मंगलबार , मंग्सिर ४, २०८१

हजुरबाकाे कथा

मलाई लाग्थ्यो कि नारायणको हजुरबाले जस्तै मसँग हजुरबा कहिले कहिले खेलिदिऊन्, कहिले-कहिले चमेलीकी हजुरआमाले जस्तै कथा भनिदिऊन्, कहिले-कहिले नवराजका हजुरबाले जस्तै सहर घुमाउन लैजाऊन् ।

image

भकुण्डो उतिबेला अहिलेजस्तो किन्न जताततै पाइन्नथ्यो । ठूला सहर बजार र त्यसमा पनि दुर्लभ स्टेसनरी पसल वा स्पोर्टस् पसल खोज्नुपथ्र्यो । त्यसमाथि गाउँघरमा त परको कुरो । विद्यालयहरूमा पनि खेलकुदका सामान बिरलै आउँथे । कहिले कहिले विद्यार्थीहरूले हड्ताल नै गर्न लागेपछि भने बल्ल एक दुई फुटबल वा भलिबल झुल्किन्थे । त्यो  पनि पाखुरा र तिघ्रा बलिया  भएकाले हान्ने न हुन् । मजस्ता लुरेलाई कसले छुन दिने ?

कोर्टमा बलियाहरूले खेलेका बेला बिग्रेर बाहिर गयो भने दुगुर्दै गएर एकपटक हान्न पाए भाग्य सप्रेको भनेर दिनभर रमाइलो लाग्ने । अर्काले भेट्टाएर बोकेको बेला कहिले-कहिले चोरेर बक्सिङ हान्दै उछिट्याएर पुरुषार्थ देखाउने चलन पनि छँदै थियो । वरपर लाँकुरी र सल्लाका एमानका रुखहरूमा लुकेको भैरवी माध्यमिक विद्यालयमा पढेका विद्यार्थीहरू उतिबेला टुँडिखेलको ठूलो चौरमा खाजा खाने छुट्टी, कक्षा खाली भएको समय वा चार बजेपछि केही क्षण भलिबल खेल्न जान्थे ।

भलिबल खेल्ने क्षेत्र वरपर मजस्ता थुप्रै केटाकेटी घेरा बनाएर बस्थे । मैदानमा घेरा लगाउनेहरू उछिट्टिएर बाहिर निस्कने भकुण्डो समातेर हान्न पाइने रमाइलोका लागि आँखा नझिम्क्याई हेरिरहन्थे । दश बाह्रवर्षे म नामजस्तै चञ्चल थिएँ । भकुण्डो बाहिर आउनासाथ सबैलाई नाघेर समात्न पुगिहाल्थें र कहिले लात्ती र कहिले खुट्टाले दनक दिएर बिजयी मुस्कान टुँडिखेलभर फिँजाथें तर यस्तो अवसर दिनमा एकपटक पनि आउन दुर्लभ थियो ।

भकुण्डोलाई यतिधेरै प्रेम गर्ने म आफैंले आविस्कार गरेर पनि बल बनाउँथें । मोजाभित्र कोदाको भुस खाँदेर त्यसलाई अन्य बलिया कपडाहरू मोहर्दै गजब भकुण्डो तयार भएको हुन्थ्यो । कहिले-कहिले यस्ता भकुण्डाहरू साथीहरूलाई थोरै थोरै पैसा, कलम वा चक्लेटका पुरियाहरूमा पनि बेच्ने पनि गरिन्थ्यो । एउटा बेचे पनि अर्को तयार भैहाल्थ्यो । टुँडिखेलमा भलिबल खेल्न नपाएको तृष्णा म आफ्नै करेसामा नाम्लाको नेट बनाएर मोजाको भकुण्डो आफ्नै साथीहरू किशोर, नारायण, पुरु, मणिहरूसँग उस्तै नक्कल गरेर खेल्दै मेटाउँथें तर त्यो संयोग जुटाउन पनि आफ्ना हजुरबुबा घरमा नहुनुपथ्र्यो ।

