बुधबार , कार्तिक २८, २०८१

पहरीको डाको: भोट जान्या जाक्ना

भेडी र बाख्री लगायत पाल्त्या(पालेका)लाई भारि जकाइँदैन । उत्पादन गर्न प्रयोग हुने पाल्त्या भारी बोक्न सक्दैनन् । तर कोही नब्याउने भेडी(थाडो) भएको खण्डमा भने उसले भारी नबोकी सुख छैन । 

image

Photo by: Himal Darpan

– सार्की

कुखुरी काँ!’

घडीको आविष्कार हुनुभन्दा धेरै पहिले रात व्याएको सङ्केत पहरीले गर्थ्यो । हिमालमा पहरीको पहिलो डाकोबाट दिनको सुरुवात हुन्थ्यो र भइरहेको छ ।

यसपाली पहरीको पहिलो डाकोबाट भोट जाने भेडीगुवाला र जाक्नाको दिनको सुरुवात भएको छ । 

व्यानपख(झिसमिसे) उज्यालो हुनेबेला पहरीले पहिलो ढाको हाल्छ, ‘कुखुरी काँ’ । सुँगुरका जस्तो दुःख गर्नेले कुकुरका जस्ता कान बनाउनु पर्छ । यी कानले पहरीको पहिलो डाको सुन्छन् र जुरुक्क उठ्छन् । अनि काममा निस्कन्छन् ।

कामका यस्ता दिन सुरु हुन्छन् कि घरमा कोही मरेको भएपनि भुँडार(भण्डार कोठामा) गुटुमुटु पारेर निस्कनु पर्छ । नत्र बालीनाली छोड(पछि) पर्छ । छोड परेको बालीनाली दुनियाका गाई गोरुले खाइदिन्छन् । जब बाली लग्याउन(भित्र्याउन) पाइँदैन तब विनिमयका लागि चाहिने अन्न हुँदैन । त्यो सालत्यसै अनिकाल ।

अनि त सुरु हुन्छ गेडाको यात्रा । गेडा भनेको अश्लील होइन । शील हो । गेडा अन्नका दाना हुन । जो साल अन्न उत्पादन राम्रो हुँदैन त्यो साल हातका चार ओैंला मुखमा पसाउनलाई गेडा चाहिन्छन् । त्यस्तो बेला भेडाको यात्रा छोडेर गेडाको जोहो गर्नु जरुरी भइदिन्छ । अनि कसैले ‘कता जान लाग्यौ?’ भनेर सोध्यो भने जवाफ हुन्छ ‘गेडै त हुन ।’

खैर छोडौँ यी गेडाका कुरा! अब लागौँ भेडातिर । 

भेडा उच्च हिमाली भेगका पावै(खस क्षेत्री)ले पाल्ने अत्यन्तै लाभदायक चौपाया हो । जुम्लाको पानसय, सिञ्जा, दानुव र चौधबीस दराका लेकमा बस्नेहरूले भेडा पाल्ने गरेको पाइन्छ । भेडाको उनबाट राडीपाखी, लिउ फेरुवा, कपडाको लागि पाखो लगायत सामग्रीको व्यापार अतिरिक्त व्यवसाय हो । त्यसैले गाउँघरमा ‘जसका भेडा, उसको धन’ भन्ने उखान थियो र छ ।

भेडा स्वादिलो, स्वस्थकर मासु खान त प्रयोग हुन्छ नै त्यस बाहेक यो यातायातको प्रमुख साधन पनि हो ।  जसले हरेक वर्ष आम्दानी दिन्छ । घोडाको चलन चल्नुभन्दा धेरै पहिलेदेखि भेडा यातायातका साधन थिए । यीनैको प्रयोग गरेर लामो व्यापारिक यात्रा सुरु हुन्थ्यो ।

भेडाको साथमा लागेर लामो व्यापारिक यात्रामा निस्कने हुनाले व्यापारीको तयारी व्यापाक हुन्छ । यात्रा फलदायी होस भनेर आफूले गन्ने, मान्ने देउतासँग हेराउन, कोराउन गरिन्छ । यसरी हेराउने देउतामा थार्प मस्टो, बुडु मस्टो, ढँडार मस्टो, खापर मस्टो, तेडी मस्टो, कवा मस्टो, कालसिल्ता मस्टो, रूमाल मस्टो, गुरो मस्टो, दाह्रे मस्टो, दुधे मस्टो, बाबिरा मस्टो लगायत बाह्र भाइ मस्टो र इष्ट देउताहरू हुन्छन् ।

यी देउताका धामीले दिएको साइतलाई उत्तम मानिन्छ । उत्तम साइतमा घर छोड्नलाई बाटोका लागि सामल, तुमल उच्च कोटीको गरिन्छ । 

