नुवाकोटमा पृथ्वी नारायणकै पालामा धेरै मठमन्दिरहरू निर्माण भएका हुन । मल्लकालीन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपामा प्रसिद्ध भैरवी मन्दिर र सिन्दुरे जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा नुवाकोट जिल्लाको प्रमुख सांस्कृतिक उपलब्धिहरू मानिन्छ ।
नेपालको इतिहासमा नुवाकोट जिल्लाको छुट्टै महत्त्व रहेको छ । राजधानीसँग जोडिएको नुवाकोटको ऐतिहासिकता राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जीवनीसँग धेरै तरिकाले जोडिएको पाइन्छ । हिन्दुहरूको धार्मिक स्थलको रूपमा पहिचान भएको रसुवाको गोसाईंकुण्ड जाने मूल मार्गको रूपमा रहेको नुवाकोट नौ वटा कोट मिलेर बनेको जिल्ला पनि हो, यसकारण यो धार्मिक नगरी पनि हो ।
त्रिशूली, तादी, छत्रेखोला र अन्य सानातिना खोलाहरूले नुवाकोटको खेतीयोग्य भूमिमा सिँचाइ भएको छ । रसुवा जिल्लाको गोसाईंकुण्डबाट उद्गम भएको त्रिशूली नदीले नुवाकोटमा तीन ठाउँमा विद्युत् उत्पादन समेत गरेको छ । शिखरबेसीको धान नुवाकोट जिल्लाको प्रख्यात मानिन्छ । समुन्द्रटार, खरानीटार, बरटार र गेर्खुटार जस्ता उर्वरा भूमि भएको नुवाकोट जिल्लाको थानसिङ, जिलिङ, खड्कभञ्ज्याङ जस्ता डाँडाकाँडा रमणीय स्थल मानिन्छन् ।
नामाकरण:
नुवाकोट जिल्ला नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म पश्चिम १ नम्बर अन्तर्गत रहेको थियो । यस जिल्लाको नामकरण गोपाल वंशीय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक भनाइ रहेको छ । नुवाकोट जिल्लाको नामकरण नौ कोटबाट भएको भएता पनि सल्यानकोट र धुवाकोट पश्चिम. १ नं. बाट २०१९ सालमा जिल्ला विभाजन हुँदा धादिङ जिल्लामा र कालिकोट रसुवा जिल्लामा परेको र बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, भैरमकोट नुवाकोट जिल्लामा रहेको छ । प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्र, १० गाउँपालीका तथा २ नगरपालिका विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरू रहेका छन्। विगतमा नुवाकोट दरबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ ।
इतिहास:
राजा पृथ्वीनारायण शाहद्वारा तत्कालीन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे–चौबीसे भनिने स–साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो । यही क्रममा उपत्यकाको पश्चिमतर्फको मूल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान सुरु गरियो । त्यसैबेला कान्तिपुर अधीनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो । जसको फलस्वरूप तेस्रो पटकको व्यापक तयारीपछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भएको थियो । नुवाकोट विजयपछि यसलाई राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझ सजिलो भएको थियो । जसको परिणाम स्वरुप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर शहर गोरखाली सेनाको हातमा पर्यो । यसप्रकार एकीकरण अभियान अघि बढ्यो । साथै वि.सं. १८३१ माघ १ गते नुवाकोट जिल्लाको देवीघाटमा पृथ्वी नारायणको मृत्यु भएको थियो ।
उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र कुँवर, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्धाहरू यस अभियानलाई अझै व्यापक बनाउँदै लगे । त्यसबेला भारतमा साम्राज्य फैलाइरहेका अङ्ग्रेज शासकहरू नेपालको यो अभियानबाट सशङ्कित बनेका थिए । जसबाट वि.सं. १८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पूर्वमा मेची र पश्चिममा राप्ती पश्चिमका तराइका भू-भाग गुमाउन परेको थियो । यी विभिन्न कारणहरूले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्ध हुन पुग्यो । इ.सं.१८५७ मा भारतका सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले अङ्ग्रेजलाई महत्त्वपूर्ण सैनिक सहयोग उपलब्ध गराए बापत हाल पश्चिम नेपालको नयाँ मुलुक भनेर चिनिने चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता भएको थियो । तसर्थ, नेपालको वर्तमान स्वरुप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरूको महत्त्वपूर्ण भूमिका रहेको छ ।
यस एकीकरण अभियानमा नुवाकोट विजयले सफलताको सङ्केत देखिएको थियो । राजा पृथ्वीनारायण शाहको वि.सं. १८०१ देखि १८२५ सम्मको महत्त्वपूर्ण समय नुवाकोटमै व्यतित भएको इतिहास पाइन्छ । पृथ्वी नारायण शाहले ललितपुरका कालिगड झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए । पछि नब्बे सालको महा-भूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो । पुरातत्त्वविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्वसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए । तर उपत्यकाका मल्ल राजाहरूको घमन्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन् । यसलाई गृष्मकालीन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालीन दरबारका वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो । यसरी निर्माण गरिएको दरबारको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्धबन्दीका लागि थुन्ने खोर समेत दरबारमा बनाइएको थियो । यस दरबार अघिल्तिरको तिलिङ्गा घर (जसलाई पछि गएर ‘गारद घर’ भन्न थालियो) पनि रहेको छ । साथै, उत्तरपूर्व कुनाको रणबहादुर शाहको बैठक घर पनि शाहकालमा नै निर्माण भएको थियो ।
सांस्कृतिक पक्ष:
नुवाकोट सांस्कृतिक रूपले पनि धनी जिल्ला मानिन्छ । उपत्यकामा प्रचलित मल्लकालीन सांस्कृतिक मेला, पर्व, र जात्राहरू पनि नुवाकोटमा लाग्ने गर्दछ । नुवाकोटमा पृथ्वी नारायणकै पालामा धेरै मठमन्दिरहरू निर्माण भएका हुन । मल्लकालीन धार्मिक तथा सांस्कृतिक सम्पदाका रुपामा प्रसिद्ध भैरवी मन्दिर र सिन्दुरे जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा नुवाकोट जिल्लाको प्रमुख सांस्कृतिक उपलब्धिहरू मानिन्छ ।
