जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी मुनि जमिनभित्र रहेको छ । यहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको तीन सय ६५ दिन जलमै विराजमान रहन्छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ । साउनको पावन महिनामा प्रत्येक सोमबारका दिन सोमबारी पर्वको अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलहीझैँ सिँगारिने गरिन्छ । बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात् शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना पूरा हुने गरेको जनविश्वास रहिआएको छ ।
जलेश्वरनाथमा पूजाअर्चनाका लागि देशभित्रबाट मात्र नभई भारतको पटना, मुजफ्फरपुर, सीतामढी, मधुबनी लगायतका सहरबाट पनि हजारौँको सङ्ख्यामा तीर्थालु आउने गर्दछन् । मन्दिरमा महाशिवरात्रि, साउन महिनाको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबार विशेष मेला लाग्ने गर्दछ र विशेष पूजाआजा र प्रत्यक्ष दर्शन हुने गर्दछ । जनकपुरको पञ्चकोशी परिक्रमा जलेश्वरसम्म पनि पुग्ने गर्दछ ।
पौराणिक कथन:
नगरपालिका–२ मा अवस्थित जलेश्वरनाथ मन्दिरको मूल गुफामा लेखिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ अर्थात् ‘जलेश्वरनाथ महालिङ्ग स्वयं महादेवले स्थापना गरेको’ शिव महापुराणमा उल्लेख रहेको छ । अनादिकालमा जलेश्वर घना जङ्गल रहँदा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेको बेला स्वयं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको छ ।
बाबा जगदीशनाथले जङ्गलमा बाघ, भालु, हात्तीजस्ता जनावरहरू रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र (महादेव) ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरेको सो पुराणमा उल्लेख रहेको छ । जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी मुनि जमिनभित्र रहेको छ ।यहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको तीन सय ६५ दिन जलमै विराजमान रहन्छन् । यस मन्दिरमा भगवान् शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जलबाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।
भनिन्छ, दमकल लगाएर सो मन्दिरभित्रको पानी निकाल्न सकिँदैन किनभने मन्दिर प्रशासनले दमकल लगाएर पानी निकाल्ने कयौँ पटक प्रयास गरिसकेको छ । प्रत्येक पटक दमकल प्रयोग गर्दा बिग्रिएको पुजारी बताउँछन् । दमकलको सहायताबाट पानी निकाल्ने प्रयास असफल भएपछि प्रत्येक पन्ध्र-पन्ध्र दिनमा नेपाली सेनाको सहायतामा बाल्टीले गुफाभित्रको पानी निकाल्ने गर्दै आएको छ ।
रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवको बारेमा प्रचारप्रसार गरे । बाबा महादेवको चौतर्फी चर्चा गरेर प्रख्यात बनाउन भूमिका खेलेका जगदीशनाथले जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक अगाडि मृत्युवरण लिएकाले त्यहाँ निर्माण गरिएको उनको सानो मन्दिर अझै पनि देख्न सकिन्छ । मन्दिरभित्र काला पत्थरहरू देखिन्छन्, जहाँ लेखिएको छ – “परमपूज्य सिद्धयोगी जगदीशनाथ की सशरीर समाधिस्थल ।”
इतिहास :
वि.सं १८६७ मा राजा गीर्वाणयुद्ध विक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल (हाल रामगोपालपुर नगरपालिका–७) मा सिकार खेल्न आएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि दुई सय ७५ बिघा जग्गा र चार वटा महापोखरीहरू दान दिएको ताम्रपत्रमा उल्लेख छ । यसलाई पछि मौजेको नाउँमा जानिन थाल्यो र मौजेको रूपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजे लगायतका मौजेहरू पाएका थिए भने वरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्त पोखरीजस्ता महापोखरीहरू पनि पाएका थिए । शिव पुराणमै जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको वरुण सरोवरमा स्नान र बाबा जलेश्वरनाथ महादेवको दर्शन गर्नाले मुक्ति पाउने विश्वास गरिन्छ ।
लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेको दर्जनौँ मौजे र महापोखरीहरूबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, साधुसन्तको भण्डारा र आगन्तुकहरूको स्वागत सत्कार समेत हुने गरेको थियो । मन्दिरकै दक्षिणपट्टि रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गीर्वाणयुद्ध विक्रम शाहले दान दिएको मन्दिरको दुई सय ७५ बिघा जग्गा र चार महापोखरीको उल्लेख अझै पनि सुरक्षित रहेको छ ।
पछि, श्री ३ पद्म शमशेरको पालामा उनले यस मन्दिरको अधीनमा रहेका जग्गाहरू आफ्ना गुरु पुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायतका चार/पाँच दाजुभाइलाई दान दिएको चर्चा छ । पद्म शमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरू बेचेर खाएपछि विस्तारै मन्दिरको आर्थिक अवस्था कमजोर बन्दै गएको हो । वि.सं १९८३ को स्रेस्तामा पनि सयौँ बिघा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखिन्छ । त्यसैगरी, वि.सं २००२ सम्म मन्दिरको महन्तको नाउँमा मौजेहरू रहेको उल्लेख भए पनि मन्दिरका सयौँ बिघा जग्गाको मौजे २००८ सालबाट हराएको छ ।
मन्दिरको पूजा आराधना तथा प्रसाद अन्नलगायतका अन्य सामग्रीका लागि गुठी संस्थानले वार्षिक ५८ हजार ६ सय रुपैयाँ सहयोग गर्दै आएको छ । यद्यपि, गुठी संस्थान महोत्तरी जलेश्वरका अनुसार अहिले मन्दिरको नाउँमा मन्दिरबाहेकको कुनै सम्पत्ति मन्दिरसँग छैन । आर्थिक अभाव भएपनि कुनै दिन बाबाको पूजाआजा प्रभावित नभएको, भोग प्रसादको कमी नभएको, बाबाको सेवामा लागेका कोही पनि भोकै बस्न नपरेको र आगन्तुक समेतलाई पनि कहिले कुनै समस्या नभएको पूजारी बताउँछन् ।
महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायतका वस्तुहरूको प्रयोग गरिएको थियो । वि.सं १९९५ मा बडाहाकिम राम शमशेरले २५ हजार रुपैयाँ खर्चेर जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि आकर्षक र ठूलठूला गजुरसहितको अद्वितीय मन्दिर निर्माण गरेको इतिहासमा पढ्न पाइन्छ । हाल जलेश्वर महादेवको मन्दिर गुम्बज शैलीमा निर्मित छ, जसमा आकर्षक बुर्जाहरू निकालिएका छन् ।
विश्वकै एकमात्र जलभित्र विराजमान शिव महालिङ्ग प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । जल वा पानीयुक्त पोखरीमा रहको देवता हुनाले यिनलाई जलेश्वर महादेव भनिएको हो । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यहरूमा सन् २०२० मै महोत्तरी जिल्लाको तीर्थस्थल जलेश्वर मन्दिरलाई छनोट गरेको थियो । प्रदेश २ मा रहेको यस मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि समय समयमा मागसमेत उठ्दै आएको छ ।
यता, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ स्थित भव्सी नदी तटको फाँटस्थित चुरे काछको राइमण्डलमा देवताहरूका राजा इन्द्रको चिनोका रूपमा रहेको इन्द्रेश्वर महादेव मन्दिर पनि उपेक्षामा परेको छ । यसको संरक्षण र संवर्द्धनका कार्यक्रम भने कतै देखिँदैनन् । यो ठाउँमा यी पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण, विकास र पर्यटकीय सम्भावनाबारे सङ्घीय र प्रादेशिक सरकार मात्र नभएर स्थानीय सरकार नै बेखबर रहेको राइमण्डलका बासिन्दाको गुनासो छ । यसैगरी, बर्दिबास नगरपालिकाकै टुटेश्वरस्थित श्री टुटेश्वरनाथ, माइस्थानस्थित पञ्चधुरा माई मन्दिर जिल्लाकै मात्र नभएर प्रदेश–२ र सीमापारी भारतसम्म प्रसिद्धि फैलिएका धार्मिकस्थल हुन् । महोत्तरीका यी र अन्य सबैजसो पुराना ऐतिहासिक र पुरातात्त्विक महत्त्वका धार्मिकस्थलले अस्तित्वको सङ्कट झेल्दैछन् ।
जिल्लामा प्रसिद्ध धार्मिकस्थलको कुरा उठ्दा बलवा नगरपालिका–३ पडौलस्थित कारिख महाराजस्थान, बलवा–१० धमौरास्थित ध्रुवकुण्ड (सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ), भङ्गाहा–९ हरिहरपुर कञ्चनवनस्थित रामजानकी बिहार (रामसीताले वनविहार गरेको स्थल), रामसीताको विवाहमा वेदी (विवाह मण्डप) बनाउन माटो खनिएको ठाउँ मटिहानीस्थान, रामायणकालकै पितृमातृभक्त श्रवणकुमारका नेत्रविहीन बाबुआमा बस्ने ठाउँ मानिएको लोहारपट्टी नगरपालिकाको बगडा स्थान र पिपरा गाउँपालिकाको बनौलीदनौलीस्थित मैथिली भाषाका महाकवि विद्यापतिको किल्ला मानिएको विद्यापति गढ समुचित सम्भार र संरक्षण नपाउँदा बेवारिसजस्तै बनेका छन् ।