"फोहोर र हामीलाई एकै दर्जाको व्यवहार गर्दा मन अमिलो हुन्छ । फोहोरको थुप्रो नजिक हिँड्दा नाकमुख थुन्दै हिँडेझैँ हामीहरूलाई देख्दा घिन मानेर हेर्छन्, नाक मुख खुम्च्याउँछन् ! हामीले नै फोहोर गर्दै हिँड्या झैँ गर्छन् !”
तपाईं काठमाडौँ वा देशका प्रमुख सहरतिर बसोबास गर्नु हुन्छ भने, तपाईँकै घर अगाडिको गल्ली/सडकमा हप्ताको दुई तीन पल्ट एउटा सिठीको निरन्तर ‘सिर्र सिर्र सिर्र’ आवाज सुन्नु भएको त छ होला ? त्यो आवाज सुन्दा तपाईँलाई के आभास हुन्छ ? के आयो लाग्छ ? त्यो आवाज सुन्दा को आयो जस्तो लाग्छ ?
पक्कै त्यो सिठीको आवाज सुन्यो कि तपाईं सोच्नु हुन्छ, ‘फोहोर आयो !’
घर, कोठा भित्र रहेका फोहोरका बोरा, झोला बोकेर हामी सिठी पछ्याउँदै गाडीसम्म फोहोर फाल्न पुग्छौँ । यसरी तपाई /हाम्रो घरसम्म फोहोर लिन आउने मान्छेहरूलाई कहिल्यै हेर्नू भएको छ ? ती मान्छेसँग नजिक बन्नु भएको छ ? या फोहोर उठाउने मान्छे भन्नेबित्तिकै छोइएला कि झैँ गरि तर्किने गर्नुहुन्छ ?
हामीले आफ्नै कोठाको फोहोर गाडीसम्म लिएर जाँदा नाक थुन्दै लिएर जान्छौँ । आफैँले उत्पादन गरेको फोहोर हामीलाई दुर्गन्धित लाग्छ । फोहोर लिन आएका मान्छेहरूलाई फोहोर दुर्गन्धित किन नलागेको होला ? दुर्गन्ध नै छैन सरह व्यवहार गर्नु (प्रत्याभूति दिलाउनु) उनीहरूको रहर होला कि मजबुरी ? तपाईँले कहिल्यै फोहोर लिन आएका मानिसको नाम सोध्नु भएको छ ?
यसरी फोहोर लिन आएको गाडीमा हिँड्ने, फोहोर लिन गाडी आएको छ भन्दै जानकारी दिन सिठी फुक्ने मान्छेहरू अक्सर पुरुष हुन्छन् । १८-३५ वर्ष उमेर समूहका पुरुषहरू । यसरी ऊर्जाशील उमेरमा समाजले तोकेको प्रतिष्ठित काम गर्न छोडेर, विदेश गएर ठुला-ठुला सहर/मल र समुन्द्रको छेउमा फोटो खिच्न छोडेर यिनीहरू किन यसरी फोहोरसँग खेल्दै हिँडेका होलान् ? तपाईँ-हाम्रो फोहोर बटुल्दै बसेका होलान् ? के सोच्छन् होला आफूलाई यिनीहरू? यस अङ्कमा यिनै फोहोर लिन गाडीमा तपाईं हाम्रो घरसम्म सिठी फुक्दै आउने भुईमान्छेको कुरा गरौँ । सफाई कर्मचारीका कुरा गरौँ ।
फोहोर उठाउने कर्मचारी :
काठमाडौँ वा काठमाडौँ बाहिरका प्रमुख सहरमा फोहोर दुई तरिकाले उठाइन्छ । एक स्थानीय सरकार (महानगरपालिका/उपमहानगरपालिका/ नगरपालिका) आफैले निश्चित कर्मचारी नियुक्ति गरी फोहोर उठाउँछ । अर्को तरिका, फोहोर उठाउनका लागि स्थानीय सरकारले टेन्डर आह्वान गर्छ, उक्त टेन्डर पाउने कम्पनीले निश्चित तोकिएको क्षेत्रको फोहोर उठाउँछ। यसरी फोहोर उठाउन उनीहरूले ज्यालादारी मजदुर राख्दछन् ।
