थापा दम्पतीले हालसम्म ५७ हजार जना भन्दा बढीलाई सहयोग गरिसकेका छन् । २३ करोड ५६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको रेकर्ड थापा दम्पतीसँग छ । तर, रेकर्डमा नरहेको सहयोगको गणना छैन ।
“म तेह्रथुमको मोराहांङ भन्ने ठाउँमा एउटा विकट अनि अनकन्टार गाउँमा गरिब परिवारमा जन्मिएको मान्छे हुँ”, उनले भने, “चित्राले छाएको झुपडी घरको छानोले घामपानी चिन्दैन थियो । पानी पर्दा पानी, घाम लाग्दा घाम घरभित्र सिधै पस्थ्यो । खोइ, घर पनि के भन्नु ! घर, घर जस्तो थिएन । बाल्यकालमा मन लागेको मिठो खाएको याद छैन । पेटभरि खानाको लागि दसैँ तिहार चाडबाड कुर्नुपर्थ्यो । राम्रो लगाउने परको कुरा थियो । शरीर ढाक्न पाउनु नै ठुलो कुरा थियो ।”
संसारका थुप्रै मानिसहरूका लागि सपनाको सहर, अमेरिकाको राजधानी न्यूयोर्क सहरमा बसेर आफ्ना जीवनका पुराना पानाहरू पल्टाउँदै उनले थप सुनाए, “मसँग लुकाउनुपर्ने केही पनि छैन, किनभने जति मसँग थियो सबै दिइसकेँ, जति हुनेछ दिनेछु ।”
उनी हुन् समाजसेवी हेम थापा । सुदूर-पूर्वी जिल्ला तेह्रथुमको लोराहाङमा उनकै शब्दमा भन्नुपर्दा “एक विकट अनि अनकन्टार गाउँ”मा जन्मिएका थापाले आफू र आफ्नो परिवारलाई समाजसेवामा समर्पित गरेका छन् । उमेरले पाँचौँ दशकमा टेक्दै गरेका थापा र उनका परिवारले देश विदेशमा रहेका दुःख कष्टमा परेकाहरूलाई हालसम्म २३ करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरिसकेका छन् ।
सुरुमा यतिकै बेहिसाब सहयोग गर्दै आएका उनले सन् २०१७ मा एउटा फाउन्डेसन खोलेर सहयोग गर्न थाले । फाउन्डेसनको नाम हो, हेम एण्ड माया फाउन्डेसन नेपाल ।
“आफूले गरेको सहयोगको रेकर्ड राख्न सजिलो होस् र वैधानिक पनि होस् भनेर फाउन्डेसनको स्थापना गरेका हौं ।” उनले भने ।
पछिल्लो समय समाज सेवा गर्ने व्यक्ति तथा संस्थाहरू बढी प्रचारबाजीमा लागेको र समाजसेवाको नाममा आफूले फाइदा लिने गरेको कुराहरू सुनिन थालेको छ । सानातिना सहयोगलाई पनि ठुलो बनाएर प्रचार गर्ने र दुनियाँलाई थाहा दिनुपर्ने मान्नेताबाट ग्रसित समाजसेवा निस्वार्थ नभएको टिप्पणीहरू पनि सुनिन्छ । खैर, तर कतिपय यस्ता व्यक्ति तथा संस्थाहरू पनि छन्, जसले करोडौँ रुपैयाँ बराबरको सहयोग गरेर पनि गुमनाम छन् । जो प्रचारको पछि लाग्दैनन् । त्यस्ता संस्थाहरूमध्ये एक हुन्, हेम एण्ड माया फाउण्डेसन ।
भनिन्छ, ‘ती मानिसहरूका जीवन सार्थक हुन्छन्, जो अरूका लागि पनि बाँच्दछन् ।’ हुन पनि हो, जसले अरूका लागि केही योगदान दिन्छन्, तिनीहरू सम्झिरहन्छन्, बाँचिरहन्छन् । अरूबाट केही लिँदा वा लिन पाउँदा खुसी मान्नु मानिसहरूको स्वभाव हो । तर, समाजमा कमै मानिसहरू हुन्छन् , जो अरूलाई दिँदा आनन्द मान्छन् , जसरी अरूले लिँदा मान्छन् । त्यस्तै अरूलाई दिँदा आनन्द महसुस गर्ने जोडी हुन्, थापा दम्पती ।
