भेडा चराउन भेडाको बथानसँगै लेक-बेँसी गरिरहन्छन् गोठालाहरू । भेडा चराउँदै उनीहरू हिमालको काखसम्म पुग्छन् ।
भेडा पालनलाई गुरुङ समुदायको पुर्ख्यौली पेसाका रूपमा मानिन्छ । उक्त समुदायको बाहुल्य रहेको लमजुङमा विगतमा थुप्रै भेडी गोठ थिए । स्थानीयले घुम्ती भेडी गोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । तर, पछिल्लो समय भेडा पालन व्यवसाय सङ्कटमा रहेको स्थानीय बताउँछन् ।
युवा पुस्ताले यस व्यवसायमा चासो नदिएका कारण यो व्यवसाय सङ्कटमा पर्न थालेको हो । युवा सहर, विदेश केन्द्रित छन् । तर, भेडा पालन व्यवसायमा युवापुस्ताको चासो छैन । भेडाको मासु र ऊन बिक्रीबाट मनग्य कमाउन सकिने भए पनि काम गर्न कठिन हुने भएकाले यस व्यवसायमा युवाले खासै चासो नदिएको भेडी गोठाला बताउँछन् । ‘भेडा पालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनीहरू भन्छन्, ‘तर भेडा चराउन कहिले बेँसी त कहिले लेक गरिरहनु पर्छ । दुःख छ । त्यसैले यो व्यवसायमा लाग्ने युवा छैनन् ।’
लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भुलभुले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरी लगायत स्थानमा घुम्ती भेडी गोठ छन् ।
भेडा चराउन भेडाको बथान लिएर भेडी गोठालाहरू लेक-बेँसी गरिरहन्छन् । भेडा चराउँदै उनीहरू हिमालको काखसम्म पुग्छन् । हामी घले गाउँसँगैको डाँडामा भेटिएको घुम्ती गोठलाई कैद गरेका छौँ ।
हेरौँ तस्बिरहरू: