बिहिबार , कार्तिक २९, २०८१

लोप हुँदै जरुङ गाउँको सभ्यतासँग जोडिएको ऋषेश्वर जात्रा

image

कहीबर्ष अघिसम्म फागुन शुक्ल प्रतिपदाको दिनदेखि नै धादिङको बेनीघाट रोराङ-१ स्थित जरुङ गाउँ ढयाङ्ग्रोको आवाजले गुञ्जायमान हुन्थ्यो । दिउँसोदेखि राति निकै अबेरसम्म बोम्बो (झाँक्री), लाव्ताबा (कुल देवताको पुजारी) लामा (जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार पुरा गर्ने पुजारी) हरू ढ्याङ्ग्रो बजाउँदै नाच्थे र नचाउँथे । गाउँका बासिन्दाहरूलाई फागु पूर्णिमा आएको थाहा हुन्थ्यो । मकै छर्ने बेला भएकाले दिनभरि बारीमै व्यस्त हुने गाउँवासीहरू साँझ ढ्याङ्ग्रो बजाउँदै नाचेको हेर्न जान्थे । दिनभरिको थकानलाई बिसाउन गाउँलेहरू ढ्याङ्ग्रो बजाउने ठाउँमा जम्मा हुन्थे । केटाकेटी युवायुवतीदेखि वृद्धवृद्धासम्म ऋषेश्वर डाँडामा गएर होली खेल्न उत्साहित हुन्थे ।

फागुन पूर्णिमामा माथिल्लो गाउँ ऋषेश्वर डाँडामा मेला लाग्छ । त्यही मेलाको लागि उनीहरू १५ दिन अगाडिदेखि नै तयारी गर्थे । रमाइलो गर्न माहौल बनाउँथे । होली अथवा फागुन पूर्णिमाको दिन सोही वडाको ऋषेश्वर डाँडामा ठूलो मेला लाग्थ्यो र लाग्छ । सो डाँडामा ऋषेश्वर महादेवको गुफा छ ।

तर अहिले होलीको पूर्वसन्ध्यासम्म पनि सुनसान छ जरुङ गाउँ । ढ्याङ्ग्रोको आवाज सुनिँदैन । फागुन पूर्णिमा आएको आभास भएको छैन जरुङबासीलाई । किनकि गाउँका बोम्बो, लाव्तावा र लामाहरूका घरमा ढ्याङ्ग्रो बजेका छैनन् । सिठी बजेका छैनन्, बुढापाकादेखि युवाहरूको होहल्ला सुनिन छाडेका छन् ।

‘यो हाम्रो सयौँ वर्षदेखि चल्दै आएको संस्कृति हो, तर अहिले झन्-झन् लोप हुँदै गएको छ’, ऋषेश्वर महादेवको पुजारी लुङ्गु लामाले भने-‘पुराना बुढापाकाहरू कमजोर हुँदै जानु र युवा पुस्ताले चासो नराख्दा यस्तो भएको हो।’

तामाङ संस्कृतिको जानकार लामाले संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । लामाले भने- ‘संस्कृति हराए सभ्यता हराउँछ, सभ्यता हराए पहिचान हराउँछ।’

‘पहिला पूर्णिको साँझ गाउँका युवाहरू कुटो- कोदाली बोकेर गुफाको सरसफाइ गर्न जान्थे । घर-घरबाट स्वतःस्फूर्त रूपमा दर्जनौँ युवाहरू पुग्थे । उनीहरूले गुफालाई चिटिक्क पार्थे, लिपपोत समेत गर्थे । सँगै पुजारी बाजेहरू पनि पुग्थे । युवाहरूलाई ‘यसो गर उसो गर’ भन्थे । युवाहरू गुफा सफा गरेमा महादेव खुसी हुन्छ भन्दै कुटो-कोदालो चलाउन तँछाडमछाड नै गर्थे । पूर्णिमाको साँझदेखि भोलिपल्टसम्म मेला लाग्छ । मेला भर्नेहरू दर्शन गर्न पुग्दा गुफालाई चिटिक्क सिँगारिएको हुन्थ्यो । दर्शनार्थीहरु प्रफुल्लित हुन्थे ।’ लामाले स्मरण गर्दै भने-‘पछिल्लो समय भने गुफा सफा गर्न युवाहरू पुग्दैनन् । गाउँका बुढापाकाहरू वास्ता गर्दैनन्, सक्दैनन् पनि, युवाहरूलाई नबोलाईकन आउँदैनन् । मै बुढो मान्छेले नै सफा गर्छु ।’

गाउँमा लाग्ने मेला, जात्राहरू समाजको महत्त्वपूर्ण संस्कृति भए पनि तीनको संरक्षणमा कसैको ध्यान नगएको स्थानीय अगुवा काले बहादुर पाख्रिनले बताए । यस्ता मेलाहरू गाउँका मानिसहरूलाई एक अर्कासँग जोड्ने, सामाजिक सम्बन्धलाई बलियो बनाउने र मानिसहरूलाई रमाइलो गर्ने महत्त्वपूर्ण माध्यम भएको पूर्व वडाध्यक्ष समेत रहेका पाख्रिनले बताए।

