मंगलबार , मंग्सिर ४, २०८१

तरकारी-ए-फल ‘कटहर’को एक विशेष परिकार

image

कटहर जसलाई रुख कटहर भनेर पनि चिन्ने गरिन्छ, एक ग्रीष्मकालीन फल हो । फल भए तापनि यसलाई तरकारीको रूपमा समेत उपभोग गर्ने गरिन्छ । नेपालको तराई क्षेत्रमा पाइने यो तरकारी-ए-फल निकै लोकप्रिय खाद्य हो । अहिलेबाटै घर-घरमा रहेका कटहर तरकारीको लागि तयार हुन थाल्छन् भने असार/श्रावणतिर यो पाकेर एक निकै स्वादिलो फलमा परिणत हुन जान्छ । संसारमा पाइने ठुला फलहरूमध्ये एक कटहर पाकेपछि, दही-चिउरासँग स्वादिलो गरी खाने गरिन्छ ।

गुदी खाइसकेपछि निस्किएको भित्रको दानालाई समेत उसिनेर/पोलेर या भुटेर खाजा या तरकारीको रूपमा प्रयोग गर्न सकिन्छ । अनेक खनिज तत्त्व पाइने यस तरकारी-ए-फल स्वस्थवर्द्धक समेत रहेको छ ।

नेपाल बाहेक भारत, म्यानमार, श्रीलङ्का, दक्षिणी चीन, केन्या, युगान्डा, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, वेस्ट इन्डिज आदि देशहरूमा यसको व्यावसायिक खेती गर्ने गरिन्छ । अहिले माघ महिनाको अन्त्यबाटै तराईका हटिया-गुद्री (हाट-बजार) देखि लिएर काठमाडौंका तरकारी पसलमा समेत यो उपलब्ध हुन थालेको छ ।

सिजनमा पाकेर तयार भएको कटहरको सुगन्ध टाढैबाट चाल पाउन सकिन्छ । बाहिर काँडे बोक्रा रहेको कटहरभित्र पाकेको गुदी भने पहेँलो रङ्गको हुन्छ । उक्त गुदीभित्र हल्का खैरो रङ्गको दाना रहेको हुन्छ, जसलाई सुकाएर राखी पछि इच्छा बमोजिम सेवन गर्न सकिन्छ ।

पाकेर तयार भएको फल खान त्यति मेहनत गर्नु पर्दैन तर यसलाई तरकारीको रूपमा सेवन गर्न भने मेहनतको आवश्यक पर्छ । मांसाहारीहरूले उचित पाककलाद्वारा तयार भएको कटहरको तरकारी मासु समान हुने समेत बताउने गरेको पाइन्छ । अहिलेबाट तरकारी पसलमा देखिन थालेको कटहर पकाउन नजानेका कारण धेरैले उपभोग गर्न या भनौँ यसको स्वादिलो आनन्द लिन नसकिरहेको देखिन्छ ।

तारेर, डामेर, ग्रेभी तरकारी, कोफ्ता आदि विभिन्न ढङ्गका पाककलाद्वारा कटहरको स्वादिलो तरकारी तयार गर्न सकिन्छ । ती विभिन्न तरिकामध्ये आज सजिलैसँग तयार गर्न सकिने कोफ्ताको बारेमा म बताउन गइरहेको छु । गर्मी मौसमको सुरुआत हुनासाथ घरमै भएको रुखबाट कटहर काटेर या हटिया-गुद्रीबाट किनेर ल्याई हाम्रो घरको भान्सामा यो परिकार प्राय तयार हुने गरेको छ ।

कटहर किन्ने बेलामा तरकारी पसलमा त्यसको बाहिरी काँडे बोक्रा छिल्न लगाउनु उचित हुन्छ । काँचो कटहरमा चोप धेरै हुने हुनाले घरमा लगेर छिल्न समस्या हुनसक्छ । तर, तपाईँको घरमै कटहरको गाछी छ या कतैबाट कटहर उपहार आएको छ भने चक्कुमा र हातमा मजाले तेल लगाइ छिल्नुपर्छ । जसले चोप लाग्न दिँदैन ।

चाहिने सामग्री :

कोफ्ता तयार गर्नका लागि काँचो बोक्रा ताछेको कटहर, पिसेको जिरा-धनियाँ र अदुवा-लसुन, गरम मसलाको धुलो, नुन, बेसार, खोर्सानीको धुलो, कास्मिरी मिर्च धुलो, सुकेको खोर्सानी, तेजपात, काटिएको टमाटर र प्याज, हरियो धनियाँ, पाँच फोरन(पाँच किसिमका दाना मसला), पिसेको सरसो दाना, तोरीको तेल र पानी चाहिन्छ ।

बनाउने विधि :

प्रेसर कुकरमा काँचो कटहरलाई मध्यम आगोमा दुई सिठी लगाउने । कटहर निकालेर मजाले मुछ्ने । त्यसमा स्वाद अनुसार नुन, कटहरको परिमाण अनुसार बेसार, धुले खोर्सानी, पिसेको जिरा-धनियाँ र अदुवा-लसुन, गरम मसलाको धुलो, हरियो धनियाँ मिसाएर चलाउने र कहिबेर राख्ने ।

केहिबेरपछि मुछेर तयार भएको कटहरलाई गोलाकार डल्लो बनाउने र सानो आगोमा तोरीको तेलमा तारी निकालेर राख्ने । यसरी तयार भएको कटहरको डल्लोलाई नै कोफ्ता भन्ने गरिन्छ

कराहीमा थोरै तोरीको तेल राख्ने र पाँच फोरन पड्काउने । प्याज रातो हुन्जेल फुराउने । त्यसपछि तेजपात, बेसार, नुन, धुले खोर्सानी, कास्मिरी मिर्च, पिसेको अदुवा-लसुन र जिरा-धनियाँ, गरम मसलाको धुलो, टमाटर हाली मजाले छोप्दै चलाउँदै गर्ने । टमाटर गलेपछि र मसला पाकेपछि पिसेको सरसो राखेर कहिबेर छोप्ने । मसलाबाट तेल निस्किन थालेपछि मसला पाकेको थाह पाउन सकिन्छ । सरसो पनि पाकेपछि तयार गरेर राखिएको कटहरको कोफ्ता राखी चलाउने । कोफ्ताले राम्ररी मसला सोसेपछि खाने मानिसको सङ्ख्या अनुसार पानी राख्ने र उमाल्ने । कहिबेर उम्लिएको कोफ्तामा काटेको धनियाँ राख्ने र खानासँग पस्किने ।

कटहरका विभिन्न परिकारमध्ये एक कटहरको कोफ्ता तराईको भान्सामा पाक्ने स्वादिलो परिकार मध्ये एक हो ।

सम्बन्धित समाचार