इलाम । काठमाडौँबाट इलाम गएको गाडीमा १७ वर्षीया बालिकामाथि गाडीका सहचालकले हातपात र जबरजस्तीको प्रयास गरेको प्रहरीले बताएको छ । मङ्गलवार यात्रुसहितको बा ५ ख ५९८२ नम्बरको माइक्रो बस काठमाडौँबाट इलाम आएपछि साँझ अन्य यात्रुलाई ओरालेर चालक ढुङ्गाना गाडीबाहिर निस्केका थिए ।
सोही माइक्रोमा १७ वर्षीया बालिका पछाडिपट्टिको सिटमा थिइन् । रातिको समय भएकाले उनी गाडीमै बसेर आफ्नो अभिभावकलाई लिन बोलाएर कुरेर बसेकी थिन् । गाडीमा यात्रु र चालक नभएको मौका छोपेर गाडीका सहचालक नुवाकोटको बेलकोट–१३ का विनय वाग्लेले ती बालिकालाई हातपात र जबरजस्तीको प्रयास गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र श्रेष्ठले भने,- ‘हातपात प्रयास गर्दागर्दै बालिकाका अभिभावक त्यहाँ पुगेपछि वाग्ले भागेछन्,’ । उनका अनुसार सहचालक भागेको अनि चालक त्यहाँ आइपुगेकाले उनीमाथि चाहिँ आक्रमण र कुटपिट भएको देखिएको श्रेष्ठले बताए ।
उनलाई कुटपिट गर्ने इलाम नगरपालिका–६ का प्रेमप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ भने चालकको मृत्यु भएको छ । चालकको परिवारले राईविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
यातायात व्यवसायी आवद्ध विभिन्न संघ–संगठनले विज्ञप्ति जारी गरी यातायातका साधनमा कार्यरत श्रमिकको सुरक्षा माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
साथै मृतक चालकको उपचारमा भएको खर्च, उनका परिवारको पालनपोषणलगायतको उचित व्यवस्थाको ग्यारेन्टी नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
मृतकको शव अस्पतालमानै छ भने उपचारमा लागेको खर्च तिर्न समस्या भएपछि शवको पोष्टमार्टम भएको छैन ।