बुधबार , अषोज ३०, २०८१

ढिच्क्याऊ: फोहर पुराण

नाकले सराप्न थालेपछि बुझ्नु, खोला आयो । खोलाले पादेको भने होइन । मान्छेले लादेको हो । स्यानेटरी प्याड, छेरेका डाइपर, हस्तमैथुन गरी पुछेको वाइपर, बासी खाना, मानवताको सिमाना, जुसको डब्बा, पानीको बोतल, त्यसमाथि ढल । तर खोला कस्तो चाहिन्छ ? कन्चन !! कलकल !!

image

यदा यदा हि फोहोरस्य ग्लानिः भवति नेपाल,
अभ्युत्थानमफोहोरस्य सदा आत्मामा अहम् |
परित्राणाय फोहोरानम् विनाशाय च गाउँ-सहर,
फोहर-संस्थापन-अर्थाय मनुष्य युगे युगे ||

यो कथन कृष्णजीले श्रीमद्भागवत गीतामा भनेको कुरा होइन | तानतुन पारेर मिलाएको कुरा हो ।

‘फोहरलाई मोहरमा बदलौँ’ भन्ने भनाइलाई ‘नगरलाई फोहरमा बदलौँ’ भन्ने बुझेपछि नै सुरु भएको यो सारा खेल । तिकडम् ! डिमाग लगाउने खास्सा पासाहरूको चाल । ‘कसैले मर्नदेखि डराउँदिन भन्छ भने कि ऊ झुट बोल्दै छ कि ऊ गोर्खाली हो’ भन्ने भनाइलाई अहिले ‘कसैले फोहर मनपर्दैन भन्छ भने कि ऊ अभिनयमा पोख्त नेपाली हो, कि ऊ नेपाली नै हो’ भन्दा फरक पर्दैन । होइन भने राती-राती चोर जसरी लुक्दै कसैले आफ्नो घर अगाडी थुपार्दैन आफ्नो डुंगडुंगती गन्हाउने विवेकको थुप्रो । हग्नेलाई भन्दा देख्नेलाई लाज !  लाजको पसारो !

गुट्खा खाएर दुई औँलाको बन्दुक मुखमा बनाएर पिच्च बाटोमा थुकेर एउटाले फिल्मी इस्टाइलमा गुट्खाको खोल हुर्‍यायो र भन्यो ‘यो सहर कति फोहर हो ।’ उसको यस्तो अद्भुत कलाले सम्पूर्ण चराचर जगत् धन्य भयो । यो सब चुरोटको ठुटो खुट्टाले निभाउँदै गरेको महापुरुषले देखिरहनु भएको थियो । उहाँले ‘अँ भन्या ! यी मान्छेहरूको बुद्धि कहिल्यै नआउने भयो’ महावाणी वाचन गर्नुभयो । जसलाई टिप्न विश्वबाट साहित्यकार तथा पत्रकारहरूको घुइँचो लाग्यो । छेउको पसले आफ्नो पसलको फोहर बढार्दै बाटोमा पुर्याएपछी ‘हाम्रो दुःख कसले बुझ्ने दाइ’ भन्दै दुखी भयो । बिचरा ! कठै बरा !

बाटोमा हिँड्दै गर्दा एक परमेश्वरीले गाडीको झ्यालबाट आफूले छादेको प्रसादको प्लास्टिक भक्तजनहरूको भलो होस् भनेर विसर्जन गर्नुभयो । फ्यात्त ! उहाँको यस्तो कृपा दृष्टिले बाटो धन्य भयो । ‘कस्तो सोमत नभएका मान्छे बस्छन् हौ यो ठाउँमा’ भन्दै बाजेभन्दा पुरानो गाडीबाट बाक्लो धुवाँले कतै-कतै खुइलिएको बाटोमा कालो रङ्ग पोत्दै एक वैज्ञानिक हुइँकिए । सायद घाटहरूबाट आउने धुवाँको खपत उहाँको गाडीले गर्ने गरेको छ । उहाँ धुवाँबाट कुद्ने गाडी चलाउने पहिलो वैज्ञानिक भने होइन । नासाले यी वैज्ञानिकहरूको खोजी गरेको र उनीहरूलाई डाकेको वर्षौँ भइसक्यो । के गर्नु भ्या’का छैनन् !