‘पहिला-पहिला हाम्रो रमाइलो गर्ने ठाउँ भनेको मेला जात्राहरू नै थिए । मेला भर्न, पूजा गर्न गाउँका गान्बा, ताम्बा र बोम्बोहरु हौसिन्थे । तर अहिले यी सबै एकादेशको कथा जस्तो बन्दै गएको छ ।’ पाख्रिनले भने-‘मलाई अहिले पनि त्यसरी नै रमाइलो गर्न, मेला भर्न मन लाग्छनी, तर के गर्नु उहिलेको जस्तो माहौल बनाउनै सक्दैन ।’

यस्तो मेला जात्रा , लोक परम्पराहरू हराउँदै जाँदा समाज उराठ लाग्दो बनेको पाख्रिन बताउँछन् ।

उनका अनुसार पहिला त्यसरी मेलाको तयारी गर्ने पुजारीहरूला ई गाउँका अगुवाहरूले सगुन (रक्सी) को व्यवस्था गर्ने गरेका थिए । सगुन आइरक खाना पाइने भएपछि त्यसैमा खुसी मान्दै पुजारीहरू अघि सर्थे । तर अहिले पुजारीहरूले खासै चासो दिँदैनन् ।

सबै कुराहरूलाई पैसामा हिसाब गर्न थालेकाले यस्तो परम्पराहरू हराउन थालको पाख्रिनको ठम्याइ छ ।

‘पहिले गाउँका अगुवाहरूले घरमै पारेको सगुन पोङ (रक्सी) दिन्थे । उनीहरू खुसी हुन्थे । तर अहिले त्यस्तो चलन हराउँदै गयो । पुजारीहरू आफै खर्च गर्नुपर्छ । गाउँका बुझेर दिँदैनन् । जसका कारण पनि संस्कार हराउन थालेको छ’, पाख्रिनले भने ।

पहिला ऋषेश्वर डाँडाको मेला भर्न मकवानपुरको पालुङदेखि गोरखा र चितवनसम्मका मानिस आउने गरेको पाख्रिनले स्मरण गरे । त्यस बेला ऋषेश्वर डाँडामा रहेका थुम्काहरू भरिभराउ हुन्थ्यो, । उनका अनुसार ऋषेश्वर महादेवको गुफा धादिङ र मकवानपुरको सीमानामा रहेकाले दुवै जिल्लाका मानिसहरू जमगड हुने थलो नै ऋषेश्वर डाँडाको मेला थियो ।

‘खेती किसान मेलापात गाँस दाउरामा व्यस्त हुने गाउँवासीहरूका लागि आफ्ना आफन्त, साथीभाई एवम इष्टमित्रसँग भेटघाट गर्ने माध्यम जात्रा थियो । सम्बन्धहरूलाई पुनर्जागृत गर्न, नयाँ सम्बन्ध जोड्न मेलाको भूमिका हुन्छ । दु:ख कष्टहरूलाई भुलेर आनन्द लिन राम्रो अवसर थियो मेला । मेलामा गीत गाउने, नाच्ने । कुराकानी गर्ने गर्थे । मेलाबाटै प्रेम बस्ने, बिहे समेत हुने गरेको थियो । गीत गाउँदा हार्‍यो भने बिहे गरेर जाने चलन थियो । पहिला मेला भर्न जाँदा आमाहरूले घरमै पारेको सगुन लगिन्थे । आफ्ना साथीभाइ, इष्टमित्र आफन्तहरूलाई बाँड्थे । खानेकुराहरू तयार पारेर लान्थे ।’ स्थानीय संस्कृति र इतिहासको राम्रो ज्ञान राख्ने पाख्रिनले विगतको बयान गरे ।

ऋषेश्वर महादेवको गुफा रहेको डाँडालाई स्थानीय बासिन्दाले भने रिक्सुल डाँडा भन्ने गरेको छ । ऋषेश्वरको अपभ्रंश भई ‘रिक्सुल’ बन्न पुगेको हो । करिब एक हजार नौ सय मिटरको उचाइमा अवस्थित डाँडामा ऋषेश्वर महादेवको गुफा छ । यो मेला कहिलेदेखि सुरु भयो भन्ने यकिन थाहा नभएको स्थानीय अगुवाहरू बताउँछन् । त्यस क्षेत्रमा मानिसको बसोबास भएदेखि नै मेलाको सुरु भएको हुनसक्ने पुजारी लुङगु लामाले बताए।

