सोमबार , भाद्र ३१, २०८१

हनुमाननगरका ‘काला हनुमान’, स्वरूप र शक्तिका कथा

कालो शालिग्राम पत्थरका 'हनुमान मूर्ति' संसारमा नेपालको हनुमाननगर र विक्रमादित्यको उज्जैनमा बाहेक अन्यत्र कतै नरहेको इतिहासविद् स्व. मुक्तिनाथ मण्डलले समेत दाबी गरेका छन् ।

image

मधेश प्रदेशको सप्तरी जिल्लाअन्तर्गत् हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नं ७ मा विशेष महत्व बोकेको ऐतिहासिक हनुमान मन्दिर अवस्थित छ । कोशीको पश्चिमी किनारामा रहेको यस मन्दिरमा हनुमानको कालो मूर्ति स्थापित छ । समान्यतया, हनुमानको प्रतिमाको अर्थात् मूर्तिको रङ्ग रातो हुन्छ । हनुमानको मूर्ती, ध्वजा, पहिरण इत्यादी रातै हुने गर्दछ । तर, हनुमाननगरको हनुमान मन्दिरमा स्थापित मूर्ति भने कालो रङ्गमा छ । मन्दिरका पुजारी गोविन्द मिश्रका अनुसार हनुमाननगरको हनुमानको मूर्तिको रङ्ग र स्वरूप दुर्लभ मानिएको छ ।

हनुमाननगरस्थित हनुमान मन्दिर

मन्दिरमा बाल स्वरूपका हनुमानको कालो मूर्ति स्थापित छ । दुवै हातले आशिर्वाद दिइरहेको मूर्तिमा प्रष्ट देखिन्छ । शालिग्राम (कसौटी) पत्थरले बनेको यस किसिमको दुर्लभ मूर्ति कतै नरहेको मन्दिरका पूजारी मिश्रको दाबी छ । यो मन्दिरमा पूजाआजा एवम् दर्शन गर्नाले विभिन्न प्रकारका द्वेशबाट मुक्ति तथा मनोकामना पूर्ण हुने जनविश्वास रहेको छ ।

यस मन्दिरमा कालो हनुमानको दर्शन गर्न नेपाल मात्र नभई भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू बाह्रै महिना आउने गर्छन् । नेपालको राज परिवारको कुरा गर्ने हो भने त्रिभुवनदेखि ज्ञानेन्द्रसम्मले मन्दिरमा आई पूजापाठ गरेका छन् । नेपालको इतिहासमा अहिलेसम्म बनेका प्रायः सबै प्रधानमन्त्री उक्त हनुमान मन्दिर पुगेकै छन् । पुजारी मिश्र भन्छन्, ‘चाहे त्यो देउवा होउन् या सूर्य बहादुर थापा होउन् यहाँ आएकै हुन्छन् ।’ हिन्दु स्वयंसेवकका विश्व संरक्षक अशोक सिंघलका साथै हिन्दू धर्मका गुरुहरू यस हनुमान मन्दिर दर्शन गर्न आउने गर्छन् ।

मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने विषयमा ठोस प्रमाण तथा किटान हुन भने सकेको छैन । भिजिट नेपालले सर्वे गर्दा रामको इतिहाससँग जोडिएको पाइएको पूजारी मिश्रको भनाइ छ । महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका तत्कालीन इतिहास तथा संस्कृति विभाग प्रमुख स्व. हरिकान्त लाल दासले ‘सप्तरीको राजनैतिक इतिहास एवं प्रमुख धार्मिक स्थलहरू’ नामक पुस्तकमा १० औं शताब्दी भन्दापनि अघिको मूर्ति हुनुपर्ने उनले निर्क्योल निकालेको पुजारीले बताए । यद्यपि, मूर्तीको विषयमा उनले समेत ठोस किटान गर्न सकेका छैनन् ।

मन्दिरको गेटमा लागेको घण्टा नै वि.सं. १९६६ अर्थात् आजभन्दा ११३ वर्षअघि लगाइएको थियो । यो मन्दिरको स्थापना र मूर्तिको विषयमा वास्तविक समय किटान पूरातत्त्व विभागले समेत पत्ता लगाउन नसकेको पुजारीको भनाइ छ । भिजिट नेपालको एक लेखअनुसार कुनै ऋषि महात्माले सपनामा थाहा पाएर या कुनै कारणले उक्त स्थानको गर्भमा हनुमानको मूर्ति रहेको थााह पाए र उत्खनन गरेर बाहिर निकाले । तर, ती ऋषि को थिए भन्ने खुलाइएको छैन र कहिले उत्खनन भयो भन्ने पनि बताइएको छैन ।