“आफूले पनि दुःख कष्टहरू भोगेको हुनाले अरूका दुःख कष्ट, पिडाहरूलाई बुझ्न सक्छु, महसुस गर्न सक्छु” थापा भन्छन्, “निस्वार्थ भावले विपन्नमा परेका र खाँचो परेकालाई सहयोग गरेको हुनाले प्रचारबाजीको जरुरी ठानेका छैनौँ । ठान्दैनौँ पनि । कसैले थाहा पाउनु नपाउनु भन्दा पनि वास्तविक दुःख पिडामा परेकालाई सहयोग गर्न सकियौँ कि सकिएनौँ भन्नेमा हाम्रो ध्यान हुन्छ ।”
थापा दम्पतीले हालसम्म ५७ हजार जना भन्दा बढीलाई सहयोग गरिसकेका छन् । २३ करोड ५६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको रेकर्ड थापा दम्पतीसँग छ । तर, रेकर्डमा नरहेको सहयोगको गणना छैन ।
२०७२ सालमा नेपालमा गएको महाभूकम्प होस्, या विश्वव्यापी कोरोना महामारी, धुर्मुस सुन्तलीको क्रिकेट रङ्गाशाला बनाउने अभियान होस् या रबी लामिछानेको राष्काेट अस्पताल बनाउने अभियान, ज्ञानेन्द्र शाहीको भ्रष्टाचार नियन्त्रण अभियान होस्, थापाले सहयोग नगरेको कुनै क्षेत्र छैन । अभियान छैन ।
गरिब निमुखाहरूको स्वास्थ्य उपचारमा होस्, या जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउन होस्, अघि सर्छन्, थापा दम्पती । थापा दम्पतीको फाउन्डेसनले पर्साको मौवानमा एक विद्यालयको भवन पनि निर्माण गरिदिएको छ ।
२०७२ को भूकम्पमा पनि थापा दम्पतीले खाद्य, त्रिपाल, लुगा कपडा र नगद गरी ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको थियो । त्यसैगरी विभिन्न विपतमा परेकाहरूको उपचार, राहत र आर्थिक सहयोग गरी एक करोड सहयोग गरेको थियो । बाढी, पहिरो, हावाहुरी जाँदा विभिन्न ठाउँमा मठ, मन्दिर, विद्यालय, हस्पिटल, पाटी-पौवा, धारा, कुलो, चौतारी निर्माण, मर्मत सम्भारमा मात्र ३० लाख रुपैयाँ भन्दा बढी सहयोग गरिसकेका छन् ।
फाउन्डेसनले विदेशमा फसेका, दुःखमा परेका थुप्रैलाई सहयोग गरेको छ । “साउदीमा मृत्युदण्ड पाएका प्रेम राईलाई पाँच लाख, कुमार राना मगरलाई दुई लाख, खड्क जोगीलाई ६ लाख, विनोद रानाभाटलाई एक लाख गरी चौध लाख रुपैयाँ सहयोग गरेको याद छ । अरू सानातिना सहयोगको रेकर्ड छैन ।” थापाले भने ।
थापा दम्पतीका लागी सहयोगको कुनै भौगोलिक सीमा छैन, विषय क्षेत्र छैन । तर, प्राथमिकतामा नेपाली समुदाय पर्छन् । यद्यपि, गैर नेपालीलाई पनि सहयोग नगरेका र नगर्ने होइन । संसारको जुन कुनामा जसलाई जे दुःख कष्ट पर्छ, सके जति सहयोग गर्छन् थापा । उनीहरूको सेवाको क्षेत्र भनेको मानव जाति हो । उद्देश्य भनेको मानव सेवा हो । जसलाई मानवको सेवा बाहेक अरू केही पनि गर्नु छैन ।
समाजसेवी थापाको जन्म, पारिवारिक, सामाजिक तथा आर्थिक पृष्ठभूमिको झलक उनले माथि सुरुमा नै देखाइसकेका छन् । त्यसमा थप्दै थापा भन्छन्, “एसएलसी सम्म पढेको हो । एसएलसी पढ्दासम्म खुट्टामा चप्पल थिएन । नाङ्गै थियो । फी तिर्न नसक्दा बीच-बीचमा पढाइ पनि ब्रेक भयो ।”