वि.सं. २०२० सालमा सदरमुकाम नुवाकोटबाट विदुरमा स्थानान्तरण गरेसँगसँगै केही सांस्कृतिक परम्पराहरू लोप हुँदै गएका छन् । नुवाकोटमा मल्लकालमा उपत्यकाबाट बसाई सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम जस्ता: काठमाडौँको जस्तै इन्द्रचोक, ब्रह्मटोल, आदि राखेका थिए, जुन अहिलेसम्म कायम छ । यी नेवार जातिमध्ये कतिपय सात तले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ ।
भौगोलिक अवस्था:
भौगोलिक विभाजन अनुसार पहाडी क्षेत्रमा अवस्थित यो जिल्ला झन्डै अर्ध चन्द्रकार रूपमा पूर्व–पश्चिम फैलिएर रहेको छ । यस जिल्लामा उच्च पहाडी क्षेत्रको हिमालको दक्षिणी ढाल र रमणीय पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेँसी र टारहरू लगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ । भौगोलिक बनावट अनुसार नुवाकोट जिल्लाको पहाडी भू-भाग ७१ प्रतिशत, लेकाली भू-भाग १८ प्रतिशत तथा टार, बेँसी र समथर भू-भाग ११ प्रतिशत रहेको छ । नुवाकोट जिल्लाको कुल क्षेत्रफल ११२१ वर्ग किलोमिटर रहेको छ ।
ऐतिहासिक सात तले दरबार:
आधुनिक नेपाललाई अहिलेको आकार दिन महत्त्वपूर्ण योगदान दिएको नुवाकोटको सात तले दरबार विदुरबाट चार किमिको दुरीमा छ । करिब९७० मिटर उचाइको डाँडामा पर्ने उत्तर-दक्षिण फैलिएको यो दरबारको ऐतिहासिक तथा राजनीतिक महत्त्व छ । पृथ्वीनारायणले नुवाकोट जितेपछि राज्य विस्तारका काम अगाडि बढाउन नुवाकोटलाई नै दोस्रो राजधानी बनाएका थिए । पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपछि साततले दरबार गतिविधिको मुख्य केन्द्र रह्यो । पृथ्वीले नुवाकोटलाई राजधानी घोषणा गरे । करिब २५ वर्षसम्म राजधानीका रूपमा रह्यो ।
रणबहादुर शाहको पालामा पारिवारिक कचिङगलका कारण कान्तिपुरको शासन रणबहादुरले पाटनबाट र छोरा गीर्वाणले नुवाकोटबाट चलाएका थिए । पृथ्वीका कान्छा छोरा बहादुर शाह नुवाकोटमै जन्मेको र उनी विरुद्ध षडयन्त्र भएपछि कैद गर्दा उनलाई नुवाकोटमै राखिएको थियो । यसैगरि, सन् १७९३ मार्चमा अङ्ग्रेज दूत विलियम कर्कप्याटिकको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राजा रणबहादुर र मुख्तियार बहादुर शाह देवीपूजाका लागि नुवाकोट आउँदा यहाँको भ्रमण गरेको थियो । राजा गीर्वाणयुद्ध विक्रमले सन् १८१६ विसं १८७३ मा नेपालका लागि बेलायतका प्रथम आवासीय प्रतिनिधि ई गार्डनरको ओहोदाको प्रमाणपत्र यही दरबारमा बुझेका थिए । एकीकरण अभियानका क्रममा तनहुँका राजा त्रिविक्रम र कीर्तिपुरका बालनसिंहलाई समेत सो दरबारमा थुनिएको थियो ।