हजुरबुबा घरमा भएको बेला त विद्यालयबाट आउनासाथ मकै चपाउँदै सोतर काट्न जानुपथ्र्यो, अथवा आमासँग बारीमा घाँस लिन । त्यसो नभए गुन्द्रीमा बसेर गृहकार्य गर्न थालिहाल्नु पथ्र्यो ।  हजुरबा कडा मिजासका थिए । हुक्कामा हर्दम तमाखु तानिरहनुपर्ने हजुरबासँग म धेरै तर्सन्थें । भनेको नमानेमा कुन बेला तमाखुको नली पाँसुलामा बज्रन आइपुग्थ्यो, थाहै हुँदैनथ्यो । बाबासम्म पनि हजुरबासँग आँखा जुधाएर कुरा गर्न सक्नुहुन्नथ्यो भने मेरो कुरो के गर्र्नु ? मसँग हजुरबा कहिल्यै हाँसेका थिएनन्, कहिल्यै खेलेका थिएनन् र कहिल्यै कथा सुनाएका थिएनन् । बरु कडा अनुशासन, कडा विधान र कडा निगरानीमा आफ्ना नाति नातिनालाई हुर्काएका थिए ।

मलाई लाग्थ्यो कि नारायणको हजुरबाले जस्तै मसँग हजुरबा कहिले कहिले खेलिदिऊन्, कहिले-कहिले चमेलीकी हजुरआमाले जस्तै कथा भनिदिऊन्, कहिले-कहिले नवराजका हजुरबाले जस्तै सहर घुमाउन लैजाऊन् । मलाई कहिल्यै यस्तो अवसर आएन । मेरालागि हजुरबा कडा अनुशासनका पहरेदार जस्ता लाग्थे । त्यसैले हजुरबा घरमा नभएको दिन मेरो स्वतन्त्रता दिवस हुन्थ्यो ।  साथीहरूलाई ल्याएर मोजाको भलिबल खेल्नु, लक्कुढाल खेल्नु र लुकीडुम खेलेर बेलुका हैरान, हैरान हुनु तिनताक हाम्रा दिनचर्या थिए ।

हजुरबाका दुई सन्तान उसका बाबु हरिप्रसाद र ठूलाबा वीरेन्द्रप्रसाद ।  हरिप्रसाद कान्छा गाउँमा खेतबारी गरेर बसेका थिए भने ठूलाबाको धादिङ बेसीमा व्यापार थियो । बुढा केहीसमय बजार झरेर बस्थे भने धेरैजसो गाउँमा नै बस्थे । गाउँमा लरलहना, खेतबारी, पशु चौपायामा उनको बढो चाख थियो । उनको कडा मिजासकै कारण घरका सबै डराउँथे । उनी हाँसेर बोल्दैनथे । थोरै मात्र तलमाथि पर्नासाथ जाइलाग्ने स्वभावका कारण उनको अगाडि सबै सातो हराएजस्तै हुन्थे ।

मलाई उनलाई पनि आफ्ना हजुरबा मायालु भैदिए हुन्थे नि भनिठान्थे । हजुरबाको अर्को पनि गुण थियो । उनी धुलौटो कोरेर पनि ज्योतिष हेर्थे, मान्छेहरूको भाग्य बताइदिन्थे, भुतप्रेत लागेको भनेर कहिले कहिले झारपुक पनि गरिदिन्थे । उनलाई लाग्थ्यो कि  मेरा हजुरबाको काखमा गएर बस्न पाए ? ग्रहहरूका दिशा र दशा बारे धेरै केही कुरा बुझ्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो तर आँट आउदैन थियो ।

कहिले-कहिले हजुरबाले मलाई लिएर पूजाआजा तथा जन्त पनि जानुहुन्थ्यो । हजुरबासँग कतै जान पाउँदा मेरो छाती निकै चौडा हुन्थ्यो । म आफूलाई निकै अग्लो भएको ठान्थे । हजुरबाले केही कुरा सिकाउनु भो भने म निकै छिटो सिक्थें त्यसैले हजुरबासँग मलाईलाई धेरै बोलूँ, बोलूँ लाग्थ्यो, केही कुरा गरौं गरौं लाग्थ्यो तर त्यो अवसर उतिसारो मिल्दैनथ्यो । के गर्नु हजुरबा प्रायः रिसाइरहेको जस्तो भान हुन्थ्यो । साना मसिना गल्ती पनि भैहालेपनि रिसाइहाल्ने बानी थियो । त्यसैले पनि घरका सबैजना उहाँसँग सतर्क हुन्थ्ये ।

