‘हामीले हालै मात्र पृथ्वीमा ८ अर्बौँ मानव सदस्यलाई स्वागत गरेका छौँ । त्यो उत्साहपूर्ण समाचार हो । तर हामीले यो कुरा बुझ्नु पर्छ कि जति धेरै मान्छे हुन्छन्, पृथ्वी थप दबाबमा हुनेछ,’ उनले भनिन् ।
एजेन्सी । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम प्रमुख इनगर एन्डर्सनले विश्व अहिले प्रकृतिसँगको युद्धमा रहेको र त्यसलाई शान्तिमा परिणत गर्नुपर्ने जिम्मेवारी मानव समुदायसँग रहेको बताएकी छन् ।
जैविक विविधता सम्बन्धी सन्धीका पक्ष राष्ट्रहरुको सम्मेलन अर्थात कोप १५ का लागि विश्वभरका उच्च सरकारी अधिकारी क्यानडाको मोन्ट्रियलमा जम्मा भएका छन् । यसै सन्दर्भमा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमकी प्रमुख इनगर एन्डर्सनले पृथ्वीको जैविक विविधता संरक्षणका लागि प्रभावकारी कार्ययोजनासहितको सम्झौतामा सहमत हुनु पर्ने बताएकी हुन् ।
‘हामीले हालै मात्र पृथ्वीमा ८ अर्बौँ मानव सदस्यलाई स्वागत गरेका छौँ । त्यो उत्साहपूर्ण समाचार हो । तर हामीले यो कुरा बुझ्नु पर्छ कि जति धेरै मान्छे हुन्छन्, पृथ्वी थप दबाबमा हुनेछ,’ उनले भनिन् ।
जैविक विविधता कोप अर्थात कोप १५ बुधबारदेखि सुरु भएर डिसेम्बर १९ मा सकिनेछ । कोप १५ कै सन्दर्भमा मंगलबार युएनइपी प्रमुख एन्डर्सनले भनिन्,’ जैविक विविधताको सन्दर्भमा हामी प्रकृतिसँगको युद्धमा छौँ । हामीले प्रकृतिसँग शान्ति स्थापना गर्नु पर्छ । किनकी प्रकृति नै हो जसले पृथ्वीमा सबै कुरालाई दीगो बनाएर राख्न सक्ने छ ।’
कोप १५ मा हुने कुनै पनि सहमतिले जमिनको प्रयोगमा परिवर्तन, स्रोतको अत्याधिक प्रयोग, प्रदूषण, जलवायु संकट र शत्रु प्रजातिको फैलावटलाई सम्बोधन गर्नुपर्ने उनले बताएकी छन् ।
कोप १५ मा ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क, जसमा ३० प्रतिशत जमिन र समुद्रको संरक्षण गर्ने, आर्थिक सहयोग तथा हानिकारक वा शत्रु प्रजातिसँग जुध्ने उपायहरु समेटिएका छन् ।
कोप १५ को अध्यक्ष रहेकाले जैविक विविधताको रक्षाका लागि महत्वपूर्ण निर्णय लिनका लागि चीनले निर्णायक भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गरिएको छ । गएको अक्टोबरमा चीनमा कोप १५ को पहिलो भाग भएको थियो । सन् २०१० पछिको निकै महत्वपूर्ण सम्मेलनका रुपमा यो छलफललाई लिइएको छ । नेपाल पनि जैविक विविधता कोपमा सहभागी हुन टोलीसहित गएको छ ।