बिहिबार , मंग्सिर ६, २०८१

म्हेन्दोमाया गीतमा पाइने तामाङ मौलिकता र पहिचान

कन्सर्टको नाममा आधुनिक युवायुवतीलाई मनोरञ्जन दिनकै निम्ति म्हेन्दोमायाले आधुनिकता अँगाल्ने हो भने आफ्नो मौलिकता हराएर जानेछ । यसबारेमा सबै सर्जक तथा म्हेन्दोमाया प्रेमीहरू सोचनीय बन्नुपर्दछ ।

image

Photo by: Himal Darpan

“तिमीहरूसँग के छ र आफ्नो विषय छान्ने ? उही कि तिब्बतीयन कि हिन्दु नेपाली विषय छान्ने त होला नि ?” मेरा मित्र आरसी गाउँलेले डेरामै आएर भने । स्नातक तहमा अनुसन्धान पद्धति भन्ने एक विषय पढ्नु पर्दथ्यो । त्यसको परियोजना कार्य सम्पन्न गर्न म विषय शीर्षक खोज्दै थिएँ । त्यही सन्दर्भमा मेरो साइकलको पछाडि लिफ्ट माग्न बनेका स्वार्थी मित्रले मेरो जात, धर्म, संस्कृति र पहिचानलाई तिब्बतसँग जोडेर खिस्सी उडाएँ ।

मित्रसँग हामीसँग मौलिकता रहेका तर्कहरू गरेँ तर, उनी नश्लीय हिसाबले योजनाबद्ध मलाई होच्याउँदै थिए । मसँग प्रशस्त असहमति भए पनि प्रतिकारको लागि ज्ञान र तर्क थिएन । आरसीलाई जवाफ दिनकै लागि मेरो अर्को मेजर विषय नेपालीलाई समेत हुनेगरी वि.सं २०५९ मा “दार्खा आसपासका तामाङ लोक गीतहरू” शीर्षकमा लघु अनुसन्धान गरी हस्तलिखित प्रतिवेदन बुझाएँ । कक्षामा मेरो प्रतिवेदन उत्कृष्ट भएको प्राध्यापकको मुखबाट सुन्दा म अति हर्षित भएँ । खुसी हुनुका दुई कारण थिए, पहिलो प्रतिवेदन राम्रो भएकाले र दोस्रो मुख्य भनिएकाहरूको भन्दा किनाराकृत विषय उठान भएकाले । यसरी झ्वाँकमा गरेको तामाङ लोक साहित्यको अध्ययन आजपर्यन्त चलिरहेको छ । कतिपय विषय मुख्य विषय बनिसकेका छन् भने कतिपय हुन बाँकी छ । यही तामाङ लोक साहित्यसँगको अटुट र गहिरो सम्बन्धलाई यहाँ ‘झ्वाँके सम्बन्ध’ भनिएको हो ।

झ्वाँक चलिरहने मेरो लागि प्राध्यापकको त्यो उत्प्रेरणा सदाको लागि मनमा गढिरह्यो । स्नातकोत्तर तहको औपचारिक शिक्षा सम्पन्न गर्न शोधपत्रकै रूपमा “तामाङ गाउँखाने कथाको सङ्कलन, वर्गीकरण र विश्लेषण” र “तामाङ बालबालिकाको शैक्षिक अवस्था” जस्ता खोज प्रतिवेदनहरू बुझाइ सकेको छु । अन्य फुटकर खोज प्रतिवेदनहरू पनि प्रशस्त तयार पार्न सक्नुमा त्यही झ्वाँकले काम गरेको हो । यही बिचमा गरेको एक खोज ‘म्हेन्दोमाया’सँग रहेको छ ।

म्हेन्दोमाया गीतमा पाइने तामाङ मौलिकता र पहिचान

पृष्ठभूमि:
लोकसाहित्य कुनै पनि जाति वा समुदायको भाषा, साहित्य, कला र संस्कृतिको आधार हो । लोक दर्शनबाटै समाजका आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षहरू सञ्चालित भएका हुन्छन् । जसले मानव हुनुको पूर्णतालाई अघि सार्दै जीवनलाई बाँच्न र बचाउन प्रेरित गर्दछ । त्यही लोकसाहित्यको एक पाटो लोकगीत पनि हो । लोकले सिर्जना गरेको लोकको भाकाहरू नै लोकभाका हुन् । तामाङहरूमा प्रचलित धेरै लोकभाकाहरू मध्ये म्हेन्दोमाया पनि एक हो ।

