सोमबार , भाद्र ३१, २०८१

“हिमालयन ह्वाइट-वाटर च्यालेन्ज” असार १० र ११ मा हुने

image

नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज (नारा) ले राष्ट्रिय स्तरको २२ औं ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ कार्यक्रम आयोजना गर्ने भएको छ । साहसिक जलयात्रा व्यवसायीहरुको राष्ट्रिय छाता संस्था नाराले आउँदो असार १० र ११ गते यो कार्यक्रम गर्न लागेको हो ।

नाराले नेपाल पर्यटन बोर्ड र संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालको सहकार्यमा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा प्रतिष्पर्धात्मक जलयात्रा आयोजना गर्न लागेकोे हो ।

नाराका अध्यक्ष शिव अधिकारीले नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको प्रतिष्पर्धात्मक जलयात्रा आयोजना गर्न लागेको बताए । उनको अनुसार नेपालमा जलयात्राको संभावना धेरै भएपनि यस क्षेत्रमा निरन्तर लाग्ने नेपाली खेलाडी निकै कम छन् । भविष्यमा अन्तर्राष्ट्रिय स्तरको प्रतिष्पर्धामा जान यस किसिमका कार्यक्रमले धेरै सहयोग पुर्याउने छ ।

संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालयको मन्त्री शैलेन्द्र मान बज्राचार्य कार्यक्रमका मुख्य अतिथि रहने आयोजकले बताएको छ । नाराले देशभरका अनुभवी खेलाडीलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।

यस प्रतिष्पर्धामा राफ्टिङ्ग र कायकिङ्ग गरी दुई वटा खेलको अनुभव प्रतिष्पर्धीहरुले लिन पाउने छन् । साहसिक जलयात्रा व्यवसायीहरुको राष्ट्रिय छाता संस्था नाराले देशभरका अनुभवी खेलाडीलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नेपालका १ सय जना र विदेशी २० जना गरी राफ्टिङ्ग र कायकिङ्ग खेलाडीले यस प्रतिष्पर्धामा सहभागी हुन पाउने छन् ।

यस खेलमा राफ्टिङ्ग तर्फ विजयी हुने प्रथम खेलाडीले ५० हजार रुपैयाँ, दोस्रोले ४० हजार रुपैयाँ र तेस्रो खेलाडीले ३० हजार रुपैयाँको पुरस्कर घाेषणा गरिएकाे छ । कायकिङ्ग खेल तर्फ विजय हुने प्रथम खेलाडीले २० हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रो खेलाडीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै मेडल र प्रमाणपत्र भने दुवै तर्फका विजयी खेलाडीले प्राप्त गर्ने छन् ।

यसै गरी आगामी वर्ष २०८२ मा नाराले ५० औं वर्षको अवसर पारेर ‘जलयात्रा भ्रमण वर्ष’ मनाउने तयारी भएको नाराका अध्यक्षले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार