बिहिबार , अषोज ३, २०८१

तपाईंको दिन लस्सीमय रहोस् !!

उनको पसल चन्द्रमान सिंह मार्ग हुँदै भेडासिंह तिर जाने बाटोमा २५/३० मिटर मात्रै भित्र रहेको छ ।

image

जनकपुर नेपालको गर्मी ठाउँ मध्ये एक हो, जहाँ गर्मी छल्न अपनाइने अन्य उपायमा लस्सी पिउनु पनि एक रहेको छ । मान्छेहरू प्रचण्ड गर्मीको तापले रापिएको आफ्नो शरीरलाई लस्सी पिएर शीतल बनाउने गर्छन् । तर, काठमाडौंमा भने केही समयअघि मात्र लस्सी भित्रिएको हो । प्रदूषण तथा विभिन्न कारणले यहाँको वातावरण पनि दिनदिनै परिवर्तन भएर गर्मी बढ्दै गएको महसुस गर्न सकिन्छ । मान्छेहरू यहाँ पनि गर्मी छल्न अनेक उपाय अपनाउन थालेका छन् । त्यसैमध्ये एक उपाय हो, इन्द्र चोक लगायतका ठाउँमा पाइने लस्सी पिउनु ।

विभिन्न कारणले इन्द्र चोक पुगेका धेरै मान्छेहरू त्यहाँ रहेका पसलमा लस्सी घुट्क्याइरहेको देख्न सकिन्छ । ती मिठा घुट्काइ देखेर अन्य घाँटीले पनि लस्सीको माग राख्छन् । र, लाग्छ लस्सी प्रेमीहरूको ठुलो घुइँचो ।

मुख्यतः मोही मात्र खान जानेको काठमाडौंलाई लस्सी चखाउने श्रेय जनकपुरका विनय कुमार गुप्तालाई जान्छ । पारिवारिक पेसा नै मिठाई बनाउने रहेको विनय कुमारको जनकपुरमा ‘श्रीराम स्विट्स’ नामक मिठाई पसल समेत रहेको छ । गाउँ-घरमा रहेको आफ्नो पुर्ख्यौली पेसा ‘मिठाइ बनाउने’ बोकेर उनी करिब १८/१९ वर्ष पहिला काठमाडौं प्रवेश गरेका हुन् । तर, त्यतीबेला उनले यसरी काठमाडौंलाई लस्सी चखाउँछु भन्ने सम्म सोचेका थिएनन् ।

काठमाडौं आएपछि उनले सबैभन्दा पहिला ठेलामा कुल्फी बेच्ने काम गरे । गल्ली-गल्ली कुल्फी बेच्दै गर्दा उनले आफ्नो गाउँ जनकपुरमा निकै प्रख्यात रहेको लस्सी काठमाडौंमा भेटेनन् । जुन कुराले उनलाई भित्र-भित्रै गिजोल्न थालेको थियो । सोही छटपटीले नै काठमाडौंको जिब्रो-जिब्रोमा लस्सी पुर्‍यायो । उपत्यकाले आफ्नो तिर्खाएको घाँटीलाई लस्सीले भिजाउन पायो । करिब १८ वर्ष अघि उनले लस्सी पसल गर्दा नेपाल बैङ्क रहेको भवन मात्र ठुलो भवन थियो । यद्यपि इन्द्र चोकको बजारमा भने अहिलेको झैँ चहलपहल हुने गरेको उनले सुनाए ।

उनले लस्सी पसल सुरु गरेपछि त्यो ठाउँमा एक किसिमको क्रान्ति नै आयो । इन्द्र चोकमा आएको ‘लस्सी क्रान्ति’ बारे सबैले थाह पाउँदै गए र लस्सी पिउने मान्छेहरूको अत्याधिक भिड लाग्न थाल्यो । आफ्नो ठाउँको स्वाद टपक्क टिपेर यहाँ पस्किएपछि जुन प्रतिक्रिया उनले पाए, त्यसले उनलाई अझ ऊर्जा दियो । उनको व्यापार देखेर दङ्ग भएका अरू व्यक्तिले पनि उनको सिको गर्दै विस्तारै अन्य लस्सी पसल स्थापना गर्न थाले र सुरु भएको हो- उपत्यकामा लस्सीको यात्रा । बग्न थालेको हो गल्ली-गल्लीमा, नाका-नाकामा चिसो लस्सी बोकेर तृप्तता । उनकै देखासिकी गर्दा-गर्दै उपत्यकाको धेरै ठाउँमा अहिले जनकपुरको लस्सी पुगेको छ ।

