बिहिबार , मंग्सिर ६, २०८१

एक वर्षमा झन्डै डेढ खर्बकाे अन्न, तरकारी र फलफूल आयात

image

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब डेढ खर्ब बराबरको यस्ता दैनिक उपभोग्य वस्तुहरू नेपालमा आयात भएको छ । बितेको आवमा विदेशबाट नेपालमा एक खर्ब ३४ अर्ब भन्दा बढीको अन्‍न, तरकारी र फलफूल आयात भएको भन्सार विभागको तथ्यांकमा देखाइएको छ ।

तथ्यांक अनुसार बितेको आवमा ७४ अर्ब २८ करोड ३७ लाख ७ हजार बराबरको अनाज आयात भएको छ । निर्यात भने जम्मा २० लाख ६७ हजारको मात्रै भएको भन्सार विभागले जनाएको छ ।

तरकारी ३६ अर्ब ५४ करोड ४५ लाख ९९ हजारको नेपालमा आयात गरिएको छ भने निर्यात ७७ करोड ६२ लाख ५९ हजारको मात्रै भएको छ । यसैगरी बितेको आवमा २४ अर्ब ९९ करोड ८५ लाख ६६ हजार बराबरको फलफूल विदेशबाट आयात हुँदा निर्यात भने ९२ करोड १२ लाख ९५ हजारको मात्रै भएको विभागको तथ्यांकमा जनाइएको छ ।

यस आंकडाअनुसार बितेको आवमा नेपाललाई अन्‍नबाट ७४ अर्ब २८ करोड १६ लाख ४० हजारको व्यापार घाटा भएको छ । यस्तै तरकारीबाट ३५ अर्ब ७६ करोड ८३ लाख ३९ हजार र फलफूलबाट २४ अर्ब ७ करोड ७२ लाख ७१ हजार बराबरको व्यापार घाटा नेपाललाई भएको छ ।

अघिल्लो आव २०७७/७८ मा भने विदेशबाट नेपालमा ७९ अर्ब ५९ करोड २७ लाख ४६ हजारको अन्‍न आयात गरिँदा निर्यात भने जम्मा ५४ लाख ६७ हजारको मात्रै भएको थियो । उक्त आवमा ३८ अर्ब ५० करोड ६ लाख १८ हजारको तरकारी आयात भएको थियो भने निर्यात ६९ करोड ९८ लाख ६२ हजारको भएको विभागले जनाएको छ ।

यस्तै, २१ अर्ब ३४ करोड ३८ लाख ३६ हजारको फलफूल विदेशबाट नेपालमा आयात गरिँदा नेपालबाट विदेशमा भने जम्मा २ करोड ८ लाख ११ हजारको निर्यात गरिएको थियो । कृषि प्रधान देश भनिएको नेपालमा नै सरकारले देशमै धान, गहुँ, मकै, तरकारी,फलफूल उत्पादन बढाउन अर्बौँको बजेट बिनियोजन गरे पनि उक्त बजेट बर्सेनि खर्च भइसक्दा पनि उत्पादन बढ्न सकेको छैन ।

पछिल्लो समय नेपालमा दैनिक उपभोग्य वस्तुहरू अनाज, तरकारी, फलफूलको मूल्य निरन्तर बढ्दै गएर उपभोक्ताहरू मारमा परेका छन् ।

दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्दा उपभोक्ताहरू मारमा पर्नुका साथै देशलाई पनि ठूलो घाटा बेहोर्नुपरिरहेको छ । किनकि देशमै उत्पादन गर्न सकिने धान, गहुँ, मकै, तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुहरू विदेशबाट आयात गर्नु परिरहेको अवस्था छ ।

यसरी विदेशबाट यी वस्तुहरू आयात गरिँदा मूल्य पनि बढेको छ भने देशबाट वैदेशिक मुद्रा बाहिरिएर अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ ।

सम्बन्धित समाचार