घोडचढी नाचको इतिहासलाई केलाउँदा नेपाल र भोटबिचको सन् १७८८—१७८९, सन् १७९१—१७९२ र सन् १८५५—१८५६ मा भएको मुद्रा तथा व्यापार सम्बन्धी युद्ध र वार्ताहरूको प्रतिनिधित्व गरेको छ ।
Photo by: हिमाल दर्पण
एक समय हामीले तामाङ संस्कृति अनुसन्धान विभागमा काम गर्थ्यौँ । नेपाल चोकमा आफ्ना रचना र सिर्जना वाचन गर्ने अनि समसामयिक विषयमा छलफल गर्ने हामीहरू अलि गहिरिएर स्थानीय प्रचलनबारे सोध खोज गर्न तम्सिएका थियौँ । त्यही सिलसिलामा तामाङ संस्कृतिभित्र प्रचलनमा रहेका रीतिथितिलाई नजिकबाट हेर्न थाल्यौँ । वास्तवमा परम्परागत सीप, क्षमता, चालचलन, रीतिरिवाजलाई अवैज्ञानिक भनेर व्याख्यान गर्नेहरूको टोलीको प्रभावमा गाउँ परेको थियो । शिक्षित, जागिरे र विदेश गएर फिरेकाहरूले परम्परा धानेर बसेकाहरू विरुद्ध अनेक आरोप लगाएका थिए, यद्यपि यसो भन्ने गरिन्छ । परम्परा जोगाउनेहरूलाई असभ्यताको बिल्ला भिराउने गरिन्छ । हाम्रो टोलीले घोडचढी नाचको सामाजिकता, धार्मिकता, सांस्कृतिकता, ऐतिहासिकता सम्बन्धमा अध्ययन गर्ने सल्लाह भयो ।
एउटा किम्बदन्ती
एक समय नुन बोक्न केरुङ गएका एक भरियाले एक डल्लो धातु भेटिए । सुन होला भनी उनले ढाकरमा हालेर ल्याए । स्थानीय सुनारसँग जँचाउँदा ‘माइली सुन’ भएको थाहा पाए । उनले सुनारलाई बेचेर जग्गा जमिन जोडे । अन्ततः यिनी सङा बरु (कोदोको धनी) कहलिए । तर केही समयमा नै यिनको घरमा अनेक दुखद घटनाहरू घटे । जोखना हेर्दा उत्तरपूर्वी दिशाबाट ल्याएको पहेँलो धातुको कारण देखाए । अब के गर्न सकिन्थ्यो र ? ती धातु त उनले बेचिसकेका थिए । उपाय सोध्दै जाँदा त्यो पहेँलो धातु मूर्तिको अंश रहेकाले त्यसलाई लामा लगाई पूजापाठ गर्नुपर्ने सुझाव दिए । त्यही सुझाव र स्थानीय लामाको सल्लाह बमोजिम गुरु रिम्पोर्छेको जन्मतिथिको अवसरमा पाँच दिने धार्मिक कार्यक्रम गर्न थाले । त्यसपछि उनका संकटहरु हट्न गए ।
किम्बदन्तीमा वर्णन गरिए बमोजिमको कार्यक्रम आयोजना गर्नलाई एउटा निश्चित स्थान चाहिन्थ्यो । त्यो स्थान गाउँको बिचमा हुनुपर्दथ्यो । त्यसैले उनीहरूको नाग भएको स्थान तोके । अनवरत पुस्तौँ पुस्ता त्यसमा कार्यक्रम भए । उब्जाउ भूमिबाट आएको उत्पादनलाई कार्यक्रम आयोजनाको लागि खर्च गर्दै जान थाले । पछि लामालाई जीविका धान्न त्यो जमिन दिए । भूमि सुधार पश्चात् जग्गा दर्ता गर्दा त्यो जग्गा लामाकै नाममा रहन गयो । रहन दिए । जग्गा लामाका सन्ततिमा सर्दै गए पनि कार्यक्रम सञ्चालन गर्न दिँदै थिए । माओवादी द्वन्द्वका कारण परम्परागत यस प्रकारका कार्यक्रम आयोजना गर्न सकेनन् । कार्यक्रम आयोजना नभएकाले त्यहाँ भएका म्हानेहरु जीर्ण भए । त्यसै क्रममा ती लामाका सन्तानले अर्कै व्यक्तिलाई बेचे । अनि ती व्यक्तिले त्यो कार्यक्रम स्थलमा रहेका म्हाने भत्काउन लगाए । अनि उनले पनि अर्कोलाई बेचे, छेचि कार्यक्रम स्थल ।
