पालिकामा ढोलामाई (मण्डलीमाई), खड्कदेवी (मैधीकोट), खरीकोट, अनकन्यादेवी र जलमुखीमाई गरी पाँचवटा मन्दिर छन् । ती प्रत्येकलाई १०-१० लाख गरी जम्मा ५० लाख बजेट धार्मिक पर्यटनका लागि भनेर छुट्याइसकिएको छ ।
सन् २०२३ देखि सन् २०३२ सम्म पर्यटन दशक मनाउने विषयबारे राष्ट्रियस्तरमा छलफल भइरहेको छ । नेपाल सरकारले यस दशकभित्र ३५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइरहँदा स्थानीय तहहरू भने के-कस्ता पर्यटकीय लक्ष्यका साथ अघि बढिरहेछन्, कस्तो तयारी गरिरहेका छन् भन्ने प्रश्न अत्यन्त महत्त्वपूर्ण भएर उभिएको छ ।
देशको राजधानीबाट नजिकै रहेको धादिङ जिल्लास्थित ज्वालामुखी गाउँपालिकामा पर्यटकीय सम्भावनाहरू के-कस्ता छन् त ? भञ्ज्याङ, ताल, फाँट, टार, हिमाली दृश्य, ऐतिहासिक मठमन्दिर, संस्कृति आदिको धनी मानिने यस गाउँपालिकाले पर्यटनलाई लिएर के-कस्ता योजनाहरू बनाएको होला ? कुन-कुन शीर्षकमा के-कति बजेट छुट्याइएका छन् ? पर्यटन पूर्वाधार निर्माणतर्फ पालिकाले आफ्ना केकस्ता मौलिकता देखाएको छ ? पृथ्वीनारायण शाहले चर्चेको भूभाग भएका हुँदा ऐतिहासिक सोधीखोजी, अध्ययन, अनुसन्धानमा पालिकाको रुची कस्तो छ ? लगायतका विषयहरूमा गाउँपालिकाका अध्यक्ष यामनाथ दनैसँग गरिएको कुराकानीको संक्षिप्त अंश:
पर्यटन दशकको कुरा चलिरहँदा ज्वालामुखीमा पर्यटकीय सम्भावनाहरू के-कस्ता छन् ?
प्रथमत: धादिङ जिल्लानै काठमाडौंको छायाँमा बाँचिरहेको महसुस हामीलाई छ, ज्वालामुखी पनि यसबाट अछुतो छैन ।
विशेषत: ज्वालामुखी धार्मिक एवम् ऐतिहासिक पर्यटनको सम्भवना बोकेको थलो हो । साथमा प्राकृतिक सौन्दर्यले यस पालिकालाई सिंगारको हुँदा यसका ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवम् प्राकृतिकथलोहरू, ग्रामिण जीवनशैली, मौलिक स्वादहरू जोगाउन एवम् प्रचारप्रसारलाई ल्याउने प्रयास गरिरहेका छौँ ।
पर्यटन पूर्वाधार निर्माणमा पृथकता दिने सवालमा चुकिरहेकाले एवम् पर्यटन पूर्वाधार निर्माणमा ठुलो रकम खर्च गर्न नसकिएकाले यस पालिका एवम् यहाँका स्थलहरू चर्चामा आउन नसकेका हुन् । भूगोलअनुरुपको पर्यटन हुने र त्यसैअनुरुपको पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने कुरामा हामी सचेत छौँ । सिमेन्ट र अनावश्यक रंगरोगनलाई बढुवा दिने पक्षमा नभई यसै भूगोलको मौलिकता जोगाउन प्रयासरत छौँ ।
मण्डलीमाई मन्दिरबाहेक अन्य ऐतिहासिक मन्दिरहरूबाट सेताम्मे फुलेका, चम्किला, उज्याला हिमाल हेर्न पाइन्छ । बुढीगण्डकी र छोरगन्दी नदिको सुसेली सुन्दै पृथ्वीनारायणले एकीकरण अभियानमा उभ्याएका चौताराहरूमा बसी मनमोहक भू-दृश्यहरू हेर्न सकिन्छ । देशभर नै चौतरा मासिइरहँदा हामीले चौतारी बचाउन खोजिरहेका छौँ । यस पालिकालाई चौतारै-चौतराको पालिका पनि भन्न मिल्दछ ।
साथै, यहाँका मन्दिरहरूको ऐतिहासिक, सांस्कृतिक अभिलेखहरूलाई पुस्तकको रुप दिई बाह्य प्रचारमा ल्याउनतर्फ जोड दिइरहेका छौँ । ज्वालामुखीमा पर्यटन भित्राउन पर्यटन व्यवसायी एवम् विषय विज्ञहरूसँग छलफलकै क्रममा छौँ ।
गाउँपालिकाको पर्यटन प्रवर्द्धनका लागि भनेर बजेट कति छुट्याइएको छ ?
