किम्बदन्ती अनुसार चन्द्र सूर्य प्रतिक झण्डाको अर्थ नेपालीको व्यवहार दर्सानुका साथै चन्द्र सूर्य न अस्ताय सम्म देश रहिरहन्छ भन्ने मान्यता पनि छ ।
प्रसङ्ग १:
काठमाडौं स्थित दक्षिणकाली नगरपालिका वडा नं. ४ बाँसबारी स्थित ठूलो पाखोमा कंक्रीटको नेपालको झण्डा कोरिदै छ । नागेश्वर मन्दिर र नेपालको झण्डा सहित पिकनिक र ध्यान स्थल निर्माण गर्ने गरि गुरु योजना अगाडी बढाइएको छ । बेला बेलामा नेपाल झण्डा पर्वतन गर्नु पर्छ भन्ने केही आवाज उठे पछि नेपालको झण्डा लोप हुने त होइन भन्ने डरले यो झण्डाको आकृति निर्माण गर्न थालेको वडा अध्यक्ष पुष्कर खड्का बताउनु हुन्छ । उहाँ भन्नू हुन्छ, “सदियौ पुरानो झण्डा हरायो भने देशको अस्मिता नै हराउँछ त्यसैले भावी पुस्तालाई बुझाउन झण्डा कोरिएको हो ।
प्रसङ्ग-२
केही समय (२०७४ साल) मा नेपाललाई विश्वसामु चिनाउने उधेश्यका साथ टुढिखेलमा मानव भिड बाट नेपालको झण्डाको आकृति निर्माण गरिएको थियो ।
प्रसङ्ग-३
केही समय अगाडि एक विदेश आमुख संचारमाध्यममा नेपालको झण्डालाई लिएर नकारात्मक टिप्पणी गरिएपछि उक्त कार्यक्रमको नेपाली समुदायले खुलेर विरोध गरेका थिए ।
यसरी झण्डा विशिष्ट हुनुको कारण के हो ? के हो त आखिरमा झण्डा ? किन फरक अर्थ राख्दछ राष्ट्रिय झण्डाले आज यसबारेमा चर्चा गरौं ।
के हो त झण्डा ?
झण्डा चिनारी वा पहिचान हो । विशेष गरि कपडाबाट झण्डा निर्माण गरिन्छ (भने कतिपय ठाँउमा धातु वा शिलाको पनि झण्डा निर्माणको लागि प्रयोग गरिन्छ ।) कुनै पनि देश, संघ, संस्था, पार्टी, विचार, विद्रोहको प्रतिनिधित्व गराउन झण्डाको प्रयोग गरिन्छ । झण्डा एक इज्जत, सान, मान मर्यादा र बिद्रोहको प्रतिक मानिने भएकाले पनि संम्बन्धित क्षेत्रमा झण्डाको पृथक महत्व रहेको हुन्छ । झण्डाको स्वरुप, रङ्ग, आकार र प्रकारले आफ्नै विशेषताको प्रतिनिधित्व गर्दछन् ।
झण्डाले आफ्नै विरासत र अस्तित्व जोगाएर बसेको छ । हरेक विचार, पार्टि, संगठन, संस्था, देश सिमाना, विभिन्न उपकरणको स्वामित्व बुझाउन वा दर्शाउन झण्डाको प्रयोग गरिँदै आएको पाइन्छ । झण्डाको इतिहास मानव विकास सँगै जोडिएको पाइन्छ । ढुङ्गे युगमा आफ्नो समूह र थलो चिनाउन रूखका पातहरुको आकृती बनाउने र झुण्डाउने गर्थे । जसले समूहको अस्तित्व बुझाउदथ्यो भने मानव विकाससँगै राज्य निर्माण भएपछि भने राज्यका सैनिकलाई युद्ध मैदानमा चिन्नका लागि झण्डाको प्रयोग हुन थालेको पाइन्छ ।
तत्कालीन समयमा विश्वका विभिन्न सभ्यता तथा राज्यहरुका आ-आफ्नै ध्वजहरु थिए । यी ध्वजहरुको प्रयोग सिमाना चिनाउन तथा युद्ध मैदानमा सेनाहरु चिन्नका लागि गर्न थालियो । तत्कालीन समयमा अहिलेका जस्ता कलात्मक झण्डा भने थिएनन् त्यो समयमा विशेष रङ्गका ध्वजहरू प्रयोग गरिन्थ्यो । ती ध्वजहरूको विस्तारित रुप हो अहिलेको झण्डा । झण्डा विचार, पार्टी, संघ संस्था अनुसार फरक-फरक हुने गर्छन् । आज हामी यहाँ राष्ट्रिय झण्डा वा नेपालको राष्ट्रिय झण्डाको बारेमा केही चर्चा गर्ने छौँ ।
झण्डाको इतिहास:
झण्डा परापुर्वकाल देखिनै चलि आएको एक परम्परा वा चिनारी हो । तत्कालीन समयमा कुनै सभ्यता, समूह, राज्य, सिमाना, चिनाउनको लागि प्रयोग गरिने ध्वज नै हाल झण्डाको रूपमा प्रयोगमा आएको हो । विभिन्न देशहरु आफ्नो स्वामित्वमा आएपछि वा नयाँ ईतिहास सँगै नयाँ देशहरु बनिसकेपछि कलात्मक राष्ट्रिय झण्डाको प्रयोग भएको पाइन्छ । राष्ट्रिय झण्डाको इतिहास बुझ्नका लागि सबै भन्दा पहिला Age of sail (पालयुक्त पानी जाहाजको समय) बुझ्न जरुरी छ ।
के हो त Age of sail?
