बिहिबार , मंग्सिर ६, २०८१

गोल्डेन ट्रयाङगल बाइक टुर टिमलाई धादिङमा सम्मान 

image

धादिङ । गोल्डेन ट्रयाङगल बाइक टुर टिमलाई धादिङको बेनीघाट रोराङ गाउँपालिका-१, का युवाहरूले स्वागत तथा सम्मान गरेका छन् । सोही वडाका पत्रकार चन्द्र तामाङको अगुवाइमा पाँच जना युवाहरूको टोलीले राइडरहरुलाई खादासहित सम्मान गरेको हो ।

एनटिपी मल्टिमिडिया ग्रुपको आयोजना, हिमाल मल्टिमिडिया र मुकाम मिडियाको सह-आयोजनामा एक्सपल्स राइडरस क्लबसँगको सहकार्यमा टुरको आयोजना गरिएको हो । पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाहरुले टुरको सफलताका लागि समन्वय तथा सहकार्य गरेका छन् ।

विश्वव्यापी कोभिड महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई उठाउन र नेपाललाई दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल) मा घुम्न सकिन्छ भन्ने प्रमाणित गर्नका लागि टुरको आयोजना गरिएको टुरका एक जना व्यवस्थापक रियाज पौडेलले बताए  ।

टोलीले नेपालको मुख्य पर्यटकीय सहरहरू काठमाडौं, पोखरा र लुम्बिनीलाई केन्द्रबिन्दुमा राखेर यात्रा गरेको हो । असोज १० गते काठमाडौंबाट यात्रा सुरुगरेको एक सय वटा माेटरसाइकलसहितकाे टोली मकवानपुरको चित्लाङ हेटौडा हुँदै पर्सा पुगेको थियो । पर्सा राष्ट्रिय निकुञ्जको सफारीपछि चितवनको सौराहा पुगेको थियो ।

चितवनको भरतपुरमा एक कार्यक्रमको आयोजना गरी भरतपुर भ्रमण वर्ष २०२४  र भरतपुरको पर्यटनबारे मेयर रेणु दाहालको सहभागितामा छलफल भएको थियो ।

भरतपुरबाट लुम्बिनीतर्फ लागेको टोली असोज १४ गते पोखरा पुगेको थियो । पत्रकार, कलाकार, साहित्यकार, एक्सपल्स राइडरस क्लबका राइडरहरु सम्मिलित रहेको टोलीलाई पोखरामा भव्य स्वागत तथा सम्मान गरेको थियो ।

टुरको अन्तिम दिन काठमाडौं फर्किने क्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिकाले टोलीलाई सम्मान गर्ने तयारी गरेको थियो । तर, टोली समयमा नआइपुगेपछि गाउँपालिकाको कार्यक्रम विफल भएको हो । निरन्तरको वर्षाका कारण यात्राको तालिका फेरबदल र ढिला हुन पुगेको एक जना क्रु मेम्बरले बताए ।

बेनीघाट रोराङ–१ का युवाहरूले गजुरी गाउँपालिकाको वडा नम्बर–२, चालिसेस्थित होटल अम्बिकामा चियापान तथा स्वागत गरेको हो । पत्रकार चन्द्र तामाङसहित  बेनीघाट राेराङ-१, बिबश तामाङ, महेश तामाङ, सुन बहादुर तामाङ, नवराज तामाङ लगायतका युवाहरू दुई दिनदेखि टोलीको  स्वागत तथा सम्मानका लागि तयारी अवस्थामा थिए ।

सम्बन्धित समाचार