जसोतसो एसएलसी पास गरेपछि उनले त्यो भन्दा बढी पढ्ने कल्पना नै गरेनन् । आर्थिक अवस्थाले त्यो सपना देख्नबाट वञ्चित गरेको थियो । त्यसपछि जागिरको खोजीमा भौँतारिन थाले । नेपाल आर्मीमा जागिर खुल्यो । तेह्रथुमको डाँडा पाखा पखेरामा जन्मेहुर्केको केटो । छनौट भए थापा । तर उनले एक हप्तामै छोडिदिए । कारण थियो, तालिमको दौरानमा ट्रेनर अथवा सिनियरले प्रयोग गर्ने भाषा र व्यवहार । अथवा भनौँ अपमान । थापा भन्छन् “गरिब थिएँ, तर स्वाभिमानी थिएँ र छु, आत्मसम्मान नरहेपछि जागिर छोडिदिएँ ।”
नेपाली सेना छोडेपछि भारतीय सेनामा भर्ती भए, थापा । “भारतीय सेनामा नेपाली सेनामा जस्तो सिनियरबाट अपमानित हुनुपर्दैन होला भन्ने ठानेर भर्ती भएँ । तर, त्यहाँ पनि त्यस्तै”, थापाले भने, “चेन अफ कमान्ड मान्नुपर्छ, त्यो थाहा थियो तर जुन खालको व्यवहार, शब्दहरूको प्रयोग हुन्थ्यो त्यो चाहिँ नियम विपरीत नै थियो । मैले सहन सकिनँ, ६ महिनापछि त्यो पनि छोडिदिएँ ।”
मानिसको आत्मसम्मान, स्वाभिमान कति माथि हुन्छ भन्ने कुरा उनलाई थाहा छ । त्यसैले बरु गरिबीको चपेटामा बाँच्न तयार भए, तर आत्मसम्मानलाई दाउमा राखेर जागिर खाएन ।
अपमान सहेरै दुःख गरेर नै पैसा कमाउनुपर्छ भने विदेशै गएर कमाउँछु भन्ने थापाको मनमा पलायो । तर, विदेश जाने पैसा जोहो गर्ने कसरी थाहा थिएन । कतार जानका लागि ८० हजार रुपैयाँ जति लाग्ने भयो । त्यसको लागि घरको लालपुर्जा धितो राखेर मासिक तीन प्रतिशत व्याज तिर्ने गरी गाउँका एक जना साहुले पैसा दिए । तर, सावाँ र ब्याज मात्रै तिरेर नहुने थियो । एक लाख रुपैयाँ ऋण दिए बापत एक तोला सुन उपहार पनि दिनुपर्ने भयो । विदेश भासिनुको विकल्प थिएन । जस्तोसुकै सम्झौतामा पनि औँठाछाप लगाउनुको विकल्प थिएन । लगाए । अनि २०४९ मा भासिए कतार ।
कतारको मरुभूमिमा खनिज तेलको कम्पनीमा काम कस्तो हुन्छ । कल्पना मात्रै गर्दा पनि पसिना आउँछ । छटपटाहट, उकुसमुकुस हुन्छ । उनले भोगे । जसोतसो तीन वर्षमा ऋण चुक्ता गरे उनले । एक तोला सुन उपहार पनि दिए । लालपुर्जा फिर्ता आयो । ऋणमुक्त भएपछि अब परिवारको लागि पनि खर्च गर्न पाउने भयो भन्दै खुसीको बहार आएको थियो उनमा । राम्रो खाना लाउन दिन सक्ने भयो । बिस्तारै गरिबीको पर्दा उघारिँदै गयो । तर, त्यसको डेढ वर्षपछि घर खरानी भयो । घरमा आगलागी भयो । धनमाल, लता कपडा, अन्न, केही पनि रहेन । फेरि नाङ्गै भयो थापाको परिवार । यो २०५६ सालतिरको घटना हो ।
कतारको मरुभूमिमा उनको दुःख जारी रह्यो । ११ वर्ष बसेपछि २०६० सालमा घर फर्किए । तर, अवस्था उस्तै थियो । फेरि बिदेसिने योजना बन्यो । दुबई भासिए । नेपालमै बसेर केही गरौँ की भन्ने सोचेर दुई वर्ष दुःख गरेर फर्किए ।