उच्च कोटीको सामलमा यात्राका लागि फापरको पिठो, बिहान र दिउसोको अर्निका लागि फापरकै तयारी डेस्सु(फापरमा मह मिसेर आगोमा पकाइएको रोटी), भाँगो, ओखर, ढुटेलो आदिको तेलमा हालेका टाट्या(पुरी), चिनोको चामल, सातु लगायत पोको पारिन्छ । 

यो चलन सिञ्जा साम्राज्य स्थापना भन्दा निकै पहिलादेखि त्यस भूगोलका सारा कोटा र किल्लाहरूमा चलिआएको थियो । लामो यात्रामा निस्कने यात्रुहरूमा अधिकांश पुरुष हुन्छन् । श्रीमती छोडेर जानुपर्ने हुन्छ । त्यसैले श्रीमान्, श्रीमतीमा थोरै निराशा हुन्छ ।

छुट्ने बेला  माया प्रेमका रसिला कुरा हुन्छन् । भोटको अप्ठ्यारो बाटो हिँड्नुपर्ने हुनाले दुबैजना निकै भावुक बनेका हुन्छन् । यो जोखिमपूर्ण यात्रा पनि हो ।  फर्की आउने चानस पनि कम हुन्छ । त्यसैले अनायासै उनीहरूको भावना छचल्किन्छ । यस्तो बेला छचल्किएको भावना गीतमार्फत पोखिन्छ । 

श्रीमती: दुल्लु, दैलेख, जुम्ला, मुगु, कति राम्रा वन ।
             बाली बैँस बिस्तरा खाली क्या चाहिँदा हुन धन । ।

श्रीमान्: कठै प्यारी नभन त्यस्तो, मन मेरो रुँदोछ ।
             बाली बैँस बिस्तरा खाली, कहिले काहीँ हुँदोछ । ।

व्यापार भावनाले धान्दैन । हकिकतमा अरू पनि तयारी गर्नुपर्ने हुन्छ । भेडाले सामान बोक्नका लागि लुकाल चाहिन्छ । ढाडको बीचमा दायाँ र बायाँको दुवै पेटतिर चार चार पाथी अन्न बोक्न मिल्ने गरि बनाइएको बोरा नै लुकाल हो । अर्थात लुकाल भनेको भेडाको ढाडमा राख्ने बोरा हो । 

भेडा र वाद्या(खसी बनाइएको) दुबैलाई समग्रमा जाक्ना भनिन्छ । पिठ्युमा भारी जाकिने हुनाले नै तीनलाई जाक्ना भनिएको हो । भेडी र बाख्री लगायत पाल्त्या(पालेका)लाई भारि जकाइँदैन । उत्पादन गर्न प्रयोग हुने पाल्त्या भारी बोक्न सक्दैनन् । तर कोही नब्याउने भेडी(थाडो) भएको खण्डमा भने उसले भारी नबोकी सुख छैन । 

यो यात्रामा भेडाभेडी, बाख्रा, बाख्री सबै सँगै हुन्छन् । उकाली ओरालीमा भेडालाई भेडीले र बाद्यालाई बाख्रीले साथ दिने भएपनि घरधन्दाका कारण महिलाले पुरुषलाई साथ दिन सक्दिनन् । त्यसैले उनीहरुबीच भावनाका कुरा चलिरहन्छन् ।

भावुक सधैँ श्रीमती मात्रै हुँदिनन् । श्रीमान पनि हुन्छन् । छुट्टिएर बस्नुपर्ने हुनाले तिर्सना बाँकी नै हुन्छ । भावुक बनेर कहिले भेट होला भनी बह पोख्ने श्रीमानलाई सम्झाउने काफी शब्दहरु श्रीमतीसँग हुन्छन् । निराशाको सागरमा डुबल्की मारेर भावना पोखिरहेको श्रीमानलाई श्रीमती आशा मिश्रित शब्दहरूले सम्झाउँछिन् । जसमा फेरि भेट्ने बाचा हुन्छ । मिठो पर्खाई हुन्छ ।

श्रीमती: मेरी प्यारी अब तँलाई, कहिले म भेटुँला?
            गाली माम खाइकन तेरो, तिर्सना मेटुँला । ।

श्रीमान्: पारी वन घाँस काट्न्या छु, ताइँ आया भेटुँला ।
            दिन भरी पिरती लाउला, तिर्सना मेटुँला । ।

भेडा हुनेहरूको बसेर एकै ठाउँ हुँदैनथ्यो । मौसम अनुसार उकालो ओरालो गरिरहनुपर्थ्यो । हिउँदको अत्यधिक चिसो हुने मङ्सिर, पुस र माघको महिना ओैल(दैलेख, जाजरकोट ओैल लाग्ने ठाउँहरू हुन) जाने र बर्खाका चार महिना जेठ, असार, साउन, भदौ भोट जानुपर्थ्यो । 