हजुरबाले गाउँका धेरैजनाको चिना टिप्पन बनाउने हुनाले उहाँलाई भेट्न टाढा-टाढाबाट पनि मानिसहरू आइरहन्थे । जन्म, तिथि, मिति टिपिएका थुप्रै कागजपत्रहरू छोडेर जान्थे । अनि २,३ महिनामा फेरि जन्मपत्रिका लिन आइपुग्थे । हजुरबालाई आगन्तुकहरूले फलफूल मिठाइ, तथा मह जस्ता कोसेली ल्याइदिन्थे । उहाँलाई दिएका उपहारहरू प्रायः आमालाई राख्न दिनुहुन्थ्यो । आमाले समय मिलाएर सबै परिवारलाई बाढ्नुहुन्थ्यो ।

हजुरबा, हजुरआमा बित्नुभएदेखि एक्लो महसुस गर्नुहुन्थ्यो र कहिले-कहिले कोठामा एक्लै बसेर रुनुभएको पनि मैले देखेका थिएँ । उहाँ आफ्नो समस्या कहिल्यै अरुलाई सुनाउनुहुन्नथ्यो ।  सकेसम्म आफैं समाधान गर्न कोसिस गर्नुहुन्थ्यो । हजुरबाले हजुरआमा बित्नुभएदेखि आफ्नो लुगा आफैं धुनुभएको छ । आफूले खाने खाजा दिनमा घरमा कोही नभएको बेला आफैं बनाएर खानुहुन्छ र भाँडाकुँडा पनि आफैं माझ्नुहुन्छ । हो यस्तो एक्लै भएको बेला उहाँलाई निराशा र उदाशीले छोप्ने रहेछ र नरमाइलो मान्नुहुन्छ ।

एकदिन मलाई विद्यालयबाट चाँडै घरमा आएका थिए । बाबा बाहिर जानुभएको र आमा पशुचौपायालाई घाँसपात लिन खेतमा जानुभएको रहेछ । दिदी विद्यालयमा नै हुनुहुन्थ्यो । हजुरबा बाहिर बरण्डामा एक्लै टोलाएर बस्नु भएको रहेछ । उहाँलाई सायद भोक लागेको पनि हुन सक्छ । ओपर चिना टिप्पन बनाउने कागजहरू, टिपोटहरू र पात्राहर पनि थिए । उहाँको गिलासमा पानी उसै थियो सायद मलाइकी आमाले राखिदिनुभएको होला ।

गिलासमा हेर्दै उहाँले कसैलाई बोलाएजस्तो गर्नुभयो । उजेली ए उजेली, किन भित्रै बसिरहेको बाहिर आइज ता ?

उहाँ अझै चर्किनु भो भनेको सुनिनस् ? छिटो आइज ।

यति भनिसक्ता नसक्दै उहाँ झल्याँस्स हुनुभो । यसो आकाशतिर हेरेर भन्नु भो कि छोडेर गइसक्दा पनि कस्तो सताएकी मलाई शान्त बस्न देऊ । म शान्ति चाहन्छु । यो सम्झना भन्नेकुरा पनि कहिले-कहिले त औधि पिडादायी बन्ने रहेछ ।  दुःख दिने सम्झना आउनुभन्दा त नआएके जाती ।

मलाई विद्यालयबाट आएको देखेर हजुरबा सतर्क हुनुभयो । उहाले मलाई बोलाएर चिया बनाएर ल्याऊ र तिमी पनि खाऊ भन्नुभो । आज उहाँले बालकलाई पहिलोपटक तिमी भन्नुभयो । मलाई अनौठो लाग्यो र उनले हजुरबाको अनुहारमा एकटकले हेरिरहे । आँखाका आहालमा आँसूले डम्म भरिएका थिए । भर्खर पुछेका आँसूको दाग गालाभर तथपतिएका थिए । छालाको चाउरीका कुलेसाबाट झरेका अश्रुप्रवाहका रेखाहरू मेट्टिएका थिएनन् । किन किन मलाई हजुरबाको चौपट्ट माया लागेर आयो ।

ऊ हजुरबाको व्यथामा कुन्नी किन हो एकाकार भएर टोलायरह्यो । हजुरबाका आँखाका अश्रुपुरित सजल नयन हेरेर उसका पनि आँखा रसाएर आए । बर्षौदेखि हजुरबाको काखको न्यानो पर्खिरहेको मलाई पनि एक्कासी हजुरबा भन्दै घोप्टिएर रुन थाल्यो । हजुरबाको आत्माभित्र अनौठो आँधि सञ्चार भयो । प्रेमसिक्त दिल भरियो । उनले नजाने कुन प्रेरणाले नातिलाई अँगालोमा बेरेर भने मलाई तेरी हजुरआमा भएकी भए तँलाई विद्यालय लिन र पुर्याउन जाने थिई । सधै रोटी तरकारीको खाजा बनाइदिने थिई ।

