घुँगी स्वाट्ट मुखमा आए मजा हुन्छ तर त्यसको लागि तरिकाले तान्न जान्नु पर्छ । घुँगीको मुखमा आफ्नो मुख जोडेर मायालुलाई मोइ खाए झैँ ‘च्वाप्प !’ गरेर तानेपछि, घुँगी एकैपटकमा मुखमा पर्छ, तर मोइ खाने प्रक्रिया मिलेको छैन भने गाह्रै पर्छ ।
थारु तथा उराउँ समुदायको लोकप्रिय तरकारीमध्ये एक हो घोंगी/घुँगी । घुँगी पोखरी, खाल्टाखुल्टीमा जमेको पानी, खोलाको साना दहको पानीमुनि, खेतको पानी जमेको ठाउँमा पाइने गर्छ । घुँगी स्वादमा जति मिठो हुन्छ, त्यति नै स्वास्थ्यवर्द्धक पनि हुने गर्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन र क्याल्सियम पाइन्छ । जसको सेवनले शरीरमा तागत बढ्नुको साथै रुघाखोकी लगायतका विभिन्न रोग नियन्त्रणमा उपयोगी हुन्छ ।
मेरो गाउँ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा पनि घुँगी निकै रुचाइन्छ । मधेसी, पहाडी, उराउँ, थारु सबै समुदायका मान्छेले यसको स्वाद मिठो मानेर लिने गरेका छन् । हप्तामा दुई दिन लाग्ने हटिया (हाट)मा विशेषगरि घुँगी किनबेच हुने गर्छ । सोमबार लाग्ने सोमबारे हटिया र बिहीबार लाग्ने बिहीबारे हटियाबाट यसलाई खरिद गरेर घर ल्याउन सकिन्छ । किनेर ल्याएको घुँगीलाई सफा गर्न निकै मिहिनेत गर्नुपर्छ, जसको लागि दुई दिन लाग्छ ।
किनेर या टिपेर ल्याएको घुँगीलाई एक रात सफा पानी या पानीमा पिठो हालेर भिजाउनु पर्छ । पिठो हालेर भिजाउनाले घुँगीले खाएको हिलो बाहिर फ्याक्छ र त्यो पिठो सेवन गर्छ, जसले गर्दा घुँगी भित्रैबाट सफा हुन्छ । यसरी भिजाएर राखेको घुँगीलाई भोलिपल्ट सफा पानी फेर्दै घोटी-घोटी सफा गर्नुपर्छ । सफा गरिसकेको घुँगीको बाहिरी बिर्को जस्तो देखिने आवरण काट्नु पर्दछ र पुन: सफा गरिनु पर्दछ ।
अब पकाउन तिर लागौँ :
घुँगी पकाउनका लागि तोरीको तेल प्रयोग गर्दा उपयुक्त हुन्छ, यसले घुँगीमा अझ स्वाद थप्ने काम गर्छ । मध्यम आगोमा तोरीको तेल राखेर त्यसमा केही प्याज र तेज पात राखेर मजाले भुट्ने गर्नुपर्छ । त्यसैमाथि बेसार, नुन राखेर फेरी चलाउने गर्नुपर्छ, यसो नगरे घुँगीको स्वाद आउँदैन । अब टमाटर हाल्ने र आफैँले पिसेको मसला (जिरा/ धनियाँ/ ल्वाङ/ सुकुमेल/ दालचिनी) राखेर केहिबेर भुट्ने गर्नुपर्छ, बजारको किनुवा मसलाले राम्रो स्वाद नदिन सक्छ ।
मसला एकछिन् भुटेपछि त्यसमा धुलो खोर्सानी, र आलसको धुलो राखेर एकछिन् चलाउने । केहिबेर मसला चलाएपछि घुँगी ओइरिने र घुँगीमा राम्ररी मसला लाग्ने गरी चलाउने । यो पाककला बिचमा आगो पनि विचार गरिरहनुपर्छ, आगो ठुलो भयो भने घुँगीको स्वाद बिग्रिन जान्छ । केहिबेर चलाएपछि सिलौटोमा पिसेको लसुन राख्ने र पुनः केहिबेर चलाउने । अब घुँगीले पानी छोड्न थाल्छ, त्यसैले घुँगीको पानी मजाले नसुकुन्जेल कुर्नुपर्छ ।
घुँगीको पानी सुकिसकेपछि त्यसमा घुँगी डुब्नेगरि पुनः पानी राख्ने र उमाल्ने । केही बेर उम्लिएपछि घुँगी तयार हुन्छ, त्यसमा हरियो धनियाँ राखेर पस्किन सकिन्छ तर कतिपयले झोल बाक्लो बनाउन बेसनको पिठो समेत प्रयोग गर्ने गरेका छन् । या पानी थोरै राखेर घुँगी सुक्खा रूपमा पनि तयार गर्न सकिन्छ ।
खान त जान्नुहुन्छ नि ?
हामी कतिपय परिकारसँग नजिकिए पनि त्यो परिकार ग्रहण गर्न भने जान्दैनौँ । जस्तो कि तराई घर भएको मलाई पहिलो २/४ पटक ढिँडो खान निकै अप्ठ्यारो परेको थियो । मैले ढिँडो चपाएर खाएको देख्दा मेरा साथीहरू निकै हाँसेका थिए । यस्तै घुँगी खान पनि विशेष कला चाहिन्छ, होइन भने गाला दुख्छ तर मुखमा घुँगी पर्दैन । कतिले चुस्न नजानेर सिन्काले घोचेर समेत घुँगी खाएको मैले देखेको छु ।
घुँगी स्वाट्ट मुखमा आए मजा हुन्छ तर त्यसको लागि तरिकाले तान्न जान्नु पर्छ । घुँगीको मुखमा आफ्नो मुख जोडेर मायालुलाई मोइ खाए झैँ ‘च्वाप्प !’ गरेर तानेपछि, घुँगी एकैपटकमा मुखमा पर्छ, तर मोइ खाने प्रक्रिया मिलेको छैन भने गाह्रै पर्छ । पाकेको घुँगीलाई प्रेमले ‘च्वाप्प !’ मोइ खाएपछि, ऊ दौडिँदै मुखभित्र प्रवेश गर्छ । अनि आउँछ तृप्तता….प्रत्येक घुँगीको सुर्काइसँगै आनन्द बढ्दै जान्छ र कतिबेला पेट अघाउँछ थाहै हुँदैन ।
मधेस या थारु थिममा खुलेका रेस्टुराँहरूबाट राजधानीमै घुँगीको स्वाद लिन सकिनेछ । घरमा बनाउनका लागि भने कुपन्डोल क्षेत्र या पुरानो माछा पसलहरूमा घुँगी पाउन सकिन्छ ।