हो, हामीहरू त्यही घटनाक्रमलाई पछ्याउँदै थियौँ । कठिन थियो जानकारी संकलन गर्न । तैपनि हामीले पुर्खाको नासो ठानेर खोतलिरह्यौँ । आज पर्यन्त खोतलिरहेका छौँ । त्यसैले आजको झ्वाँके सम्बन्धमा तामाङ समाजमा प्रचलित घोडचढी नाचको परिचय दिन गइरहेको छ ।
तामाङ समाजमा प्रचलित घोडचढी नाचको परिचय
जुनसुकै समाज जाति र सभ्यताको स्रोत बनेर विशेष किसिमको अलिखित साहित्य प्रचलनमा रहेको हुन्छ । त्यस साहित्यलाई लोकसाहित्य भनिन्छ । तामाङ जाति नेपालको एक प्राचीन आदिवासी जनजाति हो । यस जातिसँग आफ्नै प्रकारका लोकगीत, लोककथा, लोकनाटक, लोकगाथा, उखानटुक्का र गाउँखाने कथाहरू प्रचलनमा रहेको पाइन्छ । लोकगाथा र लोकनाटकको मिश्रणको रूपमा गणेश हिमाल आसपासका ल्हाप्साङकर्पो क्षेत्रमा प्रचलित घोडचढी नाच तामाङ लोकसाहित्यको एक गतिलो मौलिक र ऐतिहासिक उदाहरण हो ।
घोडचढी नाच तामाङ शब्द तपुस्यपको नेपाली अनुवाद हो । त भनेको घोडा, पु यानेकी पुम्पलको अर्थ चढेको स्यप भनेको नाच हो । यसर्थ घोडचढीको अभिनय गरेर नाचिने युद्ध नृत्यलाई घोडचढी नाच भनिन्छ । मानिसको कम्मरमा दुइतर्फबाट काठहरू बाँधेर अगाडि पट्टि सानो डोका काठमा बाँधी टाउको बनाई त्यसमा नाक, मुख र कान बनाइन्छ । पछाडिपट्टि पनि सानो डोकोमा पुच्छर बनाई गोइले छोपेपछि रातो घोडचढी ल्हसइदेव र सोही प्रक्रियाबाट जामाले छोपेपछि सेतो घोडचढी गोर्खइग्यल्बो बन्दछ । प्रत्येक घोडचढीसँग दायाँ हातमा तरबार र बायाँ हातमा ढाल, टाउकोमा क्र्याकी र अनुहारमा रातो रङ्ग पोतिन्छ । अन्य सहायक सैनिकहरू आ आफ्नै समूह मुताबिकको क्र्याकी काँधदेखि कम्मरसम्म बाँधी हातमा भाला वा धनुष लिन्छ । सङ्ख्याको निर्धारण नाच प्रस्तुत गर्ने स्थान, परिवेश र अवस्थामा आधारित हुन्छ । तर कम्तीमा एक एक मुख्य घोडचढी र एक/एक सहायक सैनिक हुनु अनिवार्य छ ।
नृत्य मार्गदर्शनको लागि प्रत्येक समूहसँग दुईजना लामाहरू हुनु पर्दछ । झ्याम्टा लिने प्रमुख र ढ्याङ्ग्रो लिने सहायक हुन्छ । दुवै तर्फका लामाले जीतको लागी मन्त्र पाठ गरेर सहभागी सबैलाई टिका लगाइ दिएर नाचको सुरुवात गर्दछ । लामाको पछिपछि घोडचढी, सहायक र समर्थकसहित दुवै टोली होहल्ला, युद्ध, काटमार र लखेटालखेटको अभिनयका साथ डसङ प्रवेश गर्नु पर्दछ । तर ल्हसइदेवको टोलीभन्दा गोर्खइग्यल्पोको टोली अलिकता भए पनि अगाडि डसङमा प्रवेश गर्नु पर्ने मान्यता रहेको छ । केही समयको लखेटालखेट तथा युद्धको अभिनय पश्चात् मध्यस्तकर्ताहरूको सहयोगमा युद्धविराम भई वार्ता हुन्छ । वार्ता गीति भाकामा निम्नानुसार गरिन्छ:
सेतो : खेनी ल्हसइदेव ङिनि गोर्खइग्यल्बो चि दोन्ले फेब नाङची ? (तिमी ल्हासाको, हामी गोर्खाको कुन कारणले यहाँ आयौ ?)
