काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थीलाई हलेसीको धार्मिक, ऐतिहासिक, साँस्कृतिक र पर्यटकीय महत्वका बारेमा जानकारी गराउने जनशक्ति उत्पादनका लागि पर्यटक गाइड तालिम सुरू गरेको छ ।
त्रि–धार्मिकस्थल हलेसीसहित अन्य धार्मिक स्थलमा आउने पर्यटक, तिर्थालु भक्तजन एवं अतिथिलाई धार्मिकस्थलहरूको महिमा र महत्व बुझाउनका लागि नगरपालिकाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टसँगको सहकार्यमा आठ दिने पर्यटक गाइड तालिम सुरू गरेको हो ।
स्थानीयले मनोमानी तरिकाले हलेसीको वर्णन गर्दा हलेसीको ऐतिहासिकता ओझेलमा पर्ने र कतिपय अपव्याख्या हुने भएकाले नगरपालिकाले तालिम प्राप्त टुरिष्ट गाइड तयार पार्न लागेको हो ।
बुधबार सुरू भएको तालिममा ७ महिला र १८ पुरुष गरी २५ जना सहभागी भएका छन् । पर्यटक गाइड तालिमका लागि नगरपालिकाका ३३ जनाको आवेदन परेको थियो । तालिममा सहभागिताका लागि नगरपालिकाले गत मंसिर ८ मा आवेदन खुलाएको थियो ।
हलेसी आइपुगेका पर्यटक एवं दर्शनार्थीलाई कतिपय स्थानीयले हलेसी तथा हलेसी आसपासका धार्मिक तथा पर्यटकीयस्थलको विषयमा आ-आफ्नो तरिकाले व्याख्या र वर्णन गर्दै आएकाले आधिकारिक गाइड तयार पार्न लागिएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले बताइन् ।
तालिममा सहभागीलाई हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीसँग सम्बन्धित धर्मगुरु एबं जानकारमार्फत हलेसी, बसाहा गुफा, मञ्जुश्री गुफा, तुवाचुङ, ताराखसे लगायतको धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्वका विषयमा जानकारी दिने व्यवस्था मिलाइएको छ । तालिम प्राप्त गाइडलाई सूचीकरण गरेर कार्यविधि तयार पारेर परिचालन गरिने छ ।
पर्यटक गाइड तालिममा सहभागीलाई नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह-प्राध्यापक तथा संकृतविद् डा. लोकनाथ दुलाल, बौद्धधर्म गुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्येता भोगीराज चाम्लिङले सहजीकरण गरिरहेका छन् ।
मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा स्वदेशीबाहेक चीन, सिंगापुर, जापान, रुस, फ्रान्स, युक्रेन, अमेरिकालगायतबाट पर्यटक आउने गरेका छन् । त्यसमा पनि बढीजसो धार्मिक पर्यटक छन् । धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेव गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, मञ्जुश्री गुफा, दुङ्देलो गुफालगायतका प्राकृतिक आकृतिको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थी हलेसी आउने गरेका छन् ।
भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराँती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किराँत समुदायको आदिम थलो तुवाचुङ स्थल रहेको लगायतका आधारमा हलेसीलाई त्रि–धार्मिकस्थल मान्ने गरिएको छ । मारातिका गुम्बा रहेकाले हलेसीमा हरेक हिउँद विश्वभरका बौद्धमार्गीहरुले ४-५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् ।