मंगोल चन्द्र पात्रो (दथो) अनुसार प्रकृतिमा रहेका १२ वटा पशुपँक्षीको नामबाट बर्षको नाम राख्ने चलन छ । प्रत्येक वर्षसँग ६ वटा धातु मध्ये कुनै न कुनै धातुको नाम जोडेर आउछ । नेपाली बर्षको जस्तै १२ महिनाको नाम र सात बारको नाम पनि चन्द्र पात्रोमा अंकित छ । उक्त बर्षमा जन्मेको बालबच्चाहरुको बर्ष पनि ति नै पशुपँक्षीहरुको नाम र धातुबाट नै गणना हुन्छ । साथै कुनै पनि कार्य गर्न बौद्व धर्मावलम्बीहरुले आफु जन्मेको बर्ष , धातु, बार र महिना हेरी गर्ने चलन रहेको छ । जस्तै बैबाहिक सम्बन्ध, नयाँ कार्य थालनी, आफ्नो उमेर थाहा पाउन आदि । त्यसैले आदिम काल देखि नेपालको हिमाली भु–भागमा बसोबस गर्ने सम्पुर्ण महायान बौद्ध धर्मावलम्बी नेपालीहरुको नयाँ वर्ष तथा राष्ट्रिय पर्व हो, ग्याल्पो लोसार ।
लोसारको शाब्दिक अर्थ हो लो (बर्ष ) र सार (नयाँ)। लोसार मनाउदा सर्वप्रथम पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्दछ । यो पर्व चन्द्र पात्रो अनुसार माघ – फाल्गुन महिनामा पर्दछ । शेर्पा समाजमा बित्न लागेको पुरानो वर्षलाई बिदाइ गर्नको लागि लोसार आउनु भन्दा २ दिन पहिले लामाहरु आमन्त्रण गरी कृष्णपक्षीय चतुर्दशीका दिन भव्य पूजा गरिन्छ र पुरानो वर्षको बिदाई गर्न गुथुक खाने चलन छ । गुथुक भनेको नौ किसिमको गेडागुडी मिसाएर पकाएको परिकार हो । लोसार भन्दा १ दिन अगाडि बिशेष गरी घरहरु सजाइन्छ र घरको भित्तामा अष्टमङगल अथवा स्वस्तिक चिन्हहरु कोर्छन । घरको पुजा कोठामा रोटी (खाप्से) र विभिन्न फलफुलहरुले सजाइन्छ । लोसारको बिहान सबेरै पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो वर्ष मंगलमय वातावरणमा बित्तोस भनि प्रार्थना गरिन्छ । त्यसपछि, विभिन्न किसिमको चिजबिज हालेर बनाएको पिठोको परिकार छिमार (अमृत) खाने चलन छ । घर परिवारमा एक आपसमा टशी देलेग भनि शुभकामना आदान प्रदान गरिन्छ । लामालाई आमन्त्रण गरि घरमा लोसारको पुजा गर्दछ र घरको बाहिर बौद्ध धर्मावलम्बीहरुको ध्वजाहरु फरफराउछन् ।
लोसारको द्धोस्रो दिन आफ्ना परिवारका मान्यजनहरुबाट आर्शीवाद लिने परम्परा रहि आएको छ । तेस्रो दिन सम्पुर्ण ल्होसार प्रेमीहरु गाँऊको एक सार्वजनिक ठाउँ जस्तै गोन्पा (गुम्बा), विहारमा भेला भई महायान बौद्ध धर्मावलम्वीको विधी अनुसर धर्मपाल र कुलदेवताहरुलाई खुशी पार्न अमृत र धुप चढाउदै साङसेरक्यम पुजा गरी सबैले एउटै स्वरमा ” कि कि सो सो ल्ह ग्यल्लो” (देवताको जय होस्) भनि जयको प्रतिक चाम्पा अथवा सेतो पिठो आकाशमा तीन पटक उडाउने चलन छ । त्यस पछि, पूर्णिमाको दिन सम्म आफ्नो नाता गोता र छिमेकी सँग पाहुना चाड खाने र सुख दुःख बाँड्दै एक अर्कामा लोसारको