“कतार र दुवैमा गरेर १३ वर्ष विदेशमा बिताएपछि अब नेपालमै दुःख गरौँ, सानातिना केही गरेर परिवारसँगै बसौँ भन्ने सोचेको थिएँ । तर, माओवादीले बस्न थिएन । पहिला आर्मीमा भर्ती भएको हुनाले माओवादीले अनेक शङ्का गर्ने, समातेर लाने, उनीहरूलाई ट्रेनिङ दिन लाउने, नमान्दा कुट्ने । यातना दिने गर्न थाल्यो”, गला अवरुद्ध पार्दै थापा भन्छन्, “मेरो औँलामा किला ठोक्यो । यातना कति दियो कति । एक दिन यातना दिएपछि मर्यो भनेर फालिदियो सङ्खुवासभाको जङ्गलमा । म पछि उठेर भागेँ ।”
तत्कालीन विद्रोही माओवादीको यातना सहन नसकेपछि परिवारसहित घर छोडेर भाग्ने उनले निर्णय गरे । पैसा थिएन । विदेश हुँदा जोडेको सोलार थियो घरमा । त्यही बेचेर काठमाडौं गए ।
“गाउँमा बस्दा माओवादीले मारेर फाल्यो । तर, बाँचे । काठमाडौंमा कसरी बाँच्ने थाहा थिएन”, थापाले गला अवरुद्ध पार्दै भने, “गाउँबाट सोलार बेचेर ल्याएको पैसा बाटोमै सिद्धेको थियो । श्रीमती, छोराछोरी भोकै थिए । एक जना गाउँको भाइकोमा गएर बसेँ । धोबी खोलामा बालुवा झिक्न थालेँ । एक गाडी बालुका झिकेको आठ सय रुपैयाँ पाइन्थ्यो । काम गरेर साँझ दुई घण्टा हिँडेर कोठामा फर्किँदा भोकले सारै सताउँथ्यो । फोहोरको डङ्गुरमा अरूले फालेको खानेकुरा खोजेर पनि खाएँ ।”
गाउँमा फर्केर जाऊँ माओवादीले मारिदिने डर, काठमाडौंमा पेट पाल्नै गाह्रो भएपछि फेरि विदेश जाने योजना बनाए हेमले । केयर गिवरमा ईजराइल गए । ईजरायल पुगेपछि आर्थिक स्थिति राम्रो हुँदै गयो । उनी गएको दुई महिनापछि उनकी श्रीमती माया थापा पनि इजरायल पुगिन् । दुवै जनाले कमाउन थालेपछि आर्थिक अवस्था निकै राम्रो भयो । तीन वर्ष त्यहाँ बसेपछि अमेरिका पस्ने कोसिस सुरु भयो । परिवारसहित अमेरिका लगिदिन्छु भनेर दलालहरूले ८५ हजार अमेरिकी डलर खाइदिए ।
“म मानिसलाई चाँडै विश्वास गर्छु । परिवारसहित अमेरिका जाने व्यवस्था गर्छु भनेपछि मैले जम्मा भएको पैसा र ऋण गरेर दिएँ । अनेक लफडा भयो । पछि ३१ हजार डलर तिरेर अमेरिका पसेँ । म गएको केही महिनापछि श्रीमती पनि आइन् ।” उनी भन्छन्, “फेरि अमेरिकामा सुरु भयो सङ्घर्ष । सुरुमा होटलमा क्लिनर, मसाल्ची गरेँ । पछि वेटरसम्म पनि भएँ ।”
केही वर्ष त्यस्तै गरेर बिताएपछि उनले ट्याक्सी चलाउन थाले । पछिल्लो पाँच वर्षदेखि उनले उबर चलाउँदै आएका छन् । अहिले उनी पेसाले उबर चालक हुन् । उनकी श्रीमतीले ब्युटी पार्लर चलाउँछिन् । उनका दुई छोरा र एक छाेरी छन् । जेठा छोरा र छोरी डाक्टर छन् भने कान्छो छोरा अमेरिकी सेनामा भर्ती भएका छन् ।
त्यसो त उनले ईजराइल र अमेरिका गएर आर्थिक सम्पन्नता हासिल गरेपछि मात्रै समाजसेवा गर्न थालेका होइनन् । आफूमा सानै उमेरदेखि नै समाजसेवा गर्नुपर्छ भन्ने भावना भएकाले आर्थिक, भौतिक, वैचारिक अथवा विभिन्न रूपले समाजको सेवा गर्दै आएको बताउँछन् । समाजसेवा गर्नुपर्छ भन्ने प्रेरणाको स्रोत आफ्नै मातापिता रहेको थापा बताउँछन् ।
