साँझको समयमा भूतको लागि भनेर बौपा राखी दोबाटोमा राख्न लगिन्छ र घर फर्केर आई ढोकामा पूजा गर्दै तीनखुट्टे किल्ला ठोकी यसै पर्वमा विशेष प्रयोग हुने बौस्वाँ (करविर फूल) र गथांमुग: स्वाँ राखिन्छ । यसपछि घरभरि धुवाँले भरिने विशेष धूप बाल्ने गरिन्छ ।
– फ्र्यांकी फ्रान्ज
नेवा: समुदायले विभिन्न समयमा विभिन्न मौसम तथा ऋतुअनुसार चाडपर्वहरू मनाउँदै आएका छन् । यसैमध्येमा एक विशेष पर्व हो- गथांमुग:।
सांस्कृतिक तथा परम्परागत रूपमा यस पर्वलाई भूत पन्छ्याउने पर्वको रूपमा मनाइएता पनि यसमा वैज्ञानिक कुरा तथा सान्दर्भिक शिक्षाको धेरै पाटोहरू छन् । यस दिन घर राम्रोसँग सफा गरिन्छ र घरको कुनाकाप्चामा पराल वा छ्वाली बालेर छुवाइन्छ र घुमाइन्छ ।
यस्तै साँझको समयमा भूतको लागि भनेर बौपा राखी दोबाटोमा राख्न लगिन्छ र घर फर्केर आई ढोकामा पूजा गर्दै तीनखुट्टे किल्ला ठोकी यसै पर्वमा विशेष प्रयोग हुने बौस्वाँ (करविर फूल) र गथांमुग: स्वाँ राखिन्छ । यसपछि घरभरि धुवाँले भरिने विशेष धूप बाल्ने गरिन्छ ।
वैज्ञानिक तथा सान्दर्भिक कुरा :
नेवा: समुदायले ज्येष्ठ पूर्णिमा देखि यस पर्वसम्म अरू कुनै पर्व मनाउँदैन, यस अवधिलाई सिनाज्या अर्थात् रोपाइँको समय मानिन्छ । बर्खाको यो समयमा सक्दो काम गरेर वर्षभरिलाई पुग्ने अन्न उब्जाउने यो समयमा कोही मर्यो भने पनि काजकिरिया नगरी खेतीको काम सकाइन्थ्यो । प्राय: जसो खेतीमा व्यस्त हुने भएकोले घर सफा भइरहँदैन र बर्खाको समय भएकोले घरको कुनाकाप्चा, भित्तामा पानी रसाएर ओसिलो भइरहन्छ जसको कारण ढुसी, किराहरू आउँछ ।
साथै, यस समयमा सर्पहरू पनि निस्किने भएकोले घरमा आउन सक्छ । त्यसैले रोपाइँको काम सकिएपछि सफाइलाई ध्यानमा राखी पर्वको रूपमा यसलाई मनाइएको हुन सक्छ । पराल वा छ्वालीको आगोको राप अरूभन्दा निकै कडा हुन्छ र, यसको रापले ढुसी परेको तथा ओसिलो परेको ठाउँमा न्यानोपन पर्छ, जसको कारण यसबाट लाग्न सक्ने रोगबाट बच्न सकिन्छ ।
यस्तै, घरभरि धुवाँ हुनेगरी विशेष धूप जगाउनुको पनि कारण छ । यस्तो विशेष धूप कयौँ जडीबुटीलाई मिसाएर धूलो बनाइएको हुन्छ र यसको धुवाँले किराहरू भाग्छ भने घरमा भएका भूतहरू (fungus, bacterias, infectious virus) निर्मूल हुन्छन् । यस्तै घरमा पूजा गर्दा पनि ढोकामा करविर फूल हाल्ने गर्छौँ जुन वास्तवमा विषालु हुन्छ । यसको गन्धले धेरै किरा तथा सर्पहरू आउँदैन, एक हिसाबले बर्खाको समयमा घरलाई कीरा-फट्याङ्ग्रा र सर्पबाट बचाउने उपाय पनि हो ।
गथांमुग: पछि किराहरू, सर्पहरू घर वरपर आउँदैनन्, कम हुँदै जान्छ भन्ने भनाईको पछाडि यी कारणहरू पनि हुन सक्छ । नेवा: समुदायमा रोपाइँ नसकीकन गथांमुग: मनाउन हुँदैन भन्नुको कारण पनि यही हो- सरसफाई ! नेवा: समुदायले गथांमुग:को दिन यो सबै गरेजस्तै पहाडी क्षेत्रमा पनि श्रावण १ गतेको दिन लुतो फाल्ने भनी मनाउने गरिन्छ, जसमा विभिन्न वनस्पति प्रयोग गरिन्छ भने घरमा आगो सल्काएर अन्तिममा बाहिर मिल्काउने गरिन्छ । विभिन्न समुदायले विभिन्न तरिकाले मनाएता पनि यसको आशय एउटै हो- पानीबाट हुन सक्ने रोग तथा बर्खाको समयमा लाग्न सक्ने रोगबाट बच्नु र घरको सरसफाईमा ध्यान दिनु !!
अब श्रावण १५ गते विभिन्न समुदायले खीर खाने भनी आफ्नो शरीरमा ताकत दिन र रोग नलागोस् भनी खीर खाने गर्दछन् भने नेवा: समुदायले जनै पूर्णिमाको दिन शरीर चुस्त राख्न ९ गेडागुडीको रस खाने गर्दछन्, यसैलाई क्वाती- तातो झोल भन्ने गरिन्छ ।
धेरैले क्वातिलाई ‘क्वाँटी’ भनेर भन्ने गरेको पाइन्छ, जुन गलत हो । नेपालभाषामा “क्वा”को अर्थ तातो वा परिकार भन्ने हुन्छ र “ति”को अर्थ झोल भन्ने हुन्छ । त्यसैले विभिन्न प्रकारको गेडागुडी मिसाएर पकाइने झोलिलो परिकारलाई क्वाति भनिएको हो ।
यो पनि पढ्नुहोस्,
घन्टाकर्ण चतुर्दशी: प्रेतआत्माका नाममा पाकेका खानेकुरा दोबाटोमा राख्ने चलन