परिचय
म्हेन्दोमाया नाचमूलक (स्यलु) तामाङ गीत हो । म्हेन्दोमाया गाउँदै नाच्ने तामाङ गीतको एक विधा हो । यो परम्परागत गीत भने हैन । आधुनिक कालका लोकदोहोरी शैलीका तामाङ भाषी गीत नै म्हेन्दोमाया गीत हो । यसमा ङ्योत्लु र स्यत्लु मार्फत नामथर, ठेगाना, दुःख, पीडा, वेदना लगायत आफ्नो कहानी सुनाउँदछ । एकर्कामा आदानप्रदान गरिन्छ । प्रायः युवक समूह र युवती समूहमा यस्तो दोहोरी चले पनि कहिलेकाहीँ एकै प्रकारको लिङ्गबिच पनि हुन सक्दछ । म्हेन्दोमाया तामाङ समुदायमा अत्यन्तै लोकप्रिय एउटा गाउँदै नाच्ने विधा हो ।

क्षेत्र
खासगरी म्हेन्दोमाया ल्हप्सङकर्पो क्षेत्रका गाउँघरमा चलेको एक भाका हो । राजधानीदेखि पश्चिमका तामाङहरूको मौलिक र परम्परागत भाकाहरू तामाङ पहिचान र चिनारीको लागि अत्यन्तै महत्त्व छ । जसमध्ये म्हेन्दोमाया विशेष अत्यन्त लोकप्रिय भाका हो । बागमती प्रदेश अन्तर्गतको नुवाकोट, धादिङ र रसुवा जिल्लाका प्रायजसो गाउँहरूमा म्हेन्दोमाया सुन्न र नाचेको हेर्न सकिन्छ । बसाइसराइसँगै यो भाका पनि अन्य गाउँहरूमा समेत फैलिएको पाइन्छ । आधुनिक पद्धतिबाट यानेकी रेकर्डेड गीतहरू भने सबै तामाङ गाउँहरूमा सुनेको पाइन्छ ।

अध्ययनको थालनी
म्हेन्दोमायालाई बिगेन्द्र एस. वाइबा, गोपाल फ्युबा, लेक योञ्जन, युबी मोंग्रेसा, रोशन फ्युबा तामाङ, सागर एस. वाइबा, च्याउकी माया तामाङ, आशिक गोंबो तामाङ, हेम वाइबा तामाङ, लेक योञ्जन, श्याम मम्बा, थर्चालामा लगायतले परिभाषा, प्रचलनबारेमा छलफल र बहस चलाउने गरेका छन् । तर, व्यवस्थित र वैज्ञानिक अध्ययन अनुसन्धान भने कसैले गरिरहेको पाइँदैन । लेखक तथा पत्रकार फुलमान बलले म्हेन्दोमाया वृत्तचित्र बनाइरहेको सूचना पाए पनि अहिलेसम्म प्रदर्शनमा आइसकेको छैन ।

प्रारम्भ
म्हेन्दोमाया मनोरञ्जन गर्न सिर्जिएको मौलिक गीत हो । एकले अर्कोलाई प्रश्न गर्ने तथा जवाफ दिई मनका कुराहरू पोखी उपस्थित सबैलाई रमाइलो गर्ने तथा गराउने गर्दछन् । यसलाई गाउँदै नाच्नु पर्छ । हात र कुम जोडेर अँगालो मारी दुई समूह बिच आमनेसामने नाच्दै सवालजवाफ हुने गर्दछ । यो गीत युवायुवतीबिच प्रेमालाप गराउनै प्रारम्भ भएको अनुमान छ । पशुपालन, कृषिमा व्यस्त जीवनमा कहिलेकाहीँ आउने जात्रा, पर्व, मेला र उत्सवमा पनि धार्मिक गीतको विकल्पमा म्हेन्दोमायाको प्रारम्भ भएको बुझ्न सकिन्छ । यस्तै प्रकारको वरवर, डम्बा आदि गीतहरू म्हेन्दोमायाभन्दा अघि अस्तित्वमा थिए । पछि एकाएक म्हेन्दोमाया बढी प्रचलित भएको हो ।