पर्यटन प्रवर्द्धनका लागि भनेर ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । पालिकामा ढोलामाई (मण्डलीमाई), खड्कदेवी (मैधीकोट), खरीकोट, अनकन्यादेवी र जलमुखीमाई गरी पाँचवटा मन्दिर छन् । ती प्रत्येकलाई १०-१० लाख गरी जम्मा ५० लाख बजेट धार्मिक पर्यटनका लागि भनेर छुट्याइसकिएको छ । मन्दिर पुनर्निमाण एवम् व्यवस्थापनका कामहरू अगाडि बढ्दैछन् । तिथि विशेष जात्रा लाग्ने एवम् आ-आफ्नै मौलिकता रहेका यी मन्दिरहरूको फरक-फरक विशेषता रहेका छन् ।
मन्दिरहरूका विशेषताहरू पनि भनिदिनुहुन्छ कि ?
ढोलामा मण्डलीमाई मन्दिर छ, जहाँ हरेक मंगलबार सयौँको संख्यामा पाठीको बलि दिइन्छ । हरेक हप्ता ठुलो भीडभाड लाग्दछ, छोरी मान्छे जान दिइँदैन । बलि दिइएको प्रसाद (पाठीको मासु) ढोलाको सरहदभित्रै बसेर खाएर सकाउनुपर्ने प्रचलन छ, घर लगेर खान पाइँदैन ।आजभोलि रक्सिजन्य पदार्थ एवम् प्लाष्टिकजन्य फोहोरका विकृतिहरू देखिएका छन्, त्यसमालाई चिर्न भरमजदुर प्रयास गरिरहेका छौँ ।मण्डलीमाईको उत्पत्ति भएको समय लगभग १८५० सालतिर भएको मानिन्छ । रामकोट मण्डली र ढोलामण्डलीलाई ‘दिदीबहिनी’ मानिन्छ ।
मैधीकोट (वडा न.३)मा ऐतिहासिक खड्कदेवी मन्दिर रहेको छ । त्यहाँ पहिले दलु शाहको गोलाकार दरबार रहेको र दलुशाहको दरबारको उत्तरतर्फको कुनामा रहेको उनको इष्टदेवी नै खड्गदेवी हुन् भनेर इतिहास अध्येताहरूले लेखिरहनुभएको पाएको छु । सुरक्षाकै अभावमा सं २००६ सालतिर त्यो दरबार भताभुंग भएपश्चात् खड्गदेवी मन्दिरले रुप लियो, जसलाई भुइँचालोले लडाएपछी अहिले पुन: मन्दिर उभ्भिएको अवस्था छ । नेपाल राज्यका एकीकर्ता श्री ५ वडा महाराजध्रिआज् पृथ्वीनारायण शाहको शुभ व्रतबन्ध मैधीकोटस्थित दलुशाहकै दरबारमा सम्पन्न भएकाले, ऐतिहासिक त्यस दरबारको भग्नावशेषको खोजी गर्नुपर्ने महसुस पनि गरेका छौँ । श्री ५ महाराजाधिराज सरकारबाट पूजाको सुप्रबन्धका लागि गूठको हिसाब पनि खोजी हुनुपर्यो भन्ने आवाजहरू उठिरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ ।