नुवाकोटको साततले दरबार यसका आँखीझ्यालका लागि प्रसिद्ध छ । यसका धेरै तलामा आँखीझ्याल छन् । ती सबै कलात्मक रूपले खोपिएका र बुट्टेदार छन् । अरू झ्यालभन्दा तेस्रो तला कलात्मक तथा आँखा लोभ्याउने खालका छन् । दोस्रो र चौथो तलाका झ्यालमा प्रयोग गरिएका काष्ठकलाका नमुना पनि आकर्षक छन् । चौथो तलामा बार्दलीका चारैतिर प्रयोग गरिएका आँखीझ्यालका बुट्टा र दर्शनीय छन् । पाचौँ र छैटौँ तलामा प्रयोग गरिएका ससाना झ्यालहरू कलात्मक शैलीले बनाइएका देखिन्छन् । यी झ्यालबाट निकै टाढासम्म देखिन्छ भने बाहिरबाट यहाँ केही पनि देख्न सकिन्न । दरबारको छैटौँ तलामा रहेको अँध्यारो कालकोठरी प्रसिद्ध छ । त्यहाँ शत्रुहरूलाई थुन्ने गरिन्थ्यो । सातौँ तलाबाट वरिपरिका सबै दृश्य–हरिया पहाड, त्रिशूली बजार, तादी र त्रिशूली नदीको सङ्गम, सेरा फाट देख्न सकिन्छ । नुवाकोट दरबारपरिसर स्थित भैरवी मन्दिर, तलेजु मन्दिर, राउतवेशीको दुप्चेश्वर महादेव, देवीघाटस्थित जालपादेवी मन्दिर, कविलासको नाट्येश्वर महादेव मन्दिर आदि जिल्लाका प्रमुख धार्मिक तीर्थस्थल हुन । हाल यस दरबार परिसरको पुनर्निमाणको कार्य चीन सरकारले सुरु गरिरहेको छ ।
जालपादेवी र भैरवी दिदिबहिनि:
जिल्लाकै प्रमुख धार्मिक तीर्थस्थल मानिने देवीघाटको जालपादेवी र नुवाकोटको भैरवी मन्दिरमा हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन सिँदुरे जात्रा लाग्ने गर्दछ । चतुर्दशीका दिन भैरवी मन्दिर अगाडी विधिपूर्वक सल्लाको लिङ्गो ठड्याएपछि मेला सुरु हुने गर्छ । मेलामा देवीघाटस्थित जालपादेवी मन्दिरमा पूजा अर्चनासहित पशुबली दिने चलन छ । धार्मिक मान्यताअनुसार नुवाकोट मन्दिरपरिसरमा रहेको भैरवीदेवी बहिनी र तादी र त्रिशूली नदीको सङ्गमस्थल देवीघाटमा रहेको जालपादेवी दिदी हुन भन्ने कुरा मान्यता रहेको छ । यी दुई दिदीबहिनीलाई वर्षको एकपटक भेट गराउन भैरवी देवीलाई बाजागाजा र सिन्दूर जात्रासहित देवीघाट ल्याउने गरिएको छ । यस् मेलामा नुवाकोट आसपासका जिल्लाका साथै अन्यत्रबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी आउने र देवीघाट जात्राको रूपमा प्रसिद्ध मानिने गरेको छ ।
विशाल पहराको बिचमा अवस्थित दुप्चेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष धान्य पूर्णिमामा लाग्ने जात्रा जिल्लाको अर्को ठूलो पर्व हो । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा राउतबेशी वडा नं ८ स्थित रहेको यो मन्दिर धार्मिक मात्र नभएर पर्यटकीय स्थलको रूपमा पनि विकास भएको छ । मङ्सिरको एकादशीको दिनबाट सुरु हुने जात्रा पूर्णिमापछि मात्र सकिन्छ । मेला र अन्य समयमा पनि जिल्ला बाहिरदेखि मानिसहरू यहाँ पुग्ने गर्दछन् । धादिङ, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखालगायत जिल्लाबाट आन्तरिक पर्यटकहरूको भिड लाग्ने गर्दछ । खासगरी स्थानीय झाँकी नाच, ह्याल्मो गीत र शेर्पा नाच यहाँको अर्को विशेषता हो ।