स्थानीय सरकारको हकमा भने स्थायी र करार गरी दुई प्रकारका फोहोर उठाउने कर्मचारी हुन्छन् । तर टेन्डरबाट फोहोर उठाउने कम्पनीका कर्मचारी आवधिक वा ज्यालादारी हुने गर्दछन् ।
कर्मचारी बाँडफाँड :
फोहोर उठाउनका लागि सबैभन्दा पहिला आफूसँग भएको स्रोत र साधनको आंकलन गरिन्छ । उदाहरणका लागि, कति वटा ठुला गाडी छन्, कति वटा रिक्सा छन् भन्ने कुरा तय गरिन्छ । यसप्रकार स्रोत साधनको आंकलन भइसकेपछि क्षेत्र तय गरिन्छ । जुन क्षेत्रमा बढी फोहोर उत्पादन हुन्छ, त्यो क्षेत्रमा बढी गाडी र मानव स्रोत परिचालन गरिन्छ । जस्तोकि, काठमाडौँ महानगरपालिकाको प्रमुख व्यापारिक क्षेत्र असनमा धेरै कर्मचारी खटाइन्छ । ठूलो गाडी सजिलै नपस्ने हुँदा रिक्सा परिचालन बढी गरिन्छ । उक्त क्षेत्र व्यापारिक क्षेत्र भएकाले प्लास्टिकजन्य फोहोर उत्पादन बढी हुन्छ ।
काठमाडौँकै गोपीकृष्ण, सरस्वतीनगर, साततलेतिर ठूलो गाडीहरू पठाइन्छ, जसमा चार जनासम्म कर्मचारीहरू हुने गर्दछन् । ती ठाउँहरूमा मिश्रित फोहोर भेटिन्छ । स्वास्थ्यजन्य फोहोर, विद्युतीय फोहोरहरू पनि मिश्रित फोहोर अन्तर्गत नै पर्ने भए ।
‘मुखमा मास्क लगाएर गम्छाले बेर्थे, कुहिएको जाँड जस्तो गन्हाउँथ्यो’- फोहोर बोक्ने गाडी चालक
धादिङ घर भएका ३४ वर्षका तामाङ थरका एक दाजुले फोहोर बोक्ने गाडी टिप्पर चलाउन थालेको लामै समय भएछ । पहिले उनी चक्रपथ चल्ने माइक्रोबस चलाउँथे रे ! माइक्रोबसबाट परिवार पाल्न गाह्रो भएपछि मलेसिया पुगेछन् । मलेसियामा दलालबाट ठगिएछन्, भने जस्तो काम पाएनन् । शारीरिक एवम् मानिसिक रूपमा निकै नै कमजोर बनिसकेपश्चात् उनी डेढ वर्षमै स्वदेश फर्किएछन् । स्वदेश फर्किएँ, परिवारसँग भेट भयो । मानसिक रूपमा ठिक हुँदै पनि गए तर परिवार कसरी चलाउने ? परिवार चलाउने उपयुक्त विकल्पको खोजी गर्दै जाँदा उनी फोहोर बोक्ने टिप्पर चलाउन आइपुगे ।
‘फोहोर बोक्ने गाडी किन चलाउनु भएको त’ भन्ने प्रश्नमा उनी भन्छन्, “सुरुमा रहर होइन बाध्यताले चलाएँ । पापी पेट पाल्नै पर्यो । अरू गाडी चलाउँदा साह्रै गाह्रो, कमाइ नहुने । अहिले कमसेकम पेट पाल्न सकिएको छ ।”
सुरुमा फोहोरको गाडी चलाउँदा फोहोर गनाएर बस्नै नसक्ने भएको उनको अनुभव छ । उनी त्यो अनुभव सुनाउने उपयुक्त समय आएसरह बडो हौसिँदै सुनाउँछन्, “मुखमा मास्क लगाएर गम्छाले बेर्दा पनि गन्ध नछेकिने ! छ्या हाउ, गाँठे कस्तो बिग्रेको जाँड जस्तो पो त..हाहा ! गाडीको क्याबिनमा सुरुसुरुमा दिनकै एक सिसी कोब्रा छर्किन्थे (कोब्रा एक पुरानो ब्रान्डको परफ्युम हो) । अहिले भने बानी परिगो, बाबू ।”
