हल्दारनी आमाको चिया पसल इतिहासको साक्षी पनि हो । यही चिया पसलमा विभिन्न विभिन्न साहित्यिक/राजनैतिक/व्यापारिक मान्छेहरूको भेला हुँदै आइरहेको छ । समसमायीक विषयहरूको बहस-विमर्शको केन्द्रीय थलो बनेको हल्दारनी चिया पसल आफैँमा एक इतिहास हो ।
चिया केका लागि पिइन्छ ? तपाईं किन चिया पिउनुहुन्छ ? तपाईँको चिया पिउने मनपसन्द ठाउँ कुन हो ? छोड्नुस्, यी कुनै पनि प्रश्नको जवाफ दिनुपर्दैन । जवाफ दिन खोज्दै हुनुहुन्छ भन्ने बित्तिकै बुझियो- ‘तपाईँ चिया पिउनुहुन्छ, चियाको पारखी हुनुहुन्छ ।’ चिया पारखीको एउटा बानी हुनुपर्छ, ‘चिया पिइरहने, आइते-जाइतेले सोधिरहने नानाभाँती प्रश्नहरूलाई बाल नदिने ।’
स्वादका लागि चिया पिउनेहरूको रोजाईमा यस्तै एउटा चिया पसल पर्ने गर्दछ, जहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यात्रीहरू आउने गर्दछन् र चियाको प्यास मेट्ने गर्दछन् । ‘नेपाली चियाको पहिचानमा अतिक्रमण भयो’ भन्नेहरूलाई पनि पङ्क्तिकार यहाँ पुगेर चिया पिउन आग्रह, अनुरोध र ‘आदेश’ नै दिन्छ ।
चन्द्रपुर नगरपालिका (चपुर) वार्ड नम्बर ४ लाई ‘चन्द्रपुर चौक’ पनि भनिने गरिन्छ । यहाँ बाहिर जाने र चन्द्रपुर प्रवेश गर्ने यात्रुहरूको राम्रो भीड लागिरहेकै हुन्छ । यहीँ एउटा पुरानो माटोको घर रहेको छ, जसको छानो माटोको टालीले छाइएको छ । सोही घरको बरन्डामा आगोको चुलोमा पाकिरहेको हुन्छ- ‘हल्दारनी आमाको मिठो चिया।’
‘चन्द्रपुरकी हल्दारनी आमा !’ नामै काफी छ । आमाको चिया पसलमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यात्रुहरूले चिया पिउने गर्छन् । हल्दारनी आमा नामले प्रसिद्ध उनको वास्तविक नाम नरकुमारी गुरुङ रहेको छ ।
करिब ५० वर्षअघिदेखि चन्द्रपुर (पहिलाको चन्द्रनिगाहपुर)को चौकमा उनी चिया पसल गरेर जीवन निर्वाह गर्दै आइरहेकी छन् । मूल घर लमजुङ रहेको उनी चन्द्रपुर बसाइँ सरेको पनि निक्कै भयो । उनको भनाइमा, “तराइ झरेको कति भो कति, ५० वर्ष त पुगेकै होला !”
