मंगलबार , अषोज १, २०८१

लेकसाइड जाने बाटोमा जमेको व्यवसायीको जोडी

image

युरोपका लगभग आधा दर्जन देश घुमेपछि यामप्रसाद तिमिल्सिनालाई लाग्यो, ‘विदेशभन्दा नेपाल नै ठीक छ । त्यसभन्दा पनि आफू जन्मेको पोखरा परिवेश झन् उत्कृष्ट छ ।’

यति सम्झेर उनले युरोपको बेलायत मात्रै होइन, सर्वशक्तिमान अमेरिका बस्ने मोह पनि त्यागे । देशबाट देखिने विदेश । अनि विदेश पुगेपछि सम्झिने देशको माया विछट्टै । त्यही मायाले उनलाई वर्षौ पहिले फर्काएर स्वदेश ल्यायो ।

सराङकोटमा जन्मे हुर्केका यामप्रसाद अहिले पोखराको नारेश्वर चोकस्थित लेकसाइड जाने बाटोमै होटल ‘लेक–वे इन’ खोलेर बसेका छन् । होटल भएपनि लेक वे इन घर जस्तै छ । आफ्नै घरमा होटल खोलेर बसेका श्रीमान यामप्रसाद र श्रीमति शान्ता सुवेदी व्यवसायमा जमेको जोडी हो ।

श्रीमान यामप्रसाद र श्रीमति शान्ता सुवेदी

विवाह गरेपछि जागिर र विदेशको मोह त्यागेर पोखरामा होटल व्यवसाय गरिरहेको यो जोडीले दशकौ बसन्त पार गरिसकेको छ । तर पोखराको पर्यटनमा यो जोडी अझै चरा जस्तै उडिरहेको छ । अनि तालमा डुंगा जस्तै सयर गरिरहेको छ ।

होमस्टे जस्तै लाग्ने होटल लेक–वे इन अर्गानिक स्वादले चिनिने भान्छाघर पनि हो । जहाँ शान्ता र यामप्रसाद आफैँले पकाएको खाना पाहुना अर्थात पर्यटकलाई खुवाउँछन् । आफ्नै घर तथा बारीमा उब्जिएको अन्न पकाएर पस्किन्छन् ।

पोखरा पुगेका हर कोही पर्यटक बस्न सक्ने होटलमा उनीहरुको दैनिकी पाहुनाहरुको स्वागत र संस्कार हो । त्यो भन्दा ठूलो कुरा उनीहरु दुवै फाइदाका लागि गर्ने व्यापारभन्दा सन्तुष्टिका लागि गर्ने सेवामा रमाइरहेका छन् ।

होटल अगाडि हुँदै लेकसाइड जाने बाटो

‘देश विदेश पुगेपछि धेरै ठाउँ घुमेपछि आफ्नै देश र आफू जन्मेकै ठाउँ पोखरा प्यारो लाग्यो’ यामप्रसादले सुरुवाती बोलीमै मनको मन्जिल सुनाए, ‘पोखरा चिनिएकै पर्यटनले भनेपछि होटल सुरु गरेका हौँ । तर होटल भन्नेबित्तिकै फाइदा र व्यापारका लागि मात्रै भन्दा पनि पोखरा आएका पर्यटकको मन खुशी पार्ने सेवामा समर्पित छौँ ।’

झण्डै पाँच तलाको होटलबाट पोखराको सुन्दर दृश्य देखिन्छ । माथिको सराङकोट, बडेमानको मूर्ति भएको पुम्दिकोट, काहुँडाँडादेखि शान्ति स्तुपासम्मको दृश्य जति सुन्दर छ, त्यत्तिकै सुन्दर लेकसाइडको सामीप्यता हो ।

छतबाट देखिएको शान्ति स्तुपा

पहिले र अहिलेको फेवातालको लेकसाइडमा धेरै परिवर्तनलाई पनि चुनौति दिइरहेको लेकवे इनको छतको दृश्यबाट पोखरा सुन्दर देखिन्छ । चारैतिर हरियाली डाँडा र मौसम खुल्दा धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रेको सेताम्मे हिउँ पनि छर्लंगै हुन्छ ।

‘हाम्रो होटलबाट पोखराको दृश्य स्पष्ट देखिन्छ । छतमाथिको भान्छाबाट खाना खादै सुन्दर दृश्य हेर्न सकिन्छ । पोखरा जतिसूकै उत्तर आधुनिक भएपनि पोखराको हरियालीले पोखरालाई सँधै मनमोहक पारिरहने शान्ता बताउँछिन् ।