त्यसदिन भन्दा राम्रो र मायालु मलाई आफ्नो हजुरबा कहिल्यै लागेन । त्यसदिन हजुरबाले मलाई दश रुपैया दिनुभयो र बिस्कुट किनेर खाजा खाऊ भन्नुभयो इतिहासमा नै पहिलोपटक हजुरबाको यस्तो माया देखेर मलाईको मन फुरुङ्ग भयो । आज उसलाई पढ भनेर कर गर्ने परेन गुन्द्री तानेर हजुरबासँगै राखेर गृहकार्य लेख्न थाल्यो । उसको मनमा साथीसँग हजुरबाको प्रशंसा गर्ने कति धेरै कुरा उब्जिरहेका थिए । लेख्दै गर्दा उसले भन्यो “हजुरबा हजुरबा हजुरको पालामा पनि भकुण्डो हुन्थ्यो ? कत्रो हुन्थ्यो ? अनि हजुरले पनि भकुण्डो खेल्नुहुन्थ्यो त ? ” हजुरबाले केही बोलनुभएन हाँस्नुमात्र भयो । ऊ घोप्टिएर लेख्न थाल्यो ।

एकैछिनपछि फेरि उठेर सोध्यो  “हजुरबा हजुरबा हजुरलाई मोजाको भकुण्डो बनाउन आउँछ त ? अनि भकुण्डो उफारेर पास खेलन नि आउँछ त ? ”यतिबेला पनि हजुरबा हाँस्नु भो र भन्नुभो “आउँछ , अब म सहर जान्छु र तिमीलाई भकुण्डो ल्याइदिन्छु । नातिबाबा भकुण्डो खेल्ने है” । अब त झनै साथीलाई आफ्ना हजुरबाका बारे भन्ने अनेकौं घमण्डका कुरा खाँदिएर उकुस मुकुस भए । जति हजुरबालाई सोध्यो उति नै प्रेम उम्लिएर आउँथ्यो । वाह ! यस्ता पो हजुरबा ।

हजुरबा सहर पनि बस्नुहुन्थ्यो, ठूलाबासँग । अक्सर जाडो महिना हजुरबा सहर जानुहुन्थ्यो र दुई तीन महिना बसेर फर्कनुहुन्थ्यो । त्यसदिन मलाई हजुरबा सबैभन्दा महान् भन्ने लाग्यो । साँच्चै हाम्रा हजुरबाभन्दा दानी र ठूला त संसारमै कोही छैनन् । अब हजुरबा सहर जानुहुनेछ । ठूलाबाको घरमा केहीदिन बसेर फर्कनुहुनेछ । मलाई बल ल्याइदिनुहुनेछ । मटर गाडी पनि ल्याइदिनुहुनेछ ।

बेलुका सबैजना जम्मा भए । आमाबाबासँग हजुरबा रुनुभएको, आफूलाई दश रुपैया दिनुभएको र सहरबाट फर्कदा भकुण्डो ल्याइदिनुहुने भएको कुरा एक सासमा सुनाए । खानपिन सकेपछि सबैजना सुत्न गए । हजुरबाले पनि साविक खाना खानुभयो र उहाँ सुत्ने कोठा धन्सारमा थियो त्यतै गएर ओछ्यानमा पल्टनुभयो ।  बुबाले उहाँलाई रातका लागि चाहिने तातोपानी थर्मसमा हालेर लगिदिनुभयो । हजुरबालाई ढोका लगाउन भन्नुभयो र फर्कनुभयो । बाआमा घरका सुखदुःखका कुरा गरेर सुत्ने तर्खर गर्दै हुनुहुन्थ्यो । मेरो मनमा भने दिउँसोका परिघटना ताजा भएर उम्रिरहे ।

