कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै आईएसबीएन हो । संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन्, दुनियाँमा कसैको टेलिफोन नम्बर कसैसँग मिल्दैन, त्यसैगरी किताबै पिच्छे आईएसबीएन नम्बर पनि फरक फरक हुन्छन् । विकसित देशहरूमा यही नम्बरका आधारमा इन्टरनेटबाट पुस्तक सम्बन्धी जानकारी प्राप्त गरिन्छ ।आईएसबीएन (ISBN) भनेको ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर (International Standard Book Number) हो । यस क्रमाङ्कन नम्बर हरेक किताबको पछाडिपट्टिको कभरमा हुन्छ ।
आईएसबीएनले विश्वव्यापी रूपमा हरेक किताब कसले लेख्यो, किताबमा केको बारेमा लेखिएको छ, किताबको मूल्य, संस्करण र ढाँचा जस्ता कुराहरूबारे जानकारी दिन्छ । कुनै पनि पुस्तकको ‘आईएसबीएन नम्बर’ वेबसाइटमा हानेर सो पुस्तकबारे जानकारी लिन सकिन्छ ।
विश्वमा यो नम्बर दिने चलन सन् १९६६ देखि सुरु भएको हो भने नेपालमा सन् २००० बाट सुरु भएको हो । सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आईएसबीएनको प्रतिनिधिका रूपमा नेपालका प्रकाशित पुस्तकलाई आईएसबीएन प्रदान गर्ने गरेको छ । आईएसबीएन लिने नेपाल १५७ औ राष्ट्र हो । अहिले यो सङ्ख्या १६३ नाघिसकेको छ।
नेपालमा अहिले हरेक किताबमा आईएसबीएन नम्बर हुनैपर्छ । किताबको फर्म्याटमा लेखिएको हरेक किताबलाई यो नम्बर दिइन्छ । ‘आईएसबीएन नम्बर’ पाउनको लागि किताब नेपालमै प्रकाशित हुनुपर्छ तर, लेखक भने जुन देशको भए पनि हुने मान्यता छ । व्यक्तिगत वा संस्थागत रूपमा पुस्तक प्रकाशन गर्ने चलन छ । व्यक्तिगत रूपमा एकजनाले पुस्तक संख्या अनुसार आईएसबीएन लिन सक्छ । प्रकाशन संस्थाले भने विवरण खुलाएर एकसाथ धेरै पुस्तकको आईएसबीएन लिन सक्छ ।
पुस्तक प्रकाशन गर्नुअघि आईएसबीएन लिएर पुस्तकको आवरण र भित्री पानामा उल्लेख गरिन्छ । एउटै पुस्तक ई–कपी, साधारण कागज र हार्ड कभर गरी फरक स्वरूपमा प्रकाशन गर्दा आईएसबीएन फरक रहन्छ । त्यही पुस्तक परिमार्जित संस्करण प्रकाशन गर्दासमेत नयाँ आईएसबीएन लिनु पर्ने हुन्छ ।
नेपालमा अहिले अनलाइनबाट आईएसबीएन नम्बर दिन सुरु भएको छ । अहिले देशभरिबाट अनलाइनबाटै काम हुन्छ । महिनामा करिब चार सयले लेखकले यस नम्बरको लागि फर्म भरिरहेको र नम्बर पाइरहेका छन् । नेपालमा जम्मा तीन सयमा फर्म भरेर यो नम्बर प्राप्त गर्न सकिन्छ। अहिलेको स्थितिमा प्रकाशित किताबमा आईएसबीएन नम्बर उल्लेख भएको नपाइए सो किताबको मूल्याङ्कन हुँदैन । यसले किताबलाई विश्वव्यापीरूपमा फेला पार्ने सम्भावना बढाउने काम गरेको छ ।
सन २००० मा आईएसबीएन मुख्यालयले त्रिवि पुस्तकालयलाई नम्बर वितरणको अनुमति दिँदा २००५ सम्ममा १० हजार वटा पुस्तक प्रकाशित हुने अनुमान गरेर सबैभन्दा सानो कोटा दिएको थियो । त्यतिखेर हाम्रो देशको नम्बर ९९९३३ थियो । चार वर्ष नबित्दै पाँच हजारभन्दा बढी पुस्तक दर्ता भए । त्यसपछि सन् २००४मा एक लाख पुस्तकलाई नम्बर वितरण गर्ने गरी पाँच वटा अङ्क भएको ‘कन्ट्री नं.’ ९९९४६ दियो । त्यसबेलासम्म आईएसबीएनको अङ्क १० वटा हुन्थ्यो । २००७मा अन्तर्राष्ट्रिय स्तरका अन्य वस्तुहरूको नम्बर १३ वटा हुने भएकोले एउटै स्तरको बनाउनका लागि १३ वटा अङ्क कायम गरियो । त्यसपछि भने हाम्रो नं. ९९३७ भयो । सुरुको ९९३७ पछि आउने अङ्क प्रकाशकको नम्बर हो र त्यसपछिको अङ्क पुस्तकको क्रमाङ्क हो ।
नेपालमा केही वर्ष पहिलेसम्म प्राविधिक समस्या एवं मान्छेको अभावले सबै नम्बरहरू वेभमा राख्न सकिएको थिएन भने नम्बर हान्दा किताबको बारेमा नदेखाउने समस्या रहेको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय प्रमुख पूर्ण प्रसाद श्रेष्ठ बताउँछन् । उनी भन्छन्, हामीले हाम्रो कर्तव्य पूरा गर्न सकेनौँ भने नम्बर दिनु र नदिनु कुनै औचित्य नरहने देखेपश्चात् पोहोर सालदेखि इन्जिनियर राखेर लगभग ४५ हजार किताबलाई वेबमा राखिसक्यौँ । अब यस कामले निरन्तरता पाउनेछ”, उनले भने ।