मंगलमय शुभकामना आदान प्रदान गरिन्छ । साथै यस अवधिमा, महायान बौद्ध धर्मावलम्र्बीहरु विभिन्न तिर्थ घुम्न जाने र डाँडा पाखाहरुमा रंगीचंगी बौद्ध धर्मावलम्बीहरुको ध्वजाहरु फर फराउने कार्य गर्दछ । त्यति मात्र होईन, शेर्पा समाजका केहि व्यक्तिहरुले लामो आयूको लागि घर पालुवा जनवारहरुलाई लामा विधी अनुसार पुजा गरी जंगलमा लगि छोडने परम्परा रहेको छ । यस कारण, लोसार भनेको हिमाली भु–भागमा बसोबस गर्ने सम्पुर्ण नेपालीहरुले मनाउने राष्ट्रिय चाड हो । यो चाड १५ दिन सम्म मनाउने चलन रही आएको छ ।
१ मंगोल चन्द्र पात्रो (दथो) अनुसार (लोखोर च्युङ्ङी) १२ प्रकृतिमा रहेका पशुपँक्षीहरुको नाम यस प्रकारका रहेका छन् ।
(१) चिवा = मुसा (२) लाङ = गोरु (३) ताक = बाघ (४) ह्यो = खारायो (५) डुक = चट्याङ (६) डुल = सर्प (७) त = घोडा (८) लुक = भेडा (९) टे = बाँदर (१०) च्या = चरा (११) खि = कुकुर (१२) फग =सुङ्गुर
२ मंगोल चन्द्र पात्रो (दथो) अनुसार सात बारहरुको नाम यस प्रकार रहेका छन् ।
(१) जा ञिमा = आईतबार (२) जा दावा = सोमबार (३) जा मिङ्मार = मङ्गलबार (४) जा ल्हक्पा = बुधबार (५) जा फुरुवा = बिहीबार (६) जा पासाङ = शुक्रबार (७) जा पेम्बा = शनिबार
३ मंगोल चन्द्र पात्रो (दथो) अनुसार ६ धातुको नाम यस प्रकार रहेका छन् ।
(१) माटो = स (२) जल = छ्यु (३) अग्नी = मे (४) वायु = लुङ (५) फलाम = च्याक (६) रूख = स्यिङ
४ मंगोल चन्द्र पात्रो (दथो) अनुसार (दावा च्युङ्ङी) १२ महिनाको नाम यस प्रकार रहेका छन् ।
(१) छु दावा = फाल्गुन – चैत (२) ओ दावा = चैत – बैशाख (३) न्हाग दावा = बैशाख – जेष्ठ (४) सागा दावा = जेष्ठ – असर (५) नोन दावा= असर – साउन (६) छ्युतोई दावा=साउन – भदौ (७) ढोशिन दावा= भदौ – असोज (८)ठुम दावा= असोज–कार्तिक (९) युग दावा = कार्तिक – मङ्सिर (१०) मिन दावा = मङ्सिर – पौष (११) गो दावा = पौष–माघ(१२) ग्याल दावा = माघ – फाल्गुन
ग्याल्पो लोसार कसरी मनाउने ?
ड्ड मंगोल चन्द्र पात्रो (दथो) अनुसार बाह्रौ महिनाको पुर्णिमाको भोली पल्ट घर घरमा जमरा रोप्ने ।
ड्ड लोसार भन्दा पाँच दिन अगाडि खाप्से पकाउने ।
ड्ड चन्द्र पात्रो (दथो) अनुसार बह्रौ महिनाको उनन्तिसौ दिन दिउँसो घरहरु सफा गर्ने र बेलुका नौ थरीको अन्नहरु मिसाएको बिशेष परिकार (गुथुक)को साथमा छुट्टाछुट्टै आटाको डल्लो भित्र नुन, खोर्सानी, चामल, कपास, कोईला र घ्यु आदि हाली पकाउने ।