थापा भन्छन्, “म सानो छँदाको याद छ मलाई । गाउँमा जब आपतविपद पर्छ, कसैलाई सहयोगको खाँचो पर्छ, मेरा पिताजी अघि सर्नुहुन्थ्यो । गाउँमा आगलागी हुँदा आगो निभाउन होस् या कोही बिमारी हुँदा बोकेर अस्पतालमा लैजान होस्, मेरा पिताजी अगाडि हुनुहुन्थ्यो । हो, हामी आर्थिक रूपमा गरिब थियौँ । तर मनले धनी थियौँ ।”
सहयोग भनेको आर्थिक सहयोग मात्रै होइन भन्ने मान्यता छ हेमको । “जसलाई जति बेला जे आवश्यक छ, त्यसमा सघाउनु नै सहयोग हो । कसैलाई सल्लाह दिएर, कोही लडेकालाई उठाइदिएर, हिँड्न नसक्नेलाई डोर्याइदिएर सहयोग गर्न सकिन्छ ।”
अहिले विभिन्न व्यक्ति तथा संस्थाहरूले अरूसँग मागेर समाजसेवा गर्ने गरेका छन् । यसप्रति असहमत छन् हेम । अरूसँग मागेर समाजसेवा हुँदैन भन्ने मान्यता छ उनको । थापा भन्छन्, “आफूसँग जे छ, जति छ, त्यसैलाई दिएर सहयोग गर्ने हो । अरूसँग मागेर हुँदैन । वास्तवमा त्यो समाजसेवा पनि होइन ।”
थापाका अनुसार उनले अहिलेसम्म कुनै पनि व्यक्ति तथा संस्थाबाट एक पैसा पनि सङ्कलन नगरी आफ्नै आम्दानीबाट मात्रै सहयोग गरेका छन् । फाउन्डेसन मार्फत सहयोग गर्न थुप्रै व्यक्ति तथा संस्थाले इच्छा व्यक्त गरे पनि आफूले अस्वीकार गरेको उनी बताउँछन् ।
आफूसँग भएको दिएर सहयोग गर्नु नौलो होइन । तर, उनले ऋण गरेर पनि सहयोग गरेका छन् ।
“कहिलेकाहीँ आफूसँग नभएको बेला पनि सहयोग गर्नुपर्ने अवस्था आउँछ । कोरोना महामारीको बेला हाम्रो पनि काम ठप्प थियो । बैङ्क ब्यालेन्स थिएन । श्रीमतीको गलाको सुनको गहना बेचेर पनि सहयोग गरियो । त्यसबेला सहयोग गर्दा झन्डै ७० लाख रुपैयाँ त ऋण नै भएको थियो”, थापा भन्छन्, “त्यो ऋण अहिले पनि चुक्ता भएको छैन । कमाएको जति सहयोग गर्दैमा सकिन्छ ।”
उनी अहिले पनि दैनिक १५ देखि १८ घण्टासम्म उबर चलाउँछन् । जुनसुकै बेला जसले पनि सहयोगको याचना गर्नसक्ने भएकाले आफू सहयोगका लागि भएपनि काम गर्नैपर्ने उनी बताउँछन् ।
उनले नि-सर्त निस्वार्थ भावले सहयोग गर्दै आएका छन् । तर, आफूले गरेको सहयोग दुरुपयोग हुने गरेको उनको गुनासो छ । कतिपय मानिसहरूले समस्यामा परेको भन्दै आफूसँग याचना गरेर ठगी गर्ने गरेको उनले सुनाए । त्यसरी झुटा पिडा सुनाएर उनलाई ठगी गर्नेमा स्थापित कलाकारहरू समेत रहेको थापा बताउँछन् ।
“म मानिसको दुःख पिडा देख्न सक्दिनँ । चाँडै विश्वास गर्छु । त्यसले गर्दा थुप्रैले ठगे मलाई । तर, अहिले अलि सजग हुन थालेको छु । अलि बुझेर मात्रै सहयोग गर्ने गरेको छु”, थापा भन्छन्, “यसमा श्रीमती जीको योगदान छ । उहाँले मलाई सजग गराउनुहुन्छ ।”
समाजसेवामा आफूलाई समर्पित गरेका दम्पतीको एउटै चाहना छ, “नेपालको विकास होस्, नेपालीहरूले दुःख नपाउन्, नेपालीहरू खुसी होउन्, समृद्ध होउन् ।”