बिहिबार , मंग्सिर ६, २०८१

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने कुरा झुटा र भ्रामक: अर्थमन्त्री शर्मा

एमालेका सांसदहरूले बाहिरी मानिसले बजेटमा राजश्वको दर हेरफेर गरेको भन्दै प्रश्न उठाइरहेका छन् ।

image

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने समाचार झुटा र भ्रामक कुरा रहेको बताएका छन् ।

उनले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताए ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टिकरण दिएका हुन् । एमालेका सांसदहरूले बाहिरी मानिसले बजेटमा राजश्वको दर हेरफेर गरेको भन्दै प्रश्न उठाइरहेका छन् ।

यसबारे प्रष्टीकरण दिँदै अर्थमन्त्री शर्माले मन्त्रालयका जिम्मेवार पदाधिकारीले बजेट बनाएको बताएका छन् ।

‘मन्त्रालयका जिम्मेवार पदाधिकारीहरू सचिवहरूको नेतृत्वमा बजेट टुंग्याइएको हो,’ उनले भने, ‘सबै कामहरू आधिकारिक ढंगले भएका छन् । अर्थ मन्त्रीको हैसियतले जिम्मेवारीप्रति उत्तरदायी भएर बजेट बनाएको कुरा स्पष्ट गर्न चाहन्छु । अनधिकृत व्यक्तिले बजेट बनायो भन्ने कुरा झुटा र भ्रामक रहेको स्पष्ट गर्न चाहन्छु ।’

अर्थमन्त्री शर्माले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालन सम्बन्धि अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको जिकिर गरे ।

करको हेरफेर गर्न अर्थ मन्त्रालयका सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करलाई एक पूर्वनासु रघुनाथ घिमिरेको निर्देशन मान्न भनेका अर्थमन्त्री जनार्दन शर्माले विज्ञ र सरोकारवालाहरुलाई बेवास्ता गरेको आरोप लागेको थियो ।

जेठ १४ गते राति मध्यरातमा पूर्वनासु घिमिरेलाई अर्थमन्त्रालयमै निमन्त्रणा गरेर अर्थमन्त्री शर्माले दुई सचिव मरासिनी र पुष्करसहित दुई प्रमुख सहसचिवहरु भुपाल बराल र चक्रबहादुर बुढालाई उनले भने अनुसार करको दरमा हेरफेर गर्न सुझाएको समाचार अन्नपुर्ण पोष्टले लेखेको थियो ।

सम्बन्धित समाचार