आफू ड्राइभर भएकाले फोहोरको गन्धले आफूलाई त्यति गाह्रो नपार्ने उनी सुनाउँछन्, यो अलगै कुरा हो कि ट्रक नै गनाइरहेको हुन्छ । तर, उनको भनाइको तात्पर्य ‘मलाई भन्दा फोहोर उठाएर फोहोरमै बसेर फोहोर फ्याँक्ने ठाउँसम्म जाने भाइहरूलाई बढी गाह्रो हुन्छ’ भन्ने हो । “फुर्सद हुँदा सघाउन मन लागे मात्र फोहोर उठान सहयोग गर्छु । गाह्रो त मेरा केटाहरूलाई पो छ । केटाहरू त सुरुमा छाद्थ्यो । फोहोर उठाउन आउनुभन्दा पहिल्यै कति केटाहरू त एक दुई प्याक लगाउँथ्यो र चिल भएर आउँथ्यो ।”
धादिङका यी ड्राइभरको कुराले के बताउँदछ भने फोहोर बोक्ने गाडीमा हिँड्ने कर्मचारीहरूलाई स्वास्थ्य चुनौती छ । सुरक्षाको उपायहरू नअपनाउँदा पटकपटक चोटपटक पनि लाग्ने गर्दछ । यसरी सबै भन्दा मारमा पर्नेचाहिँ गाडीको माथि बसेर फोहोर मिलाउनेलाई हुँदो रहेछ ।
यसरी गाडीको माथि उभिएर फोहोर मिलाउने गोले थरका २५ वर्षीय युवाको आफ्नै अनुभव छ । भूकम्पपछि काम गर्न काठमाडौँ पसेका उनले अनेक हन्डर खाएपछि एक साथीको माध्यमबाट फोहोर उठाउने काम पाएछन् । सुरुमा फोहोरको गाडीमा हिँड्दा गनाउने भएकाले धेरै पटक त उल्टी नै गरे रे ! घिन लागेर काम गर्न पनि गाह्रो हुन्थ्यो तर विकल्प थिएन । आफ्नै जिउ आफैँलाई गनाएर सिकसिको लाग्थ्यो । आफ्नो जिउ आफै हेर्न पनि नसक्ने हुन्थ्यो । जेजसो भए पनि उनले काम छाडेनन् । घरघर पुगेर फोहोर बटुलिरहे तिनलाई गाडीमा चाङ लगाइरहे ।काठमाडौंको सभ्यताका तथाकथित सभ्यहरूका दुर्गन्ध बोकिरहे ।
एक दुई पल्ट बिरामी समेत भएका थिए उनी । दिनभरि फोहोरको गाडीमा हुँदा भोक लाग्ने तर खाना खान लाग्दा त्यो फोहोर सम्झिएर खानै मन नलाग्ने हुन्थ्यो । खाना खान खोज्दा ह्वात्तै उल्टी होला जस्तो हुने गर्दथ्यो । दिनभरिको धपेडी र खाना खान मन नलाग्दा बिरामीसम्म भएका उनले काम छोड्ने निधो गरे । “तर, पछि खै किन जहाँ गए नि यस्तै काम गर्नुपर्ने त हो भन्ने लाग्यो र काम छोडिन । अहिले त फोहोर सङ्गै बस्न बानी पर्यो”, उनी भन्छन् ।