आधुनिकतातर्फ
म्हेन्दोमायाको प्रयोग र प्रचलन गाउँहरूमा मज्जाले चलेपश्चात् सञ्चारको माध्यम समेत खोजेको पाइन्छ । म्हेन्दोमायालाई सञ्चारको दुनियाँमा ल्याउने काम लेक योञ्जनले गरे । उनले रेडियो नेपालको फूलबारी कार्यक्रममा २०४८ पौष २ गते प्रत्यक्ष गाएर रेकर्ड गरिएको हो । त्यसैले म्हेन्दोमायालाई परम्परागत युगबाट आधुनिकतातर्फ ल्याउने श्रेय लेक योञ्जनलाई नै जान्छ (हे. तामाङ, गोपाल फ्युबा, सन्दर्भ म्हेन्दोमाया साँझको, कुरा इतिहासको) । म्हेन्दोमाया युवा समाज नामक संस्थाले म्हेन्दोमायाको सामूहिक र संस्थागतरुपमा विकास, संरक्षण र संवर्धनमा लागेको इतिहासलाई कसैले नजरअन्दाज गरिनु हुँदैन । म्हेन्दोमाया युवा समाजकै पहलमा पहिलो एल्बम म्हेन्दोमाया वि.सं. २०५६ मा ल्याएको थियो । दोस्रो एल्बम कप्चङ वि.सं २०५९ मा निकालियो । त्यसपछि म्हेन्दोमाया युवा समाजमा शिथिलता आयो र व्यक्तिगत पहलमा वि.सं. २०६२ मा आइपुग्दा हेम वाइबाको ल्हल्हुङ र सागर वाइबाले साइकल कोरोरोसम्म आइपुग्दा म्हेन्दोमायाले सहरी कार्यक्रमहरूमा पनि एक प्रकारको स्थान बनाइ सकेको थियो । त्यसपछि म्हेन्दोमाया क्षेत्रमा सयौँ गीतहरू आइसकेका छन् अब हजारौँको यात्रामा समेत लाग्दैछन् ।

अहिले म्हेन्दोमाया गीत सङ्गीतकै उत्पादन, प्रचार, प्रसार गर्नकै लागि कम्पनी नै सञ्चालन गरी व्यावसायिकता दिइरहेका छन् । दर्जनौँ म्हेन्दोमाया प्रेमीहरू लागिरहेका छन् । म्हेन्दोमाया गाउनको लागि देशका विभिन्न गाउँहरूसँगै विदेशमा समेत गायक, गायिका र कलाकारहरू पुगेका छन् । यो सुखद पक्ष हो ।

अझ म्हेन्दोमाया म्युजिक अवार्ड समेत आयोजना गरिसकेका छन् । जसले म्हेन्दोमायामा पनि उत्कृष्ट खोज्ने क्रमको सुरुवात भएको छ । समय र परिस्थिति अनुसार म्हेन्दोमाया गीतहरूले बिस्तारै आफ्नो सीमित बिट मार्दै विश्वव्यापीकरणको बाटोतर्फ उन्मुख हुँदै गइरहेको छ । म्हेन्दोमाया सङ्गीतमा समर्पित स्रष्टाहरूले यहाँसम्म ल्याउनको लागि धेरै वर्ष कडा मिहिनेत गर्नुपर्‍यो । धेरै सङ्घर्ष पश्चात् म्हेन्दोमायाको दायरा परिधि फराकिलो भएको छ । तर, गाउँमा गाउने लोक सर्जकहरू भने बिस्तारै ओझेल पर्दै गइरहेको छ । यसरी वास्तविक लोकसर्जकहरूलाई नजरअन्दाज गरिनु कोठे गीतको सिर्जना बढ्नु हो । जसले पहिचान मौलिकता सिद्ध्याउँछ । अपनत्व गुमाउँदछ ।

महत्त्व
मौसम र प्रकृतिमा आधारित गाउँले तामाङहरूको दिनचर्यामा मनोरञ्जन दिलाउने म्हेन्दोमाया पश्चिमी भेगका तामाङ जातिले आफ्नो समाजको मुख्य सांस्कृतिक नाच, मुख्य गीत र अति महत्त्वपूर्ण गहनाको रूपमा लिएको पाइन्छ । दुःख, पीडा भुलेर रमाउने अवसर म्हेन्दोमायाले दिन्छ । प्रेमालाप गर्ने मौका दिन्छ । तत्कालीन परिवेशमा मौखिकरूपमा सिर्जना गरिएका म्हेन्दोमायामा यथार्थ परिवेश र सन्दर्भहरू समेत पर्दछन् । विभिन्न प्रतीक र बिम्बहरूको समेत प्रयोगले लोकसाहित्यको महत्त्व बढाउँदछ, यो गुण म्हेन्दोमायामा पनि पाइन्छ । म्हेन्दोमाया नाच्दा एकताबद्ध भएर नाचिन्छ जसले एकताको प्रवर्धन गरिरहेको हुन्छ ।

अरू वरवर गीतहरूले जस्तै म्हेन्दोमायाले भाषा समेत जोगाइ एकताको भावना जोगाउने हुनाले म्हेन्दोमायाको महत्त्व बढी छ । त्यसैले भाषा, संस्कृति, परम्परा समेतको सम्झना, जगेर्ना र अनुभवको समेत म्हेन्दोमायाले दिलाउने हुनाले भाषिक, सांस्कृतिक र सामाजिक महत्त्व समेत रहेको छ ।