ओैल वा भोट जता गए पनि भेडा हुनेले व्यापार गर्थे । यसरी भेडा लिएर व्यापार गर्नेमा अधिकांश जुम्लीहरू थिए । त्यसैले ‘जुम्लीको भेडो नहोस्, हुम्लीको छोरो नहोस्’ उखान हालिएको हो । भेडासँगै उकाली ओराली गरिरहने जुम्लीहरूको प्राय हात खाली हुँदैनथ्यो । धेरैले यसलाई २४ घण्टा हात खाली नगर्ने जुम्ली भनी बुझ्थे । कतिले यसलाई मेहनती जुम्ली भनी चिन्थे, कतिले दुखारी जुम्ली भनी सहानुभूति राख्थे भने कतिले होच्याउँथे पनि ।

जुम्ला जान्या जुम्ली दाईको, काम कति हुँदो हो ।
२४ घण्टा हात खाली नाइँ, सित्ति मन रुँदो हो । ।

हातमा भेडाको उनबाट बनाइएको ह्याउको बायाँ हातमा बालो छिराएर जसरी छिराएर दायाँ हातले ताखु घुमाउँदै डोरी कात्ने काम गर्छन् । ताखु कात्ने काम सभामा बसेको बेला विचार राख्दा राख्दै, उकाली ओराली गर्दा गर्दै, भेडा बाख्रा चराउँदा चराउँदै गर्न सकिन्छ । सिञ्जा साम्राज्य विघटन पछि दाङ र बर्दियामा व्यापारको लाइसेन्स पाएका जुम्लीहरू ताखु कात्दै हिँडिरहेको देखेपछि दाङका देउडीयाले गाएको गीत हो ।

ताखु कात्दै, भेडाका बगाललाई हा हु गर्दै भेडाको नाइके लामालाई अगाडि लगाएर उनीहरूको यात्रा सुरु हुन्छ । भाषा, रहनसहन, इष्ट कुटुम्ब लगायतका कारणले तिब्बतीहरूसँग व्यापार गर्ने काम भोटेहरूको थियो । मुगु, हुम्ला, डोल्पा, दार्चुला, मनाङ, मुस्ताङको माथिल्लो भेगका भोटेहरूले मात्रै तिब्बतसित व्यापार गर्न पाउँथे । 

माथिबाट जाड(भोटे)ले नुन र उन ल्याएर मुगुको मुगु गाउँ र हुम्लाको ताँक्या तन आउँथे । हुम्ला जाने जुम्लीहरूलाई वैराग लाग्यो भने, ‘किर्मी पारी ताँक्या, तन, रुँदैछ वैरागी मन’ भनी गाउँथे ।

तलबाट खसियाहरू भेडामा जौ लिएर त्यहीँ जान्थे । त्यहाँ सिञ्जामा रातो चामलको विकास र विस्तार भएपछि जौ सँगै चामल पनि विनिमयको प्रमुख माल बन्यो । त्यहाँ लाग्ने हाटमा एकको दुन्या(एक पाथि जौ दिएपछि दुई पाथि नुन पाइने) र एकको तिनखुटे(एक पाथि चामल दिएपछि तीन पाथि नुन पाइने) । उन पनि त्यसरी नै विनिमय हुन्थ्यो । पछि तुम्बाको चलन बढेपछि कोदो विनिमयको अर्को माल बनेको थियो ।

त्यहाँ ‘कानो हाट’ पनि लाग्थ्यो । यो बताउने बेला छेउछाउ लागेको कमसल खालको अन्न बिक्री गरिने हाट हो । तिब्बत र भोटमा अन्न उत्पादन नहुने हुनाले बराबर हुने गरि कमसल अन्न जौ पनि लिने गरिन्थ्यो ।

यसरी जौ र चामलसँग साँटेर ल्याइएको नुन घरका ढर्रा, भकारीमा राखेर गाउँमा व्यापार गरिन्थ्यो । ढिकामा आउने नुनको चलन पछिसम्म पनि चली नै रहयो । यसरी नुनको व्यापार गर्नेहरू गाउँघरमा साहु कहलिन्थे । त्यस्तै उताबाट ल्याएको तिब्बती भेडाको उनबाट कोट बनाउने पाखो बुन्ने सिपालुले किन्थे । उनीहरूले बुनेको पाखोको मोल उच्च मानिने हुनाले जुम्लामा तिब्बती उनको साख उच्च छ ।

Tags:

सम्बन्धित समाचार