यथार्थ गहिरिएर भन्दा घोषणा-पत्र पढिरहँदा स्वास्थ्य सम्बन्धी खासै चासो राखेको देखिँदैन। नेपाल यस्तो देश हो जहाँ राजधानीमा समेत मान्छे प्राथमिक उपचारविना मर्न विवश छ। यस्तो अवस्थामा आधारभूत स्वास्थ्य सेवाका बारेमा समेत स्पष्ट खाका देखिँदैन।
चुनावी ‘लू’ सँगै व्यक्ति समूह र मिडियामा डढेलो लागेको छ । काठमाडौँ महानगरपालिकाका मेयरका प्रत्याशी केशव स्थापितमाथिको #metoo को कथा र अर्का उम्मेदवार बालेन शाहले विगतमा र्याप ब्याटलमा प्रयोग गरेका शब्द । झट्ट हेर्दा शाह र स्थापितमाथि लागेको आरोप यौन दुराचार जस्तो देखिए पनि यी कुराको जड मानसिक तथा यौन स्वास्थ्यसँग जोडिएको छ । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य हुनु भनेको शारीरिक, मानसिक र सामाजिक रूपमा तन्दुरुस्त भएको अवस्था हो भनेता पनि भावनात्मक अवस्थाबारे बोल्न छुटाएको छ । यसरी हेर्दा स्थापित र शाहसँग जोडिएका विषय यौन स्वास्थ्य, मनोवैज्ञानिक स्वास्थ्य र भावनात्मक स्वास्थ्यका सूक्ष्म एक पाटो हुन् । यो बारेमा वकालत हुन सकेको छैन ।
अहिले स्थानीय निकायको चुनावको लू बेसरी बढेको छ । निर्वाचन आयोगले २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तय गरेसँगै विभिन्न पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी सङ्ग्राममा होमिएका छन् । विज्ञहरूको राय सुझाव अनुसार पार्टीले निर्माण गरेका घोषणा-पत्र हुन् या उम्मेदवारले व्यक्तिगत एजेन्डा बोकेर तयार पारेका घोषणा-पत्र, सामाजिक सञ्जालदेखि व्यक्तिका हातहातमा छ्यापछ्याप्ती छन् । ती घोषणा-पत्रहरूमा स्वास्थ्यका केही विषय प्रत्यक्ष र केही अप्रत्यक्ष सामेल छन् त केही छैनन् । घोषणा-पत्र पढिरहँदा स्वास्थ्य सम्बन्धि खासै चासो राखेको देखिँदैन । नेपाल यस्तो देश हो, जहाँ राजधानीमा समेत मान्छे प्राथमिक उपचारविना मर्न विवश छ । यस्तो अवस्थामा आधारभूत स्वास्थ्य सेवाका बारेमा समेत स्पष्ट खाका देखिँदैन ।
विकासका अनेक एजेन्डामा विकासका पूर्वाधार प्रमुख तरहले प्रस्तुत गरिएका छन् तर, ती सबै पूर्वाधार स्वास्थ्यसँग जोडिएको छ भन्ने कुरा बिर्सिएको छ । विकासका पूर्वाधार पढाउँदा स्वास्थ्य भनेर ‘स्वास्थ्य सेवा’लाई मात्र इङ्गित गरेर पढाइएझैँ हरेक घोषणा-पत्र स्वास्थ्य सेवामा केन्द्रित छन्, ती पनि बकम्फुसे सेवामा । कतै सुत्केरीलाई भत्ता दिने कुरो छ त कतै गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने चुनावी गफ । तर, मानिसलाई स्वस्थ बनाउन विकासका पूर्वाधारलाई कसरी विस्तार गर्ने त्यो पक्षको लेखा-जोखा नै छैन ।
