काठमाडौं । नागार्जुन नगरपालिकाको इचङ्कगुलाई अहिले ढकमक्क फूलैफूलले छोपेको छ । सबैको घर आँगनको डिलदेखि करेसाबारीभरि ढकमक्क सयपत्री, मखमली फूलहरू फूलेको देख्दा लाग्छ यो फूलै फुलले भरिएको गाउँ हो ।
उमेरले ४० वर्ष पुगेकी सुनमाया तामाङ फूल खेती बाटै वर्षमा एक लाखभन्दा बढी आम्दानी गर्छिन् । इचङ्कगुबाट थोरै माथी उनले दुई रोपनी जग्गा भाडामा लिएकी छिन् । जसमा उनी मौसम अनुसारको फूल लगाउँछिन् । अहिले तिहार नजिकिँदै गरेकाले उनको बारीभरि सयपत्री फूल ढकमक्क फूलेका देखिन्थे ।
करीब १७ वर्ष अगाडि बाट निरन्तर फूल खेती गरिरहेकी सुनमाया बाँकी समयमा चनाचटपट र चिया पनि बेच्छिन् । जसबाट उनलाई आफ्नो परिवार समाल्न समेत सजिलो छ । उनी भन्छिन्, ‘मेरा छोराछोरी, बुहारीले समेत यस फूल खेतीमा चासो देखाउँछन् । जसले गर्दा झन् मलाई उर्जा मिल्छ र फूलहरूमा रमाउन मन लाग्छ ।’
त्यसो त उनलाई अझै धेरै जमिन लिएर आफ्नो व्यवसायलाई विस्तार गर्ने मन छ तर आवश्यक तालिम सेवा सुविधा र जनशक्तिको अभावले गर्दा उनी एक सिमित परिधिभित्र फूलखेती गर्न बाध्य छिन् ।
रमा बस्नेत (३०) लाई सानैदेखि फूलहरू मन पर्ने भएकाले उनले आफ्नो घर परिवारको रुचि बिना नै अहिले फूलखेती गरिरहेकी छिन् । आफ्नो बारीमा ढोको बोकेर फूल टिप्दै गरेकी सुनमाया ‘फूल भए फेरि फुल्थेँ तिमी आउने बाटोभरि, सुवास छर्दै बसन्त ल्याउथेँ तिमी आउने बाटोभरि …’ गीत गाउँदै गरेकी भेटिन्छिन् ।
फूल रोप्नेदेखि, गोड्ने, हेरचाह गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका सबै जिम्मेवारी उनी एक्लैले निभाउँदै आएकी छिन् । उनी स्थानीय सरकारले बजार प्रवद्धन गरिदिए आफूलाई अझ सहज हुने बताउँछिन् ।
५ वर्ष देखी एक रोपनी जग्गामा फूल खेती गर्दै आइरहेकी कान्छी तामाङ आफ्नो फूलबारी बाट घर फर्कँदै गरेको अवस्थामा फूल जस्तै खुलेकी देखिन्थिन् । उनी घरमा बसीबसी पनि फूल बेचेर आम्दानी गर्छिन् ।
अझ यो तिहारको समयमा स्वयम्भू आएर बढी फाइदा हुने भएकोले उनी सहित थुप्रै महिलाहरू बजार पनि झर्ने गर्छन् । बजार झर्न असहज भएको अवस्थामा मधेयस्तकर्ताबाट फूल बेच्दा पनि आफू सन्तुष्ट भएको उनी बताउँछिन् ।
यसरी आफ्नो र परिवारको लागि २,४ पैसा खर्च गर्नलाई उनीहरुले श्रीमान् र परिवारका अन्य सदस्यको भर पर्नु पर्दैन। इचङ्कु गाउँका महिलाहरुलाई फूल खेतीले आत्मनिर्भर बनाएको देख्दा लाग्छ, सरकारले करोडौं लगानी गरेर विदेशबाट फूल निर्यात गर्नुको सट्टा स्वदेशमा नै यसको व्यवस्थापन गर्न सकिन्छ । यदि तेस्तो हुन सकेमा इचङ्कगु जस्तै अन्य थुप्रै गाउँ निर्माण गर्न सकिन्छ । इचङ्कगुका जस्तै अन्य गाउँका महिलाहरूलाई पनि आत्मनिर्भर बनाउन सकिन्छ ।
हाल व्यावसायिक रूपमै टनेल बनाएर फूल व्यवसाय गर्ने व्यवसायी पनि बढ्दै छन् । यस क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । असोज र कात्तिक (तिहार) अगाडि फूल टिप्ने र गाँस्ने काम चलिरहेको छ ।
नेपालका अन्य क्षेत्रमा धान खेतको आलीमा मास, भटमास र बोडी रोप्ने चलन हुन्छ भने यहाँका किसानले मखमली फूल नै रोप्ने गरेका छन् । तिहारको विशेष आकर्षण तथा महत्वका मखमली, सयपत्रीको फूलको रौनकले गाउँ नै रङ्गीन छ । बिहान फूल टिप्ने र दिनको समयमा फूलको माला बनाउन यहाँका किसान एक अर्कामा अर्मपर्म नै गर्छन् । मखमलीको माला नओइलाउने भएकाले माला गाँस्ने काम धमाधम भइरहेको हो ।
साँस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजारलाई ध्यानमा राखी स्थानीयवासीले फूल रोप्दै आएका छन् । फूलकै माध्यमबाट गाउँमै महिलाले राम्रो आयआर्जन गर्दै आएको फूल व्यवसायी रमा बस्नेतको भनाइ छ । धान, मकै खेती गर्नुभन्दा फूलखेतीमा करिब आठगुना बढी नै आर्थिक लाभ लिन सकिने उनको अनुभव छ ।
फूल खेती गर्ने किसानले वार्षिक ५० हजार रुपियाँदेखि ९५ हजार रुपियाँसम्म प्रत्येक घरले कमाउँछन् भने व्यावसायिक रूपमा खेती गर्नेले दुई लाखदेखि सात लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएको बस्नेत बताउँछिन् ।