उनी आफ्नो कार्यअनुभव सुनाउँदै जाँदा फोहोर नछुट्याइदिने काठमाडौंवासीलाई एकाएक खनिन्छन् । “घरमा फोहोर नछुट्याई दिनाले हामीलाई सास्ती हुन्छ । एकै झोलामा सिसाको बोतल, एकै झोलामा तरकारीका छिल्का हुँदा छुट्टाउनै ल्याङ हुन्छ”, उनी अगाडी भन्छन्, “अझ बियर, भोड्काका बोतलहरूलाई झोलाको पिँधमा राखेर माथि तरकारीका छिल्का र प्लास्टिक कागज राख्ने गर्छन् । कागज होला भनेर राख्यो अन्तिममा बोतल फुट्छ अनि खुट्टा काटिन्छ । हात काटिन्छ । रक्सी बियर कोठामा लगेर खान लाज मान्दैनन्, रित्ता बोतल अरूले देख्लान् भन्ने डरले लुकाएर फोहोरमा हाल्छन् ! अनि कन्पारो तात्छ ।” उनको अनुभव छ कि यसरी रक्सिका बोतल लुकाएर फाल्नेहरूमा भाडामा बस्ने र विद्यार्थीहरू बढी हुने गर्दछन् ।
उनी भन्छन्, “होटेलवाला र घरबेटीहरू रक्सीका बोतल त कवाडीलाई बेच्छन् । डेरामा बस्ने र विद्यार्थीहरूसँग धेरै बोतल हुँदैन, त्यही भएर उनीहरू लुकाएर फाल्छन् ।” उनीसँगसँगै फोहोर उठाउने उनका साथी विकास थप्छन्, “बच्चाको आची, प्याड, जस्ता कुराहरू राम्रोसँग झोलै नबाँधी फ्यालिदिन्छन् । फलामका टुक्रा, काँचका टुक्राहरूसँग अन्य फोहोर मिसाउँदा देखिँदैन । कतिपय झोलाहरूमा ब्लेड र धारिला सामाग्री हुन्छन्, झ्याप्प हेर्दा देखिँदैन । फाल्यो, पछि हातखुट्टा काटेर हैरान गर्छ । गाडीमा उपचार गर्न नपाइने, रगत कति बग्छ पत्तो हुँदैन । मान्छेहरूले घरमा फोहोर छुट्ट्याएर दिएको भए हामीलाई नि सजिलो हुन्थ्यो, दिँदैनन् के गर्नु ?”
उनकाअनुसार, सबैभन्दा गाह्रो त मरेका जनावर व्यवस्थापन गर्न हुने गर्दछ । नियमअनुसार मरेका जनावरको व्यवस्थापन नगरपालिका वा पशुसेवा कार्यालयले गर्नु पर्ने हो तर, त्यसो भएको पाइँदैन । कहिलेकाहीँ त फोहोरकै गाडीमा मरेका जनावरको सिनो बोकेर लैजानुपर्दछ । जसको घरको जनावर मरेको हो, उक्त घरको मान्छेले तोकिएको मूल्य तिर्नुपर्छ । घरबेटीहरू पैसा तिर्न साह्रै गाह्रो मान्ने स्वभावका हुन्छन् । पैसा दिनु भन्दा मरेको जनावरलाई खोला किनार वा सडक छेउमा सुटुक्क छोडेर लापता हुनुमा अत्यधिक खुसी हुने गर्दछन् ।
फोहोर व्यवस्थापनमै संलग्न एक कर्मचारी भन्छन्, “यसरी मरेको जनावर जहाँतहीँ फाल्दा फोहोर बढ्ने नै भयो, गन्ध पनि ज्यादै हुन्छ । फेरि यी मान्छे कति निर्दयी भएका ? आफैँले पालेको जनावर मरेपछि फाल्न किन लोभ गर्या होला ?” उनीहरूको सामूहिक चित्त दुखाइ यो कुरामा छ कि, उनीहरूको कामलाई सम्मान नै गरिँदैन । फोहोर र हामीलाई एकै दर्जाको व्यवहार गर्दा मन अमिलो हुन्छ । फोहोरको थुप्रो नजिक हिँड्दा नाकमुख थुन्दै हिँडेझैँ हामीहरूलाई देख्दा घिन मानेर हेर्छन्, नाक मुख खुम्च्याउँछन् ! हामीले नै फोहोर गर्दै हिँड्या झैँ गर्छन् !”
