तथा विविध गतिविधिहरू गर्दा दुवै जिल्लाका स्थानीय बासिन्दा र सरकारबीच समन्वय र सहमति अनिवार्य भएपनि कैलाश–२ ले आफूहरूसँग कुनै जानकारी नदिई संरचना बनाउन थाल्नु हेपाहा प्रवृत्ति भएको बताए ।
“उताका साथीहरूले हामीसँग कुनै समन्वय नगरी, विना जानकारी संरचना बनाउन थालेछन्, काम रोक्न लगाएको छु”, उनले भने ।
कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले मरणघाट निर्माण उपभोक्ता समितिले आफूसँग समन्वय नगरेको बताए ।
“उपभोक्ता समितिले मसँग पनि समन्वय गरेको छैन । उताको साथीहरूसँग समन्वय गर्ने कुरै भएन । उपभोक्ता समितिको कमजोरीले समस्या उत्पन्न भएको । हामी सरसल्लाह गरेर समाधान गर्छौँ ।” वडाध्यक्ष घिसिङले भने ।
वडाध्यक्ष घिसिङले आफूले देखाएको ठाउँमा नबनाई उपभोक्ता समितिले अर्कै ठाउँमा मरणघाट बनाउन थालेको बताए ।
“मैले पहिला देखाएको ठाउँमा नबनाई अर्कै ठाउँमा बनाउन थालेको रहेछ । मैले पनि उताको साथीहरूले गुनासो गर्न थालेपछि मात्रै थाहा पाएँ । काम रोक्न भनेको छु । अब उताको साथीहरूसँग बसेर छलफल गर्छौँ”, वडाध्यक्ष घिसिङले भने ।
मरणघाट निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार नेगीले मरणघाट बनाउन लागिएको ठाउँ खानेपानीको मुहान क्षेत्रमा पर्नेबारे आफूहरूलाई पहिला थाहा नभएकोले सो क्षेत्रमा घाट बनाउन लागिएको बताए ।
“घाट बनाउन थालेको ठाउँ खानेपानीको मुहान क्षेत्र पर्छ भनेर थाहा थिएन । त्यो ठाउँ धादिङको पर्छ भनेर थाहा थियो । तैपनि मरणघाट दुवैतिरकाले प्रयोग गर्न मिल्छ भनेर बनाउन थालिएको हो ।” उनले भने, “वडाध्यक्षज्यूहरूले समन्वय गर्दै होला भन्ने ठानेर हामीले काम अगाडि बढायौँ । तर, समन्वय नभएको रहेछ । विवाद उत्पन्न भएपछि काम रोकेका छौँ ।”
मरणघाट बनाउन लागिएको क्षेत्रभन्दा मुनि तीन वटा खानेपानीको मुहान रहेकाले घाट बनाउन दिन नसकिने बेनीघाट रोराङ–१ का निवर्तमान वडाध्यक्ष नन्द प्रसाद तामाङले बताए ।
“खानेपानीको मुहान सफा हुनैपर्छ । यस्तो संवेदनशील क्षेत्रमा घाट बनाउनु हुँदैन । त्यहाँबाट सार्नैपर्छ भन्ने हाम्रो भनाइ हो । उहाँहरूले जबरजस्ती गरे दुई वडाबीच द्वन्द्व बढ्न सक्छ । पछि खानेपानीले मुद्दा हाले पनि उहाँहरू हार्नुहुनेछ । त्यसैले उहाँहरूले ठाउँ अहिले नै सार्दा राम्रो हुन्छ । यता हामी बनाउन दिँदैनौँ”, उनले भने ।
घाट बनाउन लागिएको क्षेत्रमा बेनीघाट रोराङ–१ को जरुङ र ग्याबाटोलमा जाने खानेपानीको करिब आधा दर्जन मुहान रहेको उनले बताए ।
नेकपा एमाले बेनीघाट रोराङ–१ का अध्यक्ष सुरेन्द्र तामाङ (मिलन)ले पनि सो क्षेत्रमा घाट बनाउन दिन नसकिने र जबरजस्त बनाउन खोजे आफूहरूले प्रतिवाद गर्ने बताए ।