हनुमान मन्दिरको ऐतिहासिक घण्टी

उनका अनुसार मन्दिरमा वि.सं. १९६६ को घण्टी, वि.स. १९६५ को झण्डासमेत रहेका छन्। सोही हनुमान मन्दिरकै नामबाट नामकरण भएको हनुमाननगर वास्तवमै ऐतिहासिक रूपमा महत्त्वपूर्ण ठाउँ रहेको छ । वि.स. १९९९ मा कोशीले कटान गर्दा पनि हनुमान मन्दिर अस्तित्वमा थियो, जसको जवाफ त्यसमा भएको वि.स. १९६६ को घण्टी पनि हो ।

हनुमान मन्दिरका केही रोचक कथन

कोशीले अहिलेसम्म हनुमाननगरको सीमालाई काट्न सकेको छैन । योगनियामा २०४६ सालमा बाँध कट्यो, हाहाकार भयो, मान्छेहरू गाउँ छोडेर भागे । त्यसरी गाउँ छोडेर भागेकाहरूले हनुमान मन्दिरमा आएर गुहार लगाए । त्यसपछि बाँध त कट्यो तर कोशीको पानी माथि बढ्न सकेन । जहाँ थियो, त्यहीँ बग्यो र सकियो । कुनै धनजनको क्षति भएन ।

वि.सं. २०६६ मा कुशाहामा कोशीले कटान गर्दा मृगवन जाने बाटोमा भएको (मन्दिरको नाममा रहेको) जग्गालाई केही भएन तर, त्यस जग्गाका दक्षिणतिर रहेका जमिनहरू भने कोशीले कटान गर्दा बलौटे भए । उक्त जग्गा तत्कालीन राजाले मग्नु झा नामका  पण्डितलाई हनुमान मन्दिरको नाममा दिएका थिए । मन्दिरको शक्तिले त्यस जग्गालाई केही नभएको जनविश्वास रहेको छ ।

रामनवमीको केही दिनपछि मन्दिरको छेउमा एउटा कुशको घरमा आगो लाग्यो । रामनवमीको समयमा विशेष पूजा तथा हरे राम हरे राम, राम राम हरे हरे…अष्टयाम गरिन्छ । सो समयमा कपडाका रातो झण्डा तथा बाँसको ध्वजा गाडिन्छ । आगो लागेको घरमाथि पनि ती ध्वजा टाँगिएका थिए । घर जलेर खरानी भयो, आगोको लप्काले ध्वजालाई छोइरहेको थियो तर, जलाउन भने सकेन ।

हनुमान मन्दिर परिसरभित्रको राम मन्दिर

पुजारीका अनुसार जतिसुकै ठूलो बाढी आए पनि अहिलेसम्म हनुमाननगरको सीमालाई काट्न सकेन । बाढीको पानी मन्दिरको पछाडिसम्म आयो, सोही कारण हनुमाननगरमा रहेको शिव मन्दिर र भगवती मन्दिरलाई कोशीको कटानबाट जोगाउन राजविराज सारियो । तर, हनुमान मन्दिरमा रहेको हनुमानको प्रतिमालाई लैजान खोज्दा मन्दिरका पुजारी सिकिस्त बिरामी परे । उनले बिहान मन्दिर सार्न आएकाहरूलाई यो मन्दिर सारे हनुमाननगर विनाश हुने बताए । पानी पनि मन्दिरको पछाडिको भागसम्म आएर रोकियो अघि बढ्न सकेन ।

हिन्दुको मन्दिर मुस्लिमको कुत

माथि उल्लेख गरिएअनुसार सुनसरीको कुशाहामा हनुमान मन्दिरको नाउँमा १९ बिघा जग्गा छ । राणाकालमा मग्नु झा भन्ने पण्डितलाई लाल मोहर लगाएर ‘त्यहाँको उब्जाउले तिमी आफ्नो पनि भरणपोषण गर र मन्दिरको व्यवस्थापन पनि गर’ भनी जग्गा दिइयो । समय परिवर्तन हुँदै गयो र उक्त पण्डितलाई हटाएर एउटा व्यवस्थापन समिति बनाइयो । समिति बनाएर सो जमिन भोग चलन गरिरहेका मानिसहरूसँग सालको एक बालीको कुत लिएर मन्दिरको व्यवस्थापन गर्न थालियो ।

मग्नु झाले थोरै पैसा लिएर मुस्लिम समुदायलाई उक्त जमिनमा बसोबास गर्न दिएका थिए । आजसम्म उक्त जमिनमा सोही मुस्लिम समुदाय बसोबास गरिरहेका छन् र उनीहरूले मन्दिरलाई कुतको पैसा तिरिरहेका छन् । जसले मन्दिरको व्यवस्थापन भइरहेको छ । बसिरहेका मानिसहरूलाई हटाउन नमिल्ने हुनाले कुत लिएर उनीहरूलाई बसोबास गर्न दिइरहेको छ । अहिले जमिनमा बस्ने मुस्लिमले इमानदारीपूर्वक आफ्नो कुत बुझाए तापनि हिन्दुहरूले भने कन्जुस्याइँ गर्ने गरेको स्थानीय अशोक शर्मा बताउँछन् ।