मैधीकोटमा बडा दशैं र चैतेदशैंमा सरकारी तवरबाट विशेष पूजा हुने गरेकोमा सो रोकिएकाले त्यसलाई ब्युँताउन खोज्दैछौँ । मन्दिर पूर्वपट्टिको बारीमा रहेको प्राचीन शिवालय संरक्षण एवम् यसको काल निर्धारणका कामहरू गर्नेछौँ । लावारिस रहेको डुडलाई संरक्षण गर्दैछौँ ।पृथ्वीनारायण शाहको व्रतबन्ध गोरखा छाडेर यहाँ हुनुले मैधीको इतिहासमा केकति महता थप्दछ, भन्नेबारेमा वृहत छलफल चलाउने योजनामा छौँ । पृथ्वीनारायण शाहको शालिक निर्माणको सवालमा मौलिकता झल्किओस् र सकभर सिमेन्टको प्रयोग नगरौँ भन्दैछौँ किनभने पछिल्लो समयमा सिमेन्टमा मूर्तिहरूले कला पक्ष उजिल्याउन नसकेको र त्यसमा मौलिकता पनि नरहेको पाइएको छ ।
यसै मन्दिरको नामबाट पालिकाको नामाकरण गरिएको हो, भूलवश ‘ज्वालामुखी’ हुन् पुगेको हो ।
जलमुखी मन्दिरको किम्वदन्ती रोचक छँदैछ यसको निर्माण सम्बन्धमा केहि कुरा भन्छु । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा सहयोग गर्ने पं. चक्रपाणी अर्याललाई सुनखानीमा बिर्ताबक्सिस भएको र उनको कान्छो छोरा दैवज्ञ केशरी अर्याल यहाँ आएको भन्नेछ । राजघरानासँग सम्बन्ध भएको र छिमेकी स्थान (गोरखा) का व्यक्ति जनरल भीमसेन थापाको राजकाजमा प्रमुख वर्चस्व कायम भएको बेला गरिएका देशव्यापी पाटीपौवा, मठमन्दिर निर्माणको क्रममा जलमुखी मन्दिर पनि निर्माण भएको अनुमान हरि खनालले गर्नुभएको एक आलेख पढेको थिएँ । त्यहाँ उहाँले वि.सं. १८५७ को दशहरा तिथिका दिन देवज्ञकेशरी अर्यालले घण्टा चढाएको उल्लेख गर्नुभएकाले मन्दिर निकै पुरानो हो । इतिहासका विद्यार्थीहरूको लागि जलमुखी उपयुक्त गन्तव्य हुन् सक्छ ।
चैनपुरमा अनकन्यादेवीको मन्दिर रहेको छ । यस मन्दिरमा चढाइएका घण्टाहरू नै २ सय वर्ष पुराना रहेको एवम् मन्दिर ४०० वर्ष भन्दा पुरानो रहेको इतिहासकारहरूले बताउनुभएको छ । अनकन्यैदेवीको मन्दिरमा नवरात्रमा पूजापाठ चल्दछ । जेष्ठमा पनि मेला लाग्ने गर्दछ । माछापुच्छ्रेदेखि लाङटाङ हिमाल हेर्न यहाँ पुग्नैपर्छ ।
ज्वालामुखी गाउँपालिका वार्ड नम्बर ५ मा रहेको अन्नपूर्णा मन्दिर पनि ऐतिहासिक एवम् धार्मिक स्थल हो ।
मन्दिरहरूको प्रवर्द्धनको काम के कति भए ? डिपिआर तयार भइसकेको हो कि के-कसो छ ?