“फोहोर उठाउँदै हिँडेको यतिका वर्ष भयो, हामीलाई हेरेर खुसीले मुस्कुराउने मान्छे भेट्नै मुस्किल पर्छ । फोहोर आयो भन्दै कराउँछन् । बोलाउँदा नि ‘ओ फोहोर’ भन्दै बोलाउँछन् । दुःख लाग्छ”, उनीहरू अगाडि भन्छन्, “हाम्रो नि मन हुन्छ । हाम्रो कामको नि सम्मान होस भन्ने लाग्छ ।” “हामीहरूले त आफू फोहोरमा बसेर यति धेरै मान्छेलाई सफा बनाएका छौँ । हामी रोगसँग लडेर उनीहरूलाई रोगदेखि बचाइरहेका छौँ”, उनीहरू भन्छन्, :उनीहरूलाई रोग लाग्न नदिन हामी रोगसँग सुत्या छौ । खै किन बुझ्दैनन् यी सहरका मान्छेहरू हाम्रो पीरमर्का ? कहिलेकाहीँ त लाग्छ, सहरका बलिया र साह्रा घरमा बस्ने मान्छेहरूको मन पनि इट्टा र बालुवा झैँ हुन्छ कि के हो ?” ‘फोहोर आयो’ भन्नुको साटो ‘फोहोर लिने मान्छेहरू आए’ भन्दिए मात्रै पनि आफूहरूलाई खुसी मिल्ने उनीहरू बताउँछन् । “फोहोरी त उनीहरू हुन्, हामी त सफा गर्ने मान्छे हौँ ! ” तामाङ भन्छन् ।
फोहोर खाँदै सिठी फुकिरहेका कर्मचारीहरू
फोहोर आएको जानकारी दिन सिठी फुक्ने व्यक्तिलाई हेर्नू भएको छ ? हेर्नू भएको छ भने याद गर्नु होला, उनीहरूको दुवै हात फोहोर हुन्छन्, त्यही हातले समाएर सिठी फुक्दै हिँड्छन् । सिठीलाई गलामा झुन्डाउने गरिन्छ । त्यो सिठी कपडामा भएको फोहोर हुँदै कतिपय गाडीमा फाल्नुपर्ने फोहोरमा ठोकिन्छ, छोइन्छ । फेरि सिठी बजाउनु परे उनीहरू त्यही फोहोर हातले सिठी पुछेर ओठले च्यापेर सिठी बजाउँछन् ।
यसरी सिठी बजाउँदा उनले दिनमा कति फोहोर खान्छन् होला ? कति शरीरलाई नोक्सान गर्ने सूक्ष्म जीवाणु निल्छन् होला ? पन्जा, मास्क, बुट, हेलमेट र सुट नलगाउँदा कति चोटपटकहरू लाग्छ होला ? कति रोग लाग्छ होला ? गाडीमा फोहोर उठाउँदा फोहोरमा भएका सिसा फलामका टुक्रा वा धारिलो हतियारले चोटपटक लाग्दा त्यो घाउमा कति कीटाणु जम्मा हुन्छन् होला ? उनीहरूलाई सुरक्षाको उपाय किन व्यवस्था नगरिएको होला भन्ने प्रश्न मन मा उब्जिरहन्छ । फाइल बोक्ने कर्मचारीका भ्रष्ट मतिका कारण फोहोर बोक्ने कर्मचारीहरूले हरहमेसा आफ्नो स्वास्थ्य दाउमा लगाउँदै सहरको स्वास्थ्य अवस्था कहिलेसम्म ठिक गर्ने होला ?