मेरो मनमा यस्ता सबालहर उठिरहे । उसका आँखा लाग्नै सकेनन् । “हजुरबा साँच्चै किन रुनुभएको होला । के हजुरबाले मलाई सहरबाट बल ल्याइदिनु होला त ? मलाई हजुरबाले ल्याइदिने बल कस्तो होला ? हाम्रा विद्यालयका खाजुहरूले टुँडिखेलमा खेल्ने दुई हातले समाउनुपर्ने सेतो ठूलो भलिबलजत्रै त होला भोलि बिहानै हजुरबा भएको ठाउँमा जान्छु र हजुरबा मलाई दाइहरूले टुँडिखेलमा खेल्ने ठूलो भलिबलजत्रै बल ल्याइदिनुस् है भन्छु अनि हजुरबा र म करेसामा नेट हालेर खेल्नुपर्छ ”

मलाई हजुरबाको अनुहार सम्झेर औधि माया लाग्यो । “धन्सारमा एक्लै कसरी सुत्नुभएको होला । लुगा ओढ्नुभयो कि भएन म आजै हजुरबासँग सुतौं कि क्या हो ?” ऊ सुतेको ठाउँबाट जुरुक्क उठ्यो र हेर्यो । बा आमा अझै गुनगुनाइरहनु भएको रहेछ । यतिबेला धन्सारको ढोका घर्याक्क खुल्यो ।

बाहिर टहटह जुन लागेको थियो । जूनको उज्यालोमा बाबाले बाहिर च्याएर हेर्नुभो ।  पछिपछि म पनि बरण्डामा पुगेर हेरें । हजुरबा त कपडा लगाएर, झोला भिरेर निस्कन लाग्नुभएको रहेछ । बुबाआमा हतार-हतार बाहिर निस्कनुभयो र हजुरबालाई सोध्नुभयो “रातबिरात कहाँ निस्कन लाग्नुभएको बुबा ? हिंड्नुहोस् भित्र सुत्नुपर्दैन ?”

हजुरबाले भन्नुभयो “दिउँसो नातिले भकुण्डो किनिदिनुस् न हजुरबा भनेर धेरै पिरेको छ । रोएको पनि छ म सहर जान्छु र केही दिन बसेर आउँछु ।

“अनि यसरी मध्यरातमा पनि निस्कनु हुन्छ त ?” बुबाले अलि चर्को स्वमा भन्नुभयो । मेरो बुबाले चर्को स्वरमा हजुरबासँग बोलेको मैले पहिलोपटक सुनेको हुँ । हजुरबाले बल पक्का ल्याउनुहुन्छ भन्ने मलाई विश्वास बढ्दै गयो ।

त्यस रात बुबा पनि हजुरबाकै छेउमा ओछ्यान बनाएर सुत्नुभयो आमा र म मात्र मूलघरको मटानमा रहेको कोठामा सुत्यौं । भोलिपल्ट बिहान बुबाले आमासँग भन्नुभयो “एकपटक बुबालाई सरमा डाक्टरलाई पनि देखाउनु पर्ने भो । पानी पनि फेरिन्छ म सहर जान्छु । ”

त्यसदिन बाबा र हजुरबा सहर जानुभयो । मलाइ बलको आसमा बाबा हजुरबा आउने बाटो हेरेर पर्खिरह्यो । केहीदिनपछि उसको बाबामात्र फर्किनुभयो । उसलाई हजुरबाको औधि न्यास्रो लाग्यो र बाबासँग उत्सुकता पोखेर भन्यो “ हजुरबा कहिले आउनुहुन्छ ?” बुबाले उत्तर दिनुभयो “बिमार हुनुहुन्छ लिन जानुपर्छ” ।

चञ्चललाई निकै नरमाइलो लाग्यो त्यतिबिध्न माया गर्ने हजुरबालाई के भएको होला । अब सहरको पसलमा बल किन्न जान पनि सक्नुहुन्न कि कसो होला । हजुरबालाई भेटेर कति धेरै प्रश्न सोध्ने इच्छा थियो । अब हजुरबालाई कहिले भेट्ने होला ? त्यस रात पनि मलाई हृदयमा हजुरबाको शान्त र करुणमुर्ति आइरह्यो । निदाउनै सकिनँ ।