यी पाँचवटा मन्दिरमा खड्कदेवी र जलमुखी माईको भने स्तरोन्नतिका केही कामहरू भए केही बाँकी पनि छन् । ढोलामाईको छानो फेर्ने काम र जलमुखीको मन्दिरमा गर्नुपर्ने मर्मतसम्भारका काम भइसकेको छ । बाँकी अन्य, मन्दिरका वरिपरि गर्नुपर्ने पूर्वाधार निर्माण र व्यवस्थापनका कार्यक्रमका लागि भने तयारी हुँदैछ । डिपीआर सुरु भइसकेको छ । लगानी ठूलो छ, त्यहीअनुसार विस्तृत अध्ययन सुरु भइसकेको छ ।
मन्दिरको स्तरोन्नतिको काम भयो भन्नुभयो, विज्ञहरूको समन्वयमा गरियो कि कसरी गरियो ?
मन्दिरको स्तरोन्नतिका कामहरू भने पूरातत्व विभागले नै गरेको हो । विभागबाट बजेट र डिपिआर आएर नै त्यहीअनुसार जिर्णोद्धारको काम गरेका हौँ ।
पर्यटक भित्र्याउने तयारी भइरहँदा सडक स्तरोन्नतिका कामहरू चाहिँ के कति भए ?
चारवटा सडक छन् । ससाह, अमराई, रातमाटे हुँदै जाने एउटा सडक, अर्कोचाहिँ पाल्पा-सात भञ्ज्याङ-ढोला-मैदी हुँदै रातमाटे जाने सडक । सात भञ्ज्याङ-खरी हुँदै बुङ्कोटघाट जाने सडक र अर्को हुलाक भञ्ज्याङ-सालाबास-रामपुर हुँदै चैनपुरबेँसी जाने सडक । यी चारवटा सडकहरूलाई चाहिँ हामीले मुख्य सडकका रूपमा राखेका छौँ । राष्ट्रिय योजना आयोग, प्रदेश सरकारका योजनामा समेत यी चारवटा सडक प्राथमिक योजनामा छन् । र, अब आउने आर्थिक वर्षमा दुईवटा सडकलाई चाहिँ सक्ने गरी तयारीमा राखिएको छ । यसका लागि हामीले गर्नुपर्ने सरकारका सबै निकायहरूलाई अनुरोध गरेका छौँ ।
नयाँ आर्थिक वर्ष सुरु नहुञ्जेल भने सडक स्तरोन्नतिका कार्यहरू स्थगित नै हुनेभए ?
प्रदेश सरकारको योजना भएका कारण आर्थिक वर्षमा नयाँ सरकारले यसलाई अघि बढाउने कुरा छ । हाम्रो स्थानीय सरकारले पनि आफ्नो सानो बजेटले भ्याएसम्म कालोपत्रे गर्न भने थालिसकिएको छ । तर, सानो बजेट भएका कारण ७००-८०० मिटर मात्र कालोपत्रे हुनसक्छ । हुलाक भञ्ज्याङबाट खत्री गाउँसम्म कालोपत्रेका लागि सम्झौता भइसकेको छ । पिचको काम सुरु भइसकेको छ ।
संघीय सरकारले बुढीगण्डकी बाँधको जलविद्युत आयोजना अघि सारेको थियो । त्यो अहिले रोकिएको हो ?
बुढीगण्डकीको जलविद्युत आयोजनाबाट ठूलै रकम करिब ४० देखि ४५ अर्ब रुपैयाँ मुआब्जाका लागि गइसकेको छ । अब केही छिटपुट भएका घरहरू बाँकी छन् । एउटै प्रकृतिका घरहरूलाई मुआब्जा दिँदा मूल्य फरक परेर आएका छन् । यसलाई मानवीय त्रुटि भनौँ । यो त्रुटिका कारण उजुरीहरू चलाउने काम भइरहेको छ । त्यसकारण यसमा ढिलाइ भइरहेको हो ।
अब यो नेपाल सरकारको ठूलो आयोजना भएकोले स्थानीय सरकारको त्यति ठूलो महत्त्वपूर्ण भूमिका त्यसमा रहँदैन । तर, हामीले गर्नुपर्ने, त्यहाँबाट विस्थापित हुनेलाई व्यवस्थापन गर्नका निम्ति, आयोजनाबाट अति प्रभावित वडा नं ५, १ र ७, यी क्षेत्रबाट विस्थापित हुनेहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, वहाँहरूलाई कुन क्षेत्रमा बासस्थान, विद्यालय, मठ-मन्दिर, पार्किङजस्ता सबै चाहिने कुराहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरामा भने हामीले आयोजनासँग समन्वय गरिरहेका छौँ । यो समन्वय गर्ने काम र मुआब्जामा आएको त्रुटिमा चाहिँ हामीले काम गरिरहेका छौँ । यी कुराहरू सुल्झिएपछि आयोजनाको काम अघि बढ्छ ।
यो आयोजना अघि बढेमा त्यसले गाउँपालिकाको पर्यटनमा भने कसरी फाइदा पुर्याउनेछ ?
