बिहिबार , मंग्सिर ६, २०८१

दैलेखदेखि दार्जिलिङसम्म ….

image

विगतका यात्राहरूको तुलनामा यात्रा अलि लामो नै हो भन्नु पर्छ। दैलेखबाट कोहलपुर हुँदै पूर्व पश्चिम राजमार्गबाट ईलाम पुग्दा खुट्टा सुन्निएर जुत्ता पनि साँघुरो भइसकेका थिए।

तराई र भित्री मधेसको प्रचण्ड गर्मीले हामी चढेको बसमा खपिसक्नु थिएन। तर जब बस चल्न थाल्थ्यो झ्यालबाट पस्ने हावाले राहत दिन्थ्यो।

तराईको समथर भूभागमा बग्ने अधिकांश नदीहरू गर्मीयाममा पानीबिना चिर निन्द्रामा सुतेका देखिन्थे। तिनीमाथिका लामा न लामा पट्यार लाग्दा पक्की पुल देख्दा सरकारले फजुल खर्च गरेको पो हो कि भने जस्तो देखिए पनि आँखाले नभेट्ने ठाउँसम्म फैलिएको बगर देख्दा वर्षायाममा व्युँतिने नदीको निन्द्रा भंगलाई सहजै अनुमान लगाउन सकिन्थ्यो।

केही नदीहरू थिए तेल सकिन लागेको दीयो झै मधुरो गतिमा बगिरहेका। केही नदीहरू सङ्लो भएता पनि धेरै नदीहरू ढलझै धमिला र साना देखिन्थे। तर भेरी,नारायणी र कोसी नदीहरू भने पानीको भारी बोकेर शान्त मुद्रामा निरन्तर बगिरहेकै थिए।

वास्तवमा सडक उस्तै छ। म तेइस वर्ष अगाडि प्रमाणपत्र तहको ट्रान्सक्रिप्ट निकाल्न काठमाडौं जाँदा बाटो वारिपारि जुन परिदृश्य देखिन्थे आज तेइस वर्ष पछाडि पनि अवस्था उस्तै थियो। साना बजार छेउ गाडी रोक्ने बितिकै झ्यालबाट र गाडीभित्र आएर पानी, हरियो मकै र काँक्राको व्यापार गर्ने बच्चादेखि वृद्ध उमेरसम्मका व्यापारी देख्दा लाग्थ्यो जनताको जीवनस्तर उस्तै छ। सडक पेटीमा माग्नेहरू उसैगरि सुतेका छन्।

वैशाखको अन्तिम साता तराई र भित्रि मधेसमा धप्पै आगो सल्केलाझैं गर्मी छ।

राजमार्ग छेउछाउका बजारहरूमा तरभुजा,काँक्रा,अंगुर लगायतका फलफूलका थुप्राहरू छन्। खाली लमतन्न फैलिएका फाँटहरूमा हरियाली आँप र लिच्चीका बगैंचाहरू छन्।

तर मानिसहरू गर्मीले सुकेको बिरुवाझैं ओइलाइरहेका,पान र गुट्खाहरू चपाएर थुकिरहेका केही महिलाहरू खाली खुट्टै हिँडिरहेका देख्दा लाग्यो तराईको जीवनस्तर र चेतनास्तर पनि पहाडजस्तै अभाव र गरिबीमा छ।

पहाडमा घरबारीको हरियो सागपात बेचेर बजारबाट चाउचाउ किनेर खाएझैं चलन यता पनि होला भनेर मैले अनुमान गरे। वास्तविक तराईवासीको जनजीवनसँग म नजिकबाट परिचित भने छैन।

तराईको समथर फाँट र उर्वर जमिनले विकासको सम्भावना भने प्रसस्त बोकेको छ। बारा,पर्सा,सिरहा,सप्तरी र रौतहटका भूभागहरूमा तरभुजा र आँपका लटरम्म बगैंचाहरू साह्रै मनमोहक देखिन्छन् भने सुनसरी र झापातिर नरिवल अनि सुपारीका सुरिला रुखका बगैंचाहरू मुनिको चिया बगान अत्यन्त सुन्दर लाग्छ।

विर्तामोडबाट ईलामतर्फ उक्लिँदै गर्दा त्यहाँका डाँडाकाँडा आफ्नै गृह जिल्ला जस्तै पाएँ तर ती भिराला डाँडाहरूमा अथाह उर्वरा शक्ति पनि देखेँ।

अलैंची र अम्रिसोका घारीहरू रहेछन्। वारिपारि  डाँडाकाँडा जताततै हरियाली चिया बगान देखियो। ईलामको डाँडातिर उकालो लाग्दै गर्दा

उतिखेरै गाडीको झ्यालमा एक झोक्का चिसो बतास आएर ठोक्कियो। त्यतिखेरै मेरो कानमा मैले धेरै पहिले सुनेको ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको वुटामा…..” भन्ने गीतको आवाज बजिरहेझैं लाग्यो।

जब बसबाट कन्यामको चिया बगानमा झरेँ।

हल्का हुस्सु, कुहिरो र बादलको घुम्टोले डाँडाकाँडा छोपिरहेका थिए अनि म मनमनै बादलुको घुम्टोले ईलाम बजार छोपिँदा मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिँदा…… भन्ने गित गुनगुनाइरहेको थिए।