घरसम्म फोहोर लिन आउने मान्छेहरू मध्ये धेरैले सुरक्षाको उपाय अपनाएको देखिँदैन । मापदण्डअनुसार निर्धारण गरिएको बुट, सुट हेलमेट, पन्जा लगाउनु पर्ने हो तर लगाउँदैनन् । सुरक्षाको उपाय किन नअपनाएको भन्दा उनीहरू भन्छन्, “कम्पनीले दुई जोर दिएको हुन्छ, कति कमसल हुन्छ, छिट्टै च्याती जान्छ । फेरि त्यो कपडा लगाएर काम गर्न उछार पनि मिल्दैन । के के अल्झिए जस्तो लाग्छ । अप्ठेरो हुन्छ ।”
सुट नलगाए पनि बुट मास्क र पन्जा लगाएको भए धेरै सहज हुन्थ्यो होला नि भन्ने प्रश्नको जवाफमा उनीहरू भन्छन्, “मास्क लगायो कि सास फेर्न अप्ठेरो हुन्छ । उसै पनि मास्क लगाएर सिठी फुक्न नि नमिल्ने ! मास्क लगाएर गयो, दुई तीन ठाउँमा फोहोर उठाउँदै गर्दा मास्क फोहोर भइजान्छ । अनि ह्या झ्याउ भन्यो, फाल्यो । बुट लगाउँदा खुट्टा बाफिएर सेतै हुन्छ, छाला चाउरी पर्छ । फेरि बुट भित्र फोहोर पस्यो भने निकाल्नको सास्ती । निकाले पनि किचकिच भइरहने ! बरु चप्पल/जुत्ता लगायो आनन्दै ।”
“पन्जा लगाउने प्लास्टिकको हो, लगायो कि हात पसिना आएर बाफिन्छ । उसै त खाली हातले काम गरेको, पन्जा लगाएर काम गर्ने उछार पाइँदैन । कपडाको पन्जा लगायो भने फोहोरको पानीले भिजेर एकै छिनमा भारी हुन्छ अनि निकाल्नु परिगो ! यसै ठिक छ, अहिले त बानी परिगो”, उनीहरू भन्छन् ।
टि.टि. खोपसम्म लगाउँदैनन् फोहोर लिन आउने कर्मचारीहरू
नियमअनुसार उनीहरूको नियमित स्वास्थ्य जाँच हुनु पर्ने हो । फोहोर बोक्ने गाडीमा प्राथमिक उपचारका साधनहरू हुनुपर्ने हो तर, त्यसो भएको देखिँदैन । कर्मचारीहरूलाई टिटानसबाट बच्न तीन/तीन महिनामा टि.टि. को खोप दिने गरिएता पनि सबैले लगाउँदैनन् । सामान्य चोटपटकलाई त्यसै सामान्य टालो बाँधेर छोड्ने गरेको देखिन्छ, जसले गर्दा उनीहरूको स्वास्थ्य अवस्था नाजुक हुने देखिन्छ ।
स्वास्थ्य बिमा तथा नियमित स्वास्थ्य उपचारदेखि टाढा रहेको छ, यो समुदाय । आम जनतालाई स्वास्थ्य बनाउन लागि पर्दा आफै अस्वस्थ बन्दै गइरहेका छन्, फोहोरमा घुमिरहेका फोहोर बोक्ने कमलहरू । हामीले घरमा गरेको हेलचेक्र्याइँको पीडा यी कर्मचारीले भोगेका छन् । घरमा सड्ने र नसड्ने फोहोर नछुट्याउँदा यिनीहरूलाई कठिन भएको छ । घरमा पुनः प्रयोग गर्न सकिने कुरालाई पुनः प्रयोग नगर्दा, फोहोर उत्पादन कम नगर्दा उनीहरूलाई समस्या भइरहेको छ ।
उनीहरू फोहोर लिन एक दिन ढिलो आउँदा हामी रिसाउँछौ, तातिन्छौ । “पैसा तिर्या छौँ, लापरबाही गर्छन्” भन्दै कराउँछौ । हामीलाई एक दिन फोहोर नउठ्दा सिकसिक लाग्छ उनीहरूलाई फोहोरमै बसिरहँदा कस्तो हुन्छ होला ? यो सोच्न जरुरी छ । हामीले फोहोर मात्र छुट्याइ दिनाले उनीहरूलाई सहज हुन्छ ।
साथै स्थानीय निकाय वा सम्बन्धित फोहोर उठाउने कम्पनीले आफ्ना कर्मचारीलाई सुरक्षाका साधन किन अपनाउने, कसरी अपनाउने राम्रोसँग बुझाउन जरुरी छ । साथै, उनीहरूको नियमित स्वास्थ्य जाँच गरी उनीहरूलाई स्वास्थ्य बनाउन जरुरी छ । फोहोरसँग दिनहुँ उठबस गरेर, अरूलाई रोग लाग्नबाट बचाउने कुचीकारको सुरक्षाको जिम्मेवारी सम्पूर्ण आम नागरिकले लिन जरुरी छ ।