बुधबार , अषोज २, २०८१

स्वदेशी उत्पादन वृद्धि गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवर्द्धन कार्यक्रम’

image

काठमाडौं । सरकारले स्वदेशी उत्पादन वृद्धि गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग प्रवद्र्धन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष ७९/८०को बजेट तयार गरिरहेको सरकारले नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम समावेश गर्ने भएको छ ।

व्यापार घाटा कम गर्न, स्वदेशी उद्योगको संरक्षण र उत्पादन वृद्धिका लागि नयाँ कार्यक्रम समावेश गरिएको उद्योग मन्त्रालयले जनाएको छ । यो कार्यक्रमको खाका नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले तयार पारेका हुन् ।

मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन वृद्धि गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा कार्यक्रम तय गरिएको थापाले बताए । व्यापार घाटा कम गर्न, स्वदेशी उद्योगको संरक्षण र उत्पादन वृद्धिका लागि अध्ययन गरेर नयाँ कार्यक्रम बनाएको उनले जानकारी दिए ।

कार्यक्रममा व्यापार घाटा कम गर्न टेक्सटायल, फुटवेयर, कृषि तथा खाद्य, वन पैदावार, जडीबुटी र औषधी, निर्माण, हस्तकला उत्पादनलाई प्राथमिकतामा राखिएको छ । ‘प्रधानमन्त्रीसँगको परामर्शमा एउटा परियोजना तयार गरेका छौं’, थापाले भने– ‘बढ्दो व्यापार घाटा कम गर्न र औद्योगिक उत्पादन तथा रोजगारी बढाउनका लागि पनि यसले सघाउ पुग्ने विश्वास लिएका छौं ।’

प्रधानमन्त्रीसँग सल्लाह गरेर तयार गरेको कार्यक्रम भएकाले नीति तथा कार्यक्रममा समेटिने उनले बताए । त्यसका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गर्नेछ। परियोजना प्रधानमन्त्रीको नाममा भए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माताहतमै रहनेछ ।

उत्पादनशील क्षेत्रहरूमा आन्तरिक तथा वैदेशिक लगानीमा वृद्धि, साना तथा मझौला उद्यममा नव प्रवर्तन, सिपमूलक रोजगारी वृद्धि, नेपाली उत्पादनको बजार विस्तार, मूल्य शृङ्खला विकासमार्फत उत्पादन तथा उपभोगको वृद्धि गर्ने कार्यक्रमको प्रमुख लक्ष्य छ ।

सम्बन्धित समाचार