यो कन्यामको हरियाली चियाबारी

हुस्सु कुहिरो र बादलसँग लुकामारी

ईलाम पारी छ दार्जिलिङ सिक्किम

सन्ध्या पख पुग्नु छ फेरि डाँडा पारी

दार्जिलिङ पनि उस्तै छ जस्तो छ ईलाम।

मात्र एउटा छुकछुके रेल थपिएको छ।

दार्जिलिङमा पाइला टेक्ने बितिकै मैले पारिजात सम्झिएँ। यो पारिजातको जन्मभूमि हो। दार्जिलिङले धेरै नेपाली साहित्यकारहरू जन्माएको छ। यो नेपाली भाषीहरूको सहर रहेछ। दार्जिलिङतिर नेपाली भाषा बोलेको सुन्दा लाग्यो म आफ्नै गाउँ घरतिर छु।

बिहान चार बजेदेखि दार्जिलिङ माथिको डाँडामा बिहानको सुर्योदयको दृश्य हेर्न जाने गाडीहरूको लाइन हुँदो रहेछ।

हामी पनि बिहानपख त्यही लाइनमा होमिदै उकालो लाग्यौ। बीचबीचमा गाडीको जाम छिचोल्दै अगाडि बढयौं। तर आकाशमा हल्का बादल थियो।
जमिनमा हुस्सु र कुहिरो थियो। सुर्योदय हेर्ने आशा बिस्तारै सेलाउँदै थियो। यतिकैमा गाडीबाट बिस्तारै झरेर उकालो लाग्दै गर्दा माथितिरबाट तलतिर झर्दै गरेकी एउटी महिला भन्दै थिइन्,‘सनसाइन त हो चुका है,मूर्ख वनकर आओ!’

हुन पनि हामी मूर्ख बन्न गइरहेका थियौं। सुर्योदय देखिने कुनै सम्भावना थिएन। वारिबाट पूर्वतिर हेर्दा लाग्यो म साउनको महिना सल्लेरीको डाँडाबाट पूर्वतिर हेरिरहेको छु। हामी पहाडमै बसिरहनेहरूलाई त्यो कुनै नयाँ ठाउँ जस्तो लागेन।

दार्जिलिङमा पाइलै पिच्छे व्यापारी भेटेँ। चिया व्यापारी,कपडा व्यापारी जहाँ जहाँ मान्छेको आवतजावत हुन्छ त्यहाँ त्यहाँ व्यापारीहरूको सघन उपस्थिति।

‘तातो तातो कफी खानुस भाइ’ एउटी थर्मस समाएर उभिएकी अधबैंसे महिला हामीलाई कफी पिउन अनुरोध गर्दै थिइन्।

हामीले प्लाष्टिकको रंगीन कपमा एक एक कप कफी पियौं। बीचबीचमा कफी पिउन अनुरोध गर्नेहरूको लर्को लाग्यो तर कफी उतिकै महँगो छ। प्रति कप भारु बीस।

दार्जिलिङको चिया बगान छेउमा ग्रिन टीलगायत विभिन्न थरिका चिया बेच्ने पसलहरू रहेछन्। त्यहाँ ग्राहकलाई फरक फरक स्वादका चियाको नि:शुल्क स्वाद चखाएर चियाको विज्ञापन गरिँदो रहेछ।

दार्जिलिङमा नेपाली भाषा चल्छ तर नेपाली रुपैयाँ चल्दैन। नेपालमा भारतीय रुपैयाँ चल्छ तर भारतमा नेपाली रुपैयाँ चल्दैन। मलाई अलि अनौठो लाग्यो। तर भारु नभएपछि फाट्टफुट्ट रूपमा नेरु पनि चलाएको देखियो।

चिसो हावा पानी सुन्दर मानिसहरूले भरिएको सहर दार्जिलिङ साँच्चै सुन्दर छ। भिरालो जमिनमा बनाइएका कलात्मक घरहरूले सहरको सुन्दरता झनै बढाएका छन्।

वतासे डाँडाबाट देखिने दार्जिलिङको दृश्य साह्रै मनोरम छ। पदमा नायडु जुलोजिकल पार्क चिडियाखाना दुर्लभ जन्तु रेडपाण्डासहित विभिन्न प्रजातिका जीवजन्तुहरूको जीवित संग्रहालय रहेछ। त्यहाँभित्र तेञ्जिङ नोर्गे शेर्पाको समाधिस्थल र उनले पर्वतारोहण गरिरहेको पूर्ण कदको शालिक पनि रहेछ।

मलाई इलाम र दार्जिलिङ उस्तै उस्तै लाग्यो। यता पनि चिया छ उता पनि चिया। हावापानी पनि उस्तै उस्तै। मानिसहरू उस्तै। अनि भाषा पनि। मात्र मानिसहरूले एउटा राजनीतिक रेखा खिचेका छन्। यता शेरधन राई छन् भने उता ममता वेनर्जी। – भुपेन्द्र शाहि

Tags:

सम्बन्धित समाचार