रातो : खेनि गोर्खइग्यल्बो ङिनि ल्हसअी देव छनी यबो खुर्न गोर्खइ य्हुल्सा दिङना । (तिमी गोर्खाली, हामी ल्हासाको नुन बेच्न गोर्खा आ’को ।)
लगातार मध्यस्थकर्ता मार्फत नुनसँग चामल विनिमय गर्न खोज्छन् । नुन र चामलको महत्त्व दुवै तर्फका दूतहरूले प्रस्तुत गर्छन् । एक अर्कासँग सहमत नभई पुनः युद्धमा होमिन्छन् । बल्झिएको युद्ध झन् खतरनाक हुन्छ । फेरी वार्ता हुन्छ, फेरी कुरा मिल्दैन र तेस्रो पटक युद्ध हुन्छ । युद्ध मारकाटबाट आजित भई बराबरीमा नुन र चामल साटफेर गर्दछ । कसैले नहारेकाले दुवै टोली मित्रवत् व्यवहार गर्दै डसङमा लस्करै बसी विजय उत्सव मनाएर नाचको अन्त्य गरिन्छ ।
घोडचढी नाचको इतिहासलाई केलाउँदा नेपाल र भोटबिचको सन् १७८८—१७८९, सन् १७९१—१७९२ र सन् १८५५—१८५६ मा भएको मुद्रा तथा व्यापार सम्बन्धी युद्ध र वार्ताहरूको प्रतिनिधित्व गरेको छ । त्यसबेलाको युद्धमा तामाङहरूको पनि सहभागिता रहेकोले साहदत्त प्राप्त साथीहरूको सम्झना र सम्मानका साथै परिवारजनलाई सान्त्वना दिन यो नृत्य सुरु गरिएको जनविश्वास पाइन्छ । नामाकरण गोर्खाइग्यल्पो र ल्हासाइदेव भएकोले पनि घोडचढी नाच गोर्खाली र ल्हासालीसँग सम्बन्धित भएको पुष्टि गर्दछ ।
त्यसबेलाको युद्धमा सहभागी हुन गएका कतिपय हताहत भएका थिए । आफ्नो आफन्त नफर्केको सोधिखोजी गर्दा मर्यो भन्न सकेन । तर लगातार सोधिखोजी भएपछि बताउन बाध्य भयो । मौखिक रूपमा मरणको सन्देश दिन अप्ठ्यारो भएकोले आफूहरूले युद्धबाट जितेर ल्याएको रगत लतपतिएको ढाल र तरबार प्रदर्शन गर्दै हामी यसरी लडेका थियौ, अन्य साथीहरू यसमा साहदत्त प्राप्त गरे भन्ने अभिनय गर्न र आफन्तजनको चित्त बुझाउन भनी नृत्य सुरु भएको भन्ने मत तान्वा गान्वाहरूको रहेको छ ।
वीरगति प्राप्त गरेका सहयोद्धाहरूको स्मृतिमा प्रत्येक वर्ष माघ महिनाको दशमीदेखि पूर्णिमासम्म विशेष उत्सव छेची/छेज्यू/छेकजी आयोजना गरी यसलाई थप व्यवस्थित बनाएका थिए । तामाङ बाहुल्य रहेका ल्हाप्साङकर्पो क्षेत्र भरि पनि बेलाबखतमा घोडचढी नाच नाच्ने प्रचलन रहेको पाइन्छ । वीर पूर्खाहरुको बलिदान, युद्ध कौशलता, चातुर्यता र वीरता यस नाचमा अनुभूत गर्न सकिन्छ ।
१० वर्षे जनयुद्धको उत्कर्षकाल २०५७ पछि भने यो परम्पराको समेत अन्त्य भएकोमा २०६४ देखि फेरी सुरुवात गरेको छ । तामाङ भुरे टाकुरे राज्यहरूको रक्षार्थ शाह राजाहरूसँग गरेको लडाई तथा संघर्षको इतिहाससँग जोड्ने प्रयास समेत गरिएको छ तर नामकरण, तयारी, वार्तामा प्रयोग गरिने चलन, भाषा र गीतले यो तर्क असुहाउँदो बनेको छ ।
तामाङ लोकसंस्कृति भित्र विकसित घोडचढी नाचको एकदम महत्त्व रहेको छ । जातीय, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, साहित्यिक र धार्मिकरुपमा यसको महत्त्व रहेको छ । तामाङ जातिमा प्रचलित यो नाच तामाङ जातिसँग सम्बन्धित छ । युद्ध तथा अन्य कारणले मृत्यु हुनगइ दाहसंस्कार नपाएर भड्किरहेका मृतात्माले चीर शान्ति पाउने र देवीदेवता खुसी भई समाजमा सुख शान्ति छाउँछ भन्ने जनविश्वास रहेकोले घोडचढी नाच सामाजिक र धार्मिक महत्त्व भेटिन्छ । नेपाल एकीकरण र एकीकरण पश्चात्का विभिन्न युद्धहरूमा तामाङहरू संलग्न थिए । ती युद्धहरूका बेनामी शहीदहरू, प्रजातन्त्र प्राप्तिका अनेक संघर्षका शहीदहरू र जनयुद्धका शहीदहरूको समेत सम्मान दर्शाउन यो उचित अवसर र मौका हुनेछ ।