करिब ५ वर्षदेखि सो जमिनबाट कुनै पनि कुत आएको छैन । किनभने, त्यहाँ कुनै पनि समिति बनेको छैन । त्यसैले, हनुमान मन्दिरसँग सम्बन्धित व्यक्तिहरू सो स्थानका वडाध्यक्षलाई भनेर समिति बनाइदिन आग्रह गरिरहेका छन् । उनीहरू पनि कुत तिर्न तयार छन् । सो रकम बुझेपछि मन्दिरको खातामा जम्मा गरिनेछ ।

हनुमान मन्दिरको वर्तमान संरचना स्थानीय समाजसेवी स्व. सीताराम काबराले बनाएका हुन् । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका इतिहास तथा संस्कृति विभाग प्रमुख स्व. हरिकान्त लाल दासको शब्दमा मन्दिरको निर्माण सभा मण्डपयुक्त शिखर भएको दक्षिण भारतीय शैलीमा गरिएको छ । मन्दिरभित्र चिल्लो कालो प्रस्तरमा वीरासन श्री हनुमान स्थापित छन् । स्व. मुक्तिनाथ मण्डलले आफ्नो सप्तरी दर्पण नामक पुस्तकमा विक्रमादित्यको उज्जैन र हनुमानगढीको बाहेक कालो शालिग्राम पत्थरका हनुमान मूर्ति संसारमा अन्यत्र नरहेको उल्लेख गरेका छन् ।

इतिहासविद् स्व. दासले यो हनुमानको मूर्ति प्राचीन र सखडेश्वरी भगवतीको समकालीन भनेका छन् । ‘सखडाको भगवतीको मूर्तिको रंग कालो छ, कंकालिनी भगवतीको मूर्ति कालो छ, रूपनगरको विष्णुमूर्ति पनि कालो छ । यस्तै, हनुमाननगरको हनुमानको मूर्तिको रंग पनि कालो छ । दशौंदेखि चौधौं शताब्दीका मूर्तिहरू कालो रङ्गमा बनाइन्थे । मूर्तिकलाको हिसाबले यो सेनपाल शैलीको मूर्ति हो जसको समय पूर्व मध्यकाल तोकिएको छ । त्यस हिसाबले हनुमानको मूर्ति प्राचीन नै मान्नुपर्ने हुन्छ’ उनले आफ्नो पुस्तकमा लेखेका छन् ।

दासका अनुसार हनुमाननगरको हनुमानको मूर्ति शक्रसिंहको सखडामा रहेका मूर्तिहरूकै समकालीन हो । इतिहासकार दासको अनुसन्धानमूलक पुस्तक ‘सप्तरीको राजनैतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू’का अनुसार नयाँ नगर बसाल्न जङ्गल फडानी गरिरहँदा हनुमानको मूर्ति भेटिएको थियो, हनुमाननगरको हनुमान मन्दिरमा स्थापित मूर्ति त्यही मूर्ति हो । उनले हनुमानगढी (हालको हनुमाननगर) कम्तीमा पनि ७०० वर्ष पुरानो मानवीय बस्ती रहेको स्थान भएको बताएका छन् ।

वि.सं. १८८५ मा राजा राजेन्द्र विक्रम शाहबाट हनुमानगढीको व्यवस्थापनका लागि बिर्ता दिइएको इतिहास छ । राजाले हनुमान मन्दिरको पूजापाठ गर्न राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसका पूर्व क्याम्पस प्रमुख अमरकान्त झाका पूर्वजलाई कास्यपत्रमा लालमोहर गरी बिर्ता प्रदान गरेका थिए । पछि मुख्तियार भीमसेन थापाबाट पनि रुक्कापत्र दिई बिर्ताको समर्थन गरिएको थियो । उक्त कास्यपत्र र रुक्कापत्रबाट त्यतिबेला हनुमान मन्दिरको अवस्था अनुमान गर्न सकिन्छ । मन्दिरको पुजारी हाल स्थानीय तहले नियुक्त गर्ने गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर ७ मा हनुमान मन्दिर पर्दछ ।

(सन्दर्भ सामग्री : अजयकुमार झाको अनलाइन खबरमा प्रकाशित विभिन्न लेख, जनकपुरधामस्थित आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव र मन्दिरका पुजारी गोविन्द मिश्रसँगको कुराकानी)

सम्बन्धित समाचार