जेरुसाको खोजीमा उनकै आफन्त र साथीभाइको टोली पनि लगातार जुटिरहेको छ ।
काठमाडौं । गायिका जेरुसा राई असोज ६ गते साँझबाट बेपत्ता भएकी छिन् । ललितपुरको धोबीघाटस्थित घरमा मोवाइल छाडेर हिँडेकी जेरुसाले लेखेको ‘सुसाइड नोट’ भेटिएको छ । सो नोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यसदिन साँझ ७ बजे कोठामा नभेटिएपछि उनको खोजी सुरु कार्य शुरु गरिएको थियो । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार त्यस दिन राति ८ बजेको आसपासमा उनी कीर्तिपुरस्थित सुन्दरीघाट क्षेत्रमा ललितपुर र काठमाडौं जोड्ने बागमती खोलाको झोलुङ्गे पुलमा देखिएकी थिइन् ।
त्यसबाहेक प्रहरीले डग शाखाबाट तालिमप्राप्त कुकुर समेत ल्याएर खोजीमा प्रयोग गरेको थियो । तर, कुकुरले समेत कुनै संकेत दिन नसकेको प्रहरीले बताएको छ ।
जेरुसाका बुबा भूपू ब्रिटिस आर्मी हुन् । उनका बुबाआमा डिभोर्स भएर बेग्लाबेग्लै बस्दै आएका छन् । आमा धोबीघाटस्थित घरमा एक्लै बस्छिन् भने बुबा बेलायतमै बस्छन् । बेलायतमा बुबासँगै लामो समय बसेकी जेरुसा केही वर्षयता अमेरिकामा थिइन् ।
अमेरिकामा रहँदा नेपाली युवकसँग विवाह गरेकी उनी सम्बन्ध राम्रो नभएपछि डिभोर्सको अवस्थामा पुगेकी थिइन् । डिभोर्सपछि उनी मानसिक समस्यामा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घरबाट निस्कनु अघि उनले लेखेर छोडेको सुसाइड नोटमा आफूले बाँच्नुपर्ने जीवन बाँचिसकेको उल्लेख गरेकी छन् । यही आधारमा प्रहरीले जेरुसाले आत्महत्या गर्न निस्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।
प्रहरीले उनलाई बाग्मती क्षेत्र आसपास खोजिसकेको छ । उनले आत्महत्या गरेको भएपनि कतै एकान्तमा गरेको हुनसक्ने अथवा उनी कतै एकान्त ठाउँमा हुनुपर्छ भनेर पनि प्रहरीले आशंका गरिरहेको छ ।
जेरुसाको खोजीमा उनकै आफन्त र साथीभाइको टोली पनि लगातार जुटिरहेको छ । जेरुसा डेढ महिनाअघि मात्र अमेरिकाबाट फर्किएर धोबीघाटमा आमासँग बस्दै आएकी थिइन् । उनी कभर गीतहरु गाएर चर्चामा आएकी थिइन् ।