सोमबार , भाद्र ३१, २०८१

एकै ठाउँमा उभिएर ३ वटा देश देख्न पाइने ठाउँ ‘सन्दकपुर’, कसरी पुग्ने ?

image

Photo by: wikiwand.com

इलाम बजारबाट ३६ किलोमिटरमाथि चढेपछि पुगिन्छ इलामको सबैभन्दा अग्लो डाँडो, सन्दकपुर। देखिन त सूर्य जहाँबाट पनि देखिन्छ तर केही ठाउँ यस्ता हुन्छन् जहाँको सूर्य देख्दा आकाश नै आफ्नो भएजस्तो लाग्छ। इलामको सन्दकपुर त्यस्तै थुम्को हो, जहाँ धपधप बलेको सूर्य आकाशमा होइन, हेर्नेको आँखामा उदाउँछ। श्री अन्तु, सिद्धिथुम्का र सन्दकपुर, यी तीन डाँडाले इलामलाई सूर्योदयको जिल्लाका रूपमा चिनाएका छन्।

साविक माइमझुवा गाविस ९ र मावु गाविस ८ को संगमस्थल सन्दकपुर अहिले सन्दकपुर गाउँपालिकामा पर्दछ । यहि सन्दकपुर डाँडाकै नामबाट गाउँपालिकाको नामाकरण गरिएको हो । ३६३६ मिटरको उचाइमा नेपाल भारत सिमा क्षेत्रमा अवस्थित प्रसिद्ध ठाउँ हो सन्दकपुर । यहाँबाट कार्त्तिक देखि बैशाख सम्म सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । यही मौसममा हिउँ समेत पर्ने र लामो समयसम्म रही रहन्छ । यहाँबाट सगरमाथा कंचनजंघा लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सन्दकपुर जान २ वटा बाटाहरू रहेका छन् । एउटा इलाम बजारबाट माइपोखरी देउराली माइमझुवा हुँदै एक दिनको पैदल यात्रामा पुग्न सकिन्छ भने अर्को फिक्कल, पशुपतीनगर हुदै भारतीय भूभागबाट मानेभन्ज्याङ हुँदै ट्याक्सीमा चढेर सन्दकपुर पुग्न सकिन्छ ।

नेपालको पूर्वी सिमानामा पर्ने सन्दकपुरबाट नेपाल, भारतको पश्चिम बङ्गाल, सिक्किम र भुटान गरी तीन देश देख्न सकिन्छ। छेउमा उभिएर हात अघि बढाउँदा कञ्चनजंघा, कुम्भकर्ण र मकालु हिमाल आफ्नै हत्केलामा उभिएजस्तो लाग्छ। आइपुग्ने बाटोको कुरा अझै बेग्लै छ।

पुग्ने कसरी ?

हवाईजहाजबाट भद्रपुर ओर्लिएपछि सोझै झापाकै अर्को शहर बिर्तामोड पुग्नुहोस्। पूर्व(पश्चिम राजमार्गको बिर्तामोड वा चारआलीमा इलामका लागि गाडी पाइन्छन्। बिर्तामोडबाट ८३ किलोमिटर टाढाको इलाम पुर्‍याउन गाडीले सरदर तीन घण्टा लगाउँछ। पहिलो दिन इलाम बजार मै बास बस्नु राम्रो। इलाम बजारमा रु १०० मा मासुभात पाइन्छ। लजमा धेरै तिर्नुपर्दा रु ५५० सम्म पर्छ। इलाम बजारबाट बिब्ल्याँटे, माइपोखरी हुँदै दोस्रो दिनको यात्रा शुरु हुन्छ। वा पहिलो दिन नै माइपोखरी बसेर दोस्रो दिनबाट कच्ची बाटोको यात्रा शुरु गर्न पनि सकिन्छ। माइपोखरी बास बस्नेहरूका लागि पाँच सय मिटर पर देउरालीमा होटल, लज खोलिएका छन्। यहाँबाट जसबीरे, कोठी डाँडा हुँदै ल्याण्डरोभरले डेढ घण्टामा खुर्सानीटार पुर्‍याउँछ। अथवा खुर्सानीटारसम्म पैदल पनि हिँड्न सकिन्छ। यदि तपाई पैदल हिँड्नुभयो भने बीचमा टोड्के झरना हेर्न नभुल्नुहोला।

बाटोबाट सय मिटर मुन्तिर इलामको सबैभन्दा लामो (८५ मिटर) टोड्के झरना भेटिन्छ। सन्दकपुर यात्राको एउटा बिसौनी खुर्सानीटारलाई मानिन्छ। सात घण्टा लामो उकालो यहीँबाट शुरु हुन्छ, जहाँ गाडी चल्दैन। तपाईसँग ठूलो भारी छ भने खुर्सानीटारमा रु ३०० सम्ममा भरिया पाउन सकिन्छ। तर, उकालोमा कुनै घर वस्ती नभएकाले खानेकुरा साथै लैजानु राम्रो। बाटोमा घर भेटिँदैनन्, सुस्ताउनका लागि गोठ भने प्रशस्त छन्। चौरी र भेडाको लस्कर यात्राका साथी बन्न आइपुग्छन्। एकै सासमा सात घण्टाको उकालो चढ्न सकिँदैन भने, बीचमा छ( कालपोखरी। कालपोखरीमा होटल, लज पाइन्छन्। एक रात कालपोखरीमा बास बसेर पनि बाँकी उकालो उक्लिन सकिन्छ। यहाँबाट डेढ घण्टाको उकालोमा सन्दकपुर पुगिन्छ। बाटो छेउको जङ्गलमा आक्कल झुक्कल दुर्लभ रेडपाण्डा, बँदेल, भालु पनि देख्न पाइन्छ। यो उकालोमा लेक लाग्ने सम्भावना अधिक मानिन्छ, यसैले मकैको सातु बोक्नु बेस हुन्छ। सात घण्टाको उकालो उक्लिएपछि आइपुग्छ, तपाईको गन्तव्य सन्दकपुर।

तपाईले रोजीरोजी, सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईका फाँट हेरेर आनन्द लिन सक्नुहुन्छ। सन्दकपुरमा नेपाल तर्फ दुई वटा होटल छन्। भारतपट्टि भने अलि धेरै छन् तर रेट दुवैतिर बराबर जस्तै छ। यहाँको असली आनन्द भने चौरमा पाल टाँगेर बस्नुमा मानिन्छ। अथवा यहाँ एउटा यात्री भवन पनि छ, जहाँ रु ५ देखि १०मा एक रात सुत्न पाइन्छ। सन्दकपुर पुगिसकेपछि तपाई गएको बाटो छाडेर अर्कै बाटो घुम्दै फर्किन पनि सक्नुहुन्छ। थुप्रै डाँडाको शिर र भञ्ज्याङ हुँदै अघि बढ्ने यो बाटो पशुपतिनगर निस्किन्छ। जौबारी, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ बीचमा पर्ने स्टेशन हुन्। अर्को बाटो छ छिन्टापुको। २,९४६ मिटर उचाइमा रहेको छिन्तापुबाट पूर्वाञ्चलका सबै १६ जिल्ला देखिन्छन्। यहाँबाट माइपोखरी निस्किएर इलाम बजार झर्न पनि सकिन्छ।

Tags:

सम्बन्धित समाचार