हल्दारनी आमा चिया त बेच्छिन् नै सँगसँगै समाजसेवाका विभिन्न कार्यहरूमा पनि बरोबर संलग्न भइरहन्छिन् । मेचीदेखि महाकालीसम्म अर्थात् सिङ्गो नेपाललाई चिया पिलाइरहेकी आमाले चिया पसलबाट खासै आर्थिक उन्नति भने गरेकी छैनन् । दैनिकीको जोहो चियाबाटै भइरहेकोमा उनी सन्तुष्ट छिन् । उनीपछि आएर यही ठाउँमा (या अन्यत्र) पनि चिया पसल गर्नेहरूले राम्रो आर्थिक उपार्जन गरिरहँदा उनको स्थिति भने सुधारोन्मुख देखिँदैन ।
हल्दारनी आमा अहिले पनि भाडाको घरमा बस्ने गर्छिन् । आफ्नो भएको केही जग्गा पनि आफूले संरक्षण गर्न नसक्दा अनैतिक तरिकाले अरूले हडपेको उनले बताइन् । उनले आफ्नो जग्गा फिर्तीको लागि कसैमार्फत दबाब दिने कार्य पनि गरिनन् । समाजमा दुःख पाए भन्नेहरूलाई खानाको व्यवस्था गर्ने, भीख मागेर जीवन चलाई रहेकाहरूप्रति विशेष सहानुभूति राख्दै चिया/नास्ताको व्यवस्था गरेर उनको दैनिकी बितिरहेको छ । हल्दार बा नरहेपछि विगत ४० वर्षदेखि उनले एकल जीवन बिताइरहेको ४० वर्ष नाघिसकेको छ । उनको यिनै मिजासिलो र सहयोगी मनका कारण उनलाई चन्द्रपुरमा नचिन्ने कोही छैन ।
चियाका लागि प्रयोग हुने दूध/दाउराको पैसा उनी आफ्नो वृद्धभत्ता या हल्दार बाको पेन्सनबाट तिर्ने गर्दछिन् । समाजसेवीको रूपमा चन्द्रपुरबासीबिच परिचित उनको बारेमा डकुमेन्ट्री तथा विशेष आर्टिकल बनाएर उहाँलाई समाजमा चिनाउने प्रयासहरू नभएका होइनन् । तर, अहिले खोज्दा ती विगतको गर्तमा कतै हराइसकेका छन् । गुगल तथा युट्युबमा उनको बारेमा कतै चर्चा गरेको पाइँदैन । ८६ वर्षकी ऊनलाई चन्द्रपुरका बासिन्दाले ‘जिउँदो इतिहास’ बताउने गरेका छन् ।
बुढ्यौली कायाले छपक्क छोपिसकेको यस उमेरमा पनि उनी बिहान ४ बजे उठेर बेलुका १० बजेसम्म चियाको स्वाद पस्किरहेकी हुन्छिन् । उनको पसलमा दैनिक १००औँ मान्छेहरूले चिया पिउने गर्छन्, कसैसँग पैसा होस् या नहोस् त्यसले फरक पार्दैन । चिया पिउन आउनेहरूलाई उनी मुस्कानको आतिथ्यतासाथ् चिया पस्कने गर्छिन् ।
हल्दारनी आमाको चिया पसल इतिहासको साक्षी पनि हो । यही चिया पसलमा विभिन्न विभिन्न साहित्यिक/राजनैतिक/व्यापारिक मान्छेहरूको भेला हुँदै आइरहेको छ । समसमायीक विषयहरूको बहस-विमर्शको केन्द्रीय थलो बनेको हल्दारनी चिया पसल आफैँमा एक इतिहास हो ।हालै उनलाई साहित्य सञ्जाल रौतहटको आयोजन तथा चन्द्रपुर नगरपालिका ४ नम्बर वडाको प्रायोजनमा गरिएको एक विशेष साहित्यिक कार्यक्रमबिच सम्मान गरिएको छ ।
चन्द्रपुरभरि रहेका चिया पसलहरूमध्ये उनको चिया विशेष मानिन्छ किनभने अहिलेको समयमा पनि उनी दाउराको आगोमा चिया पकाउने गर्छिन् । उच्च कोटीको दूध प्रयोग गर्दै निकै समय लगाएर चिया उमाल्नु हल्दारनी आमाको चियाको स्वादको राज हो । उनको मितव्ययी व्यवहार र कारुणिक मनका कारण पनि ग्राहक उनको चिया पसलको बाटो काट्ने गर्दैनन् ।
त्यसो भए, तपाईं किन बाटो काट्नुहुन्छ ? जाने होइन त, हल्दारनी आमाको चियाको स्वाद लिन ?