एकहप्तापछि हजुरबालाई लिन आउनु बस्न मान्नु भएन भन्ने खबर ठूलाबाको घरबाट आएको रहेछ । बाबा सहर जाने हुनुभयो । सहर जान मलाईको घरबाट बिहानै तयारी गर्नुपर्छ । बिहानै एउटामात्र बस जान्छ । त्यो पनि साँझमात्र पुग्छ । त्यसैले बिहानै जाने तयारी थियो । मेरो मन पनि हजुरबालाई भेट्न उत्सुक थियो । बाआमाका प्रत्येक कुरा ध्यान दिएर सुनिरहेको थियो । हजुरबाको अस्वभाविक आदका केहि नबुझिने कुरा पनि बाआमाले गर्नुभयो । उहाँहरूका अनुहारमा चिन्ताका रेखाहरू थिए । हजुरबालाई केही नराम्रो भएको हो कि भन्ने अज्ञात भयले मलाई सतायो ।

बुबा सहर जानुभयो । बाबा ! बाबा ! कहिले आउने मैले उद्विग्नतापूर्वक हिंड्ने बेला सोध्यो । तँलाई किन चाहियो चुप लागेर बस् । बुबाले अलि रिसाएर भन्नुभयो उहाँका अनुहारमा दिग्दारीका भाव छाएका थिए । मलाई भने हजुरबाबाको व्यग्र प्रतीक्षा थियो । हजुरबासँगै आउने भकुण्डोको उग्र तृष्णा थियो ।

चञ्चललाई त्यो दुई दिन दुई हिउँद बितेजस्तै लामो लाग्यो । आज बाबा हजुरबा भएको ठाउँमा पुग्नुभयो होला । उहाँले हजुरबाले किन्नुभएको भकुण्डो हेर्नु भएको होला । साँच्चै कस्तो रङ्को किन्नुभयो होला, आदि आदि । उसले विद्यालयमा साथी सँगातिलाई आफू ओरपर जम्मा गरेर हजुरबाको प्रेम र भकुण्डोको मात्रै बखान गरेको थियो ।

विद्यालयबाट फर्कदा उसले हजुरबाको कोठामा काम गरिरहेका केही मिस्त्रीहरू देख्छ । ढोका बलियो बनाउन प्रयोग गरेका फलामका गजबारहर देख्छ र उसलाई अनौठो लाग्छ । हजुरबाको आगमनसँगै किन कोठामा यो सब बदलावहरू भैरहेका छन् ?

आज त हजुरबा आउने दिन । मन बिहानै उठेर सहरबाट फर्कने बाटो हेरिरहेको छ । क्षण क्षणमा कति बज्यो आमा ? बाबा कतिबजे आइपुग्नु हुन्छ ? हजुरबालाई त छोडेर आउनु हुन्न नि ? यस्ता प्रश्नहरू सोधेर उसले आमालाई हैरान बनायो । बेलुकासम्म आइहाल्नुहुन्छ नि, आ ! यो केटो कति पिरोल्छ । जा स्कुल जान अबेर भइसक्यो ।

स्कुल सुनेपछि ऊ झसङ्ग भयो । हजुरबालाई भेट्न कत्रो रहर छ फेरि विद्यालय जानुपर्ने झञ्झट । उसलाई दिक्क लाग्यो । विद्यालय नजाउँ भने भरे हजुरबाले भकुण्डो पो दिनुहुन्न कि । ऊ गार्हो मान्दै विद्यालयतिर लाग्यो तर उसको मन मुटु  र आँखामा भने हजुरबा र भकुण्डो मात्रै थिए ।

मलाई विद्यालयबाट अलि चाँडै लुसुक्क आएर हजुरबा आउने बाटोमा लक्कुढाल बनाएर एक्लै खेलिरह्यो । विद्यालय छुट्टी भयो । साथीहरू घर घर गए । उसले वास्तै गरेर खाली सडकमा सहरबाट आउने बसको बाटोमात्रै हेरिरह्यो । झमक्क साँझ पर्न आँटेको थियो । उत्तरतिरबाट हर्न बजाउँदै सहरको बस आइपुग्यो । बस रोक्ने ठाउँमा ऊ दगुर्दै गयो । विद्यालय पोशाक फुकालेको थिएन झोला भिरिरहेको थियो । हातमा मोजाको भकुण्डो थियो । यात्रुहरू ढोकाबाट एकपछि अर्को गर्दै झरिरहेका थिए । उसका आँखा बसबाट ओर्लने ढोकामै टाँसिएका थिए । उसको हजुरबालाई बाबा र ठूलो बाबाले समातेर बिस्तारै ओराले ।

लौरोको सहाराले हिड्नुपर्ने, चम्किला आँखा र तेजिलो अनुहार । ओठमा अस्वभाविक खेलिरहेको मुस्कान देखेर मलाई झ्याम्मिँदै गएर टाँसिन खोज्यो हजुर बा !