साथै घोडचढी नाचमा प्रयोग हुने घरेलु हातहतियार, चोया र काठको सामानहरू, अम्रिसो, मोसो लगायतले मौलिकताको झलक दिन्छ । घोडचढी तयार गर्न लामाको गोइ र बोम्पोको जामा प्रयोग गरिनुले लामा र झाँक्रीको तामाङ समाजमा समान अस्तित्व रहेको प्रमाणित हुन्छ । चामल र नुन प्रतीक मात्र नभएर त्यसबेलाको वास्तविकता पनि हो । नेपालमा अहिलेसम्म नुन उत्पादन नहुनु यसको प्रमाण हो । अझ तामाङहरूको स्वाभाविक बानीव्यहोराको समेत प्रदर्शन गरिएको छ । मिलनसार र सोझा तामाङहरू आवश्यक परे शत्रुसँग लड्न पनि तम्तयार छन् भन्ने जातीय स्वभावको बारेमा प्रस्ट पारिएको पाउँछौ । युद्धबाट मात्र समस्या समाधान हुन सक्दैन यसको लागि वार्ता, संवाद र मेलमिलाप आवश्यक छ भन्ने महत्त्वपूर्ण सन्देश पनि घोडचढी नाचले दिएको छ । साथै नेपालका वीर पुर्खाहरू आज पर्यन्त विभिन्न देशमा बहादुर सैनिकको रूपमा कार्य गरिरहेका छन् । विभिन्न युद्धका अग्रमोर्चा सम्हालेका छन् । ती पूर्खाहरुको सम्मान र सम्झना तथा आज कार्यरत वीर सैनिकहरूको मानार्थ यो नृत्य नाचिएको पाइन्छ । त्यसैले घोडचढी नाचले जातीय, सामाजिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ । माघ शुक्ल पक्षको दशमीदेखि पूर्णिमासम्म छेची पर्वमा नाचिने घोडचढी नाच हरेक उत्सव, महोत्सव, जात्रा र विशेष अवसरहरूमा समेत प्रदर्शन गरिन्छ । विशेषतः तामाङहरूको सक्रियतामा वि.स.२०६३ सालदेखि घोडचढी नाचको प्रचारप्रसार, संरक्षण र संवर्द्धन भइरहेको छ । वीर रसमा आधारित यो ऐतिहासिक नृत्य हाल तामाङहरूको मात्र नभई सम्पूर्ण नेपालीको हुन गएको छ ।
घोडचढी नाचमा तत्कालीन लोकजीवनमा प्रचलित लोकविश्वास र लोकसंस्कृति देखाउने प्रयास गरेको छ । त्यसैले तामाङ जातिको मात्र नभई सम्पूर्ण नेपालीको महत्त्वपूर्ण लोकसाहित्य हो । संस्कार, संस्कृति र भाषा छाडेमा पहिचान गुम्न जान्छ । जातीय लोकसाहित्यको विकासले राष्ट्रिय लोकसाहित्यको श्रीवृद्धि हुन्छ । त्यसैले घोडचढी नाचको संवर्धन, संरक्षण र प्रवर्धन गरिनु पर्दछ । गाउँघरमा रहेको लोकप्रचलन र लोकविश्वासलाई जीवन्त राख्न पनि घोडचढी नाचको अध्ययन, अनुसन्धान, छलफल, बहस, र प्रचारप्रसार गरिनु पर्दछ । अबका दिनमा समय, परिस्थिति र युग सुहाउँदो नाचको ढाँचा बनाइ प्रदर्शन गरिनु पर्दछ । विभिन्न कार्यक्रममा घोडचढी नाच लगायतका मौलिक लोक संस्कृतिहरूलाई झाँकीको रूपमा मात्र स्वीकार गरिएको पाइन्छ । यो झाँकी मात्र नभई संस्कार, पद्धति, प्रचलन र पहिचानको सन्दर्भ पनि हो । त्यसैले यसलाई निश्चित महत्त्व दिइनु पर्दछ । त्यसको लागि उचित प्राथमिकता दिन प्रयास गरिनु पर्दछ । घोडचढी नाच नाचिने छेची उत्सवको संरक्षण, प्रचार र विस्तार गरिनु पर्दछ ।
यो पनि पढ्नुहोस्,
तामाङ मौखिक इतिहासको अभियानात्मक प्रस्तुति : छेची पर्व
म्हेन्दोमाया गीतमा पाइने तामाङ मौलिकता र पहिचान