अर्को रोचक पक्ष त के छ भने सहरी क्षेत्र बाहेक बाहिरका गाउँपालिका वा नगरपालिका उम्मेदवारहरूले आफ्नो घोषणा-पत्र मतदाताहरूसम्म पुर्याएकै छैनन् । उनीहरू आफ्नो पार्टीले बनाएको खाका जस्तो घोषणापत्र लिएर दौडिएका छन् । मोफसल भन्दा बाहिर स्वतन्त्र उम्मेदवारी दिएका धेरै जसो उम्मेदवारको घोषणापत्र खोजे पनि पाइँदैन तर. उनीहरूको चुनावी ब्यानरमा भने “सुशासन को लागि हामीलाई भोट, समृद्ध स्थानीय तह हाम्रो अठोट” लेखिएको हुन्छ ।
यति राम्रो र सरल नारा बनाइरहँदा उनीहरूले भ्रष्टाचारको कारण कमसल मानसिक तथा भावनात्मक स्वास्थ्य हो भन्ने कुरा भुसुक्कै बिर्सिएका छन् ।
कयौँ घोषणापत्रमा शिक्षा, फोहोर व्यवस्थापन, सांस्कृतिक पक्षको संवर्द्धन र प्रवर्द्धन जोडिए पनि यी सबै कुरा अन्ततः स्वास्थ्यमा जोडिन्छ भन्ने कुरा बिर्सिएको छ । स्वास्थ्य विभिन्न आयामहरु हुन्छन्, अझ सोझो अर्थमा व्यक्तिगत स्वास्थ्य, वातावरणीय स्वास्थ्य र यी भित्र रहेका विभिन्न सूक्ष्म तत्त्वहरू । स्वास्थ्यको एजेन्डा बोकेर आएका घोषणापत्रहरू व्यक्तिगत स्वास्थ्यको साँघुरो क्षेत्रको मात्र प्रतिनिधित्व गर्दछन् ।
अझ रमाइलो पक्ष त के भने नेपाल सरकारले नि:शुल्क दिने गरेका स्वास्थ्य सेवाहरूलाई नै घोषणापत्रमा समावेश गरिएको छ । सरकारले नि:शुल्क उपलब्ध गरेका स्वास्थ्य सेवा नै उपलब्ध गराउँछु भनेर घोषणापत्रमा लेख्दा विज्ञहरूको विज्ञतामै प्रश्न चिन्ह खडा हुन्छ ।
अब कुरा गरौँ, केही घोषणापत्र र त्यहाँ उल्लेखित स्वास्थ्यका क्षेत्र र त्यसका विकासका क्षेत्रहरू ।
धेरै जसो पार्टीका घोषणापत्र पढिरहँदा, हाम्रो पार्टी के हो ? कस्तो हो ? र हामीले विगतमा के के गर्यौ भन्नेर बारे लेखेर पढ्न नै पट्यारलाग्दो बनाइएको छ । त्यही हुँदाहुँदै विकासका एजेन्डामा “स्वास्थ्य ” कोलुममा राखिएका विषयको चर्चा यहाँ गरिएको छ।
१. स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अपिल !
‘…..विद्युतीकरण,कृषि,पर्यटन र वन तथा प्राकृतिक सम्पदाहरूको विकास,छिमेकीहरूसँगको सन्तुलित सम्बन्ध,शिक्षा र स्वास्थ्य नीतिमा भएका जनपक्षीय परिवर्तन,सामाजिक सेवाको क्षेत्रमा राज्यको दायित्वमा गुणात्मक वृद्धि आदि नीतिहरू आजको नेपालको लागि मार्ग निर्देशक विकास सिद्धान्त बनेका छन् ।….नयाँ संविधानमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुतालगायतका विषय नागरिकको मौलिक अधिकारको रूपमा व्यवस्था गरिएको छ ।’
माओवादी केन्द्रको अपिलमा हामीले के गर्यौ भनेर भनिएको छ । स्वास्थ्यका नीति निर्माणमा जोड दिइएको छ । संवैधानिक हकलाई मिलाएर सोहीअनुसार स्थानीय तहका उम्मेदवारलाई घोषणापत्र निर्माण गर्न अपिल गरिएको छ तर, स्वास्थ्यका विषयलाई कसरी सम्बोधन गर्ने यो बारेमा बोलिएको छैन ।
२. नेपाली काँग्रेसको सङ्कल्प , स्थानीय तह निर्वाचन-२०७९ लाई हेर्दा,