सबैभन्दा पुरानो आफ्नो पसल रहेतापनि अन्य व्यापारीले आफ्नो पसल अघि पुरानो लस्सी पसल रहेको दाबी गर्दै बोर्ड राख्ने गरेकाले अचेल आफ्नो व्यापारमा केही कमी आएको उनी बताउँछन् । उनको पसल चन्द्रमान सिंह मार्ग हुँदै भेडासिंह तिर जाने बाटोमा २५/३० मिटर मात्रै भित्र रहेको छ । इन्द्र चोकमै रहेपनि थोरै ओझेलमा रहेको उनको पसल इन्द्र चौक प्रवेश गर्नासाथ देखिँदैन । चौकमै रहेका अन्य लस्सी पसलले अधिकांशको ध्यान तान्ने गर्छ । यद्यपि उनको पसलको बारेमा थाह भएका ग्राहक त्यहीँ जाने गरेका छन् । उनको पसलमा पनि भिड नलाग्ने भने होइन तर, चौकमा रहेका अन्य पसलले उनको व्यापारमा धेरै असर पारेका छन् ।

कुल्फी बेच्दा-बेच्दै करिब १८ वर्षअघि थोरै मात्रामा दही र चिनी किनेर उनले इन्द्र चौकमा पहिलो लस्सी पसल स्थापना गरेका थिए । उनी भन्छन्, “काठमाडौंमा लस्सी त रहेनछ, यहाँ पनि लस्सी चखाउन पर्‍यो भन्ने सोचेर थालियो ।” यहाँका मान्छेलाई लस्सीको लत लगाउने विनयले व्यापार बढ्दै गएपछि जनकपुरबाटै कर्मचारी झिकाएका थिए । उनले अहिले पनि करिब ६ जनालाई रोजगारी दिइरहेका छन् । बढ्दो महँगाइ, घर तथा पसलको बहाल, केटाकेटीको पढाइ खर्च र कोरोना महामारीका बेला लागेको ऋणबाट अहिलेसम्म पनि उक्सिन नसकेको दुःख उनीसँग छ । सन् २००८मा वैवाहिक बन्धनमा बाँधिएका उनी तीन सन्तानका पिता समेत रहेका छन् ।

गाउँबाट ढुवानी गरेर मगाएको दूधलाई निकै बेरसम्म तताइन्छ, करिब ६० लिटर दूधलाई उमालेर ४५/५० लिटर जति बनाइन्छ । र, उक्त दूधबाट दही तयार हुन्छ । सोही दहीमा चिनी तथा बरफ राखेर मथेपछि तयार हुन्छ, चिसो-मिठो जनकपुरे लस्सी । जसमा माथिबाट थप मिठासका लागि खुवा, किस्मिस्, बदाम आदि राखेर ग्राहकलाई दिइन्छ । सरसफाइमा निकै ध्यान दिने गरेका विनय पसलमा आउने ग्राहकलाई सिसाको गिलासमा लस्सी दिन्छन्, जबकि अन्य पसलमा भने प्लास्टिकको ग्लास धेरै प्रयोग गरिन्छ । ठुलो गिलासको लस्सी पिउँदा ९० रुपैयाँ लिने गरिएको छ भने सानो गिलासको ५० रुपैयाँ लिइन्छ ।

विनयसँग कुराकानी गर्दागर्दै मैले पनि तनतनी पिइदिएँ जनकपुरको मिठो-चिसो-स्वादिलो लस्सी । र, गिलास रित्तिएको पनि पत्तै पाइन् ।

तपाइँको पनि घाँटी तिर्खाएको होला, छामी हेर्नुस् त ? लौ, लौ पुगीहाल्नुस् तपाईं पनि । तपाईँको दिन लस्सीमय रहोस्, है त !!

सम्बन्धित समाचार