देशको समृद्धि चाहने केही देशभक्तहरू घर नजिकको चौकमा महिने/हप्तै/दिनैपिच्छे फोहरको एउटा पहाड बनाउँछन् । पर्यटकलाई आकर्षित गर्न बनाइएको यो फोहरको पहाडमा पर्यटकहरूले हाइकिङ, ट्रेकिङ, सूर्योदय/सूर्यास्तको अवलोकन गर्न सक्छन् । त्यो पहाडबाट झर्ने कालो रङ्गको कलकल झरना विश्वमै अनौठो मानिन्छ । त्यहाँबाट आउने मिठो सु-गन्धले नाकका भुत्ला जलाएर श्वासप्रश्वासमा सहयोग गर्छ । यस्ता पहाडहरूलाई सरकारको सहयोगमा विश्व सम् पादा, हगा, मुता, छेरा, छादा सुचीमा राख्नुपर्छ ।

५/७ किलोमिटर वरबाटै खोला नजिक पुग्न लागेको थाह हुन्छ । नाकले सराप्न थालेपछि बुझ्नु, खोला आयो । खोलाले पादेको भने होइन । मान्छेले लादेको हो । स्यानेटरी प्याड, छेरेका डाइपर, हस्तमैथुन गरी पुछेको वाइपर, बासी खाना, मानवताको सिमाना, जुसको डब्बा, पानीको बोतल, त्यसमाथि ढल । तर खोला कस्तो चाहिन्छ ? कन्चन !! कलकल !!  बेलुकीपख सुटुक्क त्यही खोलामा तीन धोक्रो फोहर फ्याकेका सज्जनहरू पहिला चिउँडोमा रहेको मास्क नाकसम्म लान्छन् । खोलाले चिन्छ भनेर होला या खोलालाई मुख देखाउन नसकेर होला ।
ग्राहै छ नि सज्जन भएर जिउन ।

‘प्लास्टिकमा प्लास्टिक, प्लास्टिकमा प्लास्टिक, प्लास्टिकमा प्लास्टिक मिल्छ तर मिल्दैन त्यसलाई उठाउने हात’ यो डाइलग कुनै चलचित्रमा सन्नी देवलले बोलेको होइन, सहरले बकेको हो । गाउँले सुनाएको हो । पृथ्वीले भनेको हो । दूधको प्याकेटबाट सुरु भएर, तरकारीको झोला, मासुको हड्डी, तरकारीका बोक्रा, नाकका पाप्रा, रक्सीका सिसीसम्म दान गर्ने महापुरुष तथा महिलाहरू नै ढुकुरे छाती फुलाएर भन्छन् ‘छ्या यो ठाउँ त कस्तो फोहर हौ, बस्न त गाउँ नै ठिक ।’ यसो भनिरहँदा गाउँले नाकका पुरा नफुलाए हुन्छ । उनीहरूले डस्न भनेका हुन्, बस्न निस्किएको हो । सहरलाई डसेर विष छोडिसकेपछि इच्छाधारी नागहरू दुई जिब्रो मिलिक-मिलिक पार्दै गाउँलाई ताक्न थालेका हुन् ।

दिनभरि फोहर उत्पादन गर्ने कृषिप्रधान देशका कृषकहरूले बाटोमा, अफिसमा, गाडीमा, सभामा, भाषणमा फोहरप्रति देखाउने नाटकीय वितृष्णालाई मध्यनजर गर्दै उनीहरूलाई अस्करले सम्मानित गर्नु पर्छ जस्तो लाग्छ । या एउटा-एउटा नोबेल पुरस्कार थमाएर विशेष सम्मान गर्नुपर्छ । उनीहरू नै त हुन् विश्वमा आफ्नो ठाउँलाई घिनाउने । ए ! चिनाउने ।

‘अचानोको पिर बन्चरोले बुझ्दैन’ भन्दै अचेल राजधानीवासी (ताजा होइन) बन्चरे डाँडामाथि खनिएका छन् । लादि फाल्न नपाएका ‘भ लादि मी’ आफूलाई पीडित अचानो बनाएर बन्चरे डाँडालाई तानासाही घोषणा गरेका छन् ।  दुखेसो पोखेका छन्, कराएका छन्, चिच्याएका छन् । लौ न हरि बिजोग !!

धम्क्याउँदै र कुट्दै जबरजस्ती फोहर दान दिएका छन् । हरिश्चन्द्र भन्दा दानवीर जो छन् ।

यो एउटा सहरको लागि टुङ टुङ ठिस् मात्र होइन । गाउँको लागि ढ्यान्ट्याड्याङ्ग पनि हो । हामीले खोला पुर्‍यौँ, मन्दिर पुर्‍यौँ, खाली जमिन पुर्‍यौँ, जङ्गल पुर्‍यौँ, मानवता पुर्‍यौँ र फोहरको रासमाथि पुरिँदै गएको छ, पृथ्वी ।

इति श्री केदार खण्डे:
पृथ्वीको कर्मकाण्डे:
मानव जातिको मात्र ब्राम्हणे:
भन्नेलाई बङ्गारा फुस्किने गरी हान्दे:
स्वाहा !!

सम्बन्धित समाचार