समुन्नत गाउँ, समुन्नत नगर – सबल स्थानीय सरकारका आधार भित्र ” शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि रोजगारी उद्यमलाई प्रमुख क्षेत्र मानिएको छ । स्वास्थ्यका क्षेत्र भित्र स्वास्थ्य बिमा, घर नजिक आधारभूत स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानि, मातृ सुरक्षा र पोषण, औषधि उपलब्ध, मानसिक स्वास्थ्य, मदिरा लागू औषध तथा धूम्रपान नियन्त्रण सम्बन्धी कार्य योजना, स्थानीय सरकार र स्वास्थ्य नीति बारे समन्वयलाई जोड दिएको छ ।
यसरी स्वास्थ्यलाई विभिन्न आयामबाट व्याख्या गरिए पनि खाद्य सुरक्षा, कार्यक्षेत्रको स्वास्थ्य अवस्था, प्राथमिक र आधारभूत स्वास्थ्य सेवाको प्रभावकारी समाधानको उपाय र योबारे कुनै प्रकारको घोषणा गरिएको छैन ।
३. नेकपा एमालेको घोषणापत्र हेर्दा,
आरोग्यता, स्वास्थ्य परीक्षण, नि: शुल्क आधारभूत सेवा,जटिल रोगको नि:शुल्क उपचार, मातृ सुरक्षा, स्वास्थ्य सेवा प्रवाहमा पूर्वाधार र जनशक्ति विकास, यौन तथा प्रजनन स्वास्थ्य, निजी, सामुदायिक र सरकारी क्षेत्रको स्वास्थ्यमा सहकार्य, महामारी विपद् व्यवस्थापन, आयुर्वेदको अध्ययन, आयुर्वेद उपचारको प्रचार प्रसार र सर्वसुलभता जस्ता पक्षलाई प्राथमिकतामा राखिएको छ।
यसरी हेर्दा यो घोषणापत्रले पनि वातावरणीय स्वास्थ्यलाई कसरी लिएको छ प्रस्टाउन सकेको छैन । यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य सेवाबारे स्पष्ट खाका छैन ।
४. एकीकृत- समाजवादीको घोषणापत्र हेर्दा,
जनताको अधिकार नि:शुल्क स्वास्थ्य उपचारलाई मुख्य मन्त्र मानी यो सम्बन्धका विषयलाई अगाडि बढाएको छ । पालिमामा विशेषज्ञ चिकित्सकको व्यवस्था, वडा मा नि:शुल्क एम्बुलेन्स,जटिल रोगको नि:शुल्क उपचार, बिमा जस्ता कुरालाई जोडिएको छ।
यो घोषणा पत्रमा पनि वातावरणीय स्वास्थ्य, खाध्य सुरक्षा, स्वास्थ्य शिक्षा, जनस्वास्थ्यलाई प्रस्टाउन सकिएको छैन ।
५. विवेकशील साझा को घोषणापत्र हेर्दा,
मूल मन्त्र, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेको छ । ज्येष्ठ नागरिक, शारीरिक दुर्बलता भएका व्यक्तिको उपचार, दक्षता अभिवृद्वीलाई जोड दिएको छ ।
यसरी यो घोषणा पत्र नेपाल सरकारले प्रदान गरेको नि:शुल्क स्वास्थ्य सेवामा निहित छ भने वातावरणीय स्वास्थ्य, जनस्वास्थ्य, स्वास्थ्य शिक्षा, स्वास्थ्य साक्षरताको बारेमा केही बोलेको छैन।
नेपालका मूल पार्टी र यिनका घोषणापत्र हेर्दा,
स्वास्थ्य भनेको नै व्यक्तिगत स्वास्थ्य मात्र हो अर्थात् रोग नलाग्नु, आधारभूत उपचार पाउनु मात्र हो भन्ने पक्षलाई बढी जोड दिइएको छ ।
स्वास्थ्य हुनका लागि वातावरणीय स्वास्थ्य राम्रो हुनुका खाद्य सुरक्षा हुनु पर्छ, कार्यक्षेत्र स्वास्थ्यवर्द्धक हुनु पर्छ भन्ने कुरा बिर्सिएको देखिन्छ । रोग लागेपछि मात्र उपचार गरिनुपर्ने नीति बढेको देखिन्छ । रोग लाग्न नदिन स्वास्थ्य शिक्षा, स्वास्थ्य साक्षरता र जनस्वास्थ्यको बढुवा गरुन् पर्छ भन्ने कुरा बिर्सिएको छ । अझ भनौँ, यी घोषणापत्र बिरामी वा रोगमा बढी निहित छन्।
