आइतबार , भाद्र २३, २०८१

कैलाश गाउँपालिकामा वडामै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राहीहरूलाई सहज

image

काठमाडाैं । सामाजिक सुरक्षा भत्तालाई बैङ्किङ प्रणालीबाट वितरण गर्न थालिए पनि सम्बन्धित बैङ्कको शाखा नभएका स्थानहरूमा लाभग्राहीहरूलाई भत्ता प्राप्त गर्न गाह्रो भइरहेको छ । वर्षातकाे मौसममा सडकबाटाे भताभुङ्ग हुँदा देशका थुप्रै ठाउँका लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता निकाल्न बैङ्कसम्म जान नसक्दा समस्या भोगिरहेका छन् । तर, मकवानपुरको कैलाश गाउँपालिकाले भने लाभग्राहीको सहजताको लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

कैलाश गाउँपालिकाको सहजीकरण र सानीमा बैङ्क कैलाश शाखाको घुम्ती सेवा अन्तर्गत कैलाश गाउँपालिकाको सामाजिक विकास समिति संयोजक राजेन्द्र घिसिङको संयोजकत्वमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

भत्ता हस्तान्तरण गर्दै कैलाश गाउँपालिकाका सामाजिक विकास समिति संयाेजक एवम् वडा नम्बर २ का वडाध्यक्ष राजेन्द घिसिङ ।

आज साउन २१ गते आइतबार वडा नम्बर १ र २ मा भत्ता वितरण गरिएको छ । वडा नम्बर १ मा ज्येष्ठ नागरिक, एकल महिला , विधवा, दलित बालबालिका , दलित ज्येष्ठ नागरिक र अपाङ्ग गरेर एक सय १० जनालाई बाह्र लाख ९२ हजार रुपैयाँ र वडा नम्बर २ मा सबै गरेर बाह्र लाख ३८ हजार रुपैयाँ वितरण गरिएको संयोजक घिसिङले जानकारी दिए ।

पछिल्लो समयमा सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीबाट भुक्तानी गरिएता पनि भौगोलिक विकटता र बर्षामासमा बैङ्क सम्म जान नसक्ने भएको कारण वडामा भत्ता वितरण गरिएको वडा नम्बर २ का वडाध्यक्ष समेत रहेका संयोजक घिसिङले बताए । वडामै भत्ता वितरण गरिएपछि लाभग्राहीहरूलाई निकै सहज भएको उनले बताए ।

भत्ता प्राप्त गर्नका लागि लाइनमा लाभग्राहीहरू ।

बाँकी वडाहरूमा निरन्तर रूपमा भत्ता वितरण गरिने संयोजक घिसिङले जानकारी दिए । उनका अनुसार वडा नम्बर ५ र ६ मा २३ गते, वडा नम्बर ९ र १० मा २५ गते, वडा नम्बर ७ र ८ मा २६ गते र वडा नम्बर ४ मा २८ गते वितरण गरिने छ ।

भत्ता वितरण कार्यक्रममा कैलाश गाउँपालिकाको एमआईएस अपरेटर उमेश मुक्तान, बैङ्क शाखा प्रबन्धक, डाडाखर्क प्रहरी चौकी प्रमुख र वडाका कर्मचारीहरूको सहभागिता थियो ।

सम्बन्धित समाचार