‘पोखरालाई सँधै पोखरा बनाउने हरियालीले हो । जुन हामी हरेकबेला कुरा गर्दा देखिन्छ । वरिपरी हरियाली डाँडा र त्यसमाथिको सेतो हिउँले ढाकिएका हिमालको दृश्यले पोखरालाई सँधै रोमाञ्चक बनाउँछ’ शान्ता शान्त स्वरमा भन्छिन्, ‘हामी मात्रै होइन, हाम्रै छोराछोरी पनि देश विदेश जहाँ पुगेपछि आफ्नै पोखरालाई मन पराउँछन् ।’

होटलको छतबाट देखिएको दृश्य, नेपथ्यमा सराङकोट

पोखराको पर्यटन जोगाइरहन यामप्रसाद र शान्ता आ–आफ्ना ठाउँबाट सक्रिय पनि छन् । यामप्रसाद विद्यालयको शिक्षा दिक्षामा सहयोग गर्छन् । उनी स्थानीय विद्यालय व्यवस्थापन समितिमा बसेर काम गर्छन् । विद्यालय र व्यवस्थापन समितिलाई सकेको सहयोग तथा समन्वय गर्छन् ।

शान्ता भने महिला व्यवसायीहरुको हित र अधिकारका लागि संगठित छिन् । पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) संस्थाको केन्द्रीय सदस्य रहेकी शान्ता पोखराका पछिल्ला कार्यक्रममा निरन्तर सक्रिय देखिन्छिन् ।

‘पोखरालाई पर्यटकीय शहर बनाउन पुरुषजत्तिकै महिलाहरुको भूमिका पनि ठूलो छ । तर त्यसलाई स्थापित गर्न नेतृत्व चाहिने रहेछ । आफ्नै संस्था र संगठित टिम चाहिने रहेछ’ टेवानकी सक्रिय केन्द्रीय सदस्य शान्ता भन्छिन्, ‘हामीले पोखराको पर्यटनलाई देशभित्र र बाहिर चिनाउन लागिपरेका छौँ ।’

होटलको छतबाट देखिएको दृश्य, नेपथ्यमा काहुँडाँडा

कमला गिरी नेतृत्वको टेवानले गरेका पछिल्ला कार्यक्रमबाट पोखरामा राम्रै प्रभाव पारिरहेको शान्ताको बुझाई छ । केही दुरगामी महत्व र प्रभाव पार्ने योजनासहित पोखरामा तीज सांस्कृतिक महोत्सव गरेर गण्डकी प्रदेशका सबै जिल्लाका पर्यटन महिला व्यवसायी जोड्ने कामको सुरुवात टेवानले गरिसकेको छ ।

त्यसमाथि मुस्ताङ र मनाङका पर्यटन महिला व्यवसायी जोड्ने जोखिमपूर्ण काममा टेवान सक्रिय छ । आगामी दिनमा अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलन गर्ने अध्यक्ष गिरीको योजना र प्रतिबद्धतामा शान्ता शतप्रतिशत आत्मविश्वास देखाउँछिन् ।

‘नेतृत्वले आँटेपछि योजना र कार्यक्रम बनाएपछि त्यसलाई सफल बनाउने जिम्मेवारी सबै सदस्यहरुको हुन्छ’ शान्ताले सारमा सुनाइन्, ‘पोखरामा पहिलोपटक तीज महोत्सव गरेपछि नेतृत्वले देखेका नयाँ सपनामा हामी समर्पित छौँ । महिला व्यवसायीको हक, हित र अधिकार मात्रै होइन, क्षमता प्रष्फूटन गर्ने साझा थलो पनि टेवानलाई बनाउन चाहन्छौँ ।’

छतबाट देखिने हरियाली

शान्त देखिने शान्तालाई यति धेरै दृढ र प्रतिबद्ध विश्वास दिलाउन काम यामप्रसादले गरिरहेका छन् । जुन पोखरामै जमेको होटल व्यवसायी जोडीको पनि उदाहरणीय नमूना हो ।

हामीले पोखराबाट फर्किने बेलामा यो जोडीलाई सोध्यौ, ‘पोखरा आउन चाहने पर्यटकलाई के भन्न चाहनुहुन्छ ?’

‘तपाईंले पोखरा आउँदा जे देख्नुभयो र बुझ्नुभयो । त्यही भन्दिनुस् । पोखरा आउने हरेक पर्यटकको सेवामा तत्पर छौँ । लेकसाइड जाने बाटैमा होटल लेक–वे इनमा स्वागत गर्न तयार छौँ ।’

भिडियो

सम्बन्धित समाचार