सोमबार , भाद्र ३१, २०८१

प्रकृति, संस्कृति र अध्यात्मको त्रिवेणी : सुदूरपश्चिमको हिरा ‘पूर्वीचौकी’

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकामा पर्यटकीय सम्भावना भएका धेरै सम्पदा छन्। खप्तडको प्रवेशद्वार झिग्राना, त्रिवेणीधाम, रानढुङ्गा, मष्टाबण्डाली, साजेन्द्रश्वर, मालिका मन्दिरलगायतका तीर्थ छन्। यिनको दर्शन गरेमा मनोकामना पुरा हुन्छ।

image

प्रकृति, संस्कृति र अध्यात्मको त्रिवेणीधाम हो डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका। पहाडी थुम्काथुम्की, खोलानाला, वनजंगल र खेतीबारीले सजिएको गाउँपालिका आकर्षक छ।

साविकका खिरसैन, गैरागाउँ, गाजरी, पोखरी, काँडामाण्डौं र सानागाउँ गा.वि.स. तथा बगलेक गा.वि.स.का १ देखि ७ नम्बर वडा मिलाएर नेपाल सरकारले वि.सं २०७३ चैत १ गते पूर्वीचौकी गाउँपालिका बनाएको हो।

यस गाउँपालिकामा क्षेत्री, बाहुन, ठकुरी, सन्यासी, जनजाती र दलित समुदायको बसोबास छ। गाउँलेको मुख्य पेसा कृषि, पशुपालन र वैदेशिक रोजगार हो।

Sangaun village पूर्वीचौकीको साना गाउँ

पूर्वीचौकीको साना गाउँ

पूर्वीचौकी गाउँपालिकामा पर्यटकीय सम्भावना भएका धेरै सम्पदा छन्। खप्तडको प्रवेशद्वार झिग्राना, त्रिवेणीधाम, रानढुङ्गा, मष्टा बण्डाली, साजेन्द्रश्वर, मालिका मन्दिर लगायतका तीर्थ छन्। यिनको दर्शन गरेमा मनोकामना पुरा हुन्छ।

गाउँपालिकाको वडा नं ५, काँडामाडौंको बटाला गाउँमा मालिका मन्दिर छ। मालिका शक्तिपीठ हुन्। यहाँ कालिका, महालक्ष्मी र सरस्वतीका मूर्ति छन्। मूर्तिको छेउमा कहिल्यै ननिभ्ने अखण्ड दिप पनि छ।

त्यसैगरी वडा नं ६ मा रानढुङ्गा छ। नागजस्तै विशाल ढुङ्गा। नजिकै सहस्रलिंग कुँदिएको छ। देवदेवीले सयर गर्ने पावन भूमिका रूपमा रानढुङ्गा चर्चित छ।

रानढुङ्गाको थुम्को मुनि कुडीगडा ताल छ। पहिलापहिला देवीदेवता यही तालको पानीमा नुहाएर रानढुङ्गामा जान्थे रे!

अर्को धार्मिक सम्पदा हो–त्रिवेणीधाम। तीन वटा नदीहरू चिन्नेगाड, गन्डीगाड र छोलेगाडको संगम नै त्रिवेणीधाम हो। गाउँपालिकाका वडा नं ३, ४ र ५ को संगममा पर्ने त्रिवेणीधाममा शिव मन्दिर, धर्मशाला र शमसान घाट छ।

रानढुङ्गा

रानढुङ्गा

प्राकृतिक एवं आध्यात्मिक भूमि खप्तडको प्रवेशद्वार झिंग्राना पनि पूर्वीचौकी गाउँपालिकामै पर्छ। वडा नं २ मा अवस्थित झिग्रानाबाट तिर्थालुहरू खप्तड ओहोरदोहोर गर्छन्। खप्तडमा वर्सेनी गंगा दशहरा मेला लाग्छ। मेला भरेमा मोक्ष प्राप्त हुन्छ।

पूर्वीचौकीमा अर्को महत्वपूर्ण मन्दिर छ–मष्टाबण्डाली। मष्टाबण्डाली क्षेत्र महादेवको क्रिडास्थल हो। वडा नं ७ मा रहेको यस मन्दिरमा शिव र विष्णुको पूजा गरिन्छ।

कुडीगडा ताल

कुडीगडा ताल

यसैगरि वडा नं १ साजघाटमा साजेन्द्रश्वर मन्दिर छ। राजमार्ग सँगै रहेको मन्दिरभित्र शिवलिंग छ।

पूर्वीचौकी गाउँपालिकामा यस्ता धेरै तीर्थ छन्। अर्को तीर्थ हो–जाज्लाको खाल। वडा नं ७ मा अबस्थित खाल अर्थात् तालको किनारामा भवानी कालिकाको मन्दिर छ। तालको शिरमा रहेको पाटन डेउडा गीत छायाङ्कन स्थलका रुपमा चर्चित बनिसक्यो।

सांस्कृतिक हिसाबले पनि पूर्वीचौकी गाउँपालिका समृद्ध छ। गाउँलेहरू डोट्याली भाषामा कुराकानी गर्छन्। उनीहरू आफ्नै भेषभुषा र जीवनशैलीमा बाँचेका छन्। जात्रापर्व वा शुभकार्यमा भुवा, हुड्केली, पञ्चैबाजा, पुतला र डेउडाको रन्कोले गाउँघर तात्छ। घन्टौंसम्म नाचगान चलिरहन्छ।

यसरी सुन्दर, शान्त र आध्यात्मिक भूमि पूर्वीचौकीका लेकबेंसीमा डुल्दा तन र मनमा ऊर्जा बढ्छ। यो गाउँपालिकाको केन्द्र सानागाउँ पुग्न सजिलै छ। डोटीको सदरमुकाम सिलगढीबाट ३० किलोमिटर दूरीमा पर्दछ सानागाउँ।

मालिका मन्दिर

मालिका मन्दिर

Tags:

सम्बन्धित समाचार