किंवदन्ती

ऋषेश्वर महादेव गुफा र मेलाको बारेमा विभिन्न किंवदन्तीहरू रहेका छन् । सत्ययुगमा मानिस र भगवान अलग हुने बेलामा अन्य भगवान र मानिसहरूको बिचमा लडाई भयो । लडाइ भएपछि पृथ्वीमा मानिसहरूको लास गन्हाउन थाले, वातावरण प्रदूषित बन्यो । भगवान ऋषेश्वर महादेवले आफूलाई कि जमिन माथि कि जमिनमुनि बस्ने निधो गरे । आकाशमा बस्दा हावाले दुर्गन्ध ल्याउने भएपछि गुफामा बस्ने निर्णय गरे । जमिन मुनिको गुफामा बस्न थाले । सोही क्रममा ऋषेश्वर महादेव उक्त गुफामा बस्न थालेको बताइन्छ ।

सोही समयदेखि नै मानिसहरूले पूजा गर्दै मेला भर्दै आएका थिए । ऋषेश्वर महादेवको गुफा जमिनमुनि ठाडो रूपमा रहेको छ ।
पहिला उक्त गुफामा जान भर्‍याङ नै लगाउनुपर्ने थियो । तर अहिले भने पुरिँदै गएको छ । पाख्रिनले भने-‘अहिले सजिलैसँग गुफामा पस्न सकिन्छ ।’

उनका अनुसार करिब एकसय वर्षअघि ऋषेश्वर महादेवको पूजा गर्न छोडेका थिए । पूजा-मेला गर्न छोडेपछि गाउँमा रहेको पानीको मुहान नै सुकेपछि पुन: पूजा-मेला सुरु गरिएको हो । पूजा पुन: सुरु गरेपछि अर्कै ठाउँमा पानीको मूल फुटेको थियो । पहिला धारा पखेरा (जरुङ गाउँ धारा पखेरा भन्ने ठाउँ छ) मा पानी आउँथ्यो । पूजा गर्न छोडेपछि उक्त धारा सुक्यो । पछि पुन पूजा सुरु गरेपछि म्रुखोप भन्ने खोलामा पानीको मुहान फुटेको हो । त्यो मुहान ऋषेश्वर महादेवको गुफाबाट सिधै मुनि करिब तीन किलोमिटरमा रहेको छ । ७२ को भूकम्पले दुई वर्षसम्म सुकेको म्रुखोलामा पुन: पानीको मूल फुटेको छ । अहिले बाह्रै महिना पानी आइरहेको छ ।

त्यही पानीकै कारण जरूङ गाउँमा मानव बसाेबास सुरू भएकाे पाख्रिनकाे विश्वास छ । त्यसैले ऋषेश्वर महादेवकाे पूजा र मेला जरुङ गाउँकाे सभ्यतासँग जाेडिएकाे उनले दावी गरे ।

यो मेला हराउँदै जानुमा मेलामा हुने झै-झगडा पनि कारण भएको पाख्रिनले बताए । अहिलेभन्दा दुई दशक अघिसम्म ठूलो मेला लाग्थ्यो, झगडा भएपछि घट्दै गएको हो । तर पछिल्लो पाँच वर्षदेखि भने झगडा नभएको उनले बताए । यससँगै मेला बढ्दै जानेमा आशावादी छन् पाख्रिन ।

धार्मिक, सांस्कृतिक एवम सामाजिक महत्त्व समेत बोकेको ऋषेश्वर महादेवको पूजा र फागु मेला ओझेलमा पर्दै जानु चिन्ताको विषय हो । यो पूजा र मेला स्थानीय समुदायको धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक एवम जनजीवनसँग प्रत्यक्ष जोडिएको छ । कतिपय मेला पर्वहरू लोप समेत भइसकेका छन् । यी लोक परम्परा तथा संस्कृतिहरूको संरक्षणमा स्थानीय सरकारको ध्यान जान जरुरी छ । धार्मिक स्थलहरूको संरक्षणका लागि समिति गठन गर्न आवश्यक छ । ती स्थानहरूमा गरिने मेला, पूजा, जात्राहरूको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्थापन, भौतिक पूर्वाधारहरूको निर्माण तथा संरक्षणमा स्थानीय सरकार, समुदाय र युवाहरूले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।

ऋषेश्वर महादेवको गुफा रहेको ऋषेश्वर डाँडा प्राकृतिक सुन्दरताले पनि युक्त छ । यो डाँडा पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको छ । त्यसो त धादिङको बेनी घाट रोराङ वडा नम्बर १ नै पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको छ । जहाँ यस्ता थुप्रै धार्मिक स्थलहरू रहेका छन् । समुन्द्री सतहबाट १२ सय मिटर २१ सय मिटर उचाइसम्म फैलिएको यस वडामा विभिन्न गुफा, धार्मिक स्थल, झरनाहरू रहेका छन् । वडामा रहेका डाँडाबाट उत्तरतर्फ मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

Tags:

सम्बन्धित समाचार