यसमा एउटा बडो रमणीय कुरा छ । जस्तै, चैनपुरको अनकन्या मन्दिर जुन छ, त्यहाँबाट यो ताल पूरै देख्न सकिन्छ । पारिपट्टी हिमाल, दायाँ-बायाँ ताल र बीचमा सल्यानटारको ठूलो फाँट देख्न सकिन्छ । र यो नेपालकै सबैभन्दा ठूलो आयोजना भएको हुँदा यहाँ पर्यटकहरू आउने हुँदा यहाँको पर्यटनलाई त अवश्य पनि प्रवर्द्धन गर्न यसले सहयोग नै गर्छ ।
साथै, आयोजनाका कारण विस्थापित हुनेलाई पनि तालको वरिपरि बासस्थानको व्यवस्थापन गरी त्यहाँ आउने पर्यटकलाई लक्षित गरी होमस्टेको तयारी गर्नेजस्ता लक्ष्य लिइएको छ । विस्थापित हुनेको पुनःस्थापनाले पर्यटनलाई सहयोग पुर्याउने गरी गर्ने कुरा छ ।
होमस्टेहरूको व्यवस्थापन कसरी गर्ने योजना छ ?
होमस्टे अहिले हाम्रो एउटा मात्रै सञ्चालन भइरहेको छ । वडा नं ५ मा राम्रैसँग चलिरहेको छ । र हामीले होमस्टेलाई बस्तीमा नभएर अलि पर्यटकीयस्थल भएका ठाउँमा राख्न खोजेका छौँ । पर्यटकीयस्थलमा होमस्टे राख्न सकेर त्यहाँका लोकल, विशेषगरी त्यहाँका स्थानीय उत्पादनहरू, जस्तै कोदो, मकै, लोकल तरकारीहरू लगायत त्यहाँ फल्ने र उत्पादन हुने चिजहरूलाई प्रोत्साहन गर्ने गरी सञ्चालन गर्नुपर्छ भन्नेमा हामी केन्द्रित छौँ ।
यसका लागि कुन-कुन लोकेशनमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर हामीले सम्बन्धित क्षेत्रका विज्ञहरूसँगै काउन्सिलिङ गरिरहेका छौँ । यसरी, ज्वालामुखी गाउँपालिकामा कम्तीमा चारवटा लोकेशनमा टिपिकल खाना र, राम्रो सेवा-सुविधासहितका होमस्टे सञ्चालनका लागि विज्ञहरूसँग समन्वयमा छौँ ।
यो पनि पढ्नुहोस्,
मुरलीभञ्ज्याङ र चैनपुरको सेरोफेरो: धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरू
मैधीकोटको ऐतिहासिकता : पृथ्वीनारायण शाहको व्रतबन्ध गोरखामा नभएर मैधीमा किन भयो ?
गोरु जुधाएर मैधीकोटको ऐतिहासिक परिचय उठ्दैन !
धादिङको पर्यटकीय गन्तव्यको प्रवेशद्वार : मुरलीभञ्ज्याङ र सांकोष
घाट नपाएका भीमसेन थापाले बनाएका ‘भीमविरेश्वर’ बुङ्कोटघाटमा उसैगरी लावारिस !
ज्वालामुखी पर्यटन विकास समाज गठन
भिडियो