काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने सङ्केत देखिएको छ । आज बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ । सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ ।
दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो सङ्ख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताए ।
कार्यालयले छ/सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ । वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी सुरुआत गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् ।
काठमाडौं महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको सङ्ख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ । वडा नं १८, २२, २३ र २७ बाट दलित महिला सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।