सन् १६०० देखि १८०० सम्म युरोपका देशहरुमा समुन्द्रमा चल्ने पानीजहाजको विकास धेरै भयो । यी पानीजाहाजहरुले युरोप लगायतका देशहरूमा आफ्नो वर्स्वच कायम गर्न थाले । युरोपका भूमिमा त्यो समयमा पनि विभिन्न राष्ट्रहरू अस्तित्वमा रहेका थिए । ती राष्ट्रहरूले पानी जहाज बनाएर चलाउन थाले । यसरी पानीजहाज चाउँदै जाँदा एक समस्या आयो । जहाज कुन देशको हो चिन्नै गाह्रो भयो । यसरी जहाज चिन्न नसक्दा टाढाबाट आएको आफ्नै जहाज नचिनेर आफैँबाट हमला पो हुने हो कि ? वा अन्य देशको जहाज आएर आफूलाई हमला गर्ने हो कि भन्ने डर बढ्दै गएपछि उक्त डर बाट बच्न पानीजहाजको अगाडि चारपाटे कपडा राख्न थालियो । जुन कपडामा केही आकृति कोरिएको हुन्थ्यो ।
चारपाटे कपडा हावामा सजिलै फहरिने र टाढै बाट चारपाटे झण्डा चिनिने हुनाले पनि यो कपडाको प्रयोग गरिन थालियो र यहि कपडा कालान्तरमा राष्ट्रिय झण्डाको रूपमा अगाडि आयो । Age of sail अगाडि युरोपमा राष्ट्रिय झण्डाको प्रयोग थिएन भन्दा नि हुन्छ । वा नगन्य मात्रामा थियो ।
अब प्रश्न आउँछ, युरोपबाट सुरु भएको चारपाटे झण्डा कसरी विश्वव्यापी भयो ? सन् १६०० देखि १८०० को अन्त्यसम्म युरोपले धेरै देशमा हुकुमत चलायो । यसरी हुकुमत चलाउँदा उसले आफ्नो संकृती त लाद्ने नै भयो । धेरै देशमा युरोपकै दबदबा भएका कारण उसले आफ्नै देशको स्वरुपको झण्डा अन्य देशको लागि पनि निर्माण गर्यो । र, कतिपय नयाँ देशले भने सजिलोको लागि चारपाटे झण्डा नै रोजे ।
त्यसो भए नेपालको राष्ट्रिय झण्डा किन त्रीकोणात्मक त ?