अब कुरा गरौँ स्वतन्त्र उम्मेदवार र तिनका घोषणापत्रमा स्वास्थ्य:
स्वतन्त्र उम्मेदवारहरू मध्य धेरैले त प्रस्ट घोषणा-पत्र समेत तयार पारेका छैनन् । पारेकाले पनि विकास भन्दै भौतिक विकासका एजेन्डा बढी बोकेका छन् भने केहीले मात्र स्पष्ट खाका प्रस्तुत गरेका छन् ।
१. धनगढीका गोपाल हमालको घोषणापत्र हेर्दा,
दीर्घ रोग भएका बिरामीलाई नगरबाट विशेष पहल र सहुलियत दिने, उप महानगर भित्र नि:शुल्क स्वास्थ्य परीक्षणको व्यवस्था,ज्येष्ठ नागरिक , शारीरिक दुर्बलता भएका व्यक्तिको नि: शुल्क उपचार, स्वच्छ र सफा खाने पानीको व्यवस्था गर्ने जस्ता रहेका छन् ।
२. काठमाडौंकि सुनिता डङ्गोलको घोषणापत्र हेर्दा,
उनको आठ खम्बे विकास मोडल राखिएको छ, जसमा स्वास्थ्य स्वच्छ वातावरणको माध्यमबाट जोडिएको छ तर. स्वास्थ्यका एजेन्डा बोकिएको छैन ।
३. बालेन शाहको घोषणापत्र हेर्दा,
स्वास्थ्य सेवा सम्बन्धमा भएका पूर्वाधारको स्तर उनन्ती गर्ने, महानगर भित्र नि:शुल्क स्वास्थ्य परीक्षणको व्यवस्था,ज्येष्ठ नागरिकको घरमै नि:शुल्क परीक्षण गर्ने, शारीरिक दुर्बलता भएका व्यक्तिको नि:शुल्क उपचार, स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने जस्ता रहेका छन् ।
यसरी हेर्दा खानेपानी, यातायातका क्षेत्र, फोहोर व्यवस्थापनका क्षेत्रमा स्वास्थ्य क्षेत्र भेटे पनि उल्लेखित मुद्दाहरु सबै सरकारले प्रदान गर्ने नि:शुल्क स्वास्थ्य सेवा र बिरामी केन्द्रित मात्र देखिन्छ । जनतालाई स्वस्थ बनाउन रोग निको पार्ने होइन, रोग लाग्न बचाउनु पर्छ भन्ने पक्ष बिर्सिएको छ । यी घोषणापत्र रोग निहित रहेका छन् । रोग लाग्न नदिन अपनाउने बाटो घोषणापत्रमा भेटिँदैन ।
प्राप्त घोषणापत्र हेर्दा छुटेका पक्षहरूमा वातावरणीय स्वास्थ्य, खाद्य सुरक्षा, स्वास्थ्य पूर्ण कार्यक्षेत्र, धूम्रपान, मद्यपान र लागू औषध निरुत्साहित गर्न एजेन्डा देखिँदैन स्वास्थ्य शिक्षा, स्वास्थ्य साक्षरता हुन्न । जनस्वास्थ्यको र स्वास्थ्य शिक्षाको क्षेत्र पूर्ण रूपमा छुटेको देखिन्छ । स्वास्थ्य शिक्षा, स्वास्थ्य साक्षरता र जनस्वास्थ्यको पाटोलाई निरुत्साहित गरेको खण्डमा रोग र रोगीको उपचार गरेर मात्र स्वस्थ जनशक्ति निर्माण भने हुँदैन ।
स्वास्थ्य शिक्षा र स्वास्थ्य साक्षरताको विस्तार भएको खण्डमा मात्र स्वास्थ्य सम्बन्धी आउने ९० प्रतिशत समस्याहरू न्यूनीकरण गर्न सक्नुका साथै उपलब्ध स्वास्थ्य सेवाको पहुँच सबैमा पुग्ने हुन्छ । घोषणा पत्रमा स्वास्थ्य साक्षरता, स्वास्थ्य शिक्षा, जनस्वास्थ्यको विषय छुट्नुले घोषणापत्रमा राखिएका एजेन्डा मृगतृष्णा बन्छन् कि भन्ने सन्देह रहन्छ ।