उत्तरगयाको रूपमा चिनिने रसुवा र नुवाकोटको सिमाना मा पर्ने सलाखु र मलाखु खोलाको सङ्गमस्थल बेत्रावतीमा पुसेऔंशी र कुशेऔंशीका दिने विशेष मेला लाग्ने गर्छ । यी दिनहरूमा विशेषगरी बाबुआमा नहुनेहरूले उक्त तीर्थस्थलमा गएर स्नान एवं श्रद्धा आदि कर्म गर्छन् । यीबाहेक कविलासस्थित नाटयेश्वर मन्दिर, सागर कुण्डलगायत धार्मिक एवम् पर्यटकीय स्थलहरूमा विभिन्न समयमा मेला लाग्ने गर्छ । नुवाकोटको तारुका गाविसमा हरेक वर्ष माघेसंक्रान्तिका दिन आयोजना हुने गोरु जुधाउने जात्राले पनि विशेष महत्त्व राख्छ । किंवदन्तीअनुसार बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्नका लागि गोरु जुधाएको र त्यसै बेलादेखि उक्त परम्पराले निरन्तरता पाएको बताइन्छ । राजाको स्वागतार्थ सुरु भएको गोरु जुधाउने जात्रालाई हाल पर्यटकीय महत्त्वका साथ हेरिन थालिएको छ । उक्त जात्रामा नुवाकोट आसपासका धादिङ, रसुवा, चितवन, कास्की, काठमाडौंलगायत स्थानबाट समेत दर्शक आउने गरेका छन् ।
पर्यटकीय सम्भावना बोकेको नुवाकोट :
ऐतिहासिक महत्त्वका विषय मात्र होइन वर्तमान अवस्थामा नुवाकोट पर्यटकीय स्थलको रूपमा विकास हुन थालेको छ । काठमाडौँदेखि ७० किमिको दुरीमा रहेको नुवाकोट जिल्लाको सदरमुकाम विदुर बजार आन्तरिक एवं बाह्य पर्यटकहरूको लागी अध्ययनस्थल बनेको छ । काठमाडौँबाट नुवाकोट जाँदा बाटोमा पर्ने रानीपौवाले पर्यटकहरूको मनै लोभ्याउँछ । रानीपौवाबाट रसुवा जिल्लाको लामटाङ् हिमाल मात्र होइन, रसुवा जिल्लाको दक्षिण भेगमा पर्ने राम्चे, कालिकास्थान, जिवजिवे, धैवुङ्, लहरेपौवा जस्ता दर्जनौँ गाउँका बस्ती र पहाडी शृङ्खलाको दृश्य रानीपौवाबाट गर्न सकिन्छ । यतिमात्र होइन रानीपौवाबाट नुवाकोट जिल्लाको अधिकांश भूगोल र धादिङ जिल्लाको बुधसिङ्, तारुका लगायत दर्जनौँ गाउँहरू पनि देख्न सकिन्छ ।
त्यसैगरी पृथ्वी राजमार्गमा पर्ने धादिङ जिल्लाको वैरेनीदेखि विदुरसम्मको १७ किमी मोटर मार्गले तराईबाट नुवाकोट जाने मानिसहरूको लागि छोटो मार्ग बनेको छ । ककनी चिर्केश्वर डाँडा, बागमारा सागर कुण्ड भाल्चेको भेडा फार्म चिसापानी माला भञ्ज्याङ काला भञ्ज्याङ, गोल्फु भञ्ज्याङ जस्ता यहाँका प्रमुख पर्यटकीय स्थलहरूले आजभोलि नुवाकोट पुग्ने मानिसहरूको लागी थप आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय नुवाकोट काठमाडौं जोड्ने पासाङ ल्हामु राजमार्ग ‘रेन्बो ट्राउट हाइवे’का रूपमा समेत विकास हुँदै गएको छ ।
जिल्लाका पर्यटकीय स्थलहरूको प्रवर्धनका लागि पछिल्लो समय फरकफरक पदमार्गहरूको खोजी हुन थालेको छ । काठमाडौंको शिवपुरीदेखि नुवाकोटको साततले दरबारसम्म पुगेर टुङ्गिने नौ दिने पदमार्ग शिवपुरी अल्छे–पूर्णकुखुरे-मानेभञ्ज्याङ माङकेडाँडा-समुद्रटार सुन्दरादेवी-बागमारा मालाभञ्ज्याङसम्मको पदयात्रामा पर्यटकले स्थानीय बासीको रहनसहन संस्कृति स्थानीय भेषभूषा र प्राकृतिक मनोरम दृश्यावलोकन गर्नको लागी नुवाकोट जिल्ला प्रकृति प्रेमीहरूको लागि राम्रो मानिन्छ । प्रकृतिप्रेमीहरूको लागि बागमारा नजिकै पर्ने सागरकुण्ड र राहुचुली यहाँको अर्को आकर्षक प्राकृतिक सम्पदा हो । राहुचुलीबाट काठमाडौं उपत्यकाका अधिकांश भागका साथै नुवाकोटको पुरै भाग देख्न सकिन्छ ।
एकपटक नुवाकोट जाऔँ, ऐतिहासिक अध्ययन मात्र होइन प्राकृतिक दृश्यावलोकन गरेर आन्तरिक पर्यटकको विकासमा सहयोग पुर्याऔँ ।