हजुरबाले पनि हाँसेर प्रेमपूर्ण स्वागत गर्नुभयो र भएभरको खुशीले पूर्ने गरेर भन्नुभयो दे मेरो नातिलाई मैले किनिदिएको भकुण्डो दे । अब मलाईको खुशीको सिमा नै रहेन ।

मान्छेको खुशी सधै एकनाश रहँदैन । सधै टिकिरहने खुशीका लागि मान्छेले अनेक प्रयत्न गर्छ तर उसको खुशी क्षणभरमै बदलिन्छ ।

यस्तै भयो मलाई । हजुरबासँग भकुण्डो खेल्ने । हजुरबाको समयका मान्छेहरूको कथा सोध्ने र धित मरुञ्याल हजुरबाको काखमा बसेर रमाउने उसको सपना थियो ।

हजुरबालाई घर पुगेपछि उहाँकै कोठामा लगियो । बाबा र ठूलाबाले दुईतिर समातेर लानुभएको थियो । हजुरबा हाँसिमात्र रहनुभयो । मलाई हेरेर मलाई आइज तँ र म भलिबल खेलौं भन्नुभयो । म भलिबल समातेर हजुरबालाई भेट्न दगुरें तर बाबाले हकारेर जा पर । हजुरबा बिरामी हुनुहुन्छ यता नआइज भन्नुभो । मन एकतमासको भो । हातमा भलिबल त थियो तर यसको प्राण थिएन, खेल्ने उत्साह थिएन र जीवनको रौनक हराएकोजस्तै भएको थियो ।

बेलुका खानपिन सकेर सुत्ने तरखरमा लाग्यौं । हजुरबाको मात्र झल्को आयरह्यो । बा र ठूलाबा हजुरबाकै कोठामा सुत्नुभयो । आमा र म हाम्रो कोठामा गयौं । सुत्नै सकिनँ । के भएको होला हजुरबालाई भन्नेमात्र लागिरह्यो ।

भोलिपल्ट बिहान ठूलाबा सहर जानुभयो बाबाले हजुरबाको कोठामा बाहिरबाट गजबार लगाएर खेतमा जानुभयो म भने हजुरबाको न्यास्रोले मरिसकेको थिएँ । झ्यालबाट चियाएर हेरेको हजुरबाले सानासाना प्लेटहरूको चाङ् बनाएर लक्कुढालको लहरजस्तै बनाउनु भयो । उहाँको झोलामा सानो बल पनि रहेछ । बल झिक्नुभयो र मलाई बोलाएर आइज तँ र म भकुण्डो खेलौं भन्नुभयो ।

 म पनि ढोका खोलेर एक सासमा हजुरबाको छेउमा पुगें । हजुरबा खित्खिताइरहनुभएको थियो । हामीले एक पछि अर्को लक्कुलाई बलले परबाट हान्दै ढाल्दै गर्न लाग्यौं हजुरबा पनि एकछिनलाई बच्चा हुनुभयो ।

केहीबेर खेल्दा-खेल्दै हजुरबाले लक्कु ढाल्नुभयो र खुशीले चिच्याउनुभयो । मैले जितें, मैले जितें । यो चिच्याहट पर-पर पुग्यो । उहाँका आँखा पनि एकतमासका ठूला-ठूला देखिन थाले । उहाँ हिड् अब सहर गएर खेलौं भन्न थाल्नुभो ।

यतिनै बेला बाबा आइपुग्नु भो र मलाई जा पर । यता आउनु हुन्न भन्नुभो ।

हजुरबाको जिध्दी उस्तै चढिरह्यो, सहर जान्छु, सहर जान्छु, ……………।

बुढेसकालमा मान्छे एकपटक फेरि बच्चा हुन्छ भन्थे । हो रहेछ आमाले कुरा गर्न हुन्थ्यो ।

म भने अझै हजुरबालाई माया गरिरहेको छु र आँसू भरिएको आँखाले हेरिरहेको छु ।

अचेल हजुरबाले मलाई चिन्नुहुन्न । स्थिर कुरा गर्नुहुन्न । मैले हजुरबासँग पेटभर बात मार्न सक्दिनँ । हजुरबा रहेर पनि म आफूलाई अतृप्त जस्तो महसूस गर्छु ।

सम्बन्धित समाचार