सङ्गति र विसङ्गति
गाउँघर, मेलापात, जात्रापर्व वा कुनाकाप्चामा मात्र गाइने नाचिने म्हेन्दोमाया अहिले सहर बजारका डिजे पार्टी तथा कन्सर्टहरूमा समेत घन्किन थालेको छ । यसले म्हेन्दोमायाको दायरा फराकिलो बनाउँदछ । तर, गीत चलाउने नाममा भल्गर शब्दहरू समेत राख्नु मौलिकताको उपहास बाहेक केही हैन । बन्द कोठामा सिर्जना गरिएका गीतले गाउँको यथार्थ चित्रण हुन सक्दैन । पछिल्लो समयमा आएका अधिकांश गीतमा ठेट तामाङ शब्द भेट्न सकिँदैन । म्हेन्दोमाया शब्द दोहोर्‍याउँदैमा म्हेन्दोमाया गीत बन्दैन भन्ने हेक्का राख्नु जरुरी छ । म्हेन्दोमाया गीत सामान्य मनोरञ्जन दिलाउने गीत मात्र नभएर मौलिकता र पहिचानका आवाजहरू बुलन्द गर्न सक्ने शब्द चयन हुन सक्नुपर्दछ । साथै म्हेन्दोमाया बिटभन्दा अन्य गीत तामाङ गीत मात्रै हुन् म्हेन्दोमाया हैन ।

चासो र चिन्ता
शेलु, दोरा लु, दे लु, चोम्लु, थुलु, छेर्लु, क्षाङ्लु, ह्याच्युङ, से से बोम्बो, मानी, नम्दर आदि तामाङका ठेट गीतहरू हुन् । यस्तो बाहेकको गीत म्हेन्दोमाया हो । म्हेन्दोमायाको अर्थ फूलमाया हुन्छ । फूल फक्रिँदा बास्ना हुन्छ । राम्रो देखिन्छ । भगवानलाई चढाइन्छ । मायालाई फूलसँग यसरी दाँजेर राम्रो बनाउने यो कति राम्रो काइदा हो । साँचो मायालाई पवित्र मानिन्छ । तामाङ भाषा र साहित्यमा प्रतीक र विम्बलाई विशेष जोड दिएको हुन्छ । यो नै सुन्दर पक्ष हो । यसलाई मर्न दिनु हुँदैन । पवित्र फूलसँग दाँजिएको मायालुको सम्झना अङ्ग्रेजी वा नेपाली भाषामा महसुस गर्न सकिन्न । अपनत्व महसुस नगरिने गीत सङ्गीतले बजार भाउ पाइन्न । तत्काल केही प्रभाव देखे पनि कालान्तरमा ती गीतहरू सम्झिने छैनन् ।

अन्त्यमा
तामाङ समुदायमा अत्यन्तै चर्चित म्हेन्दोमाया बोलको गीतको आफ्नै ऐतिहासिक महत्त्व छ । यो गीत ठ्याक्कै यही मितिबाट सुरु भएको भन्ने यकिन तिथि र मिति नभएता पनि त्रिशूली खोला पारीको तामाङ गाउँहरूमा पुस्तौँ पुस्ता अगाडिदेखि मेलापात गाउँघर वनपाखामा गुन्जिँदै आइरहेकोमा दुई मत छैन । कन्सर्टको नाममा आधुनिक युवायुवतीलाई मनोरञ्जन दिनकै निम्ति म्हेन्दोमायाले आधुनिकता अँगाल्ने हो भने आफ्नो मौलिकता हराएर जानेछ । यसबारेमा सबै सर्जक तथा म्हेन्दोमाया प्रेमीहरू सोचनीय बन्नुपर्दछ । हामीले आफ्नो मौलिकता जोगाउनेतर्फ पाइला बढाउनु पर्दछ । मौलिकतामा नै हाम्रो पहिचान लुकेको हुन्छ ।

(तामाङ मौलिकता र लोकसाहित्यका खोजकर्ता गोपाल फ्युबा तामाङ दार्खाका तामाङ लोक गीतहरू २०६०, म्हेन्दोमाया बहस, म्हेन्दोमाया साँझ विषय र सन्दर्भहरूमा म्हेन्दोमायाबारे लेखिरहने गर्दछन् । तामाङ प्रथम म्हेन्दोमाया म्युजिक अवार्ड २०७३ का निर्णायक मध्य एक हुन् । त्रिविविबाट नेपाली र पाठ्यक्रम तथा मूल्याङ्कन विषयमा स्नातकोत्तर गरेका फ्युबा तामाङ लोकसाहित्य, लोकदर्शन, इतिहासमा नियमित कलम चलाउने एक जुझारु युवा हुन् । उनका तामाङ गाउँखाने कथा (२०७१), म्हन्दङ (स्थान परिचय, २०७२), क्रान्तिकारी सेक्के : खनियावास विद्रोहका अगुवा (जीवनी, २०७४) र, रङक बोम्बो (कथा सङ्ग्रह २०७५) प्रकाशित भइसकेका छन् ।)

सम्बन्धित समाचार