ड्ड गुथुक पस्काउदा एउटा आटाको डल्लो साथमा पस्किएर दिने र आटाको डल्लोलाई फुटाउन लगाउने ( नोट: जसले आटाको डल्लो फुटाउदा जुन वस्तु भेटाउँछ, त्यसले त्यो मानिसको एक वर्षको व्यक्तित्व र बानीव्यहोरा झल्काउछ भन्ने विश्वस गरिन्छ ।) उदाहरणको लागि सेतो वस्तु जस्तै चामाल र कपास भेट्ने व्यक्ति सफा र दयालु मनको, कोईला भेट्ने कालो मनको, खोर्सानी भेट्ने रिसुवा र घ्यु भेट्ने व्यक्ति चिप्ले हुन्छ भन्दै रमाईलो गरिन्छ । सबै जना रमाईलो गर्दै गुथुक खाई सके पछि बाँकी रहेको गुथुकलाई दोबाटो अथवा चौबाटोमा धुप बातीसंग फाल्ने ।
ड्ड औशीको दिन क्षिमार ( उवाको पिठो, घ्यु र चिनिको मिश्रण) क्ष्याङ, खाप्से, ताजा फलफुल, मिठाई र जमरा आदिद्धारा पुजा कोठा सजाई चम्पले घरको भित्ताहरुमा अष्टमङगल अथवा स्वस्तिक चिन्ह बनाउने ।
ड्ड नयाँ सालको बिहान मिर्मिरेमा नै उठी नुहाएर आफ्नो सस्कारसँस्कृति अनुसारको नयाँ पोशाक लगाउने र सफा खातक (खादक)को साथमा धुप, घ्यु चढाएर शुभ कार्य प्रारम्भको लागि पानीको मुहानमा पुजा गरी प्रताकालमा पानी लिएर आफ्नो घरको कुलदेवतालाई शुद्ध पानी चढाई यो वर्ष मंगलमय वातावरणमा बित्तोस भनि प्रार्थना गर्ने ।
ड्ड सबै परिवारका सदस्यहरु आफ्नो सस्कारसँस्कृति अनुसारको पोशाकमा पुजा कोठामा जम्मा भई नयाँ साल सुख र सम्मृद्धि होस भनी प्राथना गर्ने साथै आफ्नो गुरु, बुबाआमा र आफु भन्दा ठुलोबाट अशिर्वाद लिने र लोसारको परिकार खादै लोसारको शुभकामना आदनप्रदानको साथमा आफ्नो ईच्छा अनुसार रमाईलो गर्ने ।
ड्ड द्धोस्रो दिन आफ्नो घर परिवारको अग्रज व्यक्तिहरुसंग आर्शिवाद लिन जाने ।
ड्ड तेस्रो दिन सबैको घरमा महायान बौद्ध धर्मावलम्बीको नयाँ ध्वजा (च्योतर) र पताका (लुङदार) चढाउने साथै सबै जना गाउँ अथवा समुदायमा रहेको गोन्पा (गुम्बा)मा महायान बौद्ध धर्मावलम्बीको पुजा विधी अनुसार ल्हप्सो पुजामा जम्मा भई धर्मपाल र कुलदेउताहरुलाई खुशी पार्न धुप चढाउँदै सम्पुर्णले आकाश तिर पिठो (चाम्पा) छर्कदै तिन पटक सम्म ” कि कि सो सो ल्ह ग्यल्लो” ( देवताको जय होस्) भनि नयाँ वर्षको सुखा र समृद्धिको प्राथना गर्दै एक आर्कामा “ लोसारकी टशी देलेग” भनी शुभकामना अदानप्रादान गर्दै आफ्नो सँस्कति नृत्यमा रमाईलो गर्ने ।
ड्ड चौथो दिन देखि पुर्णीमाको दिन सम्म आफ्नो नाता गोता र छिमेकी सँग पाहुना चाड र वनभोज खाने, सुख दुःख बाँड्दै एक अर्कामा लोसारको मंगलमय शुभकामना आदान प्रदान गर्ने साथै यस अवधिमा तिर्था घुम्न जाने र डाँडा पाखाहरुमा बौद्ध धर्मावलम्बीहरुको ध्वजाहरु चढाउने, लामो आयूको लागि घर पलुवा जानवारहरुलाई बौद्ध धर्म विधी अनुसार पुजा गरी जंगलमा लगि छोडने ।
ड्ड लोसारको अन्तीम दिन अर्थत पुिर्णमाको दिन महायान बौद्ध धर्मावलम्बीहरुले लामालाई आमन्त्रण गरी धर्मगुरुहरुबाट धार्मिक विधि अनुसार दीर्घायु तथा उत्तरोतर प्रगति कामना गर्दै लोसारलाई विधि पुर्वक बिर्सजन गर्ने आदि ।
सेर्कु शेर्पा