तत्कालीन समयमा युरोपले नेपालमाथि हमाला गर्न सकेन र नेपालको झण्डामा आफ्नो प्रभाव पार्न सकेन । जब देशहरू अस्तित्वमा आए, तब प्रत्येक देशले आफ्नो झण्डा बनाउने क्रममा नेपालले पहिल्यैदेखि चलिआएको झण्डालाई प्रयोगमा ल्यायो । केही व्यक्तिहरु यो तर्क गर्छन् कि पृथ्वीनारायण शाहले नेपाल एकीकरणका समयमा आफ्ना सैनिकहरू चिनाउन प्रयोग गरिएको झण्डा नै पछि राष्ट्रिय झण्डा हुन पुग्यो । र, राष्ट्रिय झण्डाको प्रयोगकर्ता पृथ्वीनारायण शाहलाई नै मान्दछन् ।
नेपालको झण्डा पृथ्वीनारायण शाहको पालाभन्दा अगाडिदेखि नै चलि आएको प्रमाण भेटिन्छ । जसको एक उदाहरण हो- भक्तपुरको चाँगुनारायण मन्दिरमा रहेको धातुको नेपालको झण्डा स्वरुपको आकृती, जो राजा मान्देवकै पालादेखि राखिएको छ । तसर्थ नेपालको झण्डाको प्रयोगकर्ता र झण्डालाई व्यापक बनाउने पृथ्वीनारायण शाह भएता पनि झण्डाको प्रयोग उनीभन्दा पहिल्यैदेखि चलिआएको पाइन्छ ।
नेपालको झण्डाको खास डिजाइनर भने यहि हो भन्ने एकिन छैन । यो संसारकै पुरानो झण्डा हो । महाभारतमा वर्णित भारतको झण्डा समेत पिङ्गली बेनकैया नाम गरेका व्यक्तिले सन् १९३१ मा डिजाइन गरेका हुन् । त्यस्तै ब्रिटिसको झण्डा सन् १६०६ मा त्यहाँका राजा जेम्स द छैठोले निर्माण गरेका हुन् । तर, नेपालको झण्डा कसले र कहिले निर्माण गर्यो भन्ने जवाफ एकिन छैन ।
इतिहास हेर्दा नेपालमा कैयौं शासकहरुले शासन गरेर गए तर झण्डा भने सदियौं देखि उहीँ मात्र वा उहीँ आकृतिको मात्र प्रयोग भइरह्यो । त्यसैले नेपालको झण्डा निर्माणको एकिन तथ्य भने फेला पार्न सकिँदैन । यसरी हेर्दा नेपालको झण्डाको प्रकार उहीँ राखि केही सामान्य परिवर्तन भने गरिएको छ । जस्तै, सन् १९६२ को नेपालको संविधान लेख्ननु अघि नेपालको झण्डामा भएका चन्द्र सूर्यमा अनुहार समेत थियो तर यस संविधान पछि भने हटाइयो ।
के हो त नेपालको झण्डाको अर्थ ?
नेपालको झण्डालाई अर्थाउने वा परिभाषित गर्ने विभिन्न किम्बदन्तिहरू पाइन्छन् । यही किम्बदन्तिका आधारमा यो झण्डा राजाको वंशको पहिचान हो, यसलाई परिवर्तन गर्नु पर्छ भन्दै नेपालको एक ठूलो पार्टी र एक पुर्वप्रधानमन्त्रीले समेत भाषण गरेर झण्डा परिवर्तनको सर्त राखेका थिए ।
किम्बदन्ती अनुसार नेपालको झण्डामा अंकित सूर्यले सूर्यवंशी राजा र चन्द्रले चन्द्रवंशी राजा बुझाउँदछ । यो राज्य संचालकको पहिचान हो पनि भन्ने गरेको सुनिन्छ । त्यस्तै, “झण्डामा भएका दुई कोणले हिमाल जनाउने र निलो किनाराले आकास बुझाउने गर्छ । “
त्यसै अर्को किम्बदन्ती अनुसार “एक कोणले बौद्ध र अर्को कोणले हिन्दु सनातन जनाउने गर्छ । ” यही किम्बदन्तीमा टेकेर कहिले यो जातीय झण्डा हो परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठाउने गरेका छन् ।
त्यस्तै अर्को किम्बदन्ती अनुसार चन्द्र सूर्य प्रतिक झण्डाको अर्थ नेपालीको व्यवहार दर्शनुको साथै चन्द्रसूर्य न अस्ताएसम्म देश रहिरहन्छ भन्ने मान्यता पनि छ ।
यस्तै गरी एक वैदिक मान्यता छ नेपालको झण्डा निर्माणमा..
नेपालको झण्डा वैदिक विधिमा प्रयोग हुने षड्कोणको दुई कोणलाई एक आपसमा जोडेर बनाइएको हो । षड्कोणमा भएको माथिको चुच्चो भागले अग्नि वा तातो जनाउने र तलको भागले जल वा चिसो बुझाउँदछ । यसै गरी पृथ्वीको माथी वा आकासको भाग् सुर्य हुँदा तातो हुने र तल जमिनको भाग पानीको कारण चिसो हुने हुन्छ ।
यसरी तातो र चिसोको उचित प्रयोग बाट नै वातावरण तथा पारिस्थितिक प्रणाणि चल्ने हुँदा यो झण्डा पृथ्वीको भू-बनोटको आधारमा निर्माण भएको हो । झण्डाले पृथ्वीको पारिस्थितिक प्रणाली बुझाउँदछ ।
यसरी अनेक किम्बदन्ती बोकेको नेपालको त्रीकोणात्मक झण्डा विश्वकै पुरानो झण्डाको रुपमा रहनुको साथै विश्वममै पृथक हुन पुगेको छ । त्रीकोणात्मक झण